+
+

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:२९

११ मंसिर, काठमाडौं । वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । शनिबार मूलपानी मैदानमा भएको खेलमा कप्तान देव खनाल र विशाल विक्रम केसीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले बागमतीलाई ३ विकेटले पराजित गर्‍यो ।

लुम्बिनीले १९४ रनको लक्ष्य ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६७ रन बनाए । यस्तै प्रज्वल थापाले ३४ रन जोडे भने वासिर अहमदले ३१ रनमा अविजित रहे ।

बागमतीका गौतम केसीले सर्वाधिक ३ विकेट लिए भने प्रतिस जिसी, क्रिस कार्की र तिलक भण्डारीले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४७ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन बनाए ।

लुम्बिनीका विशाल विक्रम केसीले ७ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।यस्तै मोहम्मद हुसेन र कमल वलीले २–२ विकेट लिए भने दुर्गेश गुप्ता र राहुल चौधरीले समान १ विकेट लिए ।

यस्तै कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले नै पराजित गर्दै पहिलो जित हात पारेको छ । कर्णालीले दिएको ११४ रनको लक्ष्य गण्डकीले २६.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

गण्डकीको जितमा दीपक डुम्रेले सर्वाधिक ३४ रन र उत्सव श्रेष्ठले २६ रन जोडे । कर्णालीका लागि सन्दीप शाही र निश्चल रावलले २–२ विकेट हात पारे । अनुज चनारा, रुपक दाहाल र दिनेश पुनले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन बनाए भने अनुज चनाराले २२ तथा रुपक दाहालले २० रन जोडे ।

गण्डकीका कमल परियारले सर्वाधिक ४ विकेट लिँदा किरण पौडेलले ३ तथा सुदीप अर्याल र सुवाश भण्डारीले १–१ विकेट हात पारे ।

गण्डकीले यस अघि लगातार दुई खेलमा पराजय भोगेको थियो । कर्णालीले तीनमध्ये एक खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?