+
+

भरतपुरले सिकाएको पाठ : विद्युत् प्रणालीमा ‘रिङ मेन’ अनिवार्य

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक २३ गते १२:४८

२३ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीको १३२/११ केभी सबस्टेसन सोमबारदेखि फेरि पूर्णक्षमता सञ्चालनमा आयो । दोस्रो ट्रान्सर्फमर पनि जोडेपछि भरतपुरमा उद्योगहरुले पनि लाइन पाउन थालेका छन् ।विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रणालीलाई पर्याप्त र वैज्ञानिक तवरले सुधारको काम गर्न नसक्दा र भइरहेका काममा पनि अवरोध हुँदा समय-समयमा समस्या आउने गरेको बताउँछन् ।

तिहारअघि दुबै ट्रान्सर्फमर बिग्रिएपछि कार्यकारी निर्देशक घिसिङ आफैं भरतपुर गई बल्लतल्ल व्यवस्थापन गरेर लक्ष्मीपूजाको दिन विहानबाट ३६ घण्टापछि घरायसी ग्राहकलाई लाइन दिन शुरु गरिएको थियो ।

सबस्टेसनमा रहेका दुई ट्रान्सर्फममध्ये एउटामा १३ कात्तिक र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । दुबै ट्रान्सर्फमर सँगसँगै बिग्रने घटना कमै हुने भएपनि तिहारको बेला आइलागेको भवितव्यलाई प्राधिकरणले पार भने लगायो ।

यो घटनाले वितरण तथा प्रसराणलाइन सुधारको लागि प्राधिकरणमाथि थप दबाव सिर्जना भएको  छ । वर्षैसाल विद्युतको माग बढ्दै गएकाले सबस्टेसन नै ‘सटडाउन’ हुने जोखिम पनि बढ्दो छ । यस्तो समयमा प्राधिकरणले निर्माणाधीन पूर्वाधारलाई छिटो सम्पन्न गर्न सकेको छैन ।

‘हामीले पूर्वी चितवनको हर्दीमा नयाँ सबस्टेसन तयार गरेका छौं, तर त्यहाँबाट भरतपुरतर्फ लाइन ल्याउन ३३ केभीको लाइन बनाउँदै गर्दा स्थानीयले अवरोध गरे,’ कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘पूर्वी चितवनको सबस्टेसन भरतपुरको लाइनमा जोड्न पाएको भए यस्तो समस्या आउँदैन थियो ।’

उनले भरतपुरको बसेनी सबस्टेसन बिग्रिएपछि भरतपुरकै अन्य सबस्टेसनबाट केही क्षेत्र र अत्यावश्यकीय सेवा दिने अस्पताल र सरकारी कार्यालयमा लाइन दिन सकेको बताए । ‘बनिसकेको सबस्टेसन प्रयोगमा ल्याउन नसकिने अवस्था चाँहि दुःखद् छ’, घिसिङले भने ।

उनका अनुसार विद्युत वितरण लाइनलाई विश्वसनीय र भरपर्दो बनाउन रिङ सर्किट अपरिहार्य छ । एउटा सबस्टेसन वा लाइनमा समस्या भएर लाइन काटिए अर्को सबस्टेसनबाट तत्कालै लाइन दिने प्रणाली बनाउनुपर्छ ।

उपत्यकाभित्रै समस्या

उपत्यकाका सीमित क्षेत्रमा त्यसको अभ्यास भएपनि बाहिरका सबस्टेसनहरुलाई एक अर्काको परिपुरक बनाउने काम हुन सकेको छैन ।

‘प्रणालीमा जति बेला पनि समस्या आउन सक्छ, तर त्यसलाई व्यवस्थापन गर्न रिङ मेन प्रणाली आवश्यक हुन्छ,’ कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘भरतपुरमा पनि बसेनी बिग्रनासाथ तत्कालै बिजुली दिन नसक्नुको कारण भनेको त्यस्तो प्रणालीको लागि हामीले काम नै गर्न नपाएर हो ।’

यसैपनि नेपालमा वितरण तथा प्रसारणलाइनको क्षमता कमजोर छ । वितरण तथा प्रसारणलाइनमा एकैपटक ठूलो माग आउँदा वा कुनै भवितव्य पर्दा प्राधिकरण विकल्पहीन हुने अवस्था छ ।

ठूलो लगानी आवश्यक पर्ने भएपनि सीमित बजेटका कारण प्राधिकरणले आवश्यक्ताअनुसार लाइन र सबस्टेसन बनाउन सकेको छैन । बन्न लागेका पूर्वाधारमा पनि मुआब्जा र रुट विवादका कारण अवरोध छ ।

वितरण ट्रान्सर्फमरहरु थपिएपनि प्रसारणलाइन र सबस्टेसनको क्षमता बढाउन नसक्दा झ्याप-झ्याप बिजुली जाने समस्या छ ।

ओभरलोड भएकालाई फेरेर उच्च क्षमताका नयाँ ट्रान्सर्फमर राख्न वा आफ्नो क्षेत्रमा प्रसारण लाइन तथा सबस्टेसन बनाउन स्थानीयले नदिने, प्राधिकरणले जग्गा नपाउने लगायत कारण उपत्यकामा विद्युत् लाइन विस्तार गर्न समस्या भइरहेको प्राधिकरणले बताउँदै आएको छ ।

काठमाडौं उपत्यकाभित्र पनि भरतपुरकै जस्तो समस्या पर्नसक्ने जोखिम छ । उपत्यका घेरेर प्रसारणलाइन र सबस्टेसन बनाउने प्राधिकरणको योजना अधुरो हुँदा सबै भागमा बिजुली पुर्‍याउन सकस भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

उनका अनुसार, २२० केभी प्रसारणलाइनबाट मर्स्याङ्दी र त्रिशुली हुँदै मातातीर्थ आएको बिजुली उपत्यकाका सबस्टेसनहरुमा ल्याउन प्रसारणलाइनकै अभाव छ ।उपत्यकाभित्र ट्रान्सर्फमरहरुको क्षमता बढाइए पनि रिङ (बाहिरी वितरण चक्र) बाट सहजै विजुली ल्याउन नसक्दा शहरमा एउटा सबस्टेसन समस्याग्रस्त भएका समस्या पर्ने अवस्था रहेको घिसिङ बताउँछन् ।

‘जस्तो ललितपुरको कुनै सबस्टेसनमा समस्या आउँदा प्रभावित क्षेत्रका अर्को सबस्टेसनबाट आपूर्ति गर्न सकियोस् भनेर व्यवस्थापन गर्न खोजेका छौं, तर गाह्रो परिरहेको छ’, उनी भन्छन् ।

अब शहरमा भूमिगत प्रसारणलाइन

बिजुलीको माग बढेकै दरमा वितरण तथा पूर्वाधार बन्नुपर्छ । उपत्यकामा वितरण क्षमता तीन हजार मेगावाटसम्म नपुर्‍याए केही वर्षपछि समस्या पर्ने घिसिङ बताउँछन् । त्यसका लागि काम थालिए पनि विभिन्न ठाउँमा अवरोध भएको उनको गुनासो छ ।

उनका अनुसार, काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सहज पार्न थालिएका धेरैजसो काम अलपत्र परेको छ । आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी रिङ सर्किट प्रसारणलाइन निर्माणमा स्थानीयवासीन्दाको अवरोध छ । यो लाइन नबन्दा मातातीर्थसम्म जति बिजुली ल्याएपनि शहरभित्र वितरण गर्न नसकिने घिसिङले बताए ।

खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्न, त्यो नभए तारको लठ्ठामुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा र क्षतिपूर्ति दिन माग राखेका छन् । ललितपुर महानगरपालिका-२१ खोकनामा बनिसेकको २७ नम्बर टावरको नट-बोल्ट खोलेर ढालिएको १८ वैशाख २०७६ मा पाइएको थियो ।

बुङ्मतिमा टावर ढालेपछि निरीक्षणमा पुगेको प्राधिकरणको टोली

थुप्रै ठाउँमा स्थानीयवासीले प्रसारणलाइनविरुद्व संघर्ष समिति नै बनाएका छन् । घिसिङका अनुसार यो प्रसारण लाइन निर्माण सम्पन्न भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारणलाइनको रिङ बन्छ । त्यो रिंगबाट विजुली वितरण लाइनमा गुणस्तर थपेर लाइन आउने-जाने समस्या हल गर्न मद्धत गर्छ ।

आयोजनाहरुबाट आएको बिजुली उपत्यका छिराउनै नपाउने समस्या आएपनि प्राधिकरण विकल्पहरुमा अघि बढेको छ । थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइनमा अवरोध कायमै रहेपछि विद्युत् आपूर्ति प्रभावित हुन नदिन चोभारको सुख्खा बन्दरगाहसँगै सबस्टेसन बनाइँदैछ ।

उपत्यकाको विद्युत प्रणालीलाई प्रभावकारी बनाउन एक स्थानको सवस्टेशनमा समस्या आउँदा अर्को सबस्टेसनबाट लाइन दिन काठमाडौंको लप्सीफेदी, मुलपानी, फुटुङ, भक्तपुरको चाँगुनारायण र चापागाउँमा सबस्टेसन निर्माणाधीन छन् ।

‘अब प्रसारणलाइनलाई भूमिगत रुपमा शहरमा छिराउने तयारी गर्दैछौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ उनी भन्छन्, ‘चोभारबाट  भूमिगत लाइनबाट पाटन हुँदै भक्तपुरसम्म प्रसारणलाइन बनाउने योजना छौं । नदी करिडोरहरुमा भूमिगत लाइन बिछ्याउँछौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?