+
+

पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते २०:४५

२३ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए ।

यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । डा. लालले भने, ‘फाइजर खोप छिट्टै आउँदैछ । यो खोप प्राप्त भएपछि फाइजर खोप अभियान सञ्चालन हुन्छ ।’

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य रहेको छ ।

दाहालले भने, ‘हिमाली जिल्लाको हकमा १०० भन्दा बढी र अन्य जिल्लाको हकमा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाएका छौं । यही मापदण्ड अनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिन्छौं ।’ यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ । दाहालका अनुसार आइतबारसम्म गरी झण्डै ३७ लाख डोज मोडेर्ना खोप प्राप्त हुनेछ ।

यी हुन् बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरु

यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने दाहालले बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।

राष्ट्रिय खोप सल्लाहाकार समितिले बढी जनघनत्व भएको र यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाहरुमा फाइजर खोप दिन सुझाव दिएको दाहालले बताए ।

फाइजर खोप अभियान सञ्चालनका लागि तालिम प्राप्त जनशक्तिको आवश्यक पर्ने, प्रयोगका लागि प्राविधिक हिसावले पनि मोडेर्नाभन्दा यो खोप अलि फरक भएकाले बढी जनघनत्व भएको र यसअघि नै प्रयोगमा आएका जिल्लामा लगाउने निर्णय भएको दाहालले बताए ।

फाइजर खोपको तुलनामा मोडेर्ना खोप दुर्गम जिल्लाहरुमा लैजान सहज हुने भएकोले पनि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने निर्णयमा पुगेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?