+
+

स्टार हारिस रऊफको उदय यात्राको कथा

उमर फारुक/ईएसपीएन क्रिक इन्फो उमर फारुक/ईएसपीएन क्रिक इन्फो
२०७८ कात्तिक २५ गते २१:१२

२५ कात्तिक, काठमाडौं । सन् २०१७ को गर्मीयाममा एक सामान्य परिवारका तीन युवा खुल्ला क्रिकेट ट्रालयमा भाग लिन इस्लामावादबाट सडकमार्ग हुँदै गुजरांवालासम्म साढे चार घण्टाको यात्रा गरे ।

तर उनीहरु त्यहाँ ढिला पुगे र रंगशालामा क्षमताभन्दा बढी मान्छे भएकाले प्रवेश गर्न पाएनन् । तर क्रिकेट ट्रायलमा सहभागी नभई घर फर्कने विकल्प उनीहरुसँग थिएन । एकजना सुरक्षा गार्डले उनीहरुलाई कम मानिस भएको गेटबाट भित्र जान दिए । भित्र पुग्दा लाइनमा हजारौं युवा पालो पर्खिरहेका थिए ।

ती तीनैजना युवा तीव्र गतिका बलर थिए, जसले अहिलेसम्म कहिल्यै पनि सिजन बल/लेदर बलबाट क्रिकेट खेलेका थिएनन् । उनीहरु एक पेशेवर ‘टेप बल क्रिकेटर’ थिए, जो पूरै पाकिस्तानमा घुमीघुमी क्रिकेट खेल्दथे । पाकिस्तानमा यस्ता मानिसहरुलाई ‘टेपिया’ पनि भनिन्छ ।

उनीहरु आउने जाने खर्च पाए कुनै पनि गाउँ, टोल वा क्लबबाट क्रिकेट खेल्न राजी हुन्थे । उनीहरुले न कहिल्यै प्रोफेसनल क्रिकेट बलबाट क्रिकेट खेलेका थिए न उनीहरु यस्तो चाहना राख्न सक्थे । उनीहरुलाई लाग्थ्यो कि पहुँचवालाका लागि मात्र त्यो सम्भव हुन्छ । तर लाहौर कलन्दर्सले आयोजना गरेको खुल्ला ट्रायलमा सहभागी हुन भने उनीहरुले आफूलाई रोक्न सकेनन् ।

चार वर्ष पहिले, रऊफले एक खुल्ला क्रिकेट ट्रायलमा भाग लिए र अन्तिम राउण्डमा ९२.३ मिल प्रतिघण्टाको रफ्तारमा दौडिए, त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेको छैन ।

उनीहरु केवल दौडिन सक्थे, तीव्र बलरका लागि अत्यावश्यक स्वस्थ शरीर थियो । उनीहरुले सुरुवाती ट्रायल सहजै पार गरे । तर तीनमध्ये एकजना मात्र अन्तिम राउण्डसम्म पुग्न सके । यहाँसम्म आइपुग्दा हजारौंको संख्या केवल दर्जनमा खुम्चिइसकेको थियो ।

यो प्रतियोगिता सही बलिङ गर्ने भन्दा पनि तीव्र गतिमा बलिङ गर्नेबारे थियो । जसले अन्तिम क्रममा पनि स्थान बनाए, ती थिए– हारिस रऊफ । त्यसक्रममा स्पिड गनले उनको स्पिड ९२.३ माइल प्रतिघण्टा देखाएको थियो । यो ट्रायलमा पाँच लाख खेलाडी आएका थिए, जसमा एक लाख ४५ हजार बलर थिए ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग आधिकारिक रुपमा देशभर ३,८२२ क्लब सूचिकृत छन्, जसको मैदानमा झण्डै ८० हजार खेलाडी छन् । तीबाहेक अनौपचारिक रुपमा लाखौं मानिस हरेक दिन क्रिकेट खेलिरहेका छन् जो कहिल्यै पनि आधिकारिक तथ्यांकमा समेटिँदैनन् ।

यस्तो ट्रायल खेलाडी उत्पादन गर्ने उपयुक्त थलो हो, लाहौर कलन्दर्सले सन् २०१६ मा यो ट्रायल सुरु गरेको थियो । ट्रायलमा रावलपिण्डीदेखि दक्षिण पञ्जाबसम्मको क्षेत्रलाई समेटिएको थियो । ट्रायल सबै उमेर र सबै पृष्ठभूमिका युवालाई खुला थियो । कोही खाली खुट्टा आएका थिए, कोही कमिज सुरुवालमा पनि आएका थिए । सबैलाई आफ्नो बलिङ र ब्याटिङ प्रतिभा देखाउन पर्याप्त अवसर दिइएको थियो ।

प्रत्येक ट्रायलबाट चयन भएका खेलाडीलाई आठ शहरका नाममा रहेका टिममा विभाजन गरियो । यसपछि यी आठै टिमबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट १५ खेलाडी चयन गरेर नयाँ टिम बनाइयो ।

यो टिमलाई पाकिस्तानभित्रका क्लबविरुद्ध खेल्ने अवसर मात्र होइन कि अस्टे«लियामा आयोजित क्लब क्रिकेट प्रतिस्पर्धामा भाग लिने मौका पनि मिल्यो । लगत्तै उनीहरुले सन् २०१८ मा अबुधाबीमा एक टी–२० प्रतियोगिता जिते । जसमा दक्षिण अफ्रिकाको शीर्ष टी–ट्वान्टी टिम टाइटन्सले पनि भाग लिएको थियो ।

‘संसारका कुनै पनि प्रतिभा चिन्न तपाईंलाई केही सेकेण्ड भए पुग्छ’, कलन्दर्सका प्रशिक्षक तथा उक्त ट्रायल कार्यक्रमका प्रमुख आकिब जाभेद भन्छन्, ‘प्रतिभा प्राकृतिक हुन्छ, उदाहरणका लागि एउटा गायकको क्षमतालाई न्याय गर्न केवल १० सेकेन्ड काफी हुन्छ । क्रिकेटमा पनि त्यस्तै हो, तपाईलाई आफू के खोज्दै छु भन्ने थाहा छ भने, तीन बल हेरेपछि थाहा हुन्छ ऊभित्र आधारभूत प्रतिभा छ कि छैन । हामीले हाम्रो कार्यक्रममा ठीक यही गरिरहेका छौं । हाम्रो ट्रायलमा सयौं, हजारौं मानिस आएका हुन्छन् र सबैबाट व्यवस्थित रुपमा फिल्टर गरिएको हुन्छ ।’

जाभेदले अघि भनेका छन्, ‘राम्रो मान्छे छान्ने प्रक्रिया निकै जटिल हुन्छ । हामी प्रशिक्षित खेलाडीको खोजी गरिरहेका हुँदैनौं । हामी कच्चा प्रतिभा खोज्छौं जसले क्षमता देखाउन् र हामी उनीहरुमाथि लगानी गर्न सकौं । रऊफले ट्रायलमा ९२.३ माइल प्रति घण्टाको गतिमा बलिङ गरेका थिए, यो सामान्य कुरा थिएन । हामीले उनमा क्षमता देख्यौं तर उनलाई प्रशिक्षित गर्न आवश्यक थियो । उनीसँग गति थियो, तर उनलाई एक राम्रो बलर बन्न दुई वर्ष उचित प्रशिक्षणको आवश्यकता थियो, जुन हामीले उनलाई दियौं ।’

२३ वर्षको उमेरसम्म रऊफसँग ‘हार्ड–बल’ को कुनै अनुभव थिएन । उनी इस्लामावादको सबैभन्दा ठूलो क्रिकेट क्लबमध्येको एक डायमण्ड सीसीको नजिकै बस्थे । तर उनले कहिल्यै यी क्लबहरुमा जाने चाहना देखाएनन् ।

सार्वजनिक निर्माण विभागमा कार्यरत एक वेल्डरको छोरा, रऊफको जिन्दगीलाई क्रिकेटले तान्नुअघि उनी इन्टरमिडियट तहसम्मको पढाइ सकेर आइटी डिग्री सक्ने प्रक्रियामा थिए । उनले एक मोबाइल पसलमा सेल्सम्यानको रुपमा काम गरे । साथै, अतिरिक्त कमाइका लागि उनले टेप–बलबाट क्रिकेट खेल्थे । उनको कुनै खास टिम थिएन, जसले उनलाई पर्याप्त रकम दिन तयार हुन्थ्यो, उनी त्यही टिमबाट खेल्न तयार हुन्थे ।

यदि तपाईको टिमलाई हरेक बलमा योर्कर चाहियो भने तपाईं रऊफलाई फोन गर्न सक्नुहुन्थ्यो । उनी सजिलै उपलब्ध हुन्थे । जुन टिमले उनलाई सबैभन्दा धेरै पैसा दिन्थ्यो, उनी उसैका लागि खेल्थे । उनी एक खेलबाट लगभग ८० हजारसम्म कमाउँथे । यस्तो खेल सधैं नखेलिने भएकाले आम्दानीको खासै टुंगो हुँदैनथ्यो । त्यसैले ती दिन उनका लागि राम्रो र नराम्रो दुबै थियो ।

उनका बाबुआमा उनलाई क्रिकेटर बनाउन चाहँदैनथे । किनकी यो जोखिमपूर्ण करिअर थियो । यो खेलमा माथिसम्म पुग्न कसैको सिफारिस चाहिने उनीहरुको अनुमान थियो । यो कुनै अभिजात वर्गद्वारा चलाउने र मजदुरले खेल्ने खेल हो ।

रउफ पनि यसमा लगभग सहमत थिए । क्रिकेट उनको लागि केवल मनोरञ्जन र पैसा कमाउने साधन थियो । यद्यपि क्रिकेटर बन्नु उनको पनि एउटा सपना थियो । तर, जोखिमका कारण उनी आफूलाई यो सपनाबाट टाढा राख्न खोज्थे ।

२०१९ मा ईएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा उनले भनेका थिए, ‘मैले त्योबाहेक अरु कुनै ट्रायल दिइनँ । मलाई ट्रायल सही तरिकाले हुन्छ र म छानिन्छु भन्ने विश्वास नै थिएन । मैले त्यही भएर कहिल्यै हार्ड–बलबाट क्लब क्रिकेट खेलिन किनकी उनीहरुले आफ्नै मान्छेलाई अगाडि लैजान्छन् भन्ने लाग्थ्यो । जब लाहौर कलन्दर्स पनि मेरो घरको धेरै नै नजिक रावलपिन्डी ट्रायलका लागि आएकाो थियो, त्यतिबेला पनि म ट्रायलका लागि गइनँ किनकी म एक टेप–बल खेलमा व्यस्त थिएँ ।’

उनले अगाडि थपे, ‘तर त्यो ट्रायलको लागि मेरो साथीले मलाई गुजरांवाला लिएर गयो । हामी सबै त्यहाँ घुम्न र मस्ती गर्ने मुडमा गएका थियौं । साँच्चै भन्ने हो भने कोही पनि ट्रायलका लागि गम्भीर थिएनौं । तर जब ट्रायल सुरु भयो, तब हामीले आफ्नो शत प्रतिशत दियौं । मेरो एक साथीले ८७ कि ८८ माइल प्रतिघण्टाको गतिमा बलिङ गरे । म त्योभन्दा अगाडि जान चाहन्थेँ । मैले ९२.३ को माइल प्रतिघण्टाको गतिमा बल फ्याँकेँ । आकिब भाइ (कोच) को यसमा आँखा प¥यो र म छानिएँ । यो केवल एक बलको कुरा थियो ।’

यसपछि रऊफसँग क्लबको सम्झौता भयो । कलन्दर्सको तर्फबाट उनलाई कठिन तालिम र पोषण योजना दिइयो र आकिबले उनीमाथि व्यक्तिगत रुपमा ध्यान दिए । यसपछि उनलाई विकास कार्यक्रम अन्तर्गत क्लब क्रिकेट खेल्नका लागि अस्ट्रेलिया पठाइयो । उनले होबार्ट हुरिकेन्सविरुद्ध कलन्दर्सका लागि २०१८ मा डेब्यू गरे र टाइटन्सविरुद्ध सुरुवाती जितमा २३ रन दिएर एक विकेट निकाले । २०१८–१९ को सिजनमा उनले पीएसएलमा डेब्यू गर्दै १० खेलमा ११ विकेट लिए ।

उनले त्यही वर्ष अस्ट्रेलियामा बिग बास लिग खेल्ने मौका पनि पाए । उक्त खेल उनका लागि कुनै जादू भन्दा कम थिएन । उनी घाइते भएका डेल स्टेनको ठाउँमा मेलबर्न स्टार्सबाट खेले । कलन्दर्सका मालिकमध्येका एक समीन राणले मेलबर्न स्टार्स टिम व्यवस्थापनलाई रऊफलाई लिन सिफारिस गरे । उनले भनेका थिए, ‘यदि रऊफ असफल भए भने उनको कुरा अगाडि कहिल्यै सुन्दिनँ ।’ त्यतिबेला रऊफ अस्टे«लियामै थिए ।

त्यो सिजनमा उनी खेलेनन् मात्रै, उनी सिजनकै स्टार क्रिकेटर सावित भए । रऊफले १० खेल खेले र हरेक खेलमा लगातार तीव्र गतिको बलिङ गरे र ११.३ को उत्कृष्ट स्ट्राइक रेटबाट २० विकेट लिए । उनले यो सिजनमा ह्याट्रिक नै गरे । घर फर्किएपछि उनले दुई महिनाभित्रै पीसीबीको तर्फबाट ‘इमर्जिङ सेन्ट्रल कन्ट्रयाक्ट’ पाए ।

आकिब भन्छन्, ‘उनी खास छन् । उनलाई आफू के गर्दैछु भन्ने थाहा छ र अगाडि के गर्ने भन्ने पनि थाहा छ । म यस्ता कयौं प्रतिभाहरुलाई चिन्दछु जसले छिट्टै आफ्नो अर्जुनदृष्टि गुमाउँछन् । तर रऊफ यस्ता छैनन् । प्रतिभा हुनु फरक कुरा हो र त्यसमा टिकिरहनु फरक कुरा हो । रऊफ दोस्रो प्रकारको बलर हुन् । म उनी भविष्यमा यस्तै रहिरहुन् भन्ने चाहन्छु ।’

गल्लीमा क्रिकेट खेल्ने एक टेप–बल क्रिकेटरका लागि क्रिकेट रंगशालामा खेल्नु ठूलो कुरा हो । उनी यस्तो कुरा सपनामा मात्र सोच्न सक्थे । यो सबै एक सपना जस्तै छ कि चार वर्ष पहिला जुन क्रिकेटरले कहिल्यै प्रोफेसनल क्रिकेट बलबाट क्रिकेट खेलेकै थिएनन्, उनी आज विश्वकप खेलिरहेका छन् ।

आकिब आफ्नो कुरा सक्दै भन्छन्, ‘मलाई गर्व र खुसी छ कि लाहोर कलन्दर्सले पाकिस्तान क्रिकेटलाई एक सुपरस्टार र एक बहुमूल्य प्रतिभा दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?