Comments Add Comment

‘आफूले हेरिरहेको बिरामी निको हुँदा सबै पीडा भुल्छौं’

सबैतिर दशैंको माहोल छ, तर अस्पतालमा कोरोनाको बिरामी आइरहेका छन् । त्रिवी शिक्षण अस्पतालमा अहिले दिनहुँजसो कोरोनाको बिरामी आइरहेका छन् । दैनिक २० जना बिरामी आउन वा ५ जना हामी ड्युटीमा हुनैपर्छ । बिरामी कम भए भनेर ड्युटी नगर्ने छुट हामीलाई हुन्न ।

अधिकांश स्वास्थ्यकर्मी पनि जुनसुकै बेला खटिन मानसिक रुपमा तयार भएकाले दशैं मनाउन पाइइन भनेर चित्त दुखाउ गर्दैनन् । म यहाँको कोभिड इञ्चार्ज भएकाले स्वाभाविक रुपमा व्यस्त हुन्छु । किनकि, आएका बिरामीलाई भर्ना गर्ने, उपचार गराइरहेका बिरामीको अवस्था हेरेर आर्इसीयूमा सार्ने अथवा डिस्चार्ज दिने र बिरामीको परिवारलाई काउन्सिलिङ गर्ने काम मेरो जिम्मामा पर्छ ।

डाक्टर तथा नर्स मात्र होइन, अस्पतालको सेवासँग जोडिएका सबै कर्मचारीले दशै सोचे जसरी मनाउन पाउँदैनन् । किनकी ल्याबका कर्मचारी, फार्मेसीको स्टाफ, एम्बुलेन्स डाक्टर, स्टाफ बसको चालक वा कोही एक जना ‘स्टाण्ड बाई’ भएन भने अस्पताल सञ्चालन प्रणाली अवरुद्ध हुन्छ ।

कोरोना महामारी नभएको भएतापनि मेरो दैनिकीमा खासै फरक पर्ने थिएन । किनकि ओपीडी सञ्चालन नगरेतापनि वार्डमा भर्ना भएका बिरामीलाई निगरानी गर्नैपर्छ । हामीले थोरै मात्र लापरवाही गर्दा ठूलो हानी हुने जोखिम हुन्छ । हामीले एकजना बिरामी त हो भनेर सोच्नु नै ठूलो भुल हुन जान्छ । किनकी, बिरामीको आफन्तको लागि परिवारको सदस्य भनेको सर्वस्व हो ।

अन्य रोग लागेर अस्पताल भर्ना हुदाँ बिरामीलाई धेरै केयर चाहिन्छ भने कोरोनाको बिरामीलाई चाहिने केयर झन धेरै हुन्छ । दशैको माहोलमा परिवारको कुनै एक सदस्य कोरोनाले सिकिस्त भएर आर्इसीयू भर्ना भए भने त्यो परिवारको दशैं नै बिग्रन्छ । किनकि कुनै पनि कोरोनाका बिरामी आर्इसीयूमा जानु भनेको अनिश्चितता नै हो । यो कुरा बिरामीले पनि राम्रोसंग बुझेका हुन्छन् ।

चिकित्सक तथा अस्पतालले आफ्नो शतप्रतिशत दिँदा समेत धेरै पटक लापरवाहीको आरोप लगाएर अस्पतालमा तोडफोड हुने, चिकित्सकमाथि हातपात हुने घटनाहरु सार्वजानिक भइरहेका छन् । यस्ता घटना देखेका भोगेका स्वास्थ्यकर्मी अरुबेला पनि प्रेसरमै हुन्छन् । विशेषगरि दशैको बेलामा धेरै स्वास्थ्यकर्मी बिदामा हुने भएकाले ड्युटी डाक्टरलाई प्रेसर हुन्छ, जुन अहिले हामीले अनुभव गरिरहेका छन् ।

हाम्रो पेशाको धर्म नै आकस्मिक रुपमा उपलब्ध भएर सेवा प्रदान गर्नु हो । यो पेशामा आउने हरेकले बुझेका पनि छन् । तर कतिपय अवस्थामा दशैंको बेला आफ्नो परिवारसँग नहुँदा नरमाइलो लाग्नु स्वाभाविक हो । स्वास्थ्यकर्मीहरुले दशै मनाउन नै पाउँदैनन् भन्ने त होइन, तर धेरैले साइतको टीका छुटाउँछन् । अथवा दशैंको माहोलमा सबैजना रमिरहेको बेला ड्युटीमा हुन्छन् । यसले केही नरमाइलो महशुस गराउँछ । तर अस्पताल भित्र प्रवेश गरिसकेपछि त्यहाँको माहोल नै फरक हुन्छ । बिरामीका आफन्तका निराश अनुहार, वार्डमा भर्ना भएका बिरामीको चित्कार सबैले स्वास्थ्यकर्मीले दशै भन्ने नै भुलेका हुन्छन् । सबैको ध्यान नै ज्यान बचाउनमा केन्द्रित हुन्छ ।

आफूले हेरिरहेको बिरामी निको भयो भने धेरै नै खुशी लाग्छ । म त्यस्तो खुशीको धेरै पटक साक्षी बस्न पाएको छु । बिरामीको आफन्तले नै आशा मारेको मानिस बचाउँदा छुट्टै आनन्द हुन्छ, परिवारसँग चाड मनाउन नपाएको पीडा भुलाउँछ । यद्यपि संगै नहुँदा परिवारका सदस्यहरूमा नीहरु निराशा हुन्छ । बिदा मिलाउन आग्रह गर्छन्, तर स्वास्थ्यकर्मीको जिम्मेवारी बुझेर चिन्ता बुझाउँछन् । यो हाम्रो बाध्यता पनि हो, थोरै उपलब्ध जनशक्तिले मिलेर काम गर्ने भएकाले धेरै छुट्टीमा बस्ने अवस्था हुन्न ।

धेरै पटक दशैंमा टीका लाउन घर गाएको बेला आकस्मिक बिरामी आएर अस्पताल फर्किनु परेको उदाहरण छन् । एक पटक म आफ्नो घरबाट परिवारसँग टीका लगाउन आफन्तकहाँ जादैँ थिएँ । अस्पतालमा आकस्मिक केस आएकाले बीचबाटोबाटै अस्पताल जानु परेको थियो । त्यो बेला नरमाइला लाग्छ । तर अरू बेलामा पनि दिनरात खटिनुपर्ने र यस्तो अवस्था भोगेकाले परिवारले चित्त बुझाउँछ ।

(डा.बम त्रि.वि. शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका सह-प्राध्यापकका रुपमा कार्यरत छन्) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment