+
+

थरीथरीका रैथाने स्वाद : पाल्पाको चुकाउनीदेखि पाँचथरे वाचिपासम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:२०

हुन त हामीकहाँ यस्ता थुप्रै खानेकुरा छन्, जसले अपेक्षित व्यापकता पाउन सकेको छैन । तपाईं सुदूर पूर्वको कुनै गाउँमा पुग्नुहोस् वा पश्चिमको दूरदराजमा । केही न केही रैथाने परिकारको स्वाद फेर्न सक्नुहुनेछ । त्यहीका उत्पादनबाट, त्यहीका चुल्होमा पाक्ने खान्कीको स्वाद तपाईंले अन्यत्र फेला पार्न सक्नुहुन्छ । यस्ता थुप्रै रैथाने परिकार छन्, जसले हाम्रो जिब्रो लोभ्याउँछ । एक पटक चाखेपछि मन अघाउँदैन ।

पाल्पाको चुकाउनी

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।

आलु र दहीको मिश्रणबाट बन्ने यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पा, तानसेनमा सीमित रहेन । शहरका भोजनालयले आफ्नो मेनुमा यसलाई समेट्यो । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।

चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामाग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् ।

चुकाउनी बनाउन के-कस्ता सामाग्री जुटाउने त ?

१. आलु (उसिनेको)

२. दही

३. प्याज

४. खुर्सानी

५. धनियाँ

६. कागति

७. तोरीको तेल

त्यसैगरी नुन, मेथी, बेसार आदि चाहिन्छ ।

आलुलाई धेरै नगल्ने ढंगले उसिन्नुपर्छ । त्यसलाई स–सना टुक्रामा काट्ने । यसरी टुक्रा बनाएको आलुमा नुन राख्ने । काटेर टुक्रा बनाएको प्याज मिसाउने ।

अब यसमा छोप लगाउनुपर्छ । छोपको लागि सिलाम वा तील पिँधेर उक्त आलुमा मिसाउनुपर्छ ।

तोरीको तेल तताउने । त्यसमा केही मेथी फुराउने र आलुको माथिबाट राख्ने । त्यसैगरी रातो खुर्सानी र बेसार झानेर आलुमा खन्याउने ।

अब आलुमा ति सबै कुरालाई मजाले घोलेर दही मिसाइदिने । त्यसमाथि ताजा कागतिको रस चुहाउने । धनियाँको पातलाई माथिबाट छर्किने ।

चुकौनी यसरी तयार हुन्छ । यसलाई तपाईं आफ्नो मर्जी अनुसार भात, रोटी आदिसँग खान सक्नुहुनेछ ।

पाँचथरे वाचिपा

वाचिपा किरात समुदाय अर्थात राई, लिम्बु आदि समुदायमा प्रचलित स्वादिलो सीतन हो । खासगरी राई समुदायको संस्कृतिसँग वाचिपाको साइनो जोडिएको छ । किनभने उनीहरुले आफ्नो कुल पूजामा वाचिपालाई प्रसादको रुपमा ग्रहण गरिन्छ । किरात राई समुदायले उँधौली पर्वमा खाने गरिन्छ ।

चहकिलो एवं तिख्खर स्वादको यो परिकार बनाउने विधी र बन्ने स्रोत पनि निकै भिन्न छ ।

एक हिसाबले हेर्दा यो दक्षिण भारतिय परिकार बिरयानी वा नेपाली खान्की खिचडीसँग मिल्दो लाग्छ । तर, वाचिपा मुख्य थाली (मेन कोर्स) होइन, जसलाई भरपेट खान सकियोस् । अर्थात पेट भर्नका लागि खान सकियोस् । यो केवल जिब्रोको स्वाद लिने सीतन मात्र हो ।

वाचिपा बनाउनका लागि सबैभन्दा पहिला त लोकल कुखुरा चाहिन्छ । लोकल कुखुराको मुटु–कलेजो, खुट्टा, टाउको, पखेटा आदि मिश्रण गरेर वाचिपा बनाइन्छ । त्यसमा चामल पनि मिसाइन्छ । यसका साथै गोलभेडा, प्याज, लसुन, अदुवा आदि चाहिन्छ । नुन र खोर्सानी त अनिवार्य भैहाल्यो । यसलाई थप स्वादिलो बनाउन मासु मिसाउन सकिन्छ । र, वाचिपाका लागि नभई नहुने मुख्य कुरा चाहि कुखुराको भुत्ला हो ।

आगोमा कुखुराको भुत्ला एकसरो पोलेर त्यसलाई हटाइन्छ । यति गरेपछि भुत्लामा रहेको फोहोर हट्छ । अब पुनः बाँकी रहेको भुत्ला डढाएर कालो भएपछि त्यसलाई नाङ्लोमा राखेर थप सफा गरिन्छ । बाँकी रहेका भुत्ला हटाइन्छ र डढेको कालो भुत्लालाई रगतमा मिसाइन्छ गरिन्छ । अतः यसलाई पुन केही कचौरा भातमा राम्ररी मिश्रण गरिन्छ ।

कुखुराको टाउको, खुट्टा, पखेटा र केही मासुलाई स–सना टुक्रा गरिन्छ । अर्थात हड्डी, मासु सबै मिश्रित मासुको टुक्रामा चामल वा भात मिसाइन्छ ।

अब एउटा कराहीमा तेल ततो बनाएर त्यसमा प्याज, लसुन, अदुवाको टुक्रा, खुर्सानी भुट्नुपर्छ । त्यसमाथि तयारी अवस्थामा राखेका वाचिपा भुट्नुपर्छ । राम्ररी भुटिएपछि यो खानाका लागि तयार हुन्छ ।

थाकखोलाको थकाली खाना

फापरको ढिंडो वा मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ र मोही । त्यसमाथि चरेसको थाल र कचौरामा पस्किएको, तात्तातो ।

यति भन्नसाथ तपाईंको मुखमा पानी आउनसक्छ । दिनमा दुई छाक भात चाहिने हामीलाई भातकै यो विशिष्ठ थालीले कसो नलोभ्याउला ?

यो हो, थकाली खाना ।

शहरका साना होटलदेखि पाँचतारे होटलसम्मको मेनुमा पाउनुहुनेछ यो खाना । यो रैथाने स्वाद अहिले पृथ्वीको अर्को गोलाद्र्धमा पनि उपलब्ध हुन थालेको छ । नेपाली मुलका बसोबास जहाँ–जहाँ छ, त्यहाँ थकाली खाना त छ नै ।

थकाली खाना एक ब्रान्ड हो, नेपाली स्वादलाई चिनाउने । तिख्खर लेकाली स्वाद । एक पटक खाएर धीत नमर्ने ।

यो खान्की अब थकाली समुदायमा मात्र सीमित रहेन । अरु समुदायमा पनि यो उत्तिकै लोकप्रिय छ । त्यही कारण त शहरमा थकाली खाना जो बिकेको छ । टिकेको छ ।

पिरो, अमिलो, टर्रो, नुनिलो, गुलियो सबै समावेश हुन्छ थकाली खानामा । घिउ, मोही, दाल, मासु, सागपात । यस्तो खान्कीले जिब्रोको स्वाद मात्र मेट्दैन्, पेटको भोक मात्र मेट्दैन, शरीरलाई आवश्यक पोषण पनि दिन्छ ।

केही बर्षअघि गरिएको एक सर्वेक्षणले दक्षिण एसियाली मुलुकमध्ये नेपाली खाना स्वस्थ्यकर मानेको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्फामाले खानपानको स्वच्छता र पर्याप्तताको विषयमा गरेको सर्वेक्षणले नेपालको खाना स्वस्थ्यकर र सन्तुलित रहेको तथ्य सार्वजनिक गरेको थियो ।

केही समयअघि सार्वजनिक तथ्यांक अनुसार राजधानीमा ६३ हजार प्लेट थकाली खाना दिनहुँ बिक्री हुन्छ । किंग्स कलेजले गरेको प्रारम्भिक अध्ययनबाट उक्त नतिजा सार्वजनिक भएको हो । राजधानीमा मात्र थकाली खाना पस्कने करिब ४ सय थकाली भोजनालय रहेको पनि उक्त अध्ययनले देखाएको छ ।

सामान्यतः एक छाक खानाको २ सय रुपैयाँदेखि एक हजारसम्म पर्छ । थकाली खानाको गुणवत्ता, स्वाद र मात्रा सबैतिर एकरुपता भने छैन ।

थकाली खानाको थकाली जातिको आफ्नो मौलिक खान हो । थकाली एक समृद्ध जाति मानिन्छ । एक जानकारी अनुसार थकालीहरुको मूलथलो थाक सातसय क्षेत्र हो, जुन क्षेत्र अहिले मुस्ताङको दक्षिणतर्फ पर्छ । थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जाति भएकाले उनीहरुलाई थकाली भनिएको पाइन्छ ।

थकाली समुदायबारे लेखिएको एक लेखमा उल्लेख गरिएको छ, ‘थाक सातसय जस्तो भौगोलिक विकटता रहेको ठाउँमा पनि यिनीहरुले सामान्य प्रचलित खानाका अलाव अन्य मीठो खानाका लागि थुप्रै उत्कृष्ट खानाको विश्वास गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?