
१५ मंसिर, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएका जिल्ला अधिवेशनम प्रदेश १ का जिल्लामा संस्थापन पक्षले प्रभाव जमाएको छ ।
१३ औं महाधिवेशनमा तीन जिल्लाको नेतृत्व मात्र जितेको संस्थापन पक्षले १४ औं महाधिवेशनमा ७ वटाको नेतृत्व हात पारेको दावी गरेको छ ।
कृष्णप्रसाद सिटौला पक्ष एउटा जिल्लामा बिजयी हुँदा डा. शेखर कोइराला र रामचन्द्र पौडेल पक्षले ६ जिल्लाको नेतृत्व हात पारेको छ ।
सभापति शेरबहादुर देउवा पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको छ । १३ औं महाधिवेशनमा देउवा पक्षले मोरङ, धनकुटा र ओखलढुंगा मात्रै जितेको थियो । सिटौला पक्षले झापामा जितेको छ ।
१३ औं अधिवेशनमा देउवा पक्षबाट मोरङमा निर्वाचित भएका डिगबहादुर लिम्बू १४ औं महाधिवेशनमा संस्थापन इतरपक्षबाट पून निर्वाचित भएका छन् । मोरङसहित संस्थापन इतर पक्षले सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा जिल्ला सभापति जितेको छ ।
संस्थापन पक्षबाट धनकुटा सभापतिमा दिनेश राई र सोलुखुम्बु सभापतिमा नाम्गेल जाङ्बु शेर्पा, ताप्लेजुङ जिल्ला सभापतिमा गजेन्द्र तुम्याहाङ, पाँचथर सभापतिमा रूपनारायण जबेगु पाँचथर, ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल, इलाम सभातिमा डम्बर खड्का, उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् ।
झापामा देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनी सिटौला निकट हुन् । झापाको नेतृत्वका लागि विश्वप्रकाश शर्मा र सिटौलाको टिम चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो ।
संखुवासभाको सभापतिमा दीपक खड्का, तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे, खोटाङ सभापतिमा विष्णुकुमार राई, भोजपुर सभापतिमा विनोद बान्तवा, सुनसरी सभापतिमा केदार भण्डारी र मोरङमा डिगबहादुर लिम्बु बिजयी भए । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पक्षका हुन् ।
१३ औं महाधिवेशनमा छुट्टाछुट्टै रहेको देउवा र सिटौला समूह एक ठाउँमा उभिएका कारण १४ औं अधिवेशनमा राम्रो नतिजा आएको देउवा पक्षका नेताहरु बताउँछन् ।
प्रदेश अधिवेशनमा कडा प्रतिस्पर्धा
कांग्रेसको पहिलो प्रदेश अधिवेशन बिहीबार सुरु भएको छ । प्रदेशमा जिल्लाको नतिजाका आधारमा संस्थापन पक्ष उत्साहित देखिएको छ । संस्थापन इतरपक्षले पनि आफूले जित्ने दावी गरिरहेको छ ।
संस्थापन पक्षबाट उद्धव थापाको दाबेदारी छ । सिटौला पक्षका थापा प्रति देउवा पक्ष सकारात्मक भएपनि औपचारिक घोषणा भने भएको छैन ।
देउवा पक्षका नेता हिमाल कार्कीका अनुसार थापा सभापतिका उम्मेदवार बन्ने भए पनि घोषणा हुन बाँकी छ । १४ औं महाधिवेशनमा देउवासँगै रहेका सिटौलाले एउटा प्रदेशको नेतृत्व मागेपछि उनलाई प्रदेश १ छाड्न देउवा राजी भएको सिटौला पक्षका एक नेताले बताए ।
प्रदेश सभापतिमा संस्थापन पक्षबाट अमृत अर्याल, रामहरि खतिवडा र तारामान गुरुङको नाम पनि चर्चा छ ।
संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे उम्मेदवार बन्ने पक्का भएको छ । प्रदेश अधिवेशनमा संस्थापन इतरपक्षका प्रतिनिधि बढी भएका कारण आफूहरुले जित्ने संस्थापन इतर पक्षका नेता केदार कार्की बताउँछन् ।
संस्थापन पक्षका नेता तथा प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की धेरै जिल्लामा नेतृत्व हात पारेका कारण प्रदेशको नेतृत्व पनि संस्थापन पक्षले जित्ने बताउँछन् । ‘जिल्लाको नतिजा राम्रो छ,’ उनले भने, ‘हामीले जित्ने सम्भावना शतप्रतिशत छ ।’
प्रतिक्रिया 4