+
+
कभर स्टोरी :

नेपाली समाज नोटको जतन गर्दैन

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १८ गते १८:१७

१८ कात्तिक, काठमाडौं । आज धेरै नेपालीको घरमा लक्ष्मीपूजा हुँदैछ । धनधान्यले सम्पन्न हुन लक्ष्मीमाताको आराधना हुँदैछ । तर धन सम्पत्तिका लागि यसरी आराधना गर्ने नेपाली समाजमा त्यही सम्पत्तिको मानक नेपाली नोटको जतन गर्ने संस्कार भने फिटिक्कै छैन ।

खासगरी हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना दरका १३ अर्ब रुपैयाँ र ठूला दरका ४६ अर्ब रुपैयाँका गरेर करीब ६० अर्ब रुपैयाँ हाराहारीका नयाँ नोट बजारमा पठाएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीरमण नेपाल बताउँछन् ।

उनका भनाइमा अहिले बजारमा ७ खर्ब १० अर्ब रुपैयाँका नोट चलनचल्तीमा छन् । गत वर्ष चलनचल्तीमा रहेको नोट ५ खर्ब ६३ अर्ब रुपैयाँ थियो । बजारमा हरेक वर्ष नयाँ नोट थपिन्छन् । अनि छोटो समयमै काम नलाग्ने बनेर ठूलो परिमाणका नोटहरू फेरि राष्ट्र बैंक पुग्छन् ।

केन्द्रीय बैंकको पछिल्लो केही वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष ४० देखि ५० अर्ब हाराहारी झुत्रा नोटहरू जलाएर खरानी बनाइन्छ । कार्यकारी निर्देशक नेपालका अनुसार, हालसम्म ५ खर्ब ६० अर्ब रुपैयाँ बराबरका नोट केन्द्रीय बैंकले जलाएर खरानी बनाएको छ ।

नेपालका अनुसार, केन्द्रीय बैंकबाट बजारमा गएको सानो दरको नयाँ नोट औसतमा एक वर्षमा झुत्रो भएर फर्कन्छ । तर राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नयाँ नोट बजारमा पठाएको दुई दिनमै काम नलाग्ने भएर फर्किएको पनि आफूले थाहा पाएको सुनाउँछन् ।

‘बजार पठाएको दुई दिनमै नोट लल्याकलुलुक भएर राष्ट्र बैंकमै फिर्ता समेत भएको उदाहरण पनि छ’ उनले भने, ‘सर्कुलर फ्रिक्वेन्सी हाइ हुने भएका कारण पनि नेपाली नोटको आयु कम भएको हो ।’

पूर्व गभर्नर क्षेत्रीका भनाइमा बिहान बैंकबाट निस्किएको नोट साँझ पर्दासम्म विभिन्न व्यक्तिको हातमा पुग्छ । दिउँसो व्यापारीकहाँ, उसले अर्को व्यापारीलाई गर्दै साँझसम्ममा त्यो नोट श्रमिकको हातमा पुग्छ । श्रमिकले बेलुकाको खाद्यान्न किन्न वा मासु किन्न पसलमा त्यो नोट बुझाउँछ । यसरी एउटा नोट एक दिनमा थोरैमा पनि ५÷६ जना व्यक्तिसम्म पुग्ने सम्भावना रहने क्षेत्री बताउँछन् ।

‘मान्छेले फरक फरक तरिकाले त्यो नोट राख्छन् । कसैले बीचमा फोल्ड गरेर राख्छन्, कसैले कच्याककुचुक पार्छन्’ क्षेत्रीले भने, ‘मासु पसलमा त झन् चिसो हातले नै छुने गर्छन्, अनि त त्यो नोटको आयु घटिहाल्छ नि !’

पूर्व गभर्नर क्षेत्रीका भनाइमा, त्यसै पनि नेपाली नोटको गुणस्तर कमजोर हुन्छ । युरो, पाउन्ड, डलर जस्ता नोटहरू भन्दा नेपाली नोटको गुणस्तर कमजोर हुन्छ । कागजको आयु लामो हुन्छ भनेर अड्डा अदालतहरूमा नेपाली कागज प्रयोग गरिन्छ ।

जापानी येन छाप्नका लागि नेपाली कागज छाप्ने कच्चा पदार्थ नै निर्यात हुने गरेको पूर्व गभर्नर क्षेत्रीले बताए । ‘हामीले जुन स्ट्याण्डर्डको पेपर प्रयोग गर्नु भन्यो सोही अनुसार प्रयोग गर्ने हो, तर अब ठिक्कको प्रयोग गर्नु भनेपछि त गुणस्तर पनि ठिक्ककै हुनेभयो नि’ उनी भन्छन् ।

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपाल वर्षेनि झुत्रा नोट जलाउँदा राष्ट्रलाई ठूलो आर्थिक भार पर्ने सुनाउँछन् । ‘शुरूमा छाप्दा पनि खर्च लाग्छ, त्यो नोट पुनः छाप्दा पनि खर्च लाग्छ’ उनी भन्छन्, ‘दशैंमा बजारमा गएका मध्ये तीनदेखि चार महीनाभित्रै १५ देखि २० प्रतिशतसम्म नोटहरू काम नलाग्ने भइसकेका हुन्छन् ।’

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल संस्कारका कारण पनि नोटको आयु कम हुने बताउँछन् । तर पछिल्लो समय भने यो सुधार हुने क्रममा रहेको उनको बुझाइ छ । नोट कसरी राख्ने भन्नेमा चेतना नभएका कारण मुलुकले धेरै नोक्सानी बेहोर्नु परेको उनी सुनाउँछन् ।

‘हामी सबै वालेटमा नोट राख्दैनौं, कच्याककुचुक पारेर गोजीमा हाल्छौं’ सीईओ पोखरेल भन्छन्, ‘वालेटमा पनि मिलाएर नखुम्चने गरी राख्ने हो भने नोटको धेरै जतन हुनेथियो ।’

नयाँ नोट वितरण गर्ने चलनले सर्वसाधारणहरूले दशैंमा पुराना नोट प्रयोग गर्न छाडिसकेका छन् । दशैंमा जसरी हुन्छ नयाँ नोट नै खोज्ने यो चाहनाले नोट छाप्न मुलुकको व्ययभार बढाएको छ ।

त्यस बाहेक विभिन्न घटनाका कारण पनि नोटमा क्षति पुगिरहेको हुन्छ । आगलागीमा परेर नोटहरू जल्छन्, बाढी–पहिरोले घर बगाउँदा नोटहरू पुरिन्छन् । तस्करी वा कालोबजारीबाट आर्जन गरेको सम्पत्ति जोगाउन बैंक बाहिर नोट सञ्चय र ओसारपसार हुन्छ ।

बजारमा नोटको वितरणको मात्रा उच्च हुँदा स्वाभाविक प्रयोगमा पनि यो कमजोर भइसकेको हुन्छ । बैंकबाट व्यवसायी र सर्वसाधारणको हातमा परेदेखि नै नोट कच्याककुचुक हुनथाल्छ । अझ आवेशमा आएर कतिपयले नोट च्यात्ने तथा जलाउने काम गरेको पनि बेलाबखत सुनिन्छ । दशंै तिहारमा जुवा, तासमा समेत नोट बेरेर वा बटारेर राखिन्छ ।

बुझेका धेरैले पनि नोटको जतन गर्दैनन् । वालेटमा नपट्याई राख्ने हो भने मात्रै पनि नोट धेरै सुरक्षित हुने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपाल बताउँछन् । त्यसो त हिजो–आज धेरैले बोक्ने पर्सको साइजमा पनि एकरूपता छैन । कतिपय पर्सहरूमा पैसा राख्नका लागि पनि नोट भाँच्नै पर्छ ।

नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष मीनबहादुर बोहरा ग्रामीण भेगमा नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएको बताउँछन् । तर लापरबाही भने गाउँमा भन्दा शहरमै धेरै हुने उनको भनाइ छ । ‘काठमाडौंमा गाडीका सहचालकले पनि हातमा नोट भाँचेर चेप्छन्, मासु पसलेले पानीले भिजाउँछन्’ उपाध्यक्ष बोहरा भन्छन्, ‘चेतना नभएर होइन, उनीहरूले लापरबाही गरेका हुन् ।’

‘गाउँमा थैलीमा कसिएका होलान्, बाक्सामा चेपिएका होलान्’ बोहरा भन्छन्, ‘तर शहरमा जस्तो पानीमा भिजाउने, कच्याककुचुक पार्ने लापरबाही गाउँमा हम्मेसी हुँदैन ।’

तर अमेरिकी डलर या भारतीय रुपैयाँ बोक्दा सबैजसोले सुरक्षितसँग नै बोक्ने गर्छन् । अमेरिकी डलर त शायदै कसैले कच्याककुचुक बनाएर बोक्ला । किनकि यसो गरे त्यो नोट चल्दैन । विदेशी पैसा जतनसँग राख्नुपर्छ भन्ने बुझेका नेपालीहरू नै नेपाली नोटलाई त्यतिकै इज्जत दिंदैनन् ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपालका भनाइमा, कतिपय नेपाली संस्कारका कारण पनि नोटको आयु छोटो हुनेगर्छ । हिन्दू संस्कार अनुसार हुने पूजापाठहरूमा दक्षिणाका रूपमा नोट प्रयोग गरिन्छ । नोटमा पानी तथा अबिर लगाउने संस्कार अनिवार्य जस्तै छ ।

‘म तपाइँहरूसँग नोटको सुरक्षाको विषयमा बोलिरहेको छु, मेरै घरमा नोटको सुरक्षा हुँदैन’ उनी भन्छन्, ‘पण्डितजीबाटै नोटलाई खतरा छ । लौ यति रुपैयाँ लिएर पानी समाउने भनेपछि समाउनै पर्‍यो, अनि कसरी हुन्छ सुरक्षा ?’

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल नोटको जतन नहुनुमा नेपालीको ‘स्वभाव’ पनि जिम्मेवार रहेको बताउँछन् । ‘पानी तथा चिसो प्रयोग हुने पसलहरूमा जुन हातले छोएको छ त्यही चिसो हातले पैसा समाउने चलन छ, त्यसपछि त नोट कमजोर भइहाल्छ नि !’

लक्ष्मीप्रपन्न निरौला राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको प्रमुख हुँदा नोटको आयु कसरी बढाउने भन्ने विषयमा ज्योतिषहरू समेत राखेर छलफल भएको थियो ।
नेपाली संस्कार, खासगरी हिन्दू धर्मावलम्बीहरूको चाडपर्वमा पानी लगाउने, अबिर दल्ने जस्ता काम हुँदा नोटको क्षति हुन पुगेको भन्दै तत्कालीन कार्यकारी निर्देशक निरौलाले यस विषयमा छलफल चलाएका थिए । पूजापाठमा प्रयोग हुने नोटहरू चाँडो काम नलाग्ने भएकोले यस्तो छलफल आवश्यक ठानिएको थियो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिका सदस्य सचिव सन्तोष वाशिष्ठ धर्मशास्त्रमा नोट चढाउनुपर्छ भन्ने कुरा उल्लेख नै नभएको बताउँछन् । अहिले चलिरहेको चलन गलत भएको भन्दै उनले धर्ममा हुँदै नभएको विषय ल्याएर परम्परा बनाइएको बताए ।

‘धर्म, संस्कृति र परम्परा भनेका अलग–अलग कुरा हुन्, नोट चढाउने कुरा धर्ममा छँदै छैन’ उनले भने, ‘हाम्रो सस्कृति पनि नोट होइन सिक्का चढाउने हो, तर यहाँ नोट चढाउने परम्परा बनेको छ, जुन गलत हो ।’ नोट चढाएर संस्कृति बचाउँछु भन्नु भ्रम भएको सदस्य सचिव वाशिष्ठको भनाइ छ ।

उनी भन्छन्, ‘शास्त्रमा द्रव्य भनिएको छ, द्रव्य भनेको सिक्का हो । पहिले सिक्का मात्रै प्रचलनमा थिए पछि नोटको प्रचलन बढ्यो । नोटमा त पानी समाउन मिल्दैन ।’ दक्षिणा दिंदा भने अलग्गै राखेर नोट दिन सकिने भए पनि चढाउन भने सिक्का नै चढाउनुपर्ने उनको सुझाव छ ।

छपाइ खर्च महँगो, सुरक्षा सचेतना छैन

चाडबाडमा टीका लगाउँदा र पूजाआजा गर्दा नोटमा अबिर, केसरी सहित रङहरू लाग्छ । यस्ता नोट राष्ट्र बैंक पुगेपछि त्यसलाई पुनः बजारमा पठाइँदैन । त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा ठूलो लगानी लाग्छ । निरौलाका अनुसार, ‘नोट फोहोर, थोत्रो र मैलो हुने कारणले मात्रै राज्यलाई वर्षमा ४० करोड रुपैयाँसम्मको अतिरिक्त व्ययभार थपिन्छ ।’

नोटको आयु कम हुँदा विदेशमा छपाएर ल्याउन ठूलो खर्च लाग्ने र विदेशी मुद्राको सञ्चितिमा समेत कमी आउने नेपाल राष्ट्र बैंक, गभर्नर कार्यालयमा कार्यरत उपनिर्देशक तथा सूचना अधिकारी डा. भागवत आचार्य बताउँछन् । औसतमा नोटका लागि वर्षेनि अढाइ अर्ब विदेशी मुद्रा भुक्तानी हुने गरेको उनको भनाइ छ ।

‘नोटको जतन गर्नु भनेको विदेशी मुद्रा बचाउनु पनि हो, यो हरेक नागरिकको कर्तव्य पनि हो, हामी सचेत हुँदा हाम्रो सम्पत्ति जोगिन्छ’ डा.आचार्यले भने ।
नेपालमा ल्याएपछि पनि मुलुकका विकट क्षेत्रहरूमा थप रकम खर्च गरेर नोटहरू पुर्‍याउने गरिन्छ । ‘ताप्लेजुङ, हुम्ला जिल्लामा नोट पुर्‍याउन मात्रै पनि हामीले थप रकम खर्च गर्नुपर्ने हुन्छ । नोट बचाउने हो भने नयाँ नोट छापेर पठाउनुपर्ने बाध्यता रहँदैन’ उनले भने ।

विदेशी मुद्रा होशले चलाउनेहरू पनि नेपाली नोट जतनले बोक्दैनन् । राष्ट्र बैंकको ढुकुटीबाट निस्किएको नयाँ नोट औसतमा डेढ वर्षमा झुत्रो भएर फेरि त्यहीं पुग्छ र जलेर खरानी हुन्छ । नेपाली नोटको जतन नहुनुका कारण र कारक ।

 

ठूला नोट छाप्न भन्दा साना नोटका लागि ठूलो धनराशि खर्च हुने गरेको छ । राष्ट्र बैंकका अनुसार, अहिले पाँच रुपैयाँको एउटा नोट छाप्न राष्ट्र बैंकले १ रुपैयाँ ६८ पैसा खर्च गर्छ । ५ रुपैयाँका दरले एक हजार रुपैयाँ पुर्‍याउन २०० वटा पाँच रुपैयाँका नोट चाहिन्छ ।

एक हजार बराबरका ५ रुपैयाँ (२०० थान पाँच रुपैयाँको नोट) छाप्न ३३६ रुपैयाँ खर्च हुन्छ । जबकि एक हजार रुपैयाँको एउटा नोट छाप्न भने ३ रुपैयाँ ३७ पैसा खर्च हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि एक रुपैयाँ र दुई रुपैयाँको नोटहरू समेत प्रचलनमा थिए । तर छपाई लागत महँगो भएका कारण अहिले ती दरका नोटहरू केन्द्रीय बैंकले छाप्न छाडेको छ । अहिले छापिने कागजी सबैभन्दा सानो नोट भनेको नै पाँच रुपैयाँ हो ।

यस्तै १० रुपैयाँको नोट छाप्न ५ रुपैयाँको नोट छाप्न भन्दा सस्तो पर्छ । राष्ट्र बैंकका अनुसार, १० रुपैयाँको नोट छपाई लागत १ रुपैयाँ ४० पैसा पर्छ । यसैगरी २० रुपैयाँको नोट छाप्न १ रुपैयाँ ७३ पैसा, ५० रुपैयाँको नोट छाप्न २ रुपैयाँ ६७ पैसा र १०० रुपैयाँको नोट छाप्न २ रुपैयाँ ९९ पैसा खर्च गर्नुपर्छ । हजार रुपैयाँको नोट भन्दा प्रति नोटका आधारमा हिसाब गर्दा ५०० रुपैयाँको नोट छपाइमा खर्च बढी लाग्छ ।

सुरक्षण चिह्नहरूका कारण छपाइ लागतमा फरक परेको केन्द्रीय बैंकले जनाएको छ । एक हजार रुपैयाँको एउटा नोट छपाइका लागि अहिले राष्ट्र बैंकले ३ रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्छ भने ५०० रुपैयाँका लागि ४ रुपैयाँ ६८ पैसा खर्च गर्ने गरेको छ ।

तर खर्च हिसाब गरेर नोट छाप्ने कामले समाजमा साना दरका नोटको कमी हुने र त्यसले समाजमा एउटा मनोविज्ञान निर्माण हुने सम्भावना पनि छ । समाजशास्त्री डम्बर चेम्जोङ, राज्यले साना नोटलाई वास्ता नगरेर ठूला नोट मात्रै छपाउँदा समाजमा पैसाको महत्व कम हुँदै जाने ठान्छन् । उनका भनाइमा, ‘यो नोटको सुरक्षा नहुनुको दोष समाजलाई होइन राष्ट्र बैंकलाई दिनुपर्छ ।’

नोटको दर (रु.)

लागत खर्च (रु.)

  १.६८

१०

१.४०

२०

१.७३

५०

२.६७

१००

२.९९

५००

४.६८

१०००

३.३७

स्रोत : मुद्रा व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक

‘नोटमा हानि पुर्‍याए तीन महीना कैद’

नयाँ नोट छपाइ र वितरणको खर्च दिन प्रतिदिन बढ्दै गएकोले व्यवस्थापनमा समेत चुनौती आएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् । दशैंमा नयाँ नोट पूरै बन्द नगरे पनि यसमा केही नयाँ निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयन गर्न कठोरताका साथ प्रस्तुत हुनुपर्छ, यसले नोटको आयु बढाउन सक्छ’ निरौलाले भने ।

राष्ट्र बैंकले १२ वैशाख २०७३ मा सफा नोट नीति २०७३ जारी गरेको थियो । यसमा संशोधन गर्दै बैंकहरूलाई गत वर्ष पनि केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले परिपत्र जारी गर्दै आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरूलाई एटीएम लगायतका मेशिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा विभाजन गर्नुपर्ने उल्लेख गरेको थियो ।

त्यसैगरी काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रंग प्रयोग गर्न र एटीएम मेसिनमा पठाउन योग्य नोटको प्याकिङमा हरियो रंगको स्लिप प्रयोग गर्ने र अयोग्य नोटमा रातो रंगको स्लिप प्रयोग गर्न भनेको थियो ।

यसरी वर्गीकरण गरी छुट्याएका स्लिपहरूमा बैंक तथा वित्तीय संस्थाको नाम, शाखा कार्यालयको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन थियो । सो निर्देशन अनुसार, नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन ।

नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । परिपत्र अनुसार झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरू नबुझिने भएको, राजाको चित्र अंकित भएको आदि नोटहरूलाई भने पुनः निष्काशन अयोग्य नोटको रूपमा गणना गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।

नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ । कानूनमै पनि नोटमा केरमेट गरे कारबाही हुने व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐनको दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि–नोक्सानी पुर्‍याएमा तीन महीनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

कानूनले जेलसम्म हाल्ने व्यवस्था गरे पनि नोटमा हुने लापरबाही रोकिएको छैन । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकाल कानून भएर पनि केही व्यावहारिक कठिनाइका कारण कारबाही हुन नसकेको बताउँछन् ।

नोटको जतन नगर्नेलाई कारबाही गर्न चाहे पनि पहिचान गर्न सहज नभएकाले कारबाही नभएको उनको भनाइ छ । अहिले पनि नोटमा प्वाल पार्ने, नाम लेख्ने, छाप हान्ने जस्ता काम रोकिएका छैनन् ।

‘कसैले मोबाइल नम्बर राख्ने, कसैले म तिमीलाई माया गर्छु भनेर नोटमा लेख्ने गरेको पनि पाइन्छ’ पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, ‘नोट हामी सबैको सम्पत्ति हो, राज्यको सम्पत्ति हो भन्नेमा चेतना नै विस्तार भएको छैन ।’

पहिचान नभएर कारबाही गर्न नसक्नु सामान्य कुरा भए पनि कतिपय ठाउँमा पहिचान गर्न सकिने उनको भनाइ छ । ‘फाइनान्स कम्पनी तथा सहकारी संस्थाहरूले आफ्नो संस्थाको छाप समेत राख्ने गरेका घटनाहरू पनि छन्’ उनी भन्छन्, ‘कारबाही गर्नका लागि यस्तो छाप हान्ने संस्था त पहिचान गर्न सकिने थियो नि !’ नोटमा हुने लापरबाही रोक्न एउटा दुई वटा दोषीहरूलाई कारबाही गर्नसके यस्तो गर्न हुँदैन भन्ने चेतना बढ्न सक्ने उनको भनाइ छ ।

पूर्व गभर्नर क्षेत्री कानूनी कारबाहीमा भन्दा डिजिटल कारोबारमा जोड दिनुपर्ने बताउँछन् । बैंकर गणेशराज पोखरेलको भनाइ पनि उस्तै छ । डिजिटल कारोबार राम्रो भएका देशहरूमा पनि नोटहरूको प्रचलन उत्तिकै छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपाल नोटको सुरक्षाका विषय पाठ्यक्रममै समावेश हुनुपर्ने बताउँछन् । उनका अनुसार पाठ्यक्रममा नै वित्तीय साक्षरता, नोटको सुरक्षा लगायत विषय राख्न पाठ्यक्रम विकास केन्द्र भक्तपुरसँग कुरा अन्तिम भइसके पनि कार्यान्वयन हुनसकेको छैन ।

धेरै देशमा पाठ्यक्रममा नै यस्तो विषय हुने भएकाले पनि नागरिकहरू नोटको सुरक्षाका विषयमा सचेत हुने नेपाल सुनाउँछन् । ‘नोटको सुरक्षा गर्नुपर्छ भन्ने कुरा बच्चा बेलादेखि नै सिकाउनुपर्छ, सानैमा सिकेको कुरा पछि कार्यान्वयन हुन्छ’ उनले भने, ‘धेरै देशमा यही अभ्यास छ, जसले सानैमा नोटको सुरक्षाका विषयमा पढेका छन् उनीहरूलाई ठूलो भएपछि बुझाउनु परेको छैन ।’

‘नोट भनेको एउटा सभ्यताको प्रतीक पनि हो, आर्थिकसँगै हाम्रो सामाजिक र धार्मिक विषय पनि नोटमा जोडिएको हुन्छ’ राष्ट्र बैंकका सूचना अधिकारी डा. आचार्य भन्छन्, ‘पशुपतिनाथ, कृष्ण मन्दिर जस्ता धार्मिक र हात्ती, गैंडा, बाघ जस्ता हाम्रा जैविक सम्पत्ति तथा हिमाल जस्ता हाम्रा प्राकृतिक सम्पत्तिहरू पनि हाम्रो नोटमा राखिएका हुन्छन् । नोटलाई जतन गर्नु भनेको हाम्रो धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पत्ति बचाउने चेतना जगाउनु पनि हो ।’

हुन पनि नोट मार्फत विश्वकै अग्लो सगरमाथालाई हाम्रो देशको नाममा चिनाउने सहयोग पुगिरहेको छ । नेपाल घुम्न आउने पर्यटकहरूले नेपाली मुद्रा साट्नुपर्छ । यी नोटमा हाम्रा प्राकृतिक सम्पदाहरू देखिन्छन् । डा. आचार्य भन्छन्, ‘यो हाम्रो गौरवको कुरा हो, ऐतिहासिक सम्पदाहरू समेत राखिएको हाम्रो सम्पत्ति नोट हामीले सुरक्षित राख्नुपर्छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment