+
+
विवादमा जबरा :

न्यायाधीशहरुले खोजे ‘सम्मानजनक निकास’को व्याख्या

‘कात्तिकभरि मात्र कुर्न सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते २०:४९

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको ‘सम्मानजनक निकास’ को प्रस्तावको थप व्याख्या माग गरेका छन् ।

उनीहरुले सोमबार तीन न्यायाधीशमार्फत ‘सम्मानजनक निकास’को प्रस्तावको व्याख्या हुनुपर्ने सन्देश प्रधानन्यायाधीश जबरासमक्ष पठाएका छन् ।

आइतबार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीशले आफूलाई केही समय दिनुपर्ने बताएका थिए ।

तर मूर्त कुरा नआएको भन्दै न्यायाधीशहरुले सम्मानजनक निकासको विषयलाई प्रष्ट्याउन माग गरेका हुन् । ‘आइतबारको छलफलमा समय दिनुपर्छ भन्नुभएछ । मूर्त कुरा आएजस्तो लागेन’ एक न्यायाधीशले भने, ‘त्यसैले फेरि सोमबार भेटने कुरा आएको छ । उहाँहरुको भेटमा भएको विस्तृत विवरण मंगलबार थाहा हुन्छ ।’

आइतबार तीन न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटेपछि दुई पक्षबीचको दूरी केही घटेको छ । छलफलमा बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सुनुवाइ हुन नसक्दा सेवाग्राही मारमा परेको विषय उठेपछि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्न सहमति जनाएका छन् । त्यस अनुसार सोमबार बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ भएको पनि छ ।

‘आइतबारको छलफलमा समय दिनुपर्छ भन्नुभएछ । मूर्त कुरा आएजस्तो लागेन’ एक न्यायाधीशले भने, ‘त्यसैले फेरि सोमबार भेटने कुरा आएको छ । उहाँहरुको भेटमा भएको विस्तृत विवरण मंगलबार थाहा हुन्छ ।’

न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई दुई सन्देश पठाएका थिए । एक, प्रधानन्यायाधीश जबराले मुद्दा सुनुवाइ गर्न नहुने र आफूबाहेकको इजलास राख्नुपर्ने । अर्को, बन्दीप्रत्यक्षीकरणको निवेदन बाहेक अरु सुनुवाइ नगर्ने ।

ती दुबै प्रस्ताव सहजै स्वीकारेका प्रधानन्यायाधीश जबराले आफू बाहेकको इजलासमा बन्दीप्रत्यक्षीकरणको निवेदनमात्रै पेशी तोकेपछि सोमबार न्यायाधीशहरु बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न इजलासमा बसे ।

सर्वोच्च अदालतका ती न्यायाधीशका अनुसार, सम्मानजनक निकासका लागि केही दिन वा सातासम्मको माग स्वाभाविक भएपनि त्योभन्दा बढी अवधिको कल्पना गर्न सकिँदैन । कात्तिकभर पर्खन सकिएपनि त्यसपछि पनि उनी रहनुलाई स्वीकार्न नहुने उनले बताए । उनले भने, ‘उहाँका प्रतिवद्धता र त्यसको व्यवहारिक कार्यान्वयन धेरै देखियो । अब स्पष्ट रुपमा नै तत्काल निकास दिनु राम्रो हो ।’

ती न्यायाधीशले अघि भने, ‘सबैभन्दा पहिले त उहाँका कुरा सक्कली हुन् कि नक्कली, त्यो छुट्टिनुपर्छ । प्रशासनमात्रै हेर्छु केही महिना दिनुहोस् भन्ने हो भने हामीलाई आफ्नो तालले चल्न दिनुहोस् भनेका छौं ।’

उनका अनुसार, कतिपय मुख्य न्यायाधीहरुले पनि प्रधानन्यायाधीश जबरालाई आफ्नो क्षेत्रका समस्या सुनाउन समय मागिरहेका छन् । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, सोमबारको धर्नामा केही पाका कानून व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध दिएको अभिव्यक्तिका कारण सर्वोच्च अदालतका न्यायाधीशहरु पछाडि नफर्कने मुडमा छन् ।

अर्कोतर्फ बारले थप आन्दोलन गर्दा प्रधानन्यायाधीश जबरा कमजोर हुने र उनी राजीनामा दिन बाध्य हुने न्यायाधीशहरुको आँकलन छ । ‘न्यायपालिकामा विचाराधीन विषयसँग सौदावाजी लिने र लाभ लिने भनेर हामीले भन्नुपर्नेजति सबै भनिसकेका छौं’ ती न्यायाधीशले भने, ‘कि हामी नबोलेको भए हुने थियो, यसरी स्पष्ट रुपमा उहाँबारे धारणा राखेपछि उहाँसँग सहकार्यं गर्न नसकिनेमा दृढ हुनुपर्छ । ढिलोचाँडो निर्णय आउँछ ।’

कानून व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै शुरु गरेको धर्नालाई थप दुई दिन निरन्तरता दिने र तिहारलगत्तै आन्दोलनका कार्यक्रम चर्काउने रणनीति बनाएका छन् । ‘हामीले राजीनामा मागिसकेका छौं । त्यो कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलनलाई अझै सशक्त बनाउने योजना छ’ नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘यो स्थिति लामो समय रहन नदिन पनि हामीले शान्तिपूर्ण रुपमा नै प्रधानन्यायाधीशलाई राजीनामाको बाटोमा पुर्‍याउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?