+
+

ए डिभिजन लिग आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ७:४६

३ मंसिर, काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ ।

पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

यस पटक फ्रेण्ड्सका प्रशिक्षक र कप्तान दुवै फेरिएका छन् । गोलकिपर प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसम्म काम गरिसकेका मृगेन्द्र मिश्र फ्रेण्ड्सको प्रशिक्षक छन् भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबाट खेलिसकेका डिफेण्डर सुरज विश्वकर्मा फ्रेण्ड्सको कप्तानका रुपमा छन् ।

उता सातदोबाटो शीर्ष डिभिजनमा नयाँ क्लब भए पनि प्रशिक्षक र कप्तान भने अनुभवी छन् । पछिल्लो पटक लिगमा थ्री स्टार क्लब हेरेका मेघराज केसीले यस पटक सातदोबाटोको प्रशिक्षण सम्हालेका छन् । यस्तै हिमालयन शेर्पाको कप्तान रहेका मानबहादुर तामाङ यसपटक सातदोबाटोको नेतृत्व गर्दैछन् ।

सातदोबाटोले ए डिभिजनको अनुभव बटुलिसकेको प्रशिक्षक र कप्तानसहित केही विदेशी अनुभवी खेलाडी पनि भित्र्याएको छ । यस्तै युवा खेलाडीहरू पनि छन् ।

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले फुटबलमा विपक्षी सधैँ राम्रो हुने र सातदोबाटो पनि राम्रो टिम रहेको बताएका छन् । ‘फुटबलमा विपक्षी सधैँ राम्रो हुन्छ । पहिलो खेल सातदोबाटो युथ क्लबसँग छ । सातदोबाटो राम्रो टिम हो,’ बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा मृगेन्द्रले भने ।

उनले लिगका लागि ४० दिनको तयारी गरेको र सुरुमा रेलिगेसनबाट सुरक्षित रहने लक्ष्य रहेको र पछि लक्ष्य सेट गर्दै जाने बताए ।

यस्तै पहिलो पटक कप्तानी गर्न लागेका सुरज विकले लिगका लागि तयारी पनि राम्रै भएको छ । ‘पहिलो खेलमा विपक्षीलाई राम्रै रुपमा लिएर खेल्ने हो । हामी तीन अंक लिने तयारीका साथ खेल्नेछौँ,’ सुरजले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

यस्तै सातदोबाटोका प्रशिक्षक मेघराज केसीले क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सबै उत्साहित रहेको बताए । ‘सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभजन लिग खेल्दैछ । ए डिभिजन लिगको धेरै ज्ञान छैन । तर क्लबमा ए डिभिजनको अनुभव भएको खेलाडी र प्रशिक्षक छ’ केसीले प्रिम्याच कन्फ्रेन्समा भने, ‘हामीले करीब ४ महीनाको तयारी गरेका छौँ । प्रिसिजनलाई सदुपयोग गरेका छौँ । सबैले मिहिनेत गरेका छन् । क्लब पनि उत्साहित छ ।’

केसीले लिगमा ठूलो सानो क्लब नहुने भन्दै सबै टिम बराबर भएको बताए । ‘१३ वटा टिमसँग खेल्नुपर्छ । विपक्षी सबै एउटै लेभलका छन् । राम्रो नतिजाका लागि बढी मिहिनेत गर्नुपर्छ । सुरुको एक दुई म्याच हेर्नुपर्छ कस्तो हुन्छ,’ उनले भने ।

पहिलो पटक ए डिभिजन खेल्न लागेको सातदोबाटोले पहिलो खेलमै प्रतिस्पर्धा गर्दैछ । यसले गर्दा क्लबलाई पनि फाइदा नै हुने केसीले बताए ।

सातदोबाटोका कप्तान मानबहादुर तामाङले नयाँ क्लब भएपनि ए डिभिजन खेलेको एक दशकको अनुभव रहेको बताउदै आफूलाई नै प्रमाणित गर्ने अवसर रहेको बताए । ‘९-१० वर्षदेखि ए डिभजन लिग खेलिराको हो । नयाँ क्लबमा आछु । चुनौती र अवसर दुवै छ । आफूले आफैलाई प्रमाणित गर्ने अवसर छु’ तामाङले भने, ‘क्लब नयाँ भएकोले पहिलो पटक खेल्न लागेको छ । सबेसम्म माथि पुर्‍याउने चाहना छ । मेरो अनुभव सेयर गर्ने हो । विदेशी खेलाडीहरु पनि अनुभवी छ र युवा खेलाडीलाई मोटिभेट गर्ने हो ।’

एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेलहरु गराउँदैछ । यस्तै दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ ।

लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।

साविक विजेता मछिन्द्र पुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब उपाधिको मूख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।

यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?