+
+

छठ सुरु भएसँगै वीरगञ्जमा बढ्यो चहलपहल, सडकमा ब्यापार बढ्यो

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक २३ गते ७:४२

२३ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिएकोले वीरगञ्जको मुख्य सडकमा सवारी साधनको चाप छ । घण्टाघरदेखि माईस्थानसम्म पुग्न सामान्य अवस्थाभन्दा धेरै समय लाग्छ । सडकको एक साइडमा बाइक पार्किङ गर्ने गरिएको छ । तर बाइक पार्क गर्न ठाउँ पाउनै मुस्लिक छ । बरु एक लाइनको साटो कतै कतै दुई लाइन पार्किङ भएको देख्न सकिन्छ ।

वीरगञ्जमा चाडपर्वको बजार सडकमै लाग्छ । वडा दसैँमा जस्तै छठ पर्वको बजार पनि मुख्य सडकमै लाग्न थालेको छ, घण्टाघरदेखि माईस्थानसम्म । मानिसको चहलपहल यही क्षेत्रमा बढी छ ।

घण्टाघर नजिकै बोटसहितको अदुवाको चाङ लगाइएको छ । मानिसहरू बाइकबाट ओर्लने कष्ट पनि गरिरहेका छैनन् । बाइक चलाउँदै सोध्छन् । ‘आदी कैसे बा ?’ (अदुवा कसरी छ ?) व्यापारी दीपक साह जवाफ दिन्छन्, ‘किलो के सय’ (किलोको सय रुपैयाँ) । उनीहरूले खरिद गर्न नभइ भाउ बुझ्न मात्रै खोजेका हुन्छन् ।

तैपनि उनी भन्छन्, ‘आइ न केतना चाँही, मिलाके ले जाइ’ (आउनुस न कति चाहिन्छ मिलाएर लैजानुस ।’ भाउ मात्रै सोधेर जानेहरू उनलाई मन पर्दैनन् । तैपनि लगिहाल्छन कि भनेर सक्दो कोसिस गर्छन् । अझ एक जना मानिसले त ‘अन्यत्र सयमा डेढ किलो मिलिरहेको छ ? भनेर जवाफ फर्काएर गए । दीपकले ‘समान हेरेर पनि हुन्छ’ भन्ने जवाफ फर्काएर चुप बसे ।

सय रुपैयाँ प्रतिकिलो अदुवा बेचिरहेका उनलाई सोमबार एउटा अनौठो प्रश्नको सामना गर्नुपर्‍यो । ‘माया लागेन उखेलेर ल्याउनलाई ?’ एक जना महिलाले प्रश्न गरिन । ‘मैले उखेलेको हैन, किनेर ल्याएको हो,’ दीपकले उत्तर दिए । ‘चाडपर्वमा आवश्यक पर्छ त उखेलेर ल्याउनैपर्छ नि हैन ?’ उनले समर्थन खोजे ।

दीपक वीरगञ्जका सिजनल व्यापारी हुन् । यसपालिको छठमा उनले केराको घरी र अदुवाको व्यापार गरिरहेका छन् । घण्टाघर छेउमा अदुवा बेच्न राखेका उनले मिनाबजारमा केराको घरी राखेका छन् । दीपकले ७० रुपैयाँ प्रतिकिलोमा तीन क्विन्टल बोटसहितको अदुवा किनेका छन् । छठको सझियाँ घाटेका दिनसम्म बिक्री भइसक्ने विश्वास उनको छ ।

ग्राहकले एक किलो, आधा किलो किन्दा सय रुपैयाँ किलोमा बेच्ने उनले धेरै लैजाने ग्राहकलाई छुट पनि दिने गरेका छन् । ‘ महानगरपालिकाले दिनको २५ रूपैयाँ लिन्छ । घाटा होस वा नाफा उनीहरूलाई मतलब हुँदैन,’ उनले भने ।

छठ पर्वमा बोटसहितको अदुवा आवश्यक पर्छ । छठमा खेतबारीमा उब्जनी हुने सामान नै प्रयोग हुन्छ । तर सबैले खेती नगर्ने र सबै समान एकै जनाको खेतबारीमा हुँदैन । त्यसैले छठमा व्रत गर्ने मानिसहरूले बजारबाट खरिद गरेर लैजान्छन् । अदुवा मात्रै हैन, छठ पर्वमा कोशी भर्न र अर्घ दिन आवश्यक सबै बस्तु बजारमा पाइन्छ । भिश्वाकी सपना देवीलाई छठको लागि समान किन्ने चटारो छ । उनीजस्तै छठका लागि समान किन्नेको घुइँचो वीरगञ्जको बजारमा देखिन्छ ।

छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा मानिसहरूको चहल पहल बढेको छ । छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरू वीरगञ्ज र आसपासका गाउँबाट बजार आएका हुन् । वीरगञ्जको मुख्य बजार क्षेत्र घण्टाघर र माईस्थान क्षेत्रका सडकमा छठका समान किनबेच गर्नेको घुइँचो छ ।

वीरगञ्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् । वीरगञ्जलगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ ।

विगतको वर्षमा जस्तै छठ पर्वका लागि आवश्यक सामग्रीसहित वीरगञ्ज -१६ नगवाकी शिव कुमारी सोमबार दिउँसो माईस्थानको सडकमा आईन । तर यसपालि उनलाई पसल लगाउन सास्ती भयो । ट्राफिकले माईस्थान चोकमा बजार लगाउन दिएन । बल्ल बल्ल साँझतिर पसल लगाउन पाईन । त्यो पनि मन्दिर जाने तर्फको बाटोमा । पसल राख्ने वित्तिकै महानगरपालिकाले २५ रुपैयाँको चिट थमाईदियो । अन्य समयमा तरकारीको व्यापार गर्ने उनी छठमा कोशी भर्ने र अर्घ दिने समान बिक्री गर्छिन् । सुथनी, अरुनी, बोडी, आदि (अदुवा), हर्दी (बेसार), निम्बु (कागती), मुरही (मुला) पसलमा राख्छिन् ।

‘हरेक वर्ष माईस्थान चोकमै पसल लगाउने गरेको थिँए । तर यसपालि ट्राफिक प्रहरीले लगाउन दिएन, साँझतिर बल्ल लगाएँ’ उनले भनिन्, ‘ निर्धन उत्थान बैंकबाट ८० हजार रूपैयाँ ऋण लिएर समान किनेको छु । बिक्री गर्न पाएन भने कसरी हुन्छ ? ‘

छठको समान बिक्री गरेर परिवारका लागि नयाँ लत्ता कपडा लिनुको साथै छठ पर्व मान्ने खर्च निकाल्ने गरेको उनले सुनाइन् । ‘घरमा हामी श्रीमान् श्रीमतीसँगै तीन जना छोरी र एउटा छोरा छ । सबैलाई पढाइरहेको छु । छठमा सबैलाई नयाँ कपडा किन्नुपर्छ’ उनले भनिन्, ‘समान बिक्री गरी दुई रूपैयाँ कमाइएन भने बालबच्चालाई नयाँ कपडा कसरी किन्न सकिन्छ ? छठ पर्वको खर्च पनि यसैबाट निकाल्ने गरेको छु ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले सडकमा व्यापार गर्नमा रोक लगाईएको जानकारी दिए । ‘सडकमा सवारी साधन गुड्न ठाउँ पुग्दैन, पार्किङ पनि त्यही हुन्छ, व्यापार पनि गर्न दिँदा ट्राफिक अस्तव्यस्त हुन्छ’ उनले भने ‘ त्यसैले मुख्य सडकमा पसल राख्न दिएका छैनौं । माईस्थान मन्दिर अगाडि पार्कमा समान राखेका छन् ।’

वीरगञ्ज बजार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा अदुवा, पिडालु, मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरालगायतका कृषिजन्य उपज हुने गर्दछ । अर्घपातका लागि कसैली (सुपारी), अलैची, ल्वाङ, सिन्दुरलगायतका समान चाहिन्छ ।

कसरी मनाइन्छ छठ

तराई मधेसमा कात्तिक शुक्ल द्वितीया अर्थात भाईटीका दिन गोर्वद्धन पुजा गरिन्छ । सोही दिन महिलाहरुले सामूहिक रुपमा गोधन कुटाइ गर्नुको साथै छठको गीत गाएर सूर्यको आराधना गर्छन् । छठ पर्वमा निकै चोखोनितो गर्नुपर्ने हुन्छ । सम्पूर्ण प्रसादी नयाँ चुल्होमा पकाइन्छ । गोधन कुटेकै दिन गएर माटो ल्याएर चुल्हो बनाइन्छ । खाली पेटमा चुल्हो बनाइसकेर व्रतालु महिलाले चामलको विशेष परिकार ‘पीठा’ खाई मुख जुठो गर्छन् । गहुँ ल्याउने धुनेलगायत आवश्यक तयारी शुरु गरिन्छ ।

पर्वका लागि साठीको चामल गहुँमा मिसाएर पिसाउने गरिन्छ । हलो नजोति फलेको चामललाई साठीको चामल भनिन्छ । एक पटक धान काटेर बसेको ठूटो पलाएर पूनः फलेको धानबाट साठीको चामल निकालिन्छ । अक्षताको रुपमा र अर्घमा समेत सोही चामल प्रयोग गर्ने चलन छ ।

कात्तिक शूक्ल चौथी तिथिका दिनबाट भने विधिवत रुपमा छठ आरम्भ हुन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै छठ सम्पन्न हुन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दुको मुख्य पर्व नै छठ हो । छठ पर्वमा पछिल्लो समय अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।

छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोटसहितको अदुवा, सिजनका फलफुल र हरियो तरकारीहरू हुन् ।

यसवर्ष कात्तिक २४ गते बुधबार ‘सँझिया घाटे’ अर्थात मुख्य छठको दिन परेको छ । २५ गते बिहीबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।

छठमा पहिलो दिन अर्थात चौथीको दिनलाई ‘अरवा अरवाइन’ भनिन्छ । यसदिन चोखोनितो हुने गरिन्छ । व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायत जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना एक छाक खाने गर्छन् ।

दोस्रो दिन अर्थात् पञ्चमीको दिन व्रतालुहरू निर्जला व्रत बस्छन् । जसलाई स्थानीय भाषामा ‘नहाय खाए’ भन्ने गरिन्छ । साँझ पख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा नयाँ चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर, रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाइन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार व्रत बसेपछि राति गरिने फलाहारलाई ‘खरना’ र ‘रसिआव रोटी’ भन्ने चलन छ । रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि मात्रै प्रसादको रुपमा ग्रहण गरिन्छ ।

पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने गरिन्छ । ब्रतालुहरुले साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा फलफुल, पान, सुपारी उखु आदिले अध्र्य दिई पूजा गर्छन् । यसलाई ‘सँझिया घाटे’ पनि भनिन्छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ । त्यसलाई ‘पारण’ भन्ने गरिन्छ ।

त्यसपछि व्रतालुहरूले नजिकमा रहेका देवि मन्दिरहरुमा पुजा अर्चना गर्ने र घरमा रहेका ठूला बडाको आशीर्वाद थाप्ने चलन छ । लामो समय उपवास बसेका कारण ब्रत तोडने बेलामा तातो पानीमा अदुवा र सख्खर मिसाएर बनाईएको घोल खाएपछि मात्रै अन्य खानेकुरा खान्छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?