+
+
अन्तर्वार्ता :

‘चुनाव हुँदा कार्यकर्ताले विवेक पुर्‍याउँछन्, सहमति गर्दा नेतृत्वले’

चुनाव हुँदा कार्यकर्ताले विवेक पुर्‍याउँछन्, सहमति हुँदा नेतृत्वले विवेक पुर्‍याउँछ । सहमति हुँदा नेतृत्वको भूमिका धेरै हुन्छ । चुनाव भयो भने पनि कार्यकर्ताले त्यो भावलाई प्रतिनिधित्व गर्छन्, तपाईंहरू परिणाममा देखिहाल्नुहुन्छ ।कस्तो पार्टी बनाउने भन्ने सन्दर्भमा जे स्कुलिङ भएको छ, आमरूपमा कार्यकर्ता त्योबाट बाहिर जान्छन् र ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते २१:१५

५ मंसीर, काठमाडौं । विधान महाधिवेशनमै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक दस्तावेज शंकर पोखरेललाई पढ्न दिएपछि धेरैले भावी नेतृत्वको संकेतका रूपमा अर्थ लगाए । तर नेतृत्व चयन गर्ने महाधिवेशन शुरू हुन पाँच दिन मात्र बाँकी छँदा पनि अध्यक्ष ओलीले नयाँ नेतृत्व मात्र होइन, पदाधिकारीबारे समेत केही संकेत गरेका छैनन् । भेट्ने नेताहरूका अनुसार ओलीले सबैलाई सुनेका छन्, तर पदाधिकारीबारे मुख खोलेका छैनन् ।

महासचिवका दावेदार मानिएका पोखरेल भने अझै बोल्ने बेला नभएको बताउँछन् । सहमतिबाट नेतृत्व चयन होस् भन्ने आम कार्यकर्ताको भावना रहेको र नेतृत्वले त्यसलाई बुझ्नुपर्ने मत राख्ने उनी भन्छन् ‘(कुन पदमा को भन्ने) अध्यक्षले भन्ने बेला पनि भएको छैन । र हामी बोल्ने बेला पनि भएको छैन ।’

यद्यपि सहमतिबाट चुने नेतृत्वले, चुनाव हुँदा कार्यकर्ताले विवेक पुर्‍याएर निर्णय गर्ने उनी बताउँछन् ।

प्रस्तुत छ, आसन्न महाधिवेशन, पार्टीको नयाँ नेतृत्व लगायत सन्दर्भमा पोखरेलसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशन शुरू हुन लागिसक्यो । नेताहरूको दौडधूप पनि बेस्सरी छ, तर उम्मेदवारीका सन्दर्भमा सबै मौन देखिनुभएको छ । यसको कारण के हो ?

यतिबेला हाम्रो पार्टी र नेतृत्वमाथि राष्ट्रिय राजनीतिमा एक खालको चुनौती खडा भएको छ । खासगरी विगतमा हामीले जुन प्रकारको राजनीतिक कोर्ष लिने प्रयास गर्‍यौं, चुनावी गठबन्धन र पार्टी एकताका माध्यमबाट त्यो कोर्षलाई उल्ट्याउने शक्तिहरू सफल भए । एक प्रकारले भन्दा हाम्रो अध्यक्ष केपी शर्मा ओली र एमाले विरुद्धको गठबन्धनले सत्ताको नेतृत्व गरिरहेको छ ।

हामीले पार्टीलाई नेकपाको निरन्तरता भनेका छौं भने चुनाव हुँदा पनि कार्यकर्ताले त्यही अनुसार परिणाम दिन्छन्, सहमति हुँदा नेतृत्वले विवेक पुर्‍याउँछ ।

तर जनतामा हामीप्रति अभूतपूर्व आकर्षण पैदा भएको छ । त्यसको रक्षा गर्ने जिम्मेवारी पार्टी पंक्तिको काँधमा छ । त्यस अर्थमा पार्टी पंक्तिले राष्ट्रिय राजनीतिलाई सामना गर्ने सन्दर्भमा अभियान आरम्भ गरेको छ । त्यो अर्थमा हामी कार्यकर्ताको भावनालाई आत्मसात् गरेर पार्टीलाई कसरी राष्ट्रिय राजनीतिको चुनौतीको सामना गर्न सक्ने अवस्थामा पुर्‍याउन सक्छौं भन्नेमै केन्द्रित छौं । अहिले हाम्रा लागि नेतृत्वको प्रश्न प्रधान छैन, होइन । राष्ट्रिय राजनीतिलाई सामना गर्ने विषयमा नै हाम्रो ध्यान केन्द्रित छ ।

तर विधान महाधिवेशन मार्फत विचारको बहस टुंगो लगाएर आइसकेपछि १०औं राष्ट्रि्रय महाधिवेशन त नेतृत्व चयनका लागि होइन र ?

स्वाभाविक रूपमा प्रक्रिया आरम्भ हुन बाँकी नै छ । भर्खरै हामीले देशव्यापी रूपमा एकै दिन प्रतिनिधि चयन गर्ने योजना बनायौं । तपाइँ सबैलाई थाहा छ नेपाली कांग्रेसले हामीभन्दा पहिलेदेखि महाधिवेशनको तयारीमा जुटेको थियो, तर उसले आफ्नो काम अझै अगाडि बढाउन सकेको छैन । हामीले चाहिं अत्यन्तै छोटो समयमा त्यो कामलाई सफलतापूर्वक गर्दै अगाडि बढेका छौं । सबै जिल्लाबाट प्रतिनिधि चयनको काम सकिएको छ । एक प्रकारले अभिलेखीकरणको काम मात्रै बाँकी छ । त्यसअर्थमा हामी व्यवस्थित, एकताबद्ध र पार्टी निर्माणमा कार्यकर्ताको भूमिका स्थापित गर्न सफल छौं भन्ने लाग्छ ।

किनकि हामीले नेपालको कम्युनिष्ट आन्दोलनभित्र कस्तो पार्टी निर्माण गर्ने भनेर फरक दृष्टिकोण खोजेका छौं । परम्परागत कम्युनिष्ट पार्टीहरू सैनिक पार्टी जस्तो ढाँचामा निर्माण भए । एक प्रकारले महासचिवीय प्रणालीका रूपमा विकसित भए, जसलाई क्याडरबेस पार्टीका रूपमा सम्बोधन गर्ने काम भयो । अर्कोतर्फ बुर्जुवा पार्टीहरू मासबेस्ड पार्टीका रूपमा संगठित हुने परम्परा रहृयो । हामीले मदन भण्डारीको नेतृत्वमा पार्टी निर्माणको नयाँ दृष्टिकोण निर्माण गर्‍यौं, जसलाई हामी मासबेस्ड क्याडर पार्टी भन्ने गर्छौं । हामीले आज गरिरहेको अभ्यासहरू, पार्टी चाहे पार्टी जीवनको लोकतन्त्रीकरणको अभ्यास भन्नुस् या पछिल्लो समयमा एकैदिन वडा अधिवेशन गर्ने, प्रतिनिधि चयन गर्ने, त्यसमा नेतृत्वको डोमिनेसन नहुने, कार्यकर्ता स्वयम् आफैंले फैसला गर्ने अभ्यास गरेका छौं । त्यसमा हामी पूर्ण रूपमा सफल छौं । अहिले जुन प्रकारका प्रतिनिधिहरूको छनोट भएको छ, त्यो कार्यकर्ताको भावनाको प्रतिबिम्बका रूपमा आएको छ । त्यो धेरै महत्वपूर्ण हो भन्ने मलाई लाग्छ ।

अर्कोतर्फ राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्ने क्रममा हामीले त्यही प्रकारको रणनीति तय गर्‍यौं । एउटा विधान महाधिवेशन आयोजना गर्दा व्यापक कार्यकर्ता सहभागिता रहृयो । झण्डै ६ हजार २०० कार्यकर्ताको सहभागितामा तीन वटा दस्तावेजमाथि छलफल गरेर सर्वसम्मत रूपमा नीतिनिर्माण गर्ने काम गर्‍यो । कार्यकर्ताहरू, जो अधिवेशनमा सामेल भए, उनीहरू आत्मविश्वासका साथ फिर्ता भए । ६ हजार २०० कार्यकर्ता एकठाउँमा भेला भएर गुनासो, असन्तुष्टि होइन, आत्मविश्वास र संकल्प बोकेर फर्किए । यो पार्टीका लागि असाधारण उपलब्धि हो भन्ने लाग्छ ।

अब राष्ट्रिय महाधिवेशनलाई आम जनताको परिचालन गर्ने एउटा अवसरका रूपमा लिएका छौं । हाम्रो फोकस जनताको परिचालनमा छ । चितवनमा हुने उद्घाटन समारोहमा पाँच लाख हाराहारी जनताको सहभागिता जुटाउने भनेर सिंगो पार्टी पंक्तिलाई परिचालन गरेका छौं । यसले नीतिनिर्माणमा कार्यकर्ताको भूमिका र ती कार्यकर्तालाई जनताको बीचमा स्थापित गर्ने पार्टी नीतिमा हामी सफलतम प्रयोग गर्दैछौं । यसरी जनताको बहुदलीय जनवादले परिकल्पना गरेको पार्टी निर्माणसँग सम्बन्धित अधुरा काम जति थिए, १०औं महाधिवेशनमा पूरा गर्दैछौं । यसले पार्टी निर्माणमा नयाँ आयाम प्राप्त गर्छ भन्ने मलाई लाग्छ । मासबेस्ड क्याडर पार्टी कस्तो हुन्छ भन्ने दृष्टान्त हामीले १०औं राष्ट्रिय महाधिवेशनबाट स्थापित गर्न सफल हुनेछौं ।

चयन भएका प्रतिनिधिहरू हेर्दा धेरैजसो यहाँहरूले नै नेतृत्व गर्ने समूहको अत्यधिक वर्चश्व देखिन्छ । यहाँहरूले सहमतिको नाममा आफ्नो समूहलाई मात्रै एकछत्र बनाउनुभयो, होइन ?

पार्टी निर्माणका सन्दर्भमा पार्टी कार्यकर्ताले गर्ने फैसला समूहका कुरा हुन्नन्, पार्टीका कुरा हुन्छन् । आज पार्टी र नेतृत्वमाथिको चुनौती सामना गर्न पार्टी एकताबद्ध छ । यतिखेर नेतृत्वप्रति असहमति प्रकट गर्नु पार्टी र आन्दोलनको हितमा हुँदैन । यसलाई सिंगो पार्टीले आत्मसात् गर्दा  असहमति हुँदैन । जहाँसम्म को कुन समूहबाट आएको भन्ने छ, कोही टीका लगाएर आएको छ र ?

सहमतिका नाममा त्यसो गरिएको छ नि त !

कार्यकर्ताले म्यान्डेड दिएका हुन्, प्रणालीले सहमति निर्माण गरेको हो ।  पार्टीका सदस्यहरू भेला भएर म्यान्डेड दिएपछि म्यान्डेड प्राप्त अथोरिटीले गरेको निर्णयलाई उनीहरूले स्वीकार गरेका हुन् । वडा, पालिका अधिवेशनमा सहमति गर्‍यौं । सहमति आजको आवश्यकता हो, तपाईंहरू पनि सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने जुन भावना कार्यकर्ताबीच प्रकट भयो, त्यसलाई नेतृत्वले आत्मसात् गरेको हो । त्यसलाई समूह बन्दीका रूपमा बुझ्नुहुँदैन ।

प्रतिनिधि छनोटको उद्घाटन गर्ने बेलामै अध्यक्ष केपी शर्मा ओलीले सहमति समझदारीबाट प्रतिनिधि छान्नुस् भनेर निर्देशन दिनुभएको थियो त…

प्रतिस्पर्धा गर्न निषेध गरेको होइन । मैले जिम्मा लिएको ठाउँकै कुरा गर्दा पनि धेरै ठाउँमा सहमतिबाट प्रतिनिधि चयन भए । जहाँ सहमति हुन सकेन, त्यहाँ चुनाव भए । त्यसअर्थमा सहमति गर्ने नाममा प्रतिस्पर्धाको अधिकारलाई कुण्ठित गरेको होइन । प्रतिस्पर्धाको अधिकारलाई सुरक्षित गर्दागर्दै सहमति भएको हो । आवश्यकता भन्दा बढीले उम्मेद्वारी नदिएकाले सहमति भएको हो, उम्मेद्वारी दर्ता गर्न रोकेको होइन । कार्यकर्ताको भावनाका आधारमा नेतृत्व तहका साथीहरूले कम्प्रोमाइज गर्नुभयो भन्न सकिन्छ ।

महाधिवेशनका लागि चुनिएका प्रतिनिधिहरूलाई हेर्ने हो भने एमालेको अबको नेतृत्व कस्तो हुन्छ भनेर सहजै अनुमान गर्न सकिन्छ । यसले दशबुँदे सहमतिबाट एमालेमै बसेका र माओवादी केन्द्रबाट आएकाहरू त पाखा लाग्ने जोखिम धेरै हुन्न ?

यो तपाईंको प्रश्न हो, कार्यकर्ताको भावना होइन । कार्यकर्ताको भावना यो अधिवेशन नेकपाको निरन्तरता हो । जब एकताको अधिवेशन भन्छौं भने त्यसले निकाल्ने निष्कर्ष पनि त्यही भाव अन्तर्गत हुन्छ । त्यसैले अब समूहगत हिस्सेदारी गर्ने होइन, आन्दोलनको आवश्यकताका आधारमा भावनालाई जोड्ने हो ।

एमाले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध भएको पार्टी हो । त्यो पार्टीले नेकपाको निरन्तरताको रूपमा एकताको भावलाई प्रतिनिधित्व गर्छ र त्यही स्पिरिटमा नेतृत्व चयन गर्छ । त्यसैले को के भन्ने तपसिलका कुरा हुन् । अहिले एमालेमा पूर्व माओवादी पनि छैन, पूर्व १० बुँदे भन्ने पनि छैन । हामीसँग विधान अधिवेशनले स्थापित गरेको नीतिका आधारमा अगाडि बढ्ने कार्यकर्ता पंक्ति छ र त्यो पंक्तिको भावनाका आधारमा नेतृत्व निर्माण हुन्छ ।

त्यो भनेको पदाधिकारी चयन पनि तल जसरी नै सहमतिबाट आए, त्यसरी नै हुन्छ ?

चुनाव हुँदा कार्यकर्ताले विवेक पुर्‍याउँछन्, सहमति हुँदा नेतृत्वले विवेक पुर्‍याउँछ । सहमति हुँदा नेतृत्वको भूमिका धेरै हुन्छ । चुनाव भयो भने पनि कार्यकर्ताले त्यो भावलाई प्रतिनिधित्व गर्छन्, तपाईंहरू परिणाममा देखिहाल्नुहुन्छ । परिणाम नहेरी टिप्पणी गर्नु उचित हुँदैन । कस्तो पार्टी बनाउने भन्ने सन्दर्भमा जे स्कुलिङ भएको छ, आमरूपमा कार्यकर्ता त्योबाट बाहिर जान्छन् र ? हामीले पार्टीलाई नेकपाको निरन्तरता भनेका छौं भने चुनाव हुँदा पनि कार्यकर्ताले त्यही अनुसार परिणाम दिन्छन्, सहमति हुँदा नेतृत्वले विवेक पुर्‍याउँछ ।

समूहको कुरा नगरौं भन्नुहुन्छ, तर बाहिरबाट हेर्दा जो अध्यक्ष ओलीको समूहमा हुनुहुन्थ्यो, तपाईंहरू ढुक्क जस्तो देखिनुहुन्छ । सहमति भए पनि  चुनाव भए पनि हामी नै हो भन्ने जस्तो देखिन्छ । १० बुँदे गरेर एमालेमा बसेका र अरूहरूलाई अलिअलि डर लागेको छ । नेताहरूमा मनोविज्ञान त छ नि ?

यो तपाईंहरूको मनोविज्ञान हो । आमसञ्चारमाध्यमको मनोविज्ञान द्वन्द्व भइदिए हुन्थ्यो, समाचार बिकिदिए हुन्थ्यो भन्ने हुन्छ । त्यसकारण नेताहरूले कन्ट्रोभर्सियल बोलिदिए हुन्थ्यो भन्ने तपाईंहरूको चाहना हो । तर राष्ट्रिय राजनीतिको आवश्यकता द्वन्द्व होइन, एकता हो । यसर्थ जब नीतिमा स्पष्टता आइसकेको छ भने नेतृत्व निर्माण पनि सहमतिबाट हुने सम्भावना ज्यादा रहन्छ ।

हो, हामीकहाँ एकसे एक योग्यतम मान्छेहरू छन् । उनीहरूबीच प्रतिस्पर्धा भयो भने अनौठो मान्नुहुँदैन । त्यसमा पनि कार्यकर्ताले विवेक पुर्‍याउँछ । त्यसअघि स्थायी कमिटीले केही निर्णय गर्ला । त्यो बेला नेतृत्वमा आउन चाहनेहरूले कार्यकर्ताको मनोविज्ञान बुझ्लान् र त्यसअनुसार आफूलाई प्रस्तुत गर्लान् नि !

जिल्ला दौडाह गर्ने नेतामध्ये पर्नुहुन्छ । नेताहरूको बुझ्नुभएकै छ । कार्यकर्ताको मनोविज्ञान के पाउनुभयो ? सहमतिबाटै नेतृत्व चुनिने हुन्छ कि निर्वाचन हुन्छ ?

आम कार्यकर्ताको भावना र अगुवा कार्यकर्ताको चाहनाका बीचमा केहीमा केही न केही विरोधाभास छ । अगुवा कार्यकर्ता म नेतृत्वमा स्थापित हुने समय आयो भन्ने बुझाइमा हुनुहुन्छ । आम कार्यकर्ताको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्वाचन भइदिए हुन्थ्यो भन्ने चाहना छ ।

यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामी छलफल गर्छौं, केही मोडालिटी तयार गर्छौं र त्यसका आधारमा अघि बढ्ने कोशिश गर्छौं ।

तपाईंकै कुरा गरौं न त, अगुवा कार्यकर्ताले झैं नेतृत्वमा थप स्थापित हुनुपर्छ भन्ने चाहना स्वाभाविक रूपमा होला । तपाईंको अबको तयारी के हो ?

अहिले नेतृत्व असफल पनि भएको छैन, सहज ढंगले विदा हुने परिस्थिति पनि रहेन । यो बेलामा नेतृत्वको विकल्प खोज्नु भनेको आन्दोलनलाई कमजोर पार्नु हो ।

चुनाव प्रचारप्रसार गर्नुपर्ने, कार्यकर्ताका बीचमा परिचित हुने समस्या हामी कसैको पनि होइन । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको भावना के छ भन्ने हामीले बुझिहाल्छौं । त्यसपछि आफू कुन रूपमा प्रस्तुत हुने भन्ने एकअर्कामा परामर्श गर्ने वित्तिकै तय हुन्छ । त्यसैले मैले हतार गर्नुपर्ने, ढिलो भएका कारण समस्या होला कि भनेर चिन्ता गर्नुपर्ने केही छैन । छ र ?

तर सामाजिक सञ्जालमा हतार भइसकेको छ त ! तपाईंकै वरिपरि रहेका नेता कार्यकर्ताले महासचिवको उम्मेदवार भनेर प्रचारप्रसार गरिरहेको देखिन्छ !

कार्यकर्ताको चाहना प्रकट हुनु लोकतन्त्रमा स्वाभाविक हो, यो कमजोरीको विषय होइन ।

उहाँहरूको भावना/चाहनालाई मैले सम्मान गर्नुपर्छ भन्ने त लाग्छ होला नि त ?

त्यो व्यक्तिको कुरा होइन, पार्टीले सम्मान गर्नुपर्छ । कार्यकर्ताको भावनाबाट निर्माण भएको पार्टीले मात्रै सफलतम नेतृत्व गर्न सक्छ । कार्यकर्ताको चाहना विपरीतको नेतृत्व भयो भने पार्टी परिचालन प्रभावकारी हुँदैन, यो आम सिद्धान्त हो । तर अहिले नै तपाइँले सोधे जस्तो के गर्ने, कसो गर्ने भन्ने बेला भएको छैन ।

अध्यक्षले तपाईंहरूलाई यो पदमा बस्नुस् भन्नुपर्ने हो । तर उहाँ अहिलेसम्म मौन भएका कारणले यहाँहरू पनि बोल्न सकिरहनुभएको छैन भन्ने पनि त छ नि !

त्यसो पनि होइन । अध्यक्षले भन्ने बेला पनि भएको छैन । र हामी बोल्ने बेला पनि भएको छैन । जतिबेला प्रक्रिया शुरू हुन्छ, त्यो बेला विषय अगाडि आउँछ ।

अध्यक्षमा चाहिं अहिले सबैजसोले केपी शर्मा ओलीको विकल्प छैन भन्ने गरेको सुनिन्छ । यहाँहरू अझै अध्यक्ष बन्न तयार नहुनुभएको हो कि किन ? 

दुइटा अवस्थामा नेतृत्वको विकल्प खोजिन्छ । एउटा, नेतृत्व असफल भएको अवस्थामा । अर्काे, सहज ढंगले विदा हुने स्थितिमा । अहिले नेतृत्व असफल पनि भएको छैन, सहज ढंगले विदा हुने परिस्थिति पनि रहेन । त्यसैले यो बेलामा नेतृत्वको विकल्प खोज्नु भनेको आन्दोलनलाई कमजोर पार्नु हो ।

अहिले एक प्रकारको असाधारण परिस्थिति उत्पन्न भयो र नेतृत्व असफल भएका कारण होइन, नेतृत्व सफल भएका कारणले घेराबन्दी र चुनौती खडा गरिएको छ । यो परिप्रेक्ष्यमा नेतृत्वको रक्षा गर्ने कुरा स्वाभाविक रूपमा पार्टी र कार्यकर्ताको कर्तव्य बन्न पुग्यो । त्यसअर्थमा कोही कार्यकर्ता अयोग्य भएका कारण नेतृत्वको निरन्तरताको कुरा गरेको होइन, परिस्थितिले माग गरेको हो ।

केपी ओली पुस्तान्तरणको मुद्दा लिएर आउनुभएको थियो । तर नेकपामा विवाद चर्किएको बेला तपाईंले अब एक पटक केपी ओली अध्यक्ष बन्नुपर्छ भन्नुभयो । आज एमालेको परिस्थिति हेर्दा त्यो लगभग स्थापित भए जस्तो देखिन्छ । त्यतिखेर तपाईंले के देखेर फेरि ओली नै नेतृत्वमा रहनुपर्छ भन्नुभएको थियो ?

राष्ट्रिय राजनीति कुन दिशामा जाँदैछ भन्ने विश्लेषण हो त्यो । राष्ट्रिय राजनीति दुई धु्र्रवमा बाँडिएको बेला एउटा नेताका रूपमा केपी ओली देखा पर्नुभएको छ भने उहाँको विरोधी कित्ताका रूपमा राष्ट्रिय राजनीति धु्रवीकृत भएको छ । त्यस्तो अवस्थामा राजनीतिलाई ड्राइभ गर्न नेतृत्वको निरन्तरता आवश्यक हुन्छ भन्ने स्थापित सत्य हो । त्यो कुनै नयाँ कुरा होइन । परिस्थिति समाजमै थियो, मात्र मैले परिस्थितिलाई विश्लेषण गर्ने काम छिटो गरें ।

जसले समाजको विश्लेषण गर्छ, वैचारिक राजनीतिक प्रश्नमा काम गर्छ उसले छिटो निष्कर्ष निकाल्छ । त्यसअर्थमा आज पार्टी पंक्तिले के खोजिरहेको छ ? मुलुकले के खोजिरहेको छ ? भन्ने निचोड निकाल्नु लीडरसिपको कर्तव्य हो । त्यसकारण मैले राष्ट्रिय राजनीतिमा केपी ओलीको निरन्तरता आवश्यक छ भन्ने कुरा अगाडि सारेको हुँ र मलाई लाग्छ यो मेरो व्यक्तिगत कुरा होइन । हाम्रो आन्दोलन र पार्टी भावनाको कुरा हो भन्ने लाग्छ ।

केपी ओलीले त म कक्षा दोहोरिन्न भनिरहनुभएको थियो नि !

नेतृत्व त आन्दोलनमा खेलेको भूमिकाका आधारमा कार्यकर्ताका मनमा बसिसकेको हुन्छ । अधिवेशनले मात्रै नेता बनाउने होइन नि !

नेकपाको एकता रक्षाका सन्दर्भमा उहाँले भन्नुभएको हो । त्यतिबेला जरूरी कुरा थियो । जब नेकपाको एकता खण्डित भयो, सरकार परिवर्तन भयो र त्यो पनि एक प्रकारले साँठगाँठका साथ । जनमत विरुद्ध गएर अदालतको बाटोबाट सरकार परिवर्तन गरियो । अर्कोतर्फ कथित अध्यादेशको माध्यमबाट पार्टी विभाजन गरियो । परिस्थिति बदलियो । त्यो बदलिएको परिस्थितिले फेरि स्वाभाविक रूपमा नेतृत्वबारे पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्‍यायो । सत्य यही हो ।

केपी ओली मात्र होइन, पदाधिकारीमा रहेका नेताहरू ७० वर्ष आसपासमा हुनुपर्छ । उहाँहरूले चाहेर पनि विधानतः अर्को महाधिवेशनमा नेतृत्वमा रहनुहुन्न । त्यसैले यो पटक एकातिर सहमतिबाट नेतृत्व चुन्नुपर्ने, अर्कोतिर आगामी नेतृत्व तयार गर्नुपर्ने दबाव देखिन्छ । यो कसरी सम्भव हुन्छ ?

सामान्यतः हामीकहाँ जतिबेला मुख्य नेतृत्व दोहोरिएको छ, त्यस पछाडिका पदहरूमा नयाँपन देखिएको छ । जस्तो, आठौं महाधिवेशनमा बहुपदीय संरचनामा गएपछि तात्कालिक अध्यक्ष अध्यक्षमा उम्मेदवार हुनुभयो । महासचिवमा नयाँ व्यक्ति आउनुभयो । नवौंमा जाँदा पार्टीको अध्यक्ष नयाँ हुनुभयो, महासचिव दोहोरिनुभयो ।

दशौंमा के गर्ने भन्ने कार्यकर्ताले निर्धारण गर्छन् । तर हामीकहाँ नेतृत्वको निरन्तरता हुँदा अन्य पदहरूमा परिवर्तन भएका छन् । नेतृत्व परिवर्तन भएका बेलामा अन्य पदले निरन्तरताको माध्यमबाट पार्टीको मेमोरीलाई निरन्तरता दिने काम गरेका छन् । यो संगठन प्रणालीका रूपमा स्वाभाविक विषय हो भन्ने लाग्छ । हाम्रो पार्टीमा पनि ऐतिहासिक सन्दर्भसित एउटा निष्कर्षमा पुग्छौं ।

तर बाहिरबाट हेर्दा नवौंबाट चुनिएका पदाधिकारीमध्ये धेरै १० बुँदे गरेर एमालेमा बस्नुभएको छ । हिजो नवौं महाधिवेशनमा अध्यक्षको प्यानलमा रहेर जितेका या पराजित भएका नेताहरू हुनुुहुन्छ । माओवादीतिरबाट नेताहरू पनि हुनुहुन्छ, पदाधिकारीको संख्या जम्मा १५ छ । त्यो व्यवस्थापन कसरी हुन्छ ?

सबका सब पुरानै चिजमा कायम रहने भन्ने उचित हुँदैन । अधिवेशनले केही न केही नयाँपन दिनुपर्छ । सबका सब परिवर्तनले पनि पार्टी चाहिंदैन, केही निरन्तरता पनि चाहिन्छ । नयाँ र निरन्तरताको बीचको फ्युजन हुन्छ, यो कमिटी प्रणालीको प्रक्रिया हो । सहमति हुँदा पनि त्यसलाई ख्याल गरेर जाने हो ।

सहमति भनेको पुराना सबै बस्ने भन्ने होइन, पार्टी कसरी अघि बढ्छ भन्ने हेर्नुपर्छ । त्यो कसरी टुंगिन्छ भन्न त अधिवेशनको प्रतीक्षा गर्नुपर्छ । अहिले सोध्ने वित्तिकै फटाफट उत्तर पाइन्छ भन्ने अर्थमा प्रश्न गर्नुभएको छ, त्यो उचित होइन ।

कतिपयले त असोजमै भएको विधान महाधिवेशनले भावी नेतृत्वबारे संकेत गरिसक्यो पनि भनेका छन् नि !

अधिवेशन भनेको एक प्रकारले विधि पुर्‍याउने ठाउँ हो । नेतृत्व त आन्दोलनमा खेलेको भूमिकाका आधारमा कार्यकर्ताका मनमा बसिसकेको हुन्छ । अधिवेशनले मात्रै नेता बनाउने होइन नि ! नेता त समाजमा, राजनीतिमा बनिसकेको छ । त्यसलाई स्वीकार गर्ने अधिवेशनको जिम्मेवारी हो । त्यो हिसाबले कार्यकर्ताले कसलाई नेताका रूपमा स्वीकार गरेका छन् भनेर देखाउने ठाउँ हो । यसअर्थमा आन्दोलनले नेता बनाउँछ, अधिवेशनले त्यसलाई स्थापित गर्छ ।

विधान महाधिवेशनमा अध्यक्षले आफ्नो दस्तावेज पढ्दापढ्दै तपाईंलाई दिनुभयो । अहिले पनि धेरैजसो जिल्लाहरूमा जाँदा अध्यक्षको साथमा देखिनुहुन्छ । यसर्थ महासचिवको प्रबल दाबेदार मानिएको छ । अध्यक्षले ग्रीन सिंग्नल दिनुभयो ?

पदीय हिसाबले यसलाई बुझ्नुहुँदैन । खासगरी नेकपाको संकट, पार्टी अध्यक्षमाथि भएको हमला, विभाजन, नेकपा एमालेको पुनर्गठन प्रक्रियामा खेलेको भूमिकाबाट अबको नेतृत्व निर्माण हुने हो । जतिबेला चुनौती खडा हुन्छन्, त्यतिबेला भूमिका नखेली नेता हुन खोज्नु नेता हुने गुण होइन, त्यो व्यवस्थापक हो । नेता भनेको त जतिबेला चुनौती आउँछ, त्यसलाई लिड गर्ने कुरा हो । त्यसलाई कार्यकर्ताले अनुभूति गर्छ र महाधिवेशनको माध्यमबाट प्रकट गर्छ । त्यो परिप्रेक्ष्यमा हेर्नुपर्छ भन्ने लाग्छ । यान्त्रिक विषयलाई आधार बनाएर नेतृत्व निर्माण हुन्छ भन्ने खालको बुझाइ एकांकी हुन्छ ।

नेकपामा संकट आएको बेला लुम्बिनीमा मुख्यमन्त्री हुनुहुन्थ्यो । प्रदेशका काम थाती राखेर पनि लुम्बिनी काठमाडौं दौडधूप गरिरहनुभयो, नेतृत्वको पक्षमा उभिनुभयो । त्यो भूमिकालाई अहिले अध्यक्षले रिकग्नाइज गर्न खोज्नुभएको हो ?

अध्यक्षको मात्रै कुरा होइन, हरेक भूमिकालाई आन्दोलनले रिकग्नाइज गर्नुपर्छ । किनकि आन्दोलनमा रहेका हरेक नेता कार्यकर्ताले केही न केही भूमिका खेल्या छौं । त्यसको मूल्यांकन पनि आन्दोलनले गर्छ । सबै नेताहरूले खुलेरै भूमिका खेल्नुभएको छ, त्यो समाजमा प्रकट भएको पनि छ । कार्यकर्ताले त्यसको विश्लेषण गर्छन् र त्यही आधारमा निष्कर्षमा पुग्न सकिएला ।

त्यसो भन्दा दशबुँदे गरेर बसेका नेताहरूको मनमा चिसो पस्दैन ? तपाईंले त्यो भूमिका मात्रै भनिरहँदा त चुनावै मात्रै भयो भने पनि उहाँहरूलाई दण्डित गर्ने स्थिति नबन्ला ?

एमालेको राष्ट्रिय राजनीतिमा जुन प्रकारको नीति र योजना छ, पहलकदमी छ र जुन चुनौती छ त्यो चुनौतीमा एमालेको हितको पक्षमा नउभिएको नेतृत्व त नेतृत्वका रूपमा स्थापित हुन सक्दैन । तर जुन साथीहरूले विभाजनका बेला एकताका पक्षमा आफूहरूलाई उभ्याउनुभयो त्यसको फेरि असाधारण सन्देश छ । त्यसको आफ्नै मूल्य छ । एकताका पक्षमा उभिनेलाई त पार्टी पंक्तिले हेरेको छ नि ! छैन र ? जतिबेला विभाजन एउटा चुनौतीका रूपमा खडा भयो, त्यसबेला एकताको पक्षमा उभिनु भनेको साहसिक निर्णय हो । विगतमा के गरिएको थियो भन्ने त्यो परिघटनाले बिर्साइदिन्छ । एउटा ऐतिहासिक गल्तीलाई अर्को ऐतिहासिक परिघटनाको भूमिकाले विस्थापित गर्छ ।

त्यसपछाडि फेरि साथीहरूले कस्तो भूमिका खेल्नुभएको छ भन्ने कुराको जजमेन्ट कार्यकर्ताले गर्छन् । एकताका लागि भूमिका खेल्नुभएको छ कि असहमति प्रकट गर्न ? जसले एकता निर्माणका लागि पहलकदमी लिनुभएको छ, त्यसप्रति पार्टी सकारात्मक हुन्छ । जसले असहमतिका लागि भूमिका खेल्छ, त्यसप्रति पार्टी पंक्ति नकारात्मक हुन्छ । यो हरेकमा लागू हुन्छ । हाम्रो आन्दोलनभित्र तीन पटक महासचिव भएका माधवकुमार नेपालप्रति पार्टी पंक्तिको घृणा छ । हिजो माओवादी आन्दोलनमै रहनुभएका साथीहरू पार्टीमा जोडिंदाखेरि सम्मान छ । त्यसैले आजको परिस्थितिमा को कसरी प्रस्तुत हुन्छ भन्ने हेर्नुपर्छ । समाजको परिवर्तन हिजोको घटनाबाट होइन, भविष्यको योजनाबाट प्रभावित हुन्छ र भविष्यको योजनामा जो साथमा छन्, उनीहरू आन्दोलनका लागि अपरिहार्य हुन्छन् ।

यसो भन्दै गर्दा एमालेको आन्तरिक लोकतन्त्र झन् खुम्चियो, केपी शर्मा ओली वा उहाँको समूहले जसो भन्यो त्यस्तै हुन्छ भन्नेहरूलाई बल पुग्दैन ?

हामी कस्तो प्रणालीमा छौं भन्ने मुख्य हो । लोकतान्त्रिक प्रणालीभित्र एकता निर्माण गर्नु आन्दोलनको हितमा हुन्छ । एकता निर्माणलाई नै समस्या हो भन्न थाल्यौं भने पार्टी, पार्टी नै रहँदैन । पार्टीको उद्देश्य नै विधि र पद्धतिद्वारा असहमतिलाई एकतामा बदल्ने हो । प्रणालीलाई छोडेर सहमतिको कुरा गरेको भए तपाईंको प्रश्न जायज हुन्थ्यो । हामीले त प्रणालीलाई भत्काएका छैनौं, अझै व्यवस्थित गरेका छौं भन्ने बिर्सनु भएन ।

असहमति प्रकट गर्ने, फरक मत राख्ने, प्रश्न गर्ने त एमालेको जीनमै छ, होइन र ?

होइन, चुनौतीका बेला एकता प्रधान हुन्छ । जतिबेला हामी बहसको आवश्यकता ठान्छौं, भीषण बहस गर्छौं । जतिबेला एकताको आवश्यकता महसूस गर्छौं, त्यो प्रदर्शन गर्ने सामथ्र्य राख्छौं । यो एमालेको विशेषता हो । अरू पार्टीमा एकता आवश्यक ठान्दा पनि एकता निर्माण गर्न सक्दैनन्, बहस गर्न खोज्दा बहस गर्न सक्दैनन् । त्यसअर्थमा हामी व्यवस्थित पार्टीका रूपमा स्थापित छौं । नेकपाको कालमा त्यो स्थापित प्रणाली भत्किएको र आन्दोलन कमजोर हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको थियो । तर हामीले छिटो रिकभर गर्‍यौं र व्यवस्थित प्रणालीलाई स्थापित गर्न सफल भएका छौं ।

तपाईंको भनाइमा यो बहसको बेला होइन ?

यतिबेला अरूसँग बहस गर्ने बेला हो, गठबन्धनसँग बहस गर्ने हो । अन्तरपार्टी बहस गर्ने होइन । अन्तरपार्टीमा मिलेर नीति बनाउने बेला हो, जुन हामीले गर्‍यौं ।

पार्टीभित्रै बहस गर्न नपाउँदा एमालेमा आन्तरिक लोकतन्त्र कमजोर हुँदैछ भन्ने चिन्ता त छ नि !

कतिबेला कुन बहस प्रधान हुन्छ भन्ने बुझ्नुपर्छ । जब बाहिर बहस कम हुन्छ, आन्तरिक बहस प्रधान हुनुपर्छ । समाजमा बहस कम भएका बेला आन्तरिक बहस गरेर समाजलाई चलायमान बनाउनुपर्छ । कतिबेला कहाँ बहस गर्ने भन्ने राजनीतिज्ञले बुझ्नुपर्छ । नत्र त्यो असान्दर्भिक हुन्छ । अहिले पार्टीमाथि घेराबन्दी भएको छ, पार्टी विरुद्ध मोर्चाबन्दी भएको छ, उनीहरूसँग बहस गर्नुपर्ने बेला पार्टीभित्रै बहस गर्न थालियो भने त हाम्रो फोकस डिरेल हुन्छ नि ! त्यसअर्थमा हामी बाहिरी बहसमा केन्दि्रत छौं, तर हामी बहसमै छौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?