
२९ कात्तिक, पोखरा । पर्यटन व्यवसायी मोहन भण्डारी केही दिनअघि डेनमार्कका पाहुना लिएर अस्ट्रेलियन बेस क्याम्प हुँदै धम्पुस झर्दै थिए । उज्यालो खुलेको हिमशृंखलासँगै नेपाली मौलिकता अनुभव गर्न आएका ती पाहुना टोली बीचैमा नाक खुम्च्याउन बाध्य भए । कारण थियो, ट्रेकिङ रुटभरि मनलाग्दी फोहोर ।
पछिल्लो समय नेपालीहरुमा घुम्ने संस्कार बढेसँगै गाउँगाउँमा समेत पर्यटन फस्टाएको छ । त्यसमा पनि पोखरादेखि नजिकै पर्ने अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अस्ट्रेलियन बेस क्याम्प लगायत ठाउँमा पदयात्रा गर्नेको संख्या हृवात्तै बढेको छ । तर, पदयात्रीहरुले प्लास्टिक तथा सिसाजन्य फोहोरहरु व्यवस्थित तरिकाले व्यवस्थापन नगर्दा वातावरण नै दुषित भएको पर्यटन व्यवसायीको गुनासो छ ।
ट्रेकिङ ट्रेलभरि प्लास्टिक, बियरका बोत्तल र टुक्रिएका सिसैसिसा देखिँदा पाहुनाहरुसमेत दुःखी भएको व्यवसायी भण्डारीले सुनाए । अति भएपछि विदेशीहरुले बाटोमा भएका फोहोर संकलन गर्न सुरु गरेका थिए ।
‘चाउचाउका खोल, क्यान बियर, मिनरल वाटरको बोत्तल त कत्ति हो कत्ति !’ उनले अनलाइनखबरसँग भने, ‘अस्ट्रेलियन बेस क्याम्पदेखि धम्पुससम्म आइपुग्दा १२ किलोभन्दा बढी फोहोर जम्मा भयो ।’ उनले फोहोर बोक्न भरिया नै लगाउनु परेको सुनाए ।
बाटोभरि यत्रतत्र फालिएका ती फोहोर विदेशी पर्यटकले फालेका भने होइनन् । पदयात्रामा गएका नेपाली, त्यसमा पनि युवा वर्ग बढी नै उच्छृंखल भएको भण्डारीको अनुभव छ ।
‘विदेशीहरु एजेन्सीको सम्पर्कबाट जाने हुन् । पछिल्लो समय नेपालीहरु आफैं समूह बनाएर घुम्न निस्किने चलन बढेको छ । यो राम्रो कुरा हो,’ उनले भने, ‘तर, उनीहरुलाई नै बाटोमा बियर समाउँदै हिँडुनुपर्छ । मातको तालमा बाटोभरि सिसा फोड्दै हिँड्छन् ।’
पर्यटन व्यवसायी प्रेम राई पनि पछिल्लो समय नेपालीहरुमा घुम्ने परम्पराको विकास भए पनि संस्कार सिक्न भने बाँकी रहेको बताउँछन् । उनले पनि नेपालका ट्रेकिङ रुटहरु नेपाली युवाहरुले नै फोहोर गर्दै हिँडेको बताउँछन् ।
‘एक किसिमले कोभिड महामारीपछि आन्तरिक पर्यटकले नै पर्यटनको अर्थतन्त्र चलायमान बनाएका छन् । तर, त्यो सँगसँगै अत्याधिक विकृति पनि फैलिँदै गएको छ,’ राई भन्छन्, ‘कलेज पढ्ने, जागिरदेखि छुट्टी मिलाएर घुम्न जाने संस्कृति बढेको छ । तर, कहाँ कसरी प्रदुषण कम गर्न सकिन्छ भन्ने सिक्न अझै बाँकी छ ।’
पर्यटन व्यवसायी मोहन भण्डारी चाउचाउजन्य खानेकुराका खोलहरु खुला ठाउँमा फाल्दा वन्यजन्तुलाई पनि असर गरेको सुनाउँछन् । चाउचाउ, बिस्कुटलगायतका खोलमा नुनिलो पदार्थ रहने र वन्यजन्तुले नुनको खाजीमा सींगै प्लास्टिक नै खाइरहेको समेत भेटिएको उनले जानकारी दिए । ‘कति ठाउँमा प्लास्टिक खाएरै मरेका वन्यजन्तु पनि भेटिन थालेका छन्,’ उनले भने ।
पछिल्लो समय चर्चामा आएको मर्दी हिमाल ट्रेकमा समेत उस्तै बिजोग छ । नेपाली युवाहरु जंगलको बाटो हिँड्दासमेत ठूलोठूलो स्वरमा स्पिकर बजाउँदै अन्य यात्रीलाई समेत असर पार्दै हिँड्ने गरेको पदयात्रीले गुनासो गर्ने गरेका छन् ।
टुरिस्ट बसपार्कमा पनि फोहोरैफोहोर !
यता, पोखराको टुरिस्ट बसपार्क समेत उस्तै फोहोर छ । यात्रीले प्रयोग गरेका बियर, पानी, चाउचाउजन्य पदार्थको खोल व्यवस्थित तरिकाले नराख्दा विदेशी पर्यटकमा समेत नराम्रो प्रभाव परेको पर्यटन व्यवसायीको गुनासो छ ।
पोखरादेखि काठमाडौं जानेक्रममा विदेशीले टुरिस्ट बसपार्क एकदमै फोहोर भएको र त्यसमा ध्यान नदिएको गुनासो गरेको आरबी राजले बताए । टुरिस्ट बसपार्कमा थुपि्रएको फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्, ‘नवनिर्मित टुरिस्ट बसपार्क पुग्दा स्थिति एकदमै फरक भयो । यसलाई बसपार्क भन्ने कि डम्पिङ साइट ? साथीले के सन्देश लिएर गयो होला ?’
पोखरा लेकसाइडकै पामे क्षेत्रमा पनि नेपालीहरु घुम्न जाने र आफूले प्रयोग गरेका प्लास्टिकजन्य पदार्थहरु त्यहिँ फालेर जाने गरेको व्यवसायी प्रेम राईले सुनाए । ‘बियरका बोटल सिधैं फेवातालमा फाल्छन् । देखे बुझेसम्म त्यसो नगर भन्ने गरेका छौं । तर, सधैं सम्भव पनि हुँदैन,’ उनले भने । प्रकृतिको सुन्दरता नियाल्न आएका विदेशी पर्यटक यहाँका फोहोर देखेरै घिन मान्ने स्थिति आइसकेको उनले चिन्ता व्यक्त गरे ।
पदयात्रीले पदयात्राको नियम मानिदिनुपर्यो : टान गण्डकी
पदमार्ग तथा पदयात्रासम्बन्धी प्रवर्द्धन तथा सहजीकरण गर्दै आइरहेको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशील पौडेल पनि पछिल्लो समय पदमार्गहरुमा फोहोर थुप्रिदै गएको र वातावरणीय असर पर्दै गइरहेको स्वीकार्छन् ।
जलवायु परिवर्तनले उग्र रुप लिइरहेका बेला पदयात्रामा जाने पदयात्रीले समेत वातावरणमैत्री पदयात्राबारे सामान्य जानकारीसहित नियम मान्नुपर्ने पौडेलको सुझाव छ ।
सिसा तथा प्लास्टिकजन्य पदार्थ र होहल्लामुक्त पदयात्राको पक्षमा आफूहरु पनि रहेको र त्यसका लागि त्यहाँ जाने पर्यटकलाई पहिल्यै जानकारी र सूचना सम्प्रेषण पनि गरिरहेको पौडेलले सुनाए । ‘पहिले पर्यटक नभएर आत्तियौं । तर, अहिले पर्यटकलाई वातावरणमैत्री बन्नुपर्यो, कोड अफ कन्डक्ट मानिदिनु पर्यो भनिरहेका छौं,’ उनले भने ।
पौडेलले टानसँग आवद्ध भएका ट्रेकिङ संघसंस्थाका गाइडलाई पदयात्रामा पाहुना लैजाँदा फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न आग्रह गरिरहेको सुनाए । उनले पदमार्गमा भएका विभिन्न चेकपोस्टमा गाइडलाई झोला वितरण गरेरै भए पनि फोहोर व्यवस्थापन गर्ने प्रयास भइरहेको सुनाए ।
‘पदमार्गमा भएका चेकपोस्टमा झोला उपलब्ध गराउँछौं । तर, सबै एजेन्सी थु्र गाइड लिएर जाने कुरा हुँदैन । फेरि एक जनालेमात्रै फोहोर उठाएर पनि हुँदैन,’ पौडेलले भने, ‘यसका लागि सम्बन्धित ठाउँ नै सुसूचित हुनुपर्छ । पदयात्रीले पनि जानकारी राख्नुपर्छ । जनचेतना जगाउन सरकारसँग टानले मिलेर काम गर्न इच्छुक छौं ।’
पौडेलले पदयात्राका क्रममा पछिल्लो समय बढी जाँडरक्सी खाने परम्पर विकास हुँदै जाँदा समस्या निम्तिरहेको बताए । ‘नेपाली हुन् या विदेशी हाम्रा लागि पर्यटक बराबर हुन् । गाली गर्न मिल्दैन । तर, केहीकेही कुरामा भने उहाँहरुले ध्यान दिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4