+
+

साझासँग एकीकरण गरेर गल्ती भयो भन्दै मिलन पाण्डेले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १७:५०

६ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले दोस्रो पटक पार्टी एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् ।

पार्टी एकीकरण गर्दा बाहिरै बसेका उपाध्यक्ष अजिता राईहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यसवेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो ।’

उनले छिट्टै संगठनिकरुपमा पनि सँगै हुने बताउँदै भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’

विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।

साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए ।

निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । त्यससँगै प्रतिक्रिया दिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पाण्डेले त्यसबेला तत्कालीन साझा पार्टीका नेताहरुले लिखित रूपमा अग्रगामी, प्रगतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने भनेको पनि स्मरण गराएका छन् । साथै, मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकाले त्यतिवेला एकीकरणको निर्णय लिइएको स्पष्टीकरण दिएका छन् ।

‘हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ, यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन’ पाण्डेले भनेका छन्, ‘आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ ।’ उनले अगाडि भनेका छन्, ‘आज दुःखको कुरा के भयो भने सु–संस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?