+
+

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

गौरव पोखरेल गौरव पोखरेल
२०७८ मंसिर १७ गते १९:२४
३३ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुडामणि उप्रेती 'गोरे'

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् ।

१७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए ।

तर सरकारी वकिलको दाबी छ, ठोस प्रमाण नभए पनि थुप्रै परिस्थितिजन्य प्रमाण छन्, जसले विदेशबाट सुन तस्करी भएर नेपाल आएको पुष्टि गर्छ । तत्कालीन उच्चस्तरीय छानविन समितिका सदस्यहरु पनि अदालतमा चलखेल भएको आशंका छन् । र, उच्च अदालतबाट आदेश उल्टिने दाबी गर्छन् ।

अदालतले सुन तस्करका भरिया सनम शाक्यको अपहरण र हत्या अभियोगलाई चाहिँ ठहर गर्दै मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ सहितलाई सजाय तोकेको छ ।

मोरङ अदालतले १९ असोजमा सनम शाक्यको हत्यामा संलग्न गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय दिएको छ ।

थप दुई जनाले तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ । मुद्दा चलाइएका थप ४८ जनाले चाहिँ सफाइ पाएका छन् ।

शाक्य हत्या पछाडिको कारण साढे ३३ किलो सुन थियो भन्ने कुरा उनलाई करेन्ट लगाएर यातना दिँदा सोधिएको प्रश्नले पुष्टि गर्छ । यसलाई अदालतले कसरी व्याख्या गरेको छ भन्ने चाहिँ आदेशको पूर्णपाठ आएपछि थाहा हुनेछ ।

मृत्युअघि शाक्यलाई ‘सुन खोइ ?’ भन्दै पटकपटक सोधिएको भिडियो छ । यही सुनका कारण थप दुई जनाको ज्यान गयो ।

खासमा ३३ किलो सुन बनले नै लुकाएको हुनसक्ने आशंका सरकारी समितिको थियो । ‘उनैले पुर्‍याउनुपर्ने सुन लुटियो भनेका थिए’ छानविन समिति स्रोत भन्छ, ‘लुटिएको प्रमाण पुर्‍याउन नसकेर कुटाइ खाइरहेका थिए । लुकाएँ भन्दा पनि उनी बच्ने थिएनन्, त्यसैले आत्महत्या गरेको देखिन्छ ।’

त्रिभुवन विमानस्थलका वरिष्ठ प्राविधिक सानु बनले ट्यांकरमा ठोक्किएर आत्महत्या गरे भने नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत भेटिए ।

मृत्यु भएकामध्ये बनले गोरेका भरियाले दूबईबाट ल्याएको सुन विमानस्थलमा बुझ्ने गरेका थिए । विमानस्थलबाट सुन निकालेर गोरेसम्म पुर्‍याउन उनको भूमिका हुन्थ्यो । पछि उनी आफैं गएर ट्यांकरमा ठोक्किएको विमानस्थलको सीसी टीभी फुटेजमा देखिने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

अनामनगरको एउटा घरमा पुग्नुपर्ने सुन बीचैमा हराएपछि बनले तस्कर समूहबाट धेरै यातना खेपेका थिए । तस्कर समूहले दैनिकजसो घरमा आएर धम्क्याउन थालेपछि उनले परिवारको समेत ज्यान खतरामा देखेर आत्महत्या गरेको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

जब सुन लुटिएको खबर गयो…

गोरेको व्यवस्थापनमा यूएईबाट थाई एअरवेजमा टेकराज मल्ल ठकुरी र रोहित आचार्यले सुन ल्याएर बनलाई जिम्मा लगाएका थिए । त्यसअघि पनि तस्करीको सुन उनैले विमानस्थलमा बुझेर बाहिर निकाल्ने गरेका थिए । ९ माघ २०७४ मा आएको सुन भने अनामनगरस्थित तस्करको कार्यालयमा पुगेन ।

सुन लैजाने जिम्मेवारी बन र तक्लु भनिने पूण्यप्रसाद तामाङको थियो । तर, राति गोरेले खबर पाए– सुन अफिस पुर्‍याउने क्रममा अनामनगरमा चारजना अपरिचित व्यक्तिले लुटे । त्यसबेला उनी भारतमा थिए ।

तक्लुले उच्चस्तरीय छानविन समितिसमक्ष दिएको बयान अनुसार सुन हराएको दिन साँझ ५ बजे बनले सामान लैजानुपर्ने जानकारी दिएका थिए । ‘उहाँले भनेपछि मैले सुन लुकाएको ज्याकेट लगाएँ, सरको घरमा पुगेर मोटसाइकलको तेलको ट्यांकीमा सुन राखेँ’ उनले भनेका छन्, ‘अनामनगरमा हामीले सुन दिनको लागि मोटरसाइकल छिराउने सटर अगाडि २ वटा जति मोटरसाइकल र ३/४ जना मानिसहरू भेला भएको देखेपछि बन सर र म छुट्टाछुट्टै भयौं ।’

अनामनगरमा रहेको यो घरसम्म तस्करीको सुन पुग्नु पर्ने थियो तर भाटभटेनी नजिकैबाट ‘गायब’ भयो । फाइल फोटो । (इन्सेटमा सुनका लगानीकर्ता मोहनकुमार अग्रवाल)

केही अगाडि पुगेपछि बनसँग सोध्दा ‘यहाँ खतरा छ जस्तो छ’ भन्दै आफूलाई फर्कादिएको उनले बताएका छन् ।

यसबारे गोरेले सूचना पाएपछि भारतबाटै फोन गरेर छानविन गर्न टेकराज मल्ल ठकुरी लगायतलाई भनेका थिए । त्यसपछि तस्करीमा संलग्न मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, कृष्ण भनिने नरेन्द्र कार्कीहरुलाई काठमाडौं बोलाइयो । विमानस्थलका वरिष्ठ प्राविधिक बन, तक्लु लगायतमाथि पनि केरकार सुरु भयो ।

तर, लुटिएको सुन पत्ता लागेन । एक सातापछि गोरे पनि भारतबाट फर्किएर सुन कसरी लुटियो भनेर खोजीनितिमा लागे । अनुसन्धान समितिका एक अधिकृत भन्छन्, ‘त्यतिबेला उसले प्रहरीले जस्तै बलियो अनुसन्धान गरेको थियो ।’

ती अधिकृतका अनुसार गोरेले अनामनगर क्षेत्रको थुप्रै क्लोज सर्किट (सीसी) क्यामराका फुटेज हेरेका थिए । त्यसमा बनहरुले भनेजस्तो दुई वटा मोटरसाइकलमा चार जना अपरिचित व्यक्ति आएको वा लुटपाट भएको देखिएन ।

‘लुटपाट भएको नपाएपछि गोरेले सबैसंग आफैंले कडिकडाउ सोधपुछ गरेका थिए’, ती अनुसन्धान अधिकृत भन्छन्, ‘उनलाई सुन अनामनगरमा लुटिएको विश्वास नभएको देखिन्छ ।’

सरकारी छानविन समितिको अनुसन्धानले पनि सुन लुटिएको पुष्टि गरेको छैन । समितिका सदस्यहरुले पनि अनामनगर क्षेत्रका सीसी टीभी फुटेजहरु हेरेका थिए ।

लुटिएकोमा शंकापछि गोरेले दिएका थिए यातना

आफैंले गरेको छानविनमा सुन नलुटिएको यकिन भएपछि गोरेले कुटपिट गर्न र बन्धक बनाउन थालेको अदालतमा पेश भएको कागजहरुले देखाउँछ ।

‘सुन लुटिएको प्रमाणित गर्न नसकेकै कारण विमानस्थलका कर्मचारी सानु बनले आत्महत्या गरेका हुन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘गोरे समूहले त्यतिकै पनि यातना दिएकै थियो, सुनबारे वास्तविक कुरा बताउँदा पनि उनलाई राम्रो हुने थिएन ।’

खासमा ३३ किलो सुन बनले नै लुकाएको हुनसक्ने आशंका सरकारी समितिको थियो । ‘उनैले पुर्‍याउनुपर्ने सुन लुटियो भनेका थिए’ समिति स्रोत भन्छ, ‘लुटिएको प्रमाण पुर्‍याउन नसकेर कुटाइ खाइरहेका थिए । लुकाएँ भन्दा पनि उनी बच्ने थिएनन्, त्यसैले आत्महत्या गरेको देखिन्छ ।’

सरकारी छानविन समितिले बनको कोटेश्वरस्थित घरमा छापा मारेको थियो, तर सुन भेटिएन ।

बनले हराएको सुनको क्षतिपूर्ति स्वरुप गोरेलाई २० लाख रुपैयाँ दिएका थिए । लगानीकर्ताले पनि विस्तारै क्षतिपूर्ति हुने, सुनको खोजी छाड्न भनिरहेका थिए । तर, अझै आफ्नै मान्छेहरुमाथि शंका गरिरहेका गोरेले खोजीनिति जारी राखे ।

त्यस क्रममा मोहन काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्री लगायतलाई सिन्धुलीको खनियाँ खर्कको एक होटलमा राखेको छानविनले देखाएको थियो । त्यहाँ काफ्लेले ‘म पत्ता लगाउँछु’ भन्दै ५ मिनेट समय मागेको, सबैसंग सोधपुछ र छलफलपछि अधिकांशले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङमाथि शंका गरेका थिए ।

त्यसपछि गुरुङका सालो डेबिटर र डाक्टर समेत भनिने छिरिङ वाङ्गेल घलेसँग सोधपुछ चलिरहँदा काठमाडौंमा फर्किएका सानु बन परिवारसहित सम्पर्कविहीन भएका थिए । एकातिर भुजुङले सुन लगेको पुष्टि भएन, अर्कातिर बन सम्पर्कविहीन बने।

फाइल फोटो

त्यही बेला भरिया सनम शाक्य ‘सालोको बिहे छ’ भन्दै हवाइ टिकट काट्ने सुरसार गरिरहेका थिए । अर्को दिन गोरेले एअरपोर्टमा प्रहरीले २० किलो सुन समातेको भन्दै सबैलाई सुरक्षित बस्नू भनेर निर्देशन दिएको अनुसन्धानबाट खुलेको थियो ।

तर भोलिपल्ट उनैले विमानस्थलमा सुन समातिएको हल्ला मात्र रहेको भन्दै मोहन काफ्लेलाई फर्किन भनेको पाइएको छ । त्यतिबेला काफ्ले बर्दिबासमा थिए । उनी ‘आफू खुशी’ पूर्वतिर लागेको गोरेको आरोप थियो । अझ बिहेमा जान्छु भनेर हिँडेका सनम शाक्य पनि काफ्लेसँगै रहेको थाहा पाएपछि गोरेले उनीमाथि शंका गर्न थालेका थिए ।

सम्पर्कविहीन भएको चार दिनपछि सानु बन विमानस्थलमै भएको सूचना गोरेले पाए । त्यसपछि गोरे, भविन राई, रोहित आचार्य, टुकबहादुर मगर, सुरेन्द्र गौतम, रुस्तम मियाँ, कृष्ण बस्नेत, कृष्ण भन्ने नरेन्द्र कार्की, एलबी मगर र भोजराज भण्डारी एयरपोर्टको गेट बाहिर गएर बनलाई पर्खिए ।

बनलाई बोलाउन भित्र गएका एलबी मगरले उनी बाहिर नआउने खबर ल्याए । त्यसको पाँच मिनेटपछि बनलाई नेपाल आयल निगमको ट्यांकरले किचेको खबर आएको प्रहरीले अनुसन्धानबाट खुलेको थियो ।

गोरे समूह पूर्व जाँदा सनम भारततिर

सानु बनको मृत्युपछि गोरेसहितको टोली मोरङ गयो । त्यसबारे थाहा पाएलगत्तै मोहन काफ्ले र सनम शाक्य उर्लाबारीबाट भारतको आसामतिर लागे । गोरेले परिवारलाई फोन गरेर दुवै कहाँ छन् भनेर धम्की दिन थालेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

पछि उनीहरुबीच भारतको सिलगुढीमा भेट भएको पनि देखिएको छ । त्यसक्रममा ‘किन भागेको’ भन्दै गोरेले सनमसँगै गएका सुरेन्द्र गौतम, रुस्तम मियाँ, कृष्ण बस्नेत, कृष्ण भन्ने नरेन्द्र कार्की लगायतलाई पनि कुटपिट गरेका थिए ।

गोरेले गरेको अनुसन्धानका क्रममा नरेन्द्र कार्कीको मोबाइलमा भेटेको एउटा अडियोमा रुस्तम मियाँले विमानस्थलका कर्मचारी सानु बनलाई ‘मैले सिकाएको कुरा गोरेलाई भन्’ भनिएको थियो । त्यसपछि गोरेले मियाँमाथि पनि शंका गर्न थाले । रेकर्डमा मोहन काफ्ले पनि रहेको थाहा पाएपछि उनीमाथि पनि शंका बढ्यो ।

मोहन काफ्ले र सनम शाक्य भारतबाट मोरङ फर्किएपछि पनि उनीहरुले ‘त्यत्रो सुनबारे वास्तै नगरेको’ भन्दै गोरेले शंका गरेको अनुसन्धानमा देखिएको छ ।

काठमाडौंमा गोरेले कृष्ण भनिने नरेन्द्र कार्कीको मोबाइल खोसेर रेकर्ड जाँच गर्दा सनम शाक्यको एउटा भिडियो पनि भेटेका थिए । त्यसमा आत्तिएको देखिएपछि सनममाथि गोरेको शंका थप बलियो भएको थियो ।

पछि शंका लागे व्यक्तिहरुमाथि यातना दिने क्रममा शाक्य १८ चैत २०७४ मा मारिएका थिए । मोरङको जंगलमा करेन्ट लगाएर यातना दिँदा उनले ज्यान गुमाएका थिए । शाक्य मारिएपछि शव व्यवस्थापनका लागि गोरेले केही प्रहरी अधिकृतको सहयोग लिन खोजेका थिए ।

सनम शाक्यको शव भेटिएको गाडी । फाइल तस्वीर ।

भोलिपल्ट विराटनगरको पोखरियामा शाक्यको शव बरामद हुँदा यातना पाउने व्यक्तिहरु पनि पक्राउ परेपछि यो प्रकरण बाहिर आएको थियो । त्यसवेला हिरासतमा पुगेका आरोपीका परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएपछि छानविन अघि बढेको थियो ।

त्यसक्रममा गोरेको व्यवस्थापनमा चल्ने र्‍याकेटमार्फत साढे चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन नेपाल आएको भेटिएको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment