
१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिएको महानगरले जनाएको छ ।
३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल ९७१ तराईका लागि सिफारिस गरिएको जातको गहुँको बिउ हो । ३ सय ४७ जना किसानलाई र ५ वटा ग्रामिण वडामा बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका ओमप्रकाश रामले जानकारी दिए ।
महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न उन्नत जातको बिउ वितरण गरिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।
यसले महानगर भित्र पर्ने खेती योग्य जमिनमा गहुँबाली लगाउन किसानलाई प्रोत्साहन मिल्ने दावी उनको छ । ‘बिउ, मल खरिदमा किसानको ढाड सेकिने गरेको छ, किसानलाई सहुलियत दिने उद्देश्यले अनुदानमा गहुँको बिउ वितरण गरेका हौं,’ उनले भने, ‘किसानलाई कृषि पेशामा रहन प्रोत्साहन मिल्नुको साथै उन्नत बिउ लगाउँदा उत्पादन बढ्ने अपेक्षा छ ।’
तराईका जिल्लामा लगाउन पछुवा जातको विजय र गौतम पनि सिफारिस जातमा पर्छ । महानगरले गहुँको पछुवा जातका बिउ वितरण गर्ने तयारी समेत गरिरहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिइन् । किसानलाई वितरण गर्नका लागि १६ मेट्रिक टन गहुँ खरिद गर्ने तयारी भइरहेको उनले बताइन् ।
तर महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पैसा निकासा हुन नसकेकोले खरिद गर्न समस्या भएको छ ।
अधिकृत श्रेष्ठका अनुसार गहुँको बिउ खरिदका लागि कृषि सामग्रीलाई अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ ।
‘पछुवा जातमा विजय जातको गहुँ खरिद गर्ने तयरी गरेका हौं । पैसा जम्मा गरेको भौचर बुझाएपछि मात्रै कृषि सामग्री कम्पनीले गहुँको बिउ दिन्छ,’ उनले भनिन्, ‘कार्यालय प्रमुख नहुँदा खरिदमा अन्यौल भएको छ । आज बोलाएका किसानलाई रित्तो हात फर्काउनु परेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला सरुवा भएर गइसकेका छन् भने प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने भनिएका निश्चलराज पाण्डे आइसकेका छैनन् ।
प्रतिक्रिया 4