+
+

एक पूर्वलडाकू : हिजो काँधमा बन्दुक, आज हत्केलामा फूल  

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ कात्तिक १९ गते १८:०७

१८ कात्तिक, दाङ । मुलुकमा माओवादी सशस्त्र जनयुद्ध अन्त्य नहुँदो हो त उनको पृष्ठभूमि शायद फरक हुने थियो । यतिबेला उनी कुनै आक्रमण वा युद्ध भिडन्तका लागि योजना बनाउँदै हुने थिए । काँधमा बन्दुक र हातमा बारुद बोकेर उनी युद्धभूमिमा कि मर्न र मार्न तयार हुँदा हुन् ।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा दाङका घोराही–१४ झिगौराका लोकेन्द्र बुढामगरले बन्दुक उठाए । बन्दुकको नालमा क्रान्तिको सपना देखे । जीउज्यान नभनी परिवर्तनका निम्ति लडे । आज १८ वर्षपछि परिस्थिति ठीक उल्टो भइदिएको छ । एउटै कालखण्डमा दुई फरक–फरक जीवन बाँचेजस्तो । किनभने उनको हातमा अहिले बन्दुक होइन, फूल छ ।

एसएलआर र ग्रिनेड समाउने उनका हात अहिले फूल हुर्काउनमा व्यस्त छन् । फूलको हेरचाह गर्नु, तिनलाई गोडमोल गर्नु उनको दिनचर्या बनेको छ । पूर्व माओवादी लडाकू रहेका उनी बन्दुक बिसाएर तीन वर्ष यता व्यावसायिक फूलखेतीमा भुलेका छन् ।

क्रान्तिका लागि बन्दुक समाएका लोकेन्द्र कसरी फूल सामाउन पुगे ? यसको यकिन जवाफ उनीसँग पनि छैन । तर के हो भने भित्री मनमा कतै हिजो जनयुद्धका घाउहरु बिर्सन उनी शान्ति खोजिरहेका थिए र बाँच्ने आधार पनि ।

अनि बन्दुक समाए

रोल्पाको सुनछहारी गाउँपालिका–७ जेलवाङ हो लोकेन्द्रको घर । मुलुकमा सशस्त्र द्वन्द्वको बेला यो गाउँ निकै प्रभावित बन्यो । राज्यपक्षबाट ६३ र विद्रोही पक्षबाट १० गरी जेलबाङबाट ७३ जना मारिए ।

उनी स्कुल पढ्दै गर्दा मुलुकमा जनयुद्ध चर्कंदै थियो । माओवादीहरु गाउँगाउँमा संगठन विस्तार गर्दै जनमानसमा ढाडस दिन शुरु गरिसकेका थिए ।

यता, सामन्तहरुको बिगबिगी । आर्काेतिर त्यही उत्पीडनले जन्माएको माओवादीको नयाँ जनवादी क्रान्ति । उनको बालमस्तिष्कमा क्रान्तिको गहिरो प्रभाव पर्‍यो । देश बद्ल्नुुपर्छ भन्ने विद्रोह भाव सवार भयो । ‘त्यो परिवेश त्यस्तै थियो,’ उनी सम्झिन्छन्, ‘उत्पीडन र असमानताले धेरै मानिस जनयुद्धमा सरिक भइसकेका थिए ।’

त्यसमाथि प्रहरी र सेनाको ज्यादती उस्तै थियो । घरघरबाट प्रहरी र सेनाले अनेक दुःख दिन्थे । गाउँबाट मानिसहरु छोप्दै लिएर जान थालेका थिए । द्वन्द्व चर्कंदैै जाँदा गाउँका अनाहक सर्वसाधारणलाई घरबाटै समातेर मार्ने क्रम बढ्यो । त्यसपछि उनी भूमिगत भए । ‘गाउँमा कुनै पुरुष घर बस्ने सक्ने अवस्था थिएन,’ उनी ती दिन सम्झिन्छन्, ‘कति बेला प्रहरीले लैजाने हो र बेपत्ता बनाउने पत्तो नहुने ।’

उनी माओवादीको बाल संगठन हुँदै विद्यार्थी संगठनमा भूमिगत रहेर काम गरे । २०६० सालपछि भने उनी प्रत्यक्ष युद्धको भूमिकामा आए ।

पहिलो पटक बन्दुक समाउँदा उनको उमेर १८ वर्ष थियो । तर युद्धको उन्माद अर्कै हुने । बन्दुक समाउन पाए संसार जित्ने आँट आउँथ्यो । किशोरावस्था छँदा बन्दुक समाएका उनी त्यसपछिका थुप्रै प्रत्यक्ष युद्धमा ज्यानको बाजी थापेर लडे । उनलाई लाग्थ्यो, ‘बन्दुकको नालबाट मात्र क्रान्ति सम्भव छ ।’

तर युद्धको बाटो सजिलो थिएन । बन्दुक र गोला बारुद बोकेर जीवन दाउमा बोकेर हिँड्नुपर्ने । युद्धको धर्म थियो, कि मर्ने कि मार्ने । कति बेला सुरक्षा फौजको फन्दामा परिने हो पत्तो नहुने । संयोग भनौं, मुलुकमा भएको दशवर्षे जनयुद्धबाट उनी सकुशल फर्किए । ‘त्यति ठूलो युद्धबाट बाँचेर आइएछ,’ उनी विगत सम्झेर सुस्केरा काढ्छन् । हिजो युद्धका बेला बन्दुक बोकेर हिँडेका ती दिन । युद्धभूमिमा आँखै अगाडि ढलेका सहयोद्धाहरु । आज सम्झिँदा एउटा नमीठो सपनाबाट बिउँझिए जस्तो लाग्छ उनलाई ।

मुलुकमा युद्धबिराम हुँदा नहुँदै उनी खाडी मुलुकतिर हान्निए । आठ वर्ष खाडीको तातोमा बिताए । त्यसपछि उनी नेपाल फर्किए । २०६८ सालमा उनी फर्कंदा माओवादीले बन्दुक बिसाएर शान्ति प्रक्रियामा आइसकेको थियो । जनयुद्धबाट मुलुक फेर्ने सपना देखाउने कमाण्डर र नेताहरु सत्तामा थिए । तर युद्ध लडेका सहयोद्धाहरु उपचार नपाएर छटपटाइरहेको उनले देखे । त्यसमाथि घाइते, अपाङ्ग, शहीद र बेपत्ता परिवारका आलो घाउ र आँशु उस्तै थियो । न त सोचेको जस्तो मुलुक परिवर्तन भएको थियो । बरु नेताहरु पो सत्तामा पुगे । ‘जुन आदर्श बोकेर हामी लड्यौं, त्यो पूरा भएन,’ उनले भने, ‘अहिले सम्झिँदा बेकार लडिएछ जस्तो लाग्छ ।’

खाडीबाट फर्किएपछि उनको मनले फेरि त्यहाँ जान मानेन । त्यहीबीच उनले फूलखेती गर्ने सोच बनाए । फूलप्रतिको मोह बढ्न थाल्यो । क्रान्तिका लागि बन्दुक समाएका उनी कसरी फूल सामाउन पुगे ? यसको यकिन जवाफ उनीसँग पनि छैन । तर के हो भने भित्री मनमा कतै हिजो जनयुद्धका घाउहरु बिर्सन उनी शान्ति खोजिरहेका थिए र बाँच्ने आधार पनि । त्यसैको विकल्पमा फूलखेतीलाई व्यावसायिक कर्मका रुपमा अँगाल्न पुगे ।

घोराहीको झिगौरामा तीन वर्षअघि व्यावसायिक फूलखेती शुरु गरे । त्यही फूलखेती अहिले बढेर जलजला पुष्पखेती फर्मका रुपमा सञ्चालनमा छ । जहाँ ७० बढी जातका फूल हुर्किरहेका छन् । त्यसमाथि करिब एक बिघा जग्गामा उनले हजारी फूलको खेती गरेका छन् । असारदेखि हिउँदसम्म उनी हजारी फूल फुलाउँछन् । तिहारदेखि विवाह, पूजा र पार्टी उत्सवहरुमा हजारी फूलको माग बढ्दो छ ।

सामूहिकबाट शुरु गरेर अहिले एक्लै फूलखेती गरिरहेका लोकेन्द्रलाई जीवन जिउने आधार मात्र बनेको छैन, फूल । हिंसात्मक युद्धबाट बन्दुक बिसाएपछि फूलखेतीबाट शान्तिको विम्ब समेत उनले पस्किरहेका छन् ।

बन्दुक र फूलको संगम

१८ वर्षको अन्तरालमा उनले क्रान्तिका निम्ति बन्दुक समाए र शान्तिका लागि फूल । हिजो बन्दुक समाउँदा उनीभित्र एक किसिमको विद्रोहको भाव सवार थियो । क्रान्तिबाट मुलुक बदल्ने सपना देख्थे । राज्यको नजरमा उनी विद्रोही थिए । विचार र भावना दुवै क्रान्तिकारी ।

तर उनको स्वभाव फरक छ । फूल समाएयता उनी शालिन छन्, विलकुल फूलजस्तै । हिजोजस्तो मस्तिष्कमा विद्रोहको भाव सवार छैन लोकेन्द्रमा । बोलीमा क्रान्तिकारी लवज होइन, विनम्रता झल्कन्छ । फूलले उनलाई यही कुरा सिकाएको छ ।

हिजो बन्दुक बोकेर युद्धमा हिँडेका दिनहरु सम्झिँदा कहिलेकाहीं उनलाई झस्काउँछ । मनमा बेचैनी र उकुसमुकुस हुन्छ । तब उनी टहलिन फूलबारीमा पुग्छन् । फूलहरु सुम्सुमाउँदै केहीबेर भुल्छन् । अनि उनको मनमा एक प्रकारको शान्तिको अनुभूति हुन्छ । सशस्त्र जनयुद्ध र खाडीमा पाएको दुःख फूलले बिर्साइदिएको छ । भन्छन्, ‘फूलसँग रमाउन पाउँदा सन्तुष्ट छु र खुशी पनि । जीवनमा केही गर्दा नपाएको आनन्द फूलखेती गर्दा पाएँ ।’

पुष्प क्रान्ति

क्रान्ति नगरी मुलुकमा परिवर्तन हुँदैन भन्ने कुरा अहिले पनि उनलाई लाग्छ । तर अब कुनै बन्दुकबाट गरिने रक्तश्राप क्रान्ति भने होइन । उनी कृषि क्रान्तिको कुरा गर्दैछन् ।

‘परिस्थितिवस हिजो बन्दुक उठाउनुपर्‍यो,’ उनी भन्छन्, ‘तर अब त्यो क्रान्तिले हुँदैन । जनताको जीवन बदल्ने क्रान्ति जरुरी छ, जुन कृषिबाट सम्भव छ ।’ उनको भाषामा भन्दा हिंसात्मक क्रान्ति नभएर श्रम र शान्तिको क्रान्ति ।

विगतमा आफूले बन्दुक उठाउँदा देखेको परिवर्तनको सपना उनी अहिले फूलखेतीबाट सम्भव ठानेका छन् । हिजो बन्दुकको क्रान्तिबाट सम्भव नभएको सपना उनले आफ्नै बारीमा हुर्किरहेका फूलहरुमा देखिरहेका छन् ।

यता नेताहरु भने आज पनि समाजवाद र साम्यवादका सपना देखाइरहेका छन् । तर यी सबै कुरा उनलाई फगत लाग्छ । नेताका भाषण सुन्दा अचेल उनी दिक्क हुन्छन् । उनी भन्छन्, ‘हिजो जसले समाजवादका सपना देखाए । सत्तामा पुगेपछि त्यो सबै बिर्सिने रहेछन् । जसका निम्ति हिजो यति ठूलो युद्ध भयो, उनीहरुले त केही गर्न सकेनन् । अब झन् कसको विश्वास गर्नु र ?’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?