+
+

बेमौसमी वर्षाले ढलायो धान, दाना नलाग्ने चिन्ता

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक ३ गते १९:२८

३ कात्तिक, वीरगञ्ज । कात्तिकमा पनि असार–साउनमा जस्तो झरी छ । सोमबारदेखि परेको पानी बुधबारसम्म रोकिने छाँटकाट छैन । कतिपय किसानको धानमा दाना लाग्दै छ त कतिपयको बाली भित्र्याउने बेला भएको छ । वर्षासँगै आएको हावाहुरीका कारण धान ढलेको छ ।

धान ढल्दा फुलपनि झर्ने भएकोले दाना नलाग्ने हो कि भन्ने चिन्तामा किसान छन् । वीरगञ्ज महानगरपालिका–१८ इनर्वा मनियारीका किसान हिरालाल प्रसाद चौहानलाई १२ वर्षयता धानबालीमा यसपालि जस्तो क्षति भएको थाहा छैन । ‘एक त मल समयमा पाइएन, धान फुट्दै थियो, हावाहुरीले धान ढालेको छ । अब किसान के खान्छन् ? भोकै मर्नुपर्ने अवस्था पो आउने हो कि भन्ने चिन्ता छ’ उनले भने ।

रोपाईं गर्ने बेला पानी परेकोले यसवर्ष धान बढी फल्ने आश गरेका बैजनाथ पटेल निराश छन् ।

‘पानीसँगै बतास आयो, धान ढलाइदिएको छ । ढलेको धान फल्दैन, अब के खाने ?’ वीरगञ्ज महानगरपालिका ईनर्वाका किसान भुनर राउतको मात्रै ४ विगाहा भन्दा बढी धान ढलेको छ ।

४० वर्षदेखि धान खेती गर्दै आएका राउत भन्छन्, ‘हावा पानीले गर्दा यसपालिको धान खत्तम भयो, धान ढलेर फुल झरेको छ । फुल झरेपछि जति औषधिमुलो गरेपनि, भगवान नै आएर भनेपनि दाना लाग्दैन । भुस बन्ने हो ।’

स्थानीय सरकारसँग गुनासो

यसवर्ष रासायनिक मल पनि महंगोमा किनेर हालेको राउत सुनाउँछन् । ‘लौन यस्तो भो सहयोग गर्नुपर्‍यो भनेर गयो भने तपाईंलाई मात्रै हैन सबैलाई समस्या परेको छ भनेर टारिदिन्छन्’ स्थानीय जनप्रतिनिधिबारे उनी भन्छन् ।

कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साह पनि सबैभन्दा बढी जनसंख्या भएको किसान सबैतिरबाट बेवास्तामा परेको बताउँछन् ।

‘जुनसुकै पालिकामा पनि किसानको संख्या बढी छ, किसानकै भोटले नेता बन्छन् । अनि किसानलाई आपत पर्दा बिर्सन्छन्’ उनले भने ।

नगद क्षतिपूर्ति माग

पानीले धानबालीमा मात्रै हैन तरकारीको बिउमा पनि क्षति पुर्‍याएको छ । खेतमा तोरी छरिसकेका किसानको बिउ खेर जाने भएको छ । गत वर्ष लकडाउनबाट प्रभावित पर्साका ४ हजार ६ सय ६५ जना किसानलाई प्रदेश सरकारले २ करोड ९४ लाख रुपैयाँ ब्याज अनुदान दिएको थियो । अहिले धानबालीमा पुगेको क्षतिको पनि मुल्यांकन गरेर नगद राहत पाउनुपर्ने माग किसानको छ ।

कृषि सहकारी संघ पर्साका अध्यक्ष साह किसानलाई परेको मर्काका बारेमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘किसानलाई पुगेको क्षतिबारे स्थलगत अनुगमन हुनुपर्छ, त्यसको मुल्यांकन गरेर नगदमा राहत दिनुपर्छ’ उनले भने, ‘चुनावमा ठूला ठूला कुरा गर्ने अनि अहिले आपत पर्दा सहयोग नगर्ने ?’

उनी कृषिलाई यात्रिकीकरण गर्न, किसानलाई समयमै सही सूचना दिन र विपदको समयमा धान भण्डारणका लागि पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

कृषि यान्त्रिकीकरणमा विज्ञको जोड

प्रदेश २ मा यसवर्ष ४ लाख ३ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ । सोमबारदेखिको वर्षाले प्रदेशभर किसानले के कति क्षति बेहोर्नुपर्‍यो भन्ने तथ्यांक संकलन भइसकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ का सूचना अधिकारी मनिषकुमार पालले ८ वटै जिल्लाबाट तथ्यांक संकलन भइरहेको बताए ।

‘प्रदेश २ मा धान कटानी शुरु भइसकेको छैन, धान ढलेको र पानीमा डुबेको छ’ सूचना अधिकारी पालले भने ‘८ वटै जिल्लमा पानीले धान तथा तरकारी बालीमा पुर्‍याएको क्षतिको डाटा संकलन गर्न भनिसकेका छौं । तथ्याङ्क आइपुगिसकेको छैन ।’

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक एवं धानबाली विशेषज्ञ डा‍. रामवरण यादवले भने प्रदेश २ मा वर्षाका कारण धानबालीमा ५ प्रतिशत क्षति पुगेको अनुमान गरिएको बताए । तर समयमै लडेको धान नउठाए थप क्षति हुनसक्ने उनको भनाइ छ ।

‘हावा पानीसँगै आएकोले गर्दा पाक्न लागेको, दाना लाग्दै गरेको धान खेतमै लडेको छ, त्यसलाई तत्काल बाँधेर उठाउनुपर्छ’ उनले भने ‘होइन भने ६० देखि ७० प्रतिशत क्षति हुन्छ ।’

पाकेको धान भने किसानले काटेर खेतमै छोड्ने भन्दा थ्रेसिङ गरेर व्यवस्थापन गर्नुपर्ने यादवको सुझाव छ ।

दीर्घकालीन रुपमा समस्या समाधानका लागि भने ५ वर्षको मौसमको अवस्था विश्लेषण गरेर निर्णय लिनु उपयुक्त हुने उनको भनाइ छ ।

‘कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिएको छ, ५ वर्षको मौसमलाई विश्लेषण गरेर खेती लगाउने समय नै परिवर्तन गर्नुपर्ने हो भनेपनि गर्नुपर्छ’ उनले भने ‘सँगसँगै पानी जम्ने ठाउँमा लगाउन मिल्ने, नढल्ने जातको धानको बिऊ रोज्नुपर्छ ।’

सरकारले सुकाउने मेसिन, हिलोमा समेत चल्न सक्ने कम्बाइन्ड हार्भेस्टर खरिद गर्न किसानलाई प्रोत्साहन गर्ने तथा अनुदानमा वितरण गर्नुपर्ने उनको सुझाव छ ।

कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जका प्रमुख वैज्ञानिक सचिन मिश्र किसानलाई प्रविधि प्रयोगमा प्रोत्साहित गर्न सके मौसमी असरले कृषि क्षेत्रमा पार्ने असरलाई कम गर्न सकिने बताउँछन् ।

‘धान काटेर खेतमा राख्ने परम्परागत पद्धति हो, त्यसले गर्दा बढी क्षति भयो’ उनले भने ‘कम्बाइन्ड हार्भेस्टर प्रयोग गर्थे भने उतिनै बेला धान निक्लिन्थ्यो ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment