+
+

‘भीड नियन्त्रणमा खटिने अधिकृतलाई तालिम नै छैन’

माधव थापा, पूर्वडीआईजी, सशस्त्र प्रहरी माधव थापा, पूर्वडीआईजी, सशस्त्र प्रहरी
२०७८ मंसिर २४ गते १८:५४

भीड नियन्त्रण कसरी गर्ने भन्ने कमाण्डरमा पनि भर पर्ने कुरा हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको कार्यालय जस्तो ठाउँमा हतियार लिएर भीड नियन्त्रण गर्छु भन्ने सोच्नुहुँदैन । त्यहाँ ढुंगामुढा हुने थिएन, वकिलहरूले त्यस्तो गर्ने थिएनन् । विद्यार्थी भएको ठाउँमा पनि अश्रुग्याँस हान्ने होइन ।

माथिबाट के निर्देशन आयो भन्ने कुरालाई कमाण्डरले कतिपय बेलामा अवस्था अनुसार बेवास्ता पनि गर्नुपर्छ । कमाण्डरले स्वविवेक प्रयोग गर्दा पनि कतिपय समस्या आफैं हल भएर जान्छन् । जहिल्यै भीड नियन्त्रणका लागि कमाण्डर अगाडि बस्नुपर्छ । म कहिलेकाहीं सशस्त्र प्रहरी बलको हेडक्वार्टरलाई पनि भनिरहेको हुन्छु– ‘कमाण्डर पछाडि बसेर सिटी बजाइरहेको छ, सिपाही चाहिं अगाडि हुन्छ । यस्तो अवस्था हुनुहुँदैन ।’ पछाडि बसेर उसले कमाण्ड गर्न सक्दैन ।

कांग्रेस, एमाले जुनसुकै पार्टीको प्रदर्शन भए पनि हामी प्रहरी हो । सरकारमा जो छ, हामी त्यसको सिपाही हो । भोलि उनीहरू पनि सरकारमा पुग्छन्, हामी उनीहरूको सिपाही हुनुपर्छ । तर त्यसो भन्दैमा भीड नियन्त्रणमा फरक–फरक व्यवहार कहिल्यै गर्नुहुँदैन । हुन त प्रदर्शनकारीको मनस्थिति हेरेर पनि व्यवहार गर्नुपर्छ । यसमा कमाण्डरले एकदमै विवेक प्रयोग गर्नुपर्छ ।

कमाण्डरले शुरूमा सम्झाई–बुझाई गर्ने हो । हामी अगाडि गएर नेताहरूलाई ‘सर, जय नेपाल’ भन्थ्यौं, अभिवादन गथ्र्यौं । प्रदर्शनको कमाण्डरलाई पनि ‘कन्भिन्स’ गराउन खोज्थ्यौं । ‘सर, यहाँदेखि यता सवारी हुनुभयो भने लाठी चार्ज गर्छौं’ भन्थ्यौं । ठेलमठेल, भीड हुँदा मुख्य–मुख्य नेतालाई भनेरै समातेर लैजान्थ्यौं । अरूलाई चाहिं पहिले सम्झाउने–बुझाउने, त्यसपछि लाठी र अश्रुग्याँस हान्थ्यौं । एकैचोटि ‘एसएलआर’ र ‘थ्रीनटथ्री राइफल’ प्रयोग गर्नुहुँदैन । यसले भीडको आक्रोशलाई अझ बढाउँछ ।

सकेसम्म बल प्रयोग गर्नै नपरोस् भन्नेमा कमाण्डरको ध्यान हुनुपर्छ । लाठी चार्ज गर्दा पनि भरसक हड्डीमा नपर्ने गरी हान्नुपर्छ । उसलाई दुखोस् तर अरू समस्या नहोस् । नागरिकलाई जोगाउने कोशिशमा हामी सधैं हुनुपर्छ ।

सिद्धान्तले पनि भरसक क्षति कम हुने गरी काम गर्नुपर्छ भनेको छ । हामी प्रहरीमा जागिर खाएको दंगा, अपराध हुन्छ भनेरै हो । त्यसैले हामीलाई एउटा ढुंगा लाग्यो भन्दैमा जनतालाई १० वटा ढुंगा हान्नुहुँदैन । हामीले सहनुपर्छ, फिल्डमा खटिएको मान्छे आवेगमा आएर जनतालाई जथाभावी लाठी चार्ज गर्नुहुँदैन ।

माधव थापा ।

अति विशिष्ट (भीभीआईपी) क्षेत्रमा भीड र प्रदर्शन नहोस् भनेर सरकारले निषेधित क्षेत्र तोकेको हुन्छ । प्रदर्शन गर्नेलाई पनि त्यहाँ जानुहुँदैन भन्ने थाहा हुन्छ । तर गएन भने जुलूस निकालेको के मतलब भयो र भन्ने खालको सोच हुन्छ । त्यही निषेधित क्षेत्रमा गएपछि समस्या हुने हो । हुन त निषेधित क्षेत्र प्रदर्शनकारीले नतोडिदिए मात्रै पनि धेरै हदसम्म समस्या समाधान हुन्थ्यो । प्रदर्शनकारी आफैं पनि कतिपय अवस्थामा संयमित हुनुपर्छ ।

एकपटक मनमोहन अधिकारी, माधवकुमार नेपाल लगायत सभासद्हरूले सिंहदरबारमा आन्दोलन गरेका थिए । त्यो बेला लाठी चार्ज गर्न पनि समस्या भयो, सबै सभासद् छन् । त्यसपछि मैले आफ्नो स्वविवेक प्रयोग गरेर अश्रुग्याँस छाडिदिएको थिएँ । त्यसपछि भागाभाग भयो, कमाण्डरले त्यसो गर्ने हो ।

अहिलेभन्दा कम क्षति २०६२/६३ को आन्दोलनका बेला भएको थियो । हुन त म निलम्बनमा पनि परें । तर सबैभन्दा बढी ‘रबर बुलेट’ त्यतिबेलै प्रयोग भएको हो । मेरो सिपाहीलाई समातेर लगेर सिसाले घोचेको थियो । तर त्यति हुँदा पनि संयमित भएर ‘रबर बुलेट’ हानेका थियौं । त्यसैले नेपालभरि १९ जनाको मात्रै मृत्यु भयो ।

भीड नियन्त्रणका लागि चाहिने पर्याप्य उपकरण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग छैन । खासमा यो बिगारेको नेताहरूले नै हो । हिजो उनीहरू यहीं प्रदर्शन गरेर त्यहाँसम्म पुगेका हुन् । यसलाई सुधार गर्न कसैलाई चासो छैन । चासो दिने हो भने अश्रुग्याँस, प्लाष्टिकको गोली किन्न पैसा दिनुपर्ने हो । सुरक्षा निकायले प्रस्ताव त सधैं पठाइरहेकै हुन्छ । सुरक्षा निकायलाई प्रविधिले सम्पन्न बनाएको भए; उनीहरूलाई नै भोलि आन्दोलन, प्रदर्शन गर्दा सहज हुनेथियो ।

अहिले भीड नियन्त्रणमा विज्ञको पनि अभाव छ । भीड नियन्त्रण तालिम अधिकृतहरूलाई अनिवार्य हुनैपर्छ । नेपालभरि जहाँ खटिए पनि भीड नियन्त्रण गर्नैपर्छ । तालिमको अभाव र अनुभव नहुनु पनि समस्याको रूपमा छ ।

फिल्ड कमाण्डरलाई निर्देशन दिन माथिको अफिसर पनि अनुभवी हुनुपर्छ । निरन्तर सम्पर्कमा हुनुपर्छ अनि मात्र राम्रो नतिजा निस्किन्छ । अर्को कुरा कमाण्डर जहिल्यै पनि अग्रमोर्चामा हुनुपर्छ । प्रत्येक दंगा, भीड, जुलूस, नारामा कमाण्डरहरूलाई खटाएर अनुभवी बनाउनुपर्छ ।

पहिले हामीसँग प्रमुख जिल्ला अधिकारी आफैं भीड नियन्त्रणमा हिंड्थे । नैनबहादुर स्वाँर भन्ने गृहमन्त्री आफैं फिल्डमा निस्किएको याद छ । काठमाडौंका सिडिओ पनि हामीसँगै निस्किएको थाहा छ । तर अहिलेका सिडिओहरू त्यसरी हिंड्दैनन् । उनीहरूसँग भीड नियन्त्रण सम्बन्धी अनुभव पनि छैन ।

पहिले प्रमुख जिल्ला अधिकारीलाई तीन महीना तालिम अनिवार्य थियो । त्यसमध्ये १५ दिन सधैं प्रहरीको तालिम दिइन्थ्यो । अहिले मतलबै छैन । गृहमन्त्रीले जथाभावी सिडिओ पठाउने गरेका छन् । यदि सञ्चारमा तालिम गरेकोलाई अपरेशनमा खटायो भने के हुन्छ ? यही कुराले पनि भीड नियन्त्रणमा असर गरिरहेको छ । भर्ना गरेको हुन्छ बिजुली, मेडिकलमा तर उनीहरूलाई अपरेशनमा खटाएपछि परिणाम के हुन्छ ? त्यो कैलालीमा सुरक्षाकर्मी मारिएको घटनाले पनि देखाइसकेको छ ।

(सशस्त्र प्रहरी बलका पूर्वडीआईजी थापासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?