+
+

सुनिल सेट्टी नेपाली फिल्ममा !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १५:३७

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अभिनय गराउन यसको निर्माण टीम जोडतोडले लागिपरेको छ ।

चलचित्रका निर्देशक मुकुन्द भट्टले सुनिललाई भेटेरै अभिनयको अफर राखिसकेका छन् । उनका अनुसार सुनिल चलचित्रमा अभिनय गर्न राजी भएका छन् ।

निर्देशक भट्टले बुधबार मात्रै फेसबुकमा एक स्टाटस लेख्दै सुनिल चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् ।

हामीकहाँ कलाकारको स्टारडमलाई दाउमा राख्ने प्रवृत्ति जारी छ । फलानो हिरो वा हिरोइनलाई लिएमा चलचित्र बबाल चल्छ भन्ने मानसिकता छ । यही मानसिकताको कारण अनमोल केसीहरुको भाउ आकासिएको छ । अझ, बलिउडकर्मीलाई तान्न सकिए चलचित्रले तहल्का मच्याउँछ भन्ने सोंच हावी देखिन्छ । यसअगाडि पनि नेपाली चलचित्रमा बलिउड कलाकारले अभिनय नगरेका होइनन् । दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम नृत्य गरेकी थिइन् । सन्नीका कारण पनि प्रदर्शनअगाडि निकै चर्चामा रहेको यो चलचित्रले हलमा भने अपेक्षित दर्शक तान्न सकेन् । न त, चलचित्रको नै चर्चा भयो ।

एकताका मनिषा कोइराला बलिउडमा चम्किएकी थिइन् । शाहरुख, सलमान, आमिर जस्ता खानदेखि अनिल कपूर, अजय देवगण जस्ता अधिकांश सुपरस्टारसँग उनले काम गरिन् । उनै मनिषालाई दीपेन्द्र के. खनालले नेपाली चलचित्र ‘धर्मा’मा प्रवेश गराए । तर, अपेक्षाकृत यो चलचित्र चलेन ।

सुनिल सेट्टी भलै बलिउड स्टार हुन् । तर, उनको स्टारडमले चलचित्र चल्छ भन्नेमा ढुक्क हुन सकिदैन । सुनिल सेट्टीको के कुरा, शाहरुख, सलमान जस्ता सुपरस्टारकै भरमा पनि चलचित्र चलेका छैनन् । यसका लागि धेरै गहिरिएर सोँचिरहनु पर्दैन । पछिल्लो पटक प्रदर्शन भएका हिन्दी चलचित्रहरुकै जोडघटाउ केलाए पुग्छ । बरु, त्यस्तो स्टारडम नभएका आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता अभिनेताहरुको चलचित्रहरुले धमाधम बजार कब्जा गरिरहेका छन् । यसले के पुष्टि गरिरहेको छ भने दर्शकहरु चलचित्रमा अनुहार होइन त्यसको कन्टेन्ट र प्रस्तुतीमा आकर्षित हुन्छन् ।

तस्विर : मुकुन्द भट्टको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?