+
+
Shares

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा भरत शाह र अमर पुन भिड्दै

टोपराज शर्मा टोपराज शर्मा
२०७८ मंसिर १६ गते १९:३०

१६ मंसिर, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुई गुटले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । मुलुक संघीय संरचनामा गएको पाँच वर्ष पुग्नै लाग्दा नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा बिहीबार शुरु हुँदै छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा वडा तहदेखि जिल्लासम्म संस्थापन र संस्थापन इतर पक्षले अधिकांश स्थानमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

प्रदेश अधिवेशनमा पनि दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रोल्पाका जिल्ला सभापति अमर पुनले उम्मेदवारी घोषणा गरेर मत माग्न शुरु गरेका छन् ।

प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।

प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ । जिल्ला अधिवेशनको नतिजाका आधारमा आफूले प्रदेश सभापति जित्ने पुनको दावी छ ।

प्रदेशमा करिब १६ सय मतदाता रहेकामा आफूले एक हजार हाराहारीमा मत ल्याएर जित्ने पुनको दावी छ । पार्टीलाई बीपी कोइरालाको विचार र सिद्धान्त तथा विधि र पद्धति अनुसार चलाउंन आफ्नो उम्मेदवारी भएको पुनले बताए ।

‘अहिलेको नेतृत्व पक्षले पार्टी र सरकार दुबै राम्रोसंग चलाउन सक्दैनन् त्यसैले कांग्रेसलाई सशक्त बनाउन पार्टीको नेतृत्व परिवर्तन अपरिहार्य छ’ पुनको भनाइ छ । माओवादी युद्धकालमा जिल्लामा पार्टीका सभापति, वडा अध्यक्षसहित एक सय २० जना बढी नेताको माओवादीबाट हत्या हुँदा पनि पार्टी संगठन जोगाएर अहिले धेरै राम्रो बनाएकाले मतदाताले आफ्नो मूल्यांकन गर्ने पुनको तर्क छ । उनी संविधान सभा सदस्य र पूर्व राज्यमन्त्री हुन् ।

यता सभापतिका उम्मेदवार भरत शाहले संस्थापन इतरले धेरै जिल्लामा जितेको देखिएपनि प्रदेशमा आफूले जित्ने दावी गरे । ‘पहाडी ५ वटा जिल्ला बराबर रुपन्देही एउटैको मतदाता हाम्रो पक्षमा छन्’ शाहले भने, ‘जिल्लामा प्राविधिक हिसाबले अरुले जितेपनि तराइका जिल्लाका मतदाता प्रतिनिधि हाम्रा धेरै छन् ।’

शाहले आफूले गुटगत राजनीति नगर्ने तर्क गर्दै पार्टीका दुबै पक्षलाई मिलाएर लैजान सक्ने स्वाभाव र क्षमता भएकाले आफ्नो जित निश्चित रहेको बताए । शाह रुपन्देही ५ बाट लगातार तीनपटक जित्ने सांसद हुन् । उनी हाल संसदको लेखा समितिको सभापति छन् ।

नेपाली कांग्रेस प्रदेश अधिवेशनका निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले बिहीबार साँझसम्म मतदाता नामावली प्रकाशन हुने, शुक्रबार उम्मेदवारी दर्ता र शनिबार मतदान हुने बताए ।

सर्वसम्मत बनाउने संस्थापनको रणनीति

संस्थापन पक्षले प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेको छ । पार्टीले गृहमन्त्री बालकृष्ण खांणलाई प्रदेश अधिवेशनको संयोजक तोकेको छ । उनी क्षेत्रीय अधिवेशनदेखि नै अधिकांश समय गृह जिल्ला रुपन्देहीमा छन् ।

तुलनात्मक रुपमा पौडेल पक्ष बलियो भएकाले चुनावमा जाँदा संस्थापन पक्षले हार्ने संभावना रहेकाले संस्थापन इतर पक्षसंग राजनीतिक लेनदेन र पद भागवण्डा गरेर भरत शाहलाई सर्वसम्मत सभापति बनाउने संस्थापन पक्षको रणनीति रहेको स्रोतको दावी छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका दुबै पक्षले अन्य पदाधिकारी सहित प्यानल घोषणा भने गरेका छैनन् ।

१२ वटै जिल्लाका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद प्रदेश अधिवेशनका मतदाता हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?