+
+

करमा भएका समस्या समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:४३

१ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् ।

बुधबार १०औं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताए ।

‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई/संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।’ उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् ।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्दै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।

उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने उनको भनाइ थियो ।

‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले शुरुआत गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सकारात्मक कामहरू शुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘शुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु ।’

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पुर्‍याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताउँदै सबै करदातालाई धन्यवाद दिए  ।

कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताइएको छ ।

कार्यक्रममा वार्षिक प्रतिवेदन ०७७/७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको बताएको हो ।

यस्तै २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्त शुल्क राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?