+
+
भीम रावलसँग अन्तर्वार्ता :

उम्मेदवारी दिंदा निहुँ खोजेको हुन्छ र ?

पार्टीको नीति अनुसार प्रतिस्पर्धामा जाँदा निहुँ खोजेको कुरा गर्ने हो भने नेपालमा जति चुनाव हुन्छन्, जति उम्मेदवार उठ्छन्, तिनीहरू सबैले सबैसित निहुँ खोजेको हो भन्ने अर्थ लाग्छ । लोकतन्त्रमा त्यस्तो सोच र दृष्टिकोण राख्नुहुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते २०:०७

६ म‌ंसिर, काठमाडौं । नेकपा एमालेका नेताहरुले आफ्नो उम्मेदवारीबारे अध्यक्षको मुख ताकिरहँदा उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीसँगै प्रतिस्पर्धा गर्ने घोषणा गरे ।

यसले अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाउने एमाले नेताहरुको प्रयासमा धक्का मात्र लागेको छैन, अरु पदहरुमा पनि प्रतिस्पर्धा गर्ने संकेत गरेको छ । रावल भने एमालेमा सर्वसम्मत, निर्विरोध, निर्विकल्प भन्ने कुनै संस्थागत छलफल र निर्णय नभएको बताउँछन् । भन्छन्, ‘संस्थागत रूपमा कुनै छलफल नभएको र दशौं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि हुने भएकाले मैले उम्मेदवारी दिएको हुँ ।’

साथै प्रतिस्पर्धा गर्दा किन चुनाव लडिस् भन्ने हो भने त्यो पार्टीको निर्णय र सिद्धान्त विपरीत सोच भएको उनी बताउँछन् । प्रस्तुत छ, एमालेको आसन्न महाधिवेशन, अध्यक्षको उम्मेदवारी लगायत सन्दर्भमा रावलसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठबिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

‘केपी शर्मा ओली निर्विकल्प अध्यक्ष, पदाधिकारीमा सहमति’ को नारा एमालेजनले ‘सेल’ गरिरहेका थिए । तपाईंले एकाएक त्यो माहोल विथोलिदिनुभयो, होइन ?

त्यो मानिसले बाहिर गरेको प्रचार मात्र हो । नेकपा एमालेमा सर्वसम्मत, निर्विरोध, निर्विकल्प भन्ने कुनै पनि संस्थागत छलफल र निर्णय भएको थिएन । कतिपय मान्छेले आफूले गरेको भनेको कुरा हो ।

अर्को, नेकपा एमालेको सिद्धान्त, जुन जनताको बहुदलीय जनवादमा पनि आधारित छ, त्यसले प्रतिस्पर्धाको राजनीति अगाडि बढाउने र प्रतिस्पर्धाबाटै पार्टीलाई अगाडि बढाउने भन्छ । त्यसकारण प्रतिस्पर्धाको कुरा गर्दा कुनै विषय विथोलिने भन्ने प्रश्नै आउँदैन ।

म के कारणले लड्न नहुने ? पार्टीको नीतिले अनुमति दिंदैन कि ? सिद्धान्तले रोक्छ कि ? मेरो उमेर छैन कि ? शिक्षाले दिंदैन कि ? मेरो अनुभवले दिंदैन कि ?

यदि पार्टीमा संस्थागत कुनै निर्णय भएको भए तपाईंले भनेको भन्न मिल्थ्यो, तर त्यो त मानिसले बाहिर गरेको गफ न थियो । त्यसैले मैले विथोलेको होइन, जनताको बहुदलीय जनवादको झण्डालाई दह्रो गरी उठाएको छु ।

पार्टी फुटबाट गुज्रिएको छ, सत्तारुढ दलहरूको मोर्चाबन्दी छ, त्यो बेलामा पार्टीको नेतृत्व पनि सहमतिबाटै चयन होस् भन्ने व्यक्तिगत रूपमा तपाईंलाई चाहिं लागेन ?

सहमतिबाट नेतृत्व चयन गर्न पाए हुन्थ्यो भन्ने कार्यकर्ताको भावनाको म कदर गर्छु । तर सहमति कसरी गर्ने ? कुन प्रणालीबाट गर्ने ? भन्ने त पार्टीमा संस्थागत छलफल हुनुपर्‍यो नि ! त्यसको सबभन्दा महत्वपूर्ण नीति–निर्देशन गर्ने व्यक्ति पार्टी अध्यक्ष हुनुहुन्छ नि ! कि पार्टी अध्यक्षले यसो गरौं भनेर सल्लाह गर्नुपर्‍यो, कि स्थायी कमिटीमा छलफल हुनुपर्‍यो कि केन्द्रीय कमिटीमा छलफल हुनुपर्‍यो । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि जाने हो । कहीं पनि छलफल नभएपछि भोलि खुरुखुरु उम्मेदवारी दर्ता हुन्छ ।

अपवित्र आकांक्षा राखेर सर्वसम्मत भइदिए हुन्थ्यो भन्ने अरूले भनेर कुनै परिणाम निस्किंदैन । त्यसैले संस्थागत रूपमा कुनै छलफल नभएको र दशौं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि हुने भएकाले मैले उम्मेदवारी दिएको हुँ ।

पार्टीको उपाध्यक्ष हुनुहुन्छ, अध्यक्षले नगरे तपाईंले नै छलफल गरौं भन्न सक्नुहुन्थ्यो होला नि ? कि गर्नुभयो ?

तपाईंले ठीक कुरा गर्नुभयो, मैले भेट्नुपर्थ्यो  भेटिसकें पनि । मेरो उहाँसँग लामो कुराकानी भयो र मैले दशौं राष्ट्रिय महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने ? हामी कसरी जाने ? भन्ने कुरा राखें । त्यस सम्बन्धमा उहाँको ठोस कुरा आएन ।

त्यसअघि मैले स्थायी कमिटीमा राखेको थिएँ, नेतृत्व चयन कसरी हुन्छ ? के हुन्छ ? हामी एउटा धारणा बनाऔं । कार्यकर्तामा एक भएर जानुपर्छ भन्ने मनसाय छ, त्यो हो भने कसरी हो ? त्यहाँ पनि केही भएन । यसको अर्थ के हो भने कार्यकर्ताको भावना अनुसार जान, छलफल गर्न कसैको रुचि नै छैन ।

अब सरासर महाधिवेशनमा गएर सबैले उम्मेदवारी दिने हो भने मैले किन नदिने ? यो स्वाभाविक नै भयो ।

अध्यक्षले वरिष्ठ उपाध्यक्षको अफर नगरेपछि अध्यक्षमा उम्मेदवारी दिनुभयो भनियो भने…

वरिष्ठ उपाध्यक्ष नदिएर वा के नभएर अध्यक्ष लडेको भन्ने होइन । हामीले नेतृत्व चयनकै लागि महाधिवेशन गर्दैछौं, जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको राजनीतिलाई अगाडि बढाएको छ, माक्र्सवादले द्वन्द्वात्मक भौतिकवादलाई अंगीकार गरेको छ र हामी त्यही विचारलाई मान्ने पार्टीका नेता–कार्यकर्ता हौं ।

मैले पार्टी अध्यक्षदेखि संस्थागत रूपमा यो विषयमा हाम्रो केही छलफल छ कि भनेर पटक–पटक कुरा गर्दा केही नआएपछि आफूले चाहेको पदमा उम्मेदवारी दिनु स्वाभाविक हो ।

अध्यक्षमा उम्मेदवारी दिने तयारी थियो भने त विधान महाधिवेशनले पास गरेका दस्तावेजहरूमा आफ्ना मत बझाउनुहुन्थ्यो होला, देशभर प्रतिनिधि छनोटको बेला लबिइङ गर्नुहुन्थ्यो होला । तर सहमतिबाट नेतृत्व चुन्न मौन सहमति दिनुभयो । महाधिवेशनको चार दिनअघि आएर उम्मेदवारी घोषणा गर्दा त सोचे जस्तो प्रस्ताव नभएपछि ओलीलाई नै चुनौती दिनुभयो भन्ने देखियो नि, होइन ?

कसैले त्यस्तो विश्लेषण गर्‍यो भने बहुदलीय व्यवस्थामा त्यो विश्लेषण गर्ने साथीहरूलाई म सम्मान गर्छु । तर मेरो हकमा त्यस्तो होइन । पार्टीमा जतिबेला हामीले विधान महाधिवेशन गर्‍यौं, त्यो बेला नेतृत्वको कुरा थिएन । त्यहाँ विचार र मान्यताका कुरा थिए र मैले आफ्नो विचार र मान्यता दृढतापूर्वक अगाडि सारेको थिएँ । मैले आफ्ना कुनै मान्यताहरूमा समर्पण गरेको छैन ।

चुनाव लडिरहेको मान्छेलाई हार्ने निश्चित छ नभनिदिनुस् । निर्वाचनमा हार–जित पहिले नै सबैको लेखोट लेखेर राख्ने हो भने त निर्वाचन नै किन गर्नुपर्‍यो र ? महाधिवेशन नै किन गर्नुपर्‍यो र ?

अर्को, पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकहरूमा सदस्यता वितरण, नवीकरण, प्रतिनिधि चयनका सन्दर्भमा पनि मैले स्पष्ट धारणा रोखेको थिएँ । प्रतिनिधि संख्या १५०० पुर्‍याउने प्रस्तावको मैले जोडदार विरोध गरेको थिएँ, केन्द्रीय कमिटीले बढायो पनि । त्यसकारण मेरो भनाइ, मान्यता राष्ट्र, स्वाधीनता, जनता, पार्टीका विधि र पद्धतिका सन्दर्भमा यथावत् छन् ।

उम्मेदवारबारे निर्णय अहिले किन गरेको भन्ने जुन प्रसंग छ, पार्टीमा अब समूह (प्यानल) बनाएर नजाने, यस सम्बन्धमा प्रक्रियागत कुरा आएपछि छलफल गरौंला भनेर सामान्य कुरा भयो । निर्णय त भएको थिएन, तर सामान्य कुरा अनुसार केही अगाडि भएन । महाधिवेशन आइसक्यो । कतिपय नेताहरू भेला गर्ने, आफ्ना कुरा राख्ने, एक प्रकारले भन्दा चुनावी प्रचार गरिरहेका छन् ।

हामीले चाहिं आफ्ना कुरा पनि नराख्ने, उम्मेदवारी पनि नदिने हो भने जनताको बहुदलीय जनवादबाट विचलित भएको हुन्छ भनेर उम्मेदवारी दिनुपर्छ भन्ने निष्कर्ष निकालेको हुँ । एक्कासी गरेको, यत्तिकै हतार वा आवेशमा गरेको कसैले ठान्छ भने त्यस्तो नठान्न सम्बन्धित सबैसँग आग्रह गर्छु ।

५ पुस र त्यसयताका घटनाक्रम मात्र हेर्ने हो भने पनि अध्यक्ष केपी ओली र तपाईं बीच संसद विघटनलाई हेर्ने दृष्टिकोणमा भिन्नता छ । विधान सम्मेलनले संसद विघटन ठीक थियो भन्ने अध्यक्षको राजनीतिक प्रतिवेदन पास गर्दा त फरक मत राख्नु भएन ?

प्रतिनिधिसभा विघटन गलत थियो र त्यसले समस्या उत्पन्न गर्‍यो भन्ने त म जहिल्यै भनिरहेको छु । मेरो हिजो घोषणामा पनि त्यही छ । थाती राख्ने सहमति थियो, अब कुनै व्यक्तिले उल्लंघन गर्‍यो भने हामी पनि बोल्यौं ।

कुनै पनि सहमति भयो भने सबैले कार्यान्वयन गर्नुपर्छ नि ! जस्तो, १०बुँदे सहमति भयो, जसमा हाम्रो पार्टीका सम्पूर्ण कमिटी, जनसंगठन २०७५ जेठ २ को अवस्थामा फर्किने, प्रदेश समन्वय कमिटी पनि तदनुकूल फर्किने निर्णय भयो । तर पार्टी नेतृत्व र केही साथीहरूले त्यो मान्नु भएन ।

यसको अर्थ केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी भएको अपानिको उल्लंघन भयो । अनि हामीले किन उल्लंघन गर्नुभयो भन्यौं ? त्यसैले त्यहाँ आफ्ना कुरा भन्नुभएको थिएन भन्यो भने घटनाक्रमलाई सूक्ष्म रूपमा हेर्न नभ्याएको भन्ने अर्थमा बुझ्छु ।

जे अपेक्षा गरेर १० बुँदे गर्नुभएको थियो, त्यो पूरा भएन । विगतमा जस्तै सहमति गर्ने, कार्यान्वयन नहुने प्रवृत्ति देखिएकाले आफैं नेतृत्वमा नगई भएन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?

१० बुँदे सहमति कुनै एक–दुई जनाले गरेको होइन, पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा स्थायी कमिटीका ११ जना नेताहरूले गरेको हो । कार्यदल हामीले गठन गरेका होइनौं, उहाँहरूले नै गठन गर्नुभएको हो । पार्टीमा उत्पन्न अन्तरविरोध र समस्यालाई समाधान गरेर जाऊँ, पार्टीलाई एकताबद्ध गरौं भनेपछि हामीले मान्नु स्वाभाविक थियो ।

तर १० बुँदेलाई अगाडि बढाउने र पार्टीको निर्णय कार्यान्वयनमा समस्या उत्पन्न भयो । पार्टी नेतृत्वले नै गम्भीरता देखाएन । उल्टै त्यो केही पनि होइन भन्ने गरी पार्टी अध्यक्षका धारणाहरू बाहिर आउन थाल्यो । त्यसबेला हामीले तपाईंका कुरा गलत हुन् भन्नु स्वाभाविक हो । किनभने पार्टी निर्णयलाई जसरी मैले मान्नुपर्छ, पार्टी अध्यक्षले पनि त्यसरी नै मान्नुपर्छ । पार्टीको विधान, निर्णय भन्दा कोही पनि माथि हुँदैन ।

हामी विधिको शासन मान्छौं, राज्यका सबै अवयवले संविधान, कानून मान्नुपर्छ, पार्टीका सबै अवयवले पार्टीको विधान, निर्णय र पद्धतिलाई मान्नुपर्छ । कसैका लागि विधान, निर्णय, पद्धति लागू हुने, कसैका लागि लागू नहुने हुँदैन । त्यसैले जबसम्म उहाँले त्यसलाई मान्नुभयो, हामीले पार्टी बचाउने, बलियो बनाउने उद्देश्य ठीक हो भन्यौं । जब उहाँले नमान्न थाल्नुभयो, तपाईंको कुरा गलत हो भन्न थाल्यौं । यो कुनै पूर्वाग्रह राखेर होइन, तथ्यका आधारमा बोलेका हौं ।

त्यही भएर केपी शर्मा ओलीको विकल्पमा अध्यक्षमा उम्मेदवारी दिनुपरेको ?

यी सबै कुराको प्रसंगमा पार्टीले विगतमा जे–जस्तो क्षति व्यहोर्‍यो, झण्डै दुई तिहाइको सरकार गयो । ६ वटा प्रदेशका सरकार गुमाइयो, पार्टीका त्यत्रा नेताहरू पार्टी छोडेर जानुभयो । कैयौं सांसद छोडेर जानुभयो । त्यो त पार्टीका लागि धेरै ठूलो क्षति हो ।

यस्तो क्षतिलाई न्यून गर्ने, यसको पुनरावृत्ति हुन नदिने, राष्ट्रका कतिपय कुराहरू, जस्तो एमसीसीसँगको सम्झौता, नागरिकता, लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भएको वैदेशिक अतिक्रमण, प्रबुद्ध व्यक्ति समूहले भारतलाई बुझाएको प्रतिवेदनको सोधीखोजी, सीमा क्षेत्रमा भइरहेको डुबान, कानूनले प्रतिबन्ध लगाएको पतञ्जलि योगपीठलाई जग्गा समेत दिएर टेलिभिजन उद्घाटन सबैलाई ध्यानमा राखेर यो राष्ट्रलाई यो बेथितिबाट बचाउन, व्यवस्थापिकामा भएको अस्थिरता र अनिर्णय, कार्यपालिकामा भएको अस्थिरता, न्यायपालिकामा भएको बेथितिबाट जोगाउन निश्चित उद्देश्य, कार्यक्रम, लक्ष्य स्पष्ट धारणाका साथ यो पार्टीलाई नेतृत्व गर्छु भन्ने भावनाका साथ मैले उम्मेदवारी दिएको हुँ ।

तर एमालेमा अहिले ‘आई लभ यू केपी बा’ भन्नेहरू वा भनेको मन पराउनेहरू छन् । उनीहरू केपी ओलीको आलोचना सुन्न चाहँदैनन् । उनीहरू वा उनीहरूबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिले भीम रावललाई किन भोट देला ? हार्ने चुनाव किन लडेको होला भन्नेहरू पनि छन् नि !

म संविधानसभा र प्रतिनिधिसभामा चुनाव लडेर आएँ । पार्टीको नवौं महाधिवेशनमा उपाध्यक्ष हुँदासम्म पनि चुनाव लडेरै आएको हो । त्यो बेला चुनाव लड्दा पनि कतिपयले यस्तै तर्क गर्थे । पार्टीले सिद्धान्त अपनाएको छ, प्रतिस्पर्धा गर्ने ! अनि प्रतिस्पर्धा गर्दा किन चुनाव लडिस् भन्ने हो भने त्यो पार्टीको निर्णय र सिद्धान्त विपरीत सोच हो ।

जहाँसम्म तपाईंले आई लभ यू भन्नुभयो अंग्रेजीमा । म तँलाई माया गर्छु भनेको हो नेपालीमा । अब कसैले तँलाई माया गर्छु भन्यो भने त मैले किन चित्त दुखाउने ? मलाई पनि भन्ने होलान् । हुँदैनन् र ? नभएर म यत्रो पदमा पुगेको हुँला त ? नवौं राष्ट्रिय महाधिवेशनमा पार्टीको अहिलेको अध्यक्षले भन्दा बढी मत मैले ल्याएको छु ।

मलाई तँलाई माया गर्छु, मत दिन्छु भन्ने मान्छे नहोलान् र ? कसैले अंग्रेजी भाषा वा अरू कुनै भाषामा म तँलाई माया गर्छु भन्यो भनेर म उहाँहरूप्रति टिप्पणी गर्दिनँ । किन भने कसैले कसैलाई म समर्थन गर्छु, माया गर्छु भन्ने हक राख्छ । मलाई समर्थन गर्ने साथीहरूलाई नेपाली भाषाले नपुगेर अंग्रेजी भाषाले मलाई भन्देऊ भन्ने मेरो माग छैन ।

मेरो माग यत्ति छ, नेकपा एमालेका कार्यकर्ता देशभक्ति, जनताको अधिकार, न्याय, समानता, स्वाभिमानको झण्डा उठाउँदै आएकाले यो झण्डा म दह्रो गरी उठाउँछु । नेतृत्वलाई त्यो गन्तव्यमा पुर्‍याउने र कुनै पनि शक्तिका अगाडि नझुकेर पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यता अनुसार म अगाडि जान्छु, मेरो त्यो क्षमता र अनुभव छ ।

मैले पार्टीका कैयौं मोर्चाहरूमा मलाई दिएका काम फत्ते गरेर प्रमाणित गरेको छु । त्यसकारण सम्पूर्ण प्रतिनिधि कमरेडहरू, मलाई अवसर दिनुस्, म नेतृत्व गर्छु भनेर विनम्रतापूर्वक भन्छु । दिनुभयो भने उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ, दिनुभएन भने पनि घृणा गरेर धारे हात लगाउनुपर्छ भन्ने मान्यता राख्दिनँ ।

प्रतिनिधिसभा, संविधानसभा या नवौं महाधिवेशनको जस्तो छैन । बरु परिस्थिति आठौं महाधिवेशनको जस्तो छ, जतिखेर यहाँ पराजित हुनुभएको थियो । हार्ने लगभग निश्चित हुँदा पनि केपी ओलीसित किन निहुँ खोज्या होला भन्ने त छ नि !

यो पार्टीको नीति अनुसार प्रतिस्पर्धामा जाँदा निहुँ खोजेको कुरा गर्ने हो भने नेपालमा जति चुनाव हुन्छन्, जति उम्मेदवार उठ्छन्, तिनीहरू सबैले सबैसित निहुँ खोजेको हो भन्ने अर्थ लाग्छ । लोकतन्त्रमा त्यस्तो सोच र दृष्टिकोण राख्नुहुँदैन । तपाईंहरूको पत्रकार महासंघमा पनि चुनाव हुन्छ, अनि कुनै व्यक्तिले उम्मेदवारी दियो भने अर्काेसँग निहुँ खोजेको हुन्छ र ? उसले आफ्नो मूल्यमान्यताको झण्डा उठाएको हुन्छ ।

हेर्नुस्, जो व्यक्ति राजनीतिलाई केवल पद, पैसाको एउटा माध्यम ठान्छ, उनीहरूले खाली पदको कुरा मात्र सोच्छ । मैले विद्यार्थीकालदेखि आजसम्म मूल्यमान्यताको राजनीति गरेको छु, निष्ठाको राजनीति गरेको छु ।

हाम्रो मातृभूमिको सर्वाेच्च हित र सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यता राखेको छु । त्यसकारण आज नेपालको राष्ट्रिय राजनीति अस्तव्यस्तको अवस्थामा देख्छु, कैयौं नेपालको हितमाथि आघात परिरहेको मैले देखिरहेको छु । जब म यसलाई सच्याएर अगाडि जान्छु भन्दा मैले कोसित निहुँ खोजेको ठहरिन्छ ? त्यो गलत दृष्टिकोण हो ।

जहाँसम्म हार्ने जान्दा जान्दै भन्ने छ, चुनाव लडिरहेको मान्छेलाई हार्ने निश्चित छ नभनिदिनुस् । निर्वाचनमा हार–जित पहिले नै सबैको लेखोट लेखेर राख्ने हो भने त निर्वाचन नै किन गर्नुपर्‍यो र ? महाधिवेशन नै किन गर्नुपर्‍यो र ? त्यो होइन । नेकपा एमालेको पंक्तिले नवौं महाधिवेशनमा हेर्नुुस् त, त्यत्रो दुई वटा समूहबाट चुनाव थियो ।

दुइटै थरीका खासखास मान्छेलाई जिताएर पार्टीलाई नयाँ ठाउँमा पुर्‍याए । यो पार्टीभित्र त्यति विवेक छ । हामीले पार्टीका प्रतिनिधि, कार्यकर्ताहरूको विवेकप्रति विश्वास मात्रै होइन, सम्मान पनि गर्नुपर्छ ।

नवौं महाधिवेशन सम्झेरै भनेको हो । त्यो महाधिवेशनको माहोल फरक थियो, प्रतिस्पर्धाबाट चुनिएर आएका थिए । यो पटक त मुश्किलले ६०० मात्रै ओलीसमूह इतरका प्रतिनिधि आएका छन्, त्यतिले त चुनाव जितिन्छ र ?

तपाईंहरूले जुन प्रतिनिधि चयनको प्रसंग कोट्याउनुभयो, प्रतिनिधि चयनमा व्यापक अनियमितता भएको छ । यसलाई पार्टीका अध्यक्षदेखि सबै नेतृत्वसमक्ष राखेको छु । कतिपय ठाउँमा जबरजस्ती सर्वसम्मत भयो भनेर घोषणा गरिदिने, उम्मेदवारी दिनै नदिने, आफू जित्ने भएपछि तुरुन्तै घोषणा गरिदिने, नजित्ने भएपछि कैयौं दिन थाती राखेर बन्द कोठाबाट घोषणा गरिदिने काम भएको छ ।

कैलालीको लम्कीचुहामा त कुनै प्रक्रिया नै नभई धनगढीमा गएर बन्द कोठामा बसेर यो प्रतिनिधि भयो भनेर घोषणा गरियो । १२०० जति सदस्यहरूले अनियमितता भयो भनेर निवेदन दिएका छन् । अहिलेसम्म सुनुवाइ भएको छैन ।

निर्वाचन निष्पक्ष बनाउँछु, लोकतन्त्रलाई निष्पक्ष बनाउँछु, जनताको अधिकार सुरक्षित गर्छु भन्ने पार्टीले आफ्नै आन्तरिक निर्वाचनमा यस्तो गर्नु भनेको अत्यन्तै आपत्तिजनक हो, यस्तो कुरा रोक्नका लागि पनि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएर अघि बढ्नु अपरिहार्य भएको छ ।

यी प्रश्न उठाउनु अहिलेको समयको माग हो भन्ने तपाईंको निचोड हो ?

यी प्रश्न पनि हुन्, राष्ट्रियताका विषय पनि छन् । तर पार्टीलाई विधि, प्रणाली र पार्टीप्रति कार्यकर्ता, सदस्य र जनताको विश्वासलाई अटल राख्न कसै न कसैले विधि पद्धतिको आवाजलाई अगाडि बढाइरहनुपर्दछ । मैले राष्ट्र र पार्टीसित सम्बन्धित यी कुरालाई स्थापित गर्न सकें भने मेरो ठूलो विजय हुनेछ ।

तर आफूसित हुँदा र पाउँदासम्म सहमति गर्ने, सम्झौतामा जाने, नपाउने भइसकेपछि फेरि विधि पद्धतिका कुरा उठाउने गर्नुहुन्छ भन्ने आक्षेप तपाईंमाथि छ नि ?

यो गलत आरोप हो । म यस्तो भन्ने साथीहरूलाई कुन ठाउँमा त्यस्तो गरें, एउटा देखाइदिन अनुरोध गर्छु । मैले विद्यार्थीकालदेखि यहाँसम्म अन्तरविरोधलाई समाधान गर्ने, नेताहरूको अन्तरद्वन्द्व मिलाउने काम लगातार गर्दै आएको छु ।

पछिल्लो पटक दशबुँदे सहमतिका लागि भूमिका खेलें । अनि कहाँ आफ्नो कुरा भएपछि मान्ने नत्र नमान्ने भन्ने छ ? मलाई त्यसो भन्ने एउटा मात्रै साथी देखाइदिनुभयो भने उहाँलाई धन्यवाद दिन्छु ।

अहिले पार्टी समस्यामा छ, पार्टी विरुद्ध मोर्चाबन्दी भइरहेको छ । यो बेला एकताबद्ध पार्टी चाहिएको छ भन्ने नेताहरूको मत छ । तपाईंकै भाषामा भन्दा, अन्तरविरोध हल गर्न भूमिका खेल्ने भीम रावलले अहिले किन उम्मेदवारी दिएर तरङ्ग ल्याइदिनुभएको त भन्ने होला नि ?

एकैचोटि होइन, मैले यस विषयमा अघि पनि भनें । पार्टी अध्यक्ष लगायत नेताहरूसँग के हो कुरा भनेर आग्रह गरें । दशबुँदेलाई राम्ररी कार्यान्वयन गरौं भनें । प्रतिनिधि चयन, सदस्यता नवीकरणमा विधि प्रणाली सहित जाउँ अनियमितता नगरौं भनें । केही पनि नभएपछि रोक्न त अगाडि बढ्नुपर्‍यो नि !

अर्को, मान्नुस् कि मैले अध्यक्ष पदमा लडिनँ भने सबै मान्छेहरू सर्वसम्मत चुनिन्छन् भन्ने सुनिश्चित छ त ? छैन । त्यसैले जसले मैले उम्मेदवारी दिनासाथ बिग्रियो भन्ने तर्क गरिरहेका छन्, यो मैले अध्यक्ष लड्नै पाइँदैन भन्ने मानसिकताको उपज हो । म के कारणले लड्न नहुने ? पार्टीको नीतिले अनुमति दिंदैन कि ? सिद्धान्तले रोक्छ कि ? मेरो उमेर छैन कि ? शिक्षाले दिंदैन कि ? मेरो अनुभवले दिंदैन कि ? त्यसैले यो खाली पूर्वाग्रही कुरा मात्रै हो ।

तपाईंले त उम्मेदवारी दिनुभयो, १०बुँदे सहमति गर्नेहरू हुनुहुन्छ । उहाँहरूको प्यानल बनाउनुहुन्छ कि एक्लाएक्लै लड्ने हो ?

पार्टीले यसपटक समूह नबनाउने निर्णय गरिसकेको हुनाले मैले हिजो अरू पदमा रहेका कुनै पनि व्यक्ति राखेर मैले आफ्नो घोषणा नगरेको हो ।

त्यसैले अहिले त्यस्तो समूह, मेरो यो हो, फलानोको त्यो हो भन्ने समूहबद्ध काम नगर्ने भनेकोले मैले त्यसै गरेको हो । पार्टीको निर्णय भएकाले अरू कसैले पनि त्यसो गर्न नपाउने भन्ने छ । कसैले मिच्यो भने मिचेकै बेला कुरा गरौंला ।

संवाद, छलफल त भएको होला नि ?

हामीले जुन १० बुँदे सहमति गर्ने क्रममा जे सहमति गरेका थियौं, त्यो सबै समेटेर जाने कुरा भएको छ । त्यसैले हामी निरन्तर संवादमा छौं, त्यही रूपमा अघि बढेर जाने भनेर सबैले बुझेकै छौं । १० बुँदेमा संलग्न साथीहरू मात्रै होइन, पार्टीको धेरै ठूलो पंक्ति यसमा सहमत छ । एउटा पार्टीमा भएपछि संवाद हुने कुरा विचार आदानप्रदान हुने कुरा त स्वाभाविक हो ।

तर अझै पनि कतिपयले चाहिं पुराना केही नजिरका कारण तपाईंको उम्मेदवारी धेरै टिक्दैन, फिर्ता हुन्छ पनि भन्छन् नि ?

यत्रो ठूलो पार्टीको अध्यक्षको उम्मेदवारमा उठेको हुनाले मानिसहरूले त्यसमा आ–आफ्ना विचार राख्नु, दृष्टिकोण राख्नु स्वाभाविक हो । तर उद्देश्य, लक्ष्य र मान्यताहरू हेर्नुभयो भने मैले गम्भीर रूपमा राष्ट्रको भविष्यप्रति चिन्ता गरेर, यो प्रणालीप्रति चिन्ता गरेर नेपालको कम्युनिष्ट आन्दोलनप्रति चिन्ता गरेर पाइला चालेको हुँ । त्यसको गाम्भीर्य बुझिदिन अनुरोध गर्दछु ।

भनेपछि, कुनै हालतमा उम्मेदवारी फिर्ता हुन्न ?

उम्मेदवारी त भर्खर घोषणा गरेको छु, मनोनयन गर्न त अझै बाँकी नै छ । त्यो दिशामा अघि जान मैले लिखित रूपमा आफ्ना कुरा अगाडि सारिसकेको छु । फिर्ता हुने भए मैले यत्रो उद्देश्य, लक्ष्य राख्थें होला त ?

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?