+
+

बढ्यो रामचन्द्र र प्रकाशमानको दुरी

आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको छुट्टै बैठक राखेर साझा धारणा तय गर्ने तयारी गरेका छन् । तर प्रकाशमान सिंह भने शुक्रबार पौडेलले बोलाएको बैठकमा नजाने सम्भावना छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ कात्तिक २५ गते १८:५८

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहको दुरी बढेको छ । दुई नेताबीच पछिल्लो समय औपचारिक सम्वाद पनि हुन छाडेको नेताहरु बताउँछन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा फेरि दोहोरिन चाहेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापति उठ्ने बताएका छन् ।

पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

यो समूहका नेताहरुले बेलाबेलामा साझा उम्मेदवार अघि सार्ने दाबी गर्ने गरेका छन् । व्यवहारमा भने चार आकांक्षी एकै ठाउँमा भेला हुन समेत कठिन हुन थालेको छ । त्यसको एउटा कारण हो, रामचन्द्र र प्रकाशमानको बढ्दो दुरी ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको छुट्टै बैठक राखेर साझा धारणा तय गर्ने तयारी गरेका छन् । तर प्रकाशमान सिंह भने शुक्रबार पौडेलले बोलाएको बैठकमा नजाने सम्भावना छ ।

नेताहरुले बताएअनुसार मन्त्रिपरिषद् विस्तारसँगै प्रकाशमान, पौडेलसँग नराम्रोसँग चिढिएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पौडेल समूहसँग दुई मन्त्रीको नाम मागेका थिए । मन्त्रीका लागि पौडेल, कोइराला र सिंहको आआफ्नो सूची थियो ।

पूर्वमहामन्त्री सिंहले राजन केसी, पौडेलले तेजुलाल चौधरी र महामन्त्री कोइरालाले डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतलाई मन्त्री बनाउन चाहेका थिए । समूहमा भाग पुर्‍याउन समस्या भएपछि नेताहरुले २० असोजमा देउवालाई भेटेर तीन मन्त्री पाउनुपर्ने माग गरेका थिए ।

तर २२ असोजमा मन्त्रिपरिषद् विस्तार हुँदा पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू मात्र परे । रक्षामन्त्री रिजाल र कानुनमन्त्री बडू महामन्त्री कोइराला निकट मानिन्छन् । यससँगै नेता सिंह, वरिष्ठ नेता पौडेलसँग रुष्ट बनेका छन् । आफूहरुलाई देखाएर भाग लिएको, तर आफूसँग परामर्श समेत नगरी मन्त्रीहरु पठाएको पूर्वमहामन्त्री सिंहको गुनासो छ ।

काठमाडौंका स्थानीय तहहरुको निर्वाचनले पनि सिंहको असन्तुष्टिलाई मलजल गरेको छ । काठमाडौंमा पार्टी संगठनभित्र सिंहको पकड बलियो छ । सिंहले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगनकुमार थापासँग मिलेर काठमाडौंको स्थानीय तहमा उम्मेदवारहरु छनोट गरेका थिए । तर नेताहरुले सहयोग नगर्दा केही ठाउँमा हार्नु परेको सिंहको आरोप छ । ‘तारकेश्वर, टोखा र कागेश्वरी मनहरा नगरपालिकामा नहार्नुपर्ने ठाउँ थियो, हाम्रा नेताहरुले सहयोग नगर्दा परिणाम हाम्रो पक्षमा आएन’ सिंह निकट एक नेता भन्छन् ।

यी सबै घटनाक्रमले सिंह, पौडेलसँग टाढिएका छन् । झण्डै एक महिनादेखि दुई नेताबीच औपचारिक भेटघाट रोकिएको छ भने फोनमा समेत सम्वाद हुन छाडेको छ ।

संयुक्त पत्रकार सम्मेलन गर्न मानेनन्

कांग्रेसमा क्रियाशील सदस्यताका अधिकांश विवाद टुंगिएपछि अधिवेशनले गति लिने संकेत गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो तालिकाअनुसार बाँकी वडा अधिवेशनहरु कात्तिक २७ गतेदेखि हुनेछ भने प्रदेश अधिवेशन मंसिर पहिलो साता हुनेछ ।

त्यसलाई मध्यनजर गर्दै नेताहरुले ३० कात्तिकमा पौडेल समूहका सभापतिका चार आकांक्षीको संयुक्त पत्रकार गर्ने प्रस्ताव गरेका थिए । १८ असोजमा वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन पनि चार नेताले संयुक्त पत्रकार सम्मेलन गरेर केन्द्रीय सभापतिमा साझा उम्मेदवार बनाउने बताएका थिए ।

यो पटक पूर्वमहामन्त्री सिंहले संयुक्त पत्रकार सम्मेलनमा आउन अस्वीकार गरेका छन् । आफ्नो फोन समेत नउठाएपछि वरिष्ठ नेता पौडेलले ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतलाई सिंहलाई भेट्न पठाएका थिए ।

तर सिंहले संयुक्त पत्रकार सम्मेलनमा आउदिँन भन्ने सन्देश पठाएको स्रोतको दाबी छ । वरिष्ठ नेता पौडेलले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्, त्यहाँ पनि सिंह नजाने सम्भावना छ ।

निकटवर्तीहरुका अनुसार पूर्वमहामन्त्री सिंह अब महाधिवेशनको तयारीमा जुट्ने र आफ्नो नाममा सहमति नभए पनि सभापतिमा उम्मेदवारी दिने मनस्थितिमा देखिएका छन् । १३ औं महाधिवेशनमा पौडेललाई नेता मानेकाले यो पटक आफूलाई सहजै छाड्नुपर्ने उनको तर्क छ । तर पौडेलले पनि सभापतिमा दाबी छाडेका छैनन् ।

‘पौडेल उपसभापति थिए, म महाधिवेशनबाट निर्वाचित महामन्त्री । चाहेको भए म पनि सभापति दावी गर्न सक्थेँ, तर मैले सहयोग गरेँ’ निकटवर्तीहरुसँग नेता सिंहले भन्ने गरेका छन्, ‘सभापति हुनु भएन त उहाँको कारण ।’

त्यसैले यो पटक पौडेललाई कुनै हालतमा स्वीकार नगर्ने र आफ्नो नाममा सहमति भए पनि नभएपनि सभापतिमा उम्मेदवारी दिने सिंहको अडान छ ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?