+
+

पाँचौं महाधिवेशनमा मदन भण्डारीले देखाएको सुझबुझ अहिले ओलीले देखाउनुपर्छ

नरेश खरेल, नेता, नेकपा एमाले नरेश खरेल, नेता, नेकपा एमाले
२०७८ मंसिर १० गते ९:०९

२०२७/०२८ मा निरंकुश राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको पहिलो नारासहित हामीले सशस्त्र आन्दोलन सुरु गरेका थियौं । पञ्चायतको दमनका कारण धेरै साथीहरु विस्थापित हुनुभयो । त्यतिखेर आन्दोलन टिक्न सहज थिएन । त्यसबेला हामीले अखिल नेपाल कोअर्डिनेशन कमिटी बनायौँ । त्यसपछि १३ जनाको विद्रोही जिल्ला कमिटी बनायौँ । त्यसको एक सदस्य म पनि थिए । आरके मैनाली बिरामी भएर राजीनामा गरेपछि त्यतिखेर हामीले सचिव केपी ओलीलाई बनायौं । त्यसपछि धेरै ठूलो दमन भयो, साथीहरु मारिनुभयो ।

हामीले अधिवेशन गरेर सिपी मैनालीलाई जिल्ला सचिव बनायौँ । त्यसपछि पनि ठूलो दमन भयो र हामी भूमिगत भयौँ । धेरै साथीहर गिरफ्तार भए, केही मारिए । हामी सानो संख्यामा चार–पाँच जना साथीहरुमात्रै बाँच्यौँ । हामी फेरि गिरफ्तारमा पर्यौँ, त्यतिखेरै चन्द्र डाँगी मारिनुभयो । हामी प्रकाउ परेको केही महिनापछि रौतहटमा आरके मैनाली र मोहनचन्द्र अधिकारी गिरफ्तार हुनुभयो ।

हाम्रा लागि झापा आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्थापित गर्नुपर्ने दायित्व थियो । अर्कातिर नेपाली कम्युनिष्ट आन्दोलन टुक्राटुक्रा भएर बिभाजित भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध बनाउन सक्छौँ भन्ने दायित्व पनि हामीसित थियो । हामी जेल पर्यौँ, पञ्चायतले हामीलाई सिद्याउन लागेको थियो । अखिल नेपाल कोअर्डिनेशन कमिटी बनेको थियो ३१ सालमा सिपी मैनाली महासचिव हुनुहुन्थ्यो उहाँ पक्राउ पर्नुभयो । २०३३ सालमा कसरी जेल फोेडेर जाने भनेर सोच्न थाल्यौँ । नख्खु जेलमा ६५ फिट लामो सुरुङ खन्यौं । २०३३ साल चैत १२ गते ३२ दिनको मेहनतपछि हामी त्यहाँबाट भाग्यौँ । भाग्नेहरुमा हामी १५ जना थियौँ, म २३ वर्षको थिएँ ।

नख्खु जेलबाट भागेपछि हामीलाई प्रहरीले खोजिरहेको थियो । हामी भाग्दै–भाग्दै पथलैया आइपुग्यौं । यहीँ हामी गिरफ्तार पर्यौँ । गिरफ्तारीपछि उनीहरुले हामीहरुलाई मार्न भनेर लगे । त्यतिखेर सिपी मैनाली, राजन राजवंशी लगायत चर्चित साथीहरु पक्राउ नपरेकाले उनीहरुलाई खोज्न सजिलो होस् भनेर हामीलाई मारिएन ।

अहिलेको स्थितिमा नेकपा एमालेको सम्पूर्ण भावनालाई प्रतिनिधित्व कायम गर्नका लागि मदन भण्डारीले गर्नुभएको कामको पुनरावृत्ति केपी ओलीबाट हुनुपर्छ ।

तर जस्तोसुकै यातना दिए पनि को–को कता जानुभयो भनेर हामीले भनेनौँ । केपी ओली कमरेड १४ वर्ष जेल बस्नुभयो । म लगायतका साथीहरु १७ वर्ष जेल बस्यौं । हामीलाई पञ्चायतले गल्ती भयो, जनआन्दोलन गर्छाैं भन हामी छोड्दिन्छौँ भन्यो । तर हामीले त्यो सबैकुरा अस्वीकार गर्यौं । हामीले आत्मसमर्पण गरेनौँ । २०४६ सालको पुस १९ गते राजा वीरेन्द्रले आम माफी दिएपछि हामी छुट्यौं ।

झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट आन्दोलन म जेलबाट निस्किँदा धेरै परिपक्व र देशव्यापी रुपमा विस्तार भइसकेको रहेछ । त्यतिखेर नेकपा माले पञ्चायत समाप्त गर्न र जनआन्दोलनमार्फत अघि बढ्न प्रयत्न गरिरहेको थियो । जेलबाट छुटेपछि खुल्ला रुपमा सबैसित छलफल गर्ने प्रत्यन्त गर्यौं । यसरी झापा आन्दोलनबाट सुरु गरेका धेरै कुरा पूरा गर्न सक्यौं । क्षतविक्षत भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन सफल भयौँ । अर्काेतिर पुष्पलालको जनआन्दोलन र जनसंघर्षमार्फत अघि बढ्नुपर्छ र पञ्चायत विरोधी सबैलाई एकताबद्ध बनाएपछि आन्दोलन सफल हुन्छ भन्ने मान्यतालाई सफल पार्यौं ।

अहिले हेर्दा के देखिन्छ भने हामीले धरै ठूला उपलब्धि प्राप्त गर्यौँ । गणतन्त्र ल्याउने कुरा, राजतन्त्र समाप्त पार्ने कुरा भन्दा कसैले पत्याउँदैनथ्यो । यो पर्वतलाई कुइनाले फोर्नेजस्तो असम्भव कुरा हो भन्थे । तर हामीले हाम्रो जीवनकालमै यी कुरा प्राप्त गर्न सक्यौं, यसले एक किसिमको गर्व अनुभूति हुन्छ । हामीले जुन ढंगले सफलता प्राप्त गर्यौं,  आन्दोलनबाट प्राप्त उपलब्धिलाई जसरी संस्थागत गरेर अघि बढ्नुपथ्र्याे, त्यसमा हामी कतै चुक्यौं कि भन्ने लाग्छ । यी उपलब्धिलाई रक्षा गर्न र व्यवस्थपन गर्न हाम्रो नेतृत्व धेरै चनाखो हुनुपर्छ भन्ने लाग्छ । यदि यी कुरा गर्न सकेनौँ भने फेरि पनि प्रतिगामी शक्तिले हामीलाई लडाएर आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने हुन् कि भन्ने खतरा छ । हामी यसरी आउँदा कति साथिलाई जेलमै विदा गरेका छौं, जो एउटै गोलीको निशाना बनाएर हिडेका थियौं । हामी अहिले जो बाँचेर अघि बढेका छौँ, अहिले म यसो हेर्छु झापा आन्दोलनबाट लागेकामध्ये नेकपा एमालेका प्रतिनिधिमध्ये आयोजकमा रुपमा दुई जनामात्रै छौं ।

हामीले ०४९ मा बैचारिक राजनीतिक आन्दोलन चर्काे रुपमा गर्यौं । जस्तो मदन भण्डारीले जबज ल्याउँदा हामीले यतिधेरै राजनीतिक वादविवाद गर्यौ, त्यतिखेर यदि मदन भण्डारीको नेतृत्व नभएको भए पाँचौं महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाएर लान सकिंदैनथ्यो होला । निर्वाचनमा पार्टी गयो, उहाँलाई तुरुन्तै निर्वाचन गर्न भनियो । त्यसबेला जबजको पक्षमा ५४५ मत थियो भने सिपी मैनाली, मनमोहन अधिकारी लगायतले नेतृत्व गरेको नौलो जनवादको पक्षमा १०८ मतमात्रै थियो । उहाँहरुले उमेदवारी दिन मान्नुभएन । ५४५ मा कसरी १०८ मतले लड्न सक्छ भन्ने कुरा उहाँले गर्नुभयो । सबैले नोमिनेसन गरे पनि मदन भण्डारीले नोमिनेसन गर्नुभएन ।

पार्टी फुट्यो अब भनेर अधिंकाशलाई डर लागेको थियो । तर उहाँले सबै विचार समूहको नेतृत्व गर्ने कमरेडहरुलाई समेटेर उहाँले पार्टी एकताबद्ध गर्नुभयो । त्यो आतंकको स्थितिमा मदनले वैचारिक बहस तीव्र रुपमा चलाउनुभयो तर हिजो कसले कुन विचार राख्यो र कसले कति मत ल्यायो भन्ने आधारमा भेदभाव गर्नुभएन । यसरी आलोचकहरुलाई समेत सम्मान गरेर मदन भण्डारीले पाँचौं महाधिवेशनमा नेकपा एमालेलाई लिएर जानुभयो ।

तर छैठौं महाधिवेशन हुने बेला महाकाली सन्धिबारे धेरै वादविवाद आएका थिए । त्यसलाई व्यवस्थापन गर्न सकिन्थ्यो तर हामीले सकेनौं । जसले गर्दा हामीले ठूलो नोक्सानी व्यहोर्नुपर्यो । गालीगलौज गर्यौं । एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्यौं । त्यतिखेर हामी एकताबद्धमात्रै हुन सकेको भए माओवादी द्वन्द्वको सामना गर्न पर्दैनथ्यो । पार्टी विभाजनबाट निरास भएकाहरु माओवादी आन्दोलनमा सहभागी भए । हामीले ठूलो नोक्सानी व्यहोर्यौं । त्यो पार्टीलाई व्यवस्थित गर्न नसक्दा भएको परिणाम हो भन्ने लाग्छ । त्यसपछि त फेरि एकता गर्नैपर्यो । गद्दार भनेर गाली गरेका कमरेडहरुलाई फेरि महान कमरेड भनेर अंकमाल गर्यौं ।

सातौं महाधिवेशनलाई फेरि एकताको महाधिवेशन भन्यौं । बुटवलमा गरेको आठौं महाधिवेशनमा हामीले प्रतिस्पर्धा गर्यौं, बहुपदीय प्रतिस्पर्धामा गर्यौं । केही तिक्तता थिए ती क्रमशः सिथिल हुँदै गए । नवौं महाधिवेशनमा भने हामीले गल्ती गर्यौं । यो महाधिवेशनमा नेतृत्व भन्दा कार्यकर्ताले पार्टी बचाए । दुईटा अलग–अलग प्यानलका  नेतृत्वलाई समेटेर ठीक ढंगले चयन नगरेको भए एउटा पक्ष त बाहिर हुन्थ्यो नि । त्यसले सिधै पार्टीलाई विभाजन गर्न सक्थ्यो । कार्यकर्ताले विवेकपूर्ण ढंगले नेतृत्व चयन गरे । तर त्यसको प्यानल निर्माण गरेर अगाडि बढ्ने कुराको प्रभाव भने नवौं महाधिवेशन पछि जारी रह्यो । जसलाई व्यवस्थित गर्न सकेनौं ।

पार्टीको नेतृत्वमा त धेरै सक्षम र लामो समय त्याग तपस्या गरेर आएका नेताहरु थिए । त्याग तपस्या गरेकाहरुलाई अगाडि लिएर जानुपर्थ्यो, युवाहरुलाई पनि लिएर जानुपर्थ्यो । आवश्यक प्रतिस्पर्धा जरुरी हुन्छ तर अनावश्यक ढंगले आ–आफ्नो टिमको जुधाइ गरेर पार्टी नेतृत्व हाँक्न सकिन्न । पार्टीमा भएका सबै अनुभव, क्षमता र योग्यतालाई समेटेमात्रै समृद्ध पार्टी बनाउन सकिन्छ । एक खालका मात्रै मान्छे जम्मा गरेर पार्टी समृद्ध हुन सक्दैन । त्यसैले आलोचना सहन सक्नुपर्यो, गल्ती छ भने आत्माआलोचना गर्नुपर्छ । आलोचनालाई मप्रतिको दुष्मन हो भन्ने ठान्नुभएन । मलाई सच्याउनका लागि आन्दोलनलाई अघि बढाउनका लागि मेरा कमजोरी देखाइयो भन्ने ठान्नुपर्छ । यद्यपि गरेका आलोचना सही पनि हुन सक्छन्, गलत पनि हुन सक्छन् । तर नेतृत्वको हृदय विशाल हुनुपर्छ । यसरी अगाडि बढ्ने हो भने यो कम्युनिष्ट आन्दोलनको अत्यन्तै वृहत सम्भावना छ ।

अहिले हामी दशौं महाधिवेशनमा आएका छौं । यसबीचमा धेरै घटना भएका छन् । हामीले देशी विदेशी शक्ति भनेर उनीहरुलाई गाली गर्छाैं । तर हामीले हाम्रा समस्यालाई व्यवस्थित गर्न सकेनौं । जसरी अहिले फेरि पनि पार्टी टुक्रिने काम भयो यसबाट शिक्षा लिनुपर्छ र दशौं महाधिवेशनमा यी सबै घटनाहरुबाट शिक्षा लिनुपर्छ । नेकपा एमाले अत्यन्तै ठूलो पार्टीका रुपमा आएको छ, धेरै आकांक्षीहरु छन् । यो पार्टीलाई योगदान गर्न चाहन्छन्, समाजलाई रुपान्तरण गर्न चाहन्छन् ती सबै साथीहरुलाई समेट्नका लागि हाम्रो नेतृत्व विवेकपूर्ण ढंगले अघि जानुपर्छ । यसो गर्न सक्यौं भने हिजो विभाजनको घाउलाई मलहम लाउन सकिन्छ, आम चाहनालाई सम्बोधन गर्न सकिन्छ । यो विभाजनबाट जनतामा परेको प्रभावलाई कम गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि जान सकिन्छ । त्यसैले यो महाधिवेशनलाई भरसक सर्वसम्मत रुपमा अगाडि लिएर जानुपर्छ र त्यसका लागि नेतृत्वले अधिकतम प्रयास गर्नुपर्छ ।

यदि मदन भण्डारीले त्यतिखेर मतदानमा पार्टी लिएर जानुभएको भए कोही त हार्न सक्थ्यो नि त । तर उहाँले आफैं नेतृत्वबाट सबैलाई समेटेर घोषणा गर्नुभयो । त्यहाँ सिपी मैनाली, मनमोहन अधिकारी, साहना प्रधानलगायत मान्छे पनि परे । सम्पूर्ण कार्यकर्ताले त्यो नेतृत्वलाई हार्दिकतापूर्वक स्वागत गरे, जुन काम मदन भण्डारीले गर्नुभयो । अहिलेको स्थितिमा नेकपा एमालेको सम्पूर्ण भावनालाई प्रतिनिधित्व कायम गर्नका लागि मदन भण्डारीले गर्नुभएको कामको पुनरावृत्ति केपी ओलीबाट हुनुपर्छ ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment