+
+

दुर्घटना रोक्ने जिम्मेवारी कसको ? ट्राफिकलाई देखाउने अरु पन्छिने

दशैंमा १६५ को मृत्यु, बर्सेनि दुई हजारले गुमाउँछन् ज्यान

गौरव पोखरेल गौरव पोखरेल
२०७८ कात्तिक ६ गते २०:१०
असोज २७ गते मुगुमा भएको बस दुर्घटना । यो दुर्घटनामा ३३ जनाको मृत्यु भएको थियो ।

६ कात्तिक, काठमाडौं । दशैं बिदामा घर फर्किएका विद्यार्थी सवार भे१ख ३१६७ नम्बर बस २७ असोजमा मुगुको छायानाथ रारा नगरपालिका-७, पिनाटपने खोलामा खस्दा ३३ जनाको मृत्यु भयो ।

फूलपातीका दिन नेपालगञ्जको सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतिर जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भयो ।

दशैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्र शोकमा डुबाएन, देशै स्तब्ध बन्यो । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने घोषणा पनि गर्‍यो ।

यो घटनाको दुई दिनअघि २५ असोजमा कास्कीको अन्नपूर्ण गाउँपालिका-१०, हुदु कलडाँडा भीरमा घान्द्रुक घुम्न गएका विद्यार्थी सवार जीप दुर्घटना भयो ।

ग१ज ६९०० नम्बरका जीप चालक अन्नपूर्ण गाउँपालिका-५ का खुसीमान क्षेत्री र काठमाडौं, गोंगबुबाट गएका विद्यार्थी गरी ८ जनाको घटनास्थलमै मृत्यु भयो ।

कास्कीमा दुर्घटना हुनु अघिल्लो दिन स्याङ्जाको वालिङ-१०, मदिखोला नजिकै जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो । गल्याङ नगरपालिका-१०, लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली, ३२ वर्षीया गंगा पल्ली र चार वर्षीया करिष्माले ज्यान गुमाए ।

प्रस्तुत घटना यस वर्ष दशैंमा भएका तीन ‘ठूला’ दुर्घटना हुन् । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार यो वर्ष घटनास्थापनादेखि बुधबारसम्मको अवधिमा ९२० वटा दुर्घटना भएका छन् । ती घटनामा १६५ जनाको मृत्यु भएको छ भने एक हजार ५५१ जना घाइते छन् । सबैभन्दा बढी ७८१ वटा मोटरसाइकल दुर्घटना भएको देखिन्छ, दोस्रोमा ३३६ वटा जिप र कार दुर्घटना भएको छ ।

२०७७ सालको घटस्थापनादेखि पूणिर्मासम्मको अवधिमा ८५६ वटा सवारी दुर्घटना भएका थिए, ती घटनामा ११४ जनाले ज्यान गुमाए । २०७५ को यही अवधिमा ५६८ दुर्घटना हुँदा १२९ जनाको मृत्यु भएको थियो भने २०७४ सालमा भएका २८० घटनामा १०४ जनाले ज्यान गुमाए ।

बर्सेनि दशैंमा दुर्घटनाका घटना बढ्छन्, तर न्यूनिकरणमा सम्बन्धित निकायले चासो नदेखाउँदा दुर्घटनामा कमी आउन सकेको छैन । चाडपर्वका वेला बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् ।

तर नियन्त्रणका प्रभावकारी भूमिका नखेलिँदा दुर्घटनामा कमी आउन नसकेको जानकारहरु बताउँछन् । सडक सुरक्षाविज्ञ पदम शाही भन्छन्, ‘सवारी दुर्घटना न्यूनिकरणमा कुनै निकायले गम्भीर पहल गरेकै छैनन् ।’

दुर्घटनाका कारण

मुगुका प्रहरी प्रमुख चित्रबहादुर भट्टराईका अनुसार दशैंमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनामा यान्त्रिक गडबडी कारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा बनाएको तीन सदस्यीय छानबिन समितिले चाहिँ प्रतिवेदन दिनै बाँकी छ ।

मुगुका डीएसपी भट्टराईका अनुसार दुर्घटना भएको सडक हालसम्म ट्याक मात्र खुलेको कच्ची बाटो हो । ‘स्थानीयले सुरुमा केही पड्किए जस्तो ठूलो आवाज सुने, त्यसपछि बस झरिरहेको देखेछन्’ उनी भन्छन्, ‘दुर्घटनापछि गाडी हेर्दा ड्राइभर भएतिरको चक्का पनि ड्यामेज भएको देखिन्छ ।’

गाडी पनि त्यही चक्का पट्टी खस्नुले पनि टायर पम्चर हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको उनी बताउँछन् । कास्कीमा भएको दुर्घटनाको कारण पनि यान्त्रिक गडबडी नै हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार दुर्घटना भएको दिन घटनास्थल नजिकै सडक मर्मतको काम चलिरहेका थियो । कामदारले ढुंगा हटाउने भन्दै जिप रोकिदिएका थिए । केहिवेरमा जीपलाई अगाडि बढाउन संकेत गर्दा ‘पिकअप’ लिएन, पछाडि ओरालोतिर झर्दै जाँदा भीरबाट खस्यो । घटनाको विस्तृत कारणबारे प्रदेश ट्राफिक प्रहरीले कार्यालयले छानबिन गरिरहेको छ ।

कास्कीमा भएको दुर्घटना ।

स्याङ्जाको वालिङमा तीन जनाको ज्यान गएको दुर्घटनाको मुख्य कारणचाहिँ ओभरलोड भएको देखिएको छ । ‘पाँच जना मात्र चढाउन पाइनेमा १९ जना बोकेका रहेछन्’ स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटी भन्छन्, ‘उकालोमा पछाडि धेरै लोड भयो, गाडीले तान्न सकेन र पछाडि झरेको देखिन्छ ।’

गाडी ओरालो झर्न थालिसक्दा चालक गाडीबाट हाम फालेको उनी सुनाउँछन् । ‘पछाडि बस्ने अन्य पनि हाम फालेकाले क्षति कम भयो’ उनी भन्छन्, ‘अगाडि बस्ने चाहिँ निस्किन सकेनछन् ।’

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशी अधिकांश सवारी दुर्घटनामा मुख्य कमजोरी चालकको देखिने बताउँछन् । ‘पहिले चालक त्यसपछि यान्त्रिक गडबडी र सडकको अवस्था दुर्घटनाप्रति जिम्मेवार देखिन्छन्’ प्रहरीको ट्राफिक तथा राजमार्ग सुरक्षा निर्देशनालयका पूर्वप्रमुख जोशी थप्छन्, ‘सडकको अवस्था, खाल्डाखुल्डी र मौसमलाई हेरेर गति निर्धारण गर्नुपर्नेमा चालकले सधैँ एकैनाशले गाडी कुदाएको देखिन्छ ।’

स्याङ्जाका एसपी बोगटीका भनाइमा ग्रामीण क्षेत्रमा हुने दुर्घटनामा पूर्वाधार पनि कारण देखिन्छन् । ‘डोजरले सामान्य खोस्रिएकै भरमा बोलेरोहरु चल्छन्, जीर्ण बाटोमा ओभरलोड हुँदा गाडीले तान्नै सक्दैन’ उनी भन्छन्, ‘पहाडी क्षेत्रमा चल्ने गाडीले हुटमासम्म मान्छे राख्न थालेपछि हुट हटाउने अभियानसमेत चलाएका थियौं ।’

न्यूनिकरणमा छैन ध्यान

चाडपर्वका वेला मात्र होइन, अन्य समयमा हुने सवारी दुर्घटनाको तथ्यांक हेर्न हो भने पनि कहालीलाग्दो स्थिति देखिन्छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पाँच महीनामा मात्रै ३ हजार ६१६ सवारी दुर्घटनामा परेका छन् । ती घटनामा ३३२ जनाको मृत्यु र १०५४ जना गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा २० हजार ६४० सवारी दुर्घटना भएको तथ्यांक छ, जसमा २५०० को मृत्यु र ६ हजार ४४८ गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा १५ हजार ५५९ सवारी दुर्घटना हुँदा दुई हजार २५१ को मृत्यु र ४ हजार ६१५ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा १३ हजार ३६६ सवारी दुर्घना हुँदा दुई हजार ७८९ जनाको मृृत्यु भएको छ भने १६३ गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा १० हजार ९६५ सवारी दुर्घटना हुँदा दुई हजार ५४१ को मृत्यु र चार हजार १४४ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा १० हजार १७८ सवारी दुर्घटना हुँदा दुई हजार ३८४ को मृत्यु र चार हजार २५० गम्भीर घाइते भएका छन् । तथ्यांक हेर्दा बर्सेनि दुई हजारभन्दा बढीले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको देखिन्छ ।

पूर्वडीआईजी जोशीका अनुसार चाडपर्वमा बढी दुर्घटना हुने कुरा सबैलाई थाहा छ । बर्सेनि दुर्घटना ज्यान गुमाउनको ठूलो संख्याबारे पनि सबै जानकार छन् । तर पनि न्यूनिकरणका लागि प्रभावकारी पहल हुन नसक्दा दुर्घटनामा ज्यान गुमाउनेको संख्या नघटेको उनी बताउँछन् ।

विगतका वर्ष दशैं आउनु एक महीना अगावै ट्राफिक प्रहरीले ‘यो वर्षको चाडपर्व, दुर्घटनारहित चाडपर्व’ जस्ता चेतनामूलक कार्यक्रम दशैं आउनु महीना दिनअघिबाटै चलाउने गरेको पूर्वडीआईजी जोशी सम्झन्छन् । यसपटक ट्राफिकले पनि त्यति प्रभावकारी अभियान चलाउन नसकेको उनी बताउँछन् ।

छैन प्रभावकारी जाँच

दुर्घटना न्यूनिकरणमा ट्राफिकको मात्र भूमिका छैन, यसमा सडक विभाग, यातायात व्यवस्था कार्यालय, प्रदेश सरकार र स्थानीय निकाय सबैको उत्तिकै सक्रियता चाहिन्छ । तर अन्तरनिकाय समन्वय छँदैछैन । अब दुर्घटना न्यूनिकरणमा काम गर्ने छुट्टै निकाय बनाउनुपर्छ – पदम शाही, सडक सुरक्षाविज्ञ

स्याङ्जाका एसपी बोगटीको अनुभवमा सडकमा उभिएका प्रहरी देख्दा मात्रै ट्राफिक नियम पालना गर्ने प्रवृत्ति छ ।

‘पहाडी क्षेत्रमा जाने गाडीको ठाउँठाउँमा जाँच गर्छौं’ उनी भन्छन्, ‘जाँच हुने वेला ठीकठाक हुन्छ, अलिमाथि पुगिसक्दा क्षमताभन्दा बढी यात्रु चढ्छन् ।’

पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुचाहिँ ट्राफिक जाँच पनि प्रभावकारी हुन नसकेको बताउँछन् । ‘ट्राफिक जाँच मापसे र कागजपत्र चेक गर्नेमा सीमित छ’ उनी भन्छन्, ‘धेरै दुर्घटना सवारीसाधनको अवस्थाले हुने गर्छ, त्यसको जाँच कसले गर्ने ?’

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि भन्दै २०७५ सालमा ट्राफिक कम्युनिकेश एप ल्याएको थियो । विशेषतः लामो दूरिका सवारीसाधनमा दुई जना चालक अनिवर्या राख्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयनका एप बनाइएको प्रहरीले जनाएको थियो । त्यतिवेला काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भूमही र बाँकेको कोहलपुलमा यो एपबाट चालक फेरिए/नफेरिएको जाँच गरिएको थियो ।

तर यो वर्ष दशैंको ट्राफिक एप प्रयोग भएको देखिएन । एपमा निश्चित विन्दुमा सवारीचालकको फोटो खिचेर गाडी नम्बर, प्रस्थान र गन्तव्य स्थान दर्ता गरी इन्टरनेट सर्भरमा राखिन्थ्यो । त्यही आधारमा अर्को ठाउँमा जाँच गर्दा चालक बदली भए/नभएको सहजै थाहा हुन्थ्यो ।

पूर्वप्रहरी निरीक्षक हाछेथु भन्छन्, ‘चाडपर्वमा धेरै दुर्घटना हुनुको कारण अनिँदो अवस्थामा सवारीसाधन हाँक्नु पनि हो ।’ उनका अनुसार दशैंमा सवारीचाप त्यसै पनि धेरै हुन्छ, लामो दूरिमा एउटै चालकले राति पुर्‍याउने वित्तिकै अर्को ट्रि गर्ने हुँदा दुर्घटना हुने गरेको छ ।

तर गाडी कम हुँदा थप गर्नुपर्नेमा त्यतातिर ध्यान नदिइएको उनी बताउँछन् । ‘दशैंमा गाउँगाउँ जाने गाडी सरकारले थप्न नसक्ने हो र ?’ उनी प्रश्न गर्छन् । चाडपर्वको समयमा धेरै दुर्घटना हुन्छ भन्ने थाहा भएपछि ठाउँ-ठाउँमा चालकको मेडिकल जाँच गर्ने व्यवस्था पनि राख्नुपर्ने उनी बताउँछन् ।

हाछेथुका अनुसार दुर्घटना न्यूनिकरणमा ट्राफिकको सक्रियता मात्रै पर्याप्त छैन, यातायात व्यवस्था विभाग र सडक विभाग पनि जागरुक हुनुपर्छ ।

विभागका महानिर्देशक नमराज घिमिरे सवारीसाधनको अवस्थाबारे जाँच गर्न संघीय सरकारले काठमाडौंको टेकु, हेटौंडा र बुटवलमा सवारी परीक्षण केन्द्र राखिएको बताउँछन् । घिमिरे भन्छन्, ‘प्रदेशले पनि यातायात कार्यालयमा सवारीजाँच केन्द्र राखेको छ, जहाँ बर्सेनि सवारी जाँच पास लिनुपर्छ ।’

जिम्मेवारी ट्राफिकको मात्र होइन

पूर्वप्रहरी निरीक्षक हाछेथुका अनुसार अहिले दुर्घटना न्यूनिकरणको जिम्मा ट्राफिकको मात्र हो भने जसरी हेर्ने गरिएको छ । पूर्वडीआईजी जोशी पनि पानी परे, पहिरो गए वा बाटो विगि्रए पनि ट्राफिककै जिम्मा भएजस्तो गर्ने प्रवृत्ति रहेको बताउँछन् ।

हाछेथुका अनुसार दुर्घटना न्यूनिकरणमा यातायात व्यवस्था विभागसँगै यातायात विभाग, मन्त्रालय, सरकार र समाजको हरेक तप्का उत्तिकै जिम्मेवार हुनुपर्छ ।

‘ट्राफिकको डरमा मात्र नियम पालन गर्ने होइन, ट्राफिक नियम आफ्नै लागि हो भन्ने सबैले सोच्नुपर्छ’ उनले भने, ‘अहिले गालीगलौज गर्दा जेल जाने कानूनी व्यवस्था छ, सवारी दुर्घटनामा चाहिँ ५/६ महिना पुर्पक्षमा बसेर चालकले उन्मुक्ति पाइरहेका छन् ।’

आर्थिक वर्ष २०७७/०७८ मा २० हजार ६४० सवारी दुर्घटना भएको तथ्यांक छ, जसमा २५०० को मृत्यु र ६ हजार ४४८ गम्भीर घाइते भएका छन्

एकचोटी लाइसेन्स बनाएपछि त्यसलाई अध्यावधिक गर्दा सम्बन्धित वाहकको अवस्थाबारे जाँच गर्ने विधि नहुँदा पनि समस्या भइरहेको हाछेथु बताउँछन् । ‘एकचोटी लाइसेन्स लिएपछि जीवनभरि पुग्नलाई यो नागरिकता, राहदानी लिएजस्तो होइन’ हाछेथुले अनलाइनखबरसँग भने, ‘शारीरिक समस्या आउनसक्छ, आँखामा समस्या हुनसक्छ, निश्चित विषयमा परीक्षण गरेर मात्र लाइसेन्स नविकरण गर्ने व्यवस्था गर्नुपर्छ ।’

कुनै चालकले लापरबाह तरिकाले सवारीसाधन चलाउँछ भने निश्चित समयका लागि लाइसेन्स निलम्बन गर्ने व्यवस्था राख्नुपर्ने उनको सुझाव छ । ‘राम्रो चलाउनेलाई पुरस्कार दिएर प्रोत्साहित पनि गर्न सकिन्छ’ हाछेथु भन्छन् । गाडीमा जीपीएस वा सीसी क्यामरा जस्ता प्रविधिक जडान गरेर निगरानी राख्न सके पनि दुर्घटनामा कमी आउनसक्ने उनी बताउँछन् ।

सडक सुरक्षाविज्ञ पदम शाहीका अनुसार सडक दुर्घटना न्यूनिकरणमा पहल कसले गर्ने भन्ने विषयमै सरोकारवालाबीच अन्यौलता देखिन्छ । ‘सडक विभाग, यातायात व्यवस्था कार्यालय, प्रदेश सरकार र स्थानीय निकाय सबैको भूमिका महत्त्वपूर्ण हुन्छ’ उनले भने, ‘तर अन्तरनिकायबीच समन्वय नै हुने गरेको देखिँदैन ।’ त्यसका लागि दुर्घटना न्यूनिकरणमा काम गर्ने छुट्टै निकाय बनाउनुपर्ने शाहीको भनाइ छ ।

भारतमा पनि दुर्घटना सम्बन्धी विषयमा नेतृत्व लिन छुट्टै निकाय रहेको बताउँदै उनी भन्छन्, ‘हामीकहाँ पनि त्यसका लागि पहल हुनु जरुरी भइसकेको छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?