+
+

दशैंपछि घरजग्गा कारोबार सुस्त

दशैंपछि घरजग्गा कारोबारमा उत्साह घटेको व्यवसायीहरूले बताएका छन् । घरजग्गाको कारोबार सुस्त हुँदा राजश्व पनि घटेको छ ।

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर २६ गते २०:५८

२६ मंसिर, काठमाडौं । दशैंपछि घरजग्गा कारोबारमा उत्साह घटेको व्यवसायीहरूले बताएका छन् । घरजग्गाको कारोबार सुस्त हुँदा राजश्व पनि घटेको छ ।

कोरोना कहरका बेला अर्थतन्त्रका अधिकांश क्षेत्रमा असर पर्दा घरजग्गा कारोबारमा पनि निकै ठूलो पर्‍यो । लकडाउनका बेला घरजग्गा कारोबार ठप्प हुँदा राज्यले निकै ठूलो आम्दानी गुमाउने पर्‍यो ।

घरजग्गाबाट आउने राजश्व ठप्प भएपछि गत वर्ष सरकारले अन्य क्षेत्र बन्द रहँदा पनि मालपोत कार्यालय खुला गरेको थियो । छोटो समयमा खुलेका मालपोत कार्यालयहरूले पनि राम्रै राजश्व आम्दानी गरे । अझ लकडाउन खुला भएपछि त कारोबारमा निकै उत्साह नै आयो ।

मालपोत कार्यालयहरुको माथिल्लो निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक कृष्णप्रसाद भण्डारीका अनुसार दशैं अघिसम्मको तथ्यांक अघिल्लो वर्षको दशैं अघिसम्मको तथ्यांकसँग तुलना गर्ने हो भने २०० प्रतिशतले कारोबार बढेको छ । कारोबार बढेपछि सोही अनुपात राज्यले प्राप्त गर्ने राजश्व पनि बढेको छ । लकडाउन खुला भएपछि कारोबारमा जुन उत्साह देखिएको थियो त्यो उत्साह भने पछिल्लो महिना घटेको छ ।

विभागका प्रवक्ता समेत रहेका निर्देश भण्डारी चाडबाडपछि कारोबारमा उत्साह घटेको बताउँछन् । उत्साह के कारणले घट्यो त ? दशैं तिहार जस्ता ठूला चाडबाड भएका कारण पनि उत्साह कम भएको हुनसक्ने प्रवक्ता भण्डारी बताउँछन् । उनको व्यक्तिगत बुझाइमा अर्को कारण भनेको पछिल्लो समय देशमा भइरहेको राजनीति माहोल पनि हो ।

संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले अघिल्लो साता आफ्नो महाधिवेशन सम्पन्न गर्यो । केही दिन अघिमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाधिवेशन सम्पन्न गरेको छ । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्र सकिएर अहिले नेतृत्व चयनको काम चलिरहेको छ । उता संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को पनि राष्ट्रिय सम्मेलन नजिकिएको छ । देशभर राजनीतिक माहोल चलेको छ । यसकारणले पनि कारोबारमा केही सुस्तता आएको हुनसक्ने उनले बताए ।

घरजग्गाको कारोबार देशभर नै घटेको छ । काठमाडौं उपत्यकाको मात्रै कुरा गर्दा पनि लकडाउन खुला भएपछि जुन उत्साह देखिएको थियो त्यो अहिले छैन । काठमाडौंमा त सानो क्षेत्रफलका जग्गा पाउनै मुस्किल पर्छ । घरजग्गाको कारोबारको अवस्था ग्राउन्डमा हेर्दा पनि घटेकै देखिन्छ ।

काठमाडौंको भोटेबहाल बस्ने रमेश भट्टराई तीनदेखि चार आनासम्मको टुक्रे जग्गाको खोजीमा लागेको ६ महिना भयो । जग्गाको खोजीमा उनी बुढानीकण्ठ नगरपालिकाको तारेभिर, चुनीखेल, कौडाल जस्ता ठाउँहरूमा धेरै पटक पुगेका छन् । तर उनले जग्गा बैना गर्न सकेका छैनन् । जग्गा पाउन नसक्नुको सामान्य कारण छ, उनले ‘खोजेजस्तो’ जग्गा भेटेका छैनन् । कही जग्गा असाध्यै मनपर्छ तर उनको आर्थिक हैसियतले भ्याउँदैन । ‘मैले ३० लाख नगद तयार पारेर जग्गाको खोजीमा छु, बाँकी ३० देखि ४० लाख रुपैयाँ ऋण लिएर ६० देखि ७० लाखसम्मको जग्गा किन्न खोजेको हो’ उनी भन्छन्, ‘मैले काठमाडौंका आधा दर्जन जेडी (जग्गा मिलाउने मान्छे) लाई जग्गा खोजिदिन भनेको छु, तर भनेजस्तो जग्गा पाउनै मुस्किल छ ।’

अलि राम्रो बाटो भएको ठाउँमा टुक्रे जग्गा पाउनै मुश्किल छ । बुढानीलकण्ठ भन्दा धेरैभित्र पनि ३५ लाख रुपैयाँसम्मको आनामा जग्गा पाइन्छ । चार आना किन्नका लागि पनि एक करोड ७० लाख रुपैयाँ चाहिन्छ । यसले गर्दा उनले जग्गा किन्न सकेका छैनन् । साना टुक्रा जग्गा पाउन त महाभारत नै भएको छ उनलाई ।

कोरोनाको त्रास नसकिंदै उनले चुनिखेलमा ७५ लाख रुपैयाँमा चार आना जग्गा भेट्टाएका थिए । तर दाम मिलेन । उनी भन्छन्, ‘अहिले सोचेजस्तो चार आना जग्गा पाए ७५ होइन ८५ लाख तिर्न पनि तयार छु तर अहिले जग्गा नै भेट्न सकेको छैन ।’

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो तीन महिनामा नै करिब ३ अर्ब रुपैयाँले घरजग्गा कारोबार वापत आउने राजश्व घटेको छ

बुढानीलकण्ठ क्षेत्रमा जग्गा मिलाउने काम गरिरहेका व्यवसायी नरेश दाहाल पनि टुक्रा जग्गा पाउनु निकै गाह्रो पर्ने सुनाउँछन् । ‘अहिले जग्गा नै कतै छैन, दाम मिल्नु त पछिको कुरा भयो पहिलो कुरा जग्गा नै मिल्दैन’ उनले भने, ‘यो क्षेत्रमा मैले नोटिस गरिरहेको अहिले एउटा चार आनाको टहरासहितको जग्गा १० फुटे बाटोमा छ, ९६ लाख रुपैयाँ पर्ने यो नै सस्तो हो ।’ बाहिरी जिल्लाबाट आएर यहाँ जागिर वा व्यवसाय गरिरहेका धेरैले सस्तो र टुक्रे जग्गा खोज्ने गरेको भए पनि पाउन निकै गाह्रो रहेको उनले सुनाए ।

भक्तपुरको अवस्था पनि उस्तै छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ सहर निर्माण गर्ने क्षेत्रहरुमा कित्ताकाट रोकिएको छ । केही टाढाबाठाहरूले अंशबण्डा भएको वा डिभोर्स गरिएको बहानामा समेत कित्ताकाट गर्ने गरेका छन् । तर सामान्य मान्छेले कित्ताकाट गराउन सक्दैनन् । दुवाकोट क्षेत्रमा अहिले तीनदेखि चार आनाको टुक्रा पाउन निकै मुस्किल पर्ने स्थानीय दिनेश रायमाझी बताउँछन् ।

भक्तपुरमा अहिले भाइरल प्लटिङ भनेर ५० रोपनीमा प्लटिङ भइरहेको छ । प्लटिङको जग्गा अलि महँगो हुन्छ । बाँकी अन्य ठाउँमा टुक्रा जग्गा नै पाउन गाह्रो पर्ने, कतै पाइहाले पनि निकै महँगो रहेको उनी बताउँछन् । जग्गा किन्ने-बेच्नेहरुका लागि सहयोगी भूमिकामा देखिने स्थानीय उनको अनुभवमा कोरोना पछि पनि जग्गाको भाउ एकदमै बढेको छ । ‘केही महिना अघिमात्रै एक जना साथीले १७ लाख रुपैयाँमा भाइरल प्लटिङमा चार अना जग्गा किन्नु भएको थियो, अहिले २२ लाख रुपैयाँमा किन्न माग्ने पनि आउनु भएको छ तर उहाँले बेच्नु भएको छैन’ उनी भन्छन् । कुनाकाप्चामा पनि १५ लाख प्रति आनासम्ममा जग्गा पाउन मुश्किल पर्ने उनी सुनाउँछन् ।

कारोबारसँगै सुस्तायो राजश्व

घरजग्गाको कारोबार घट्दा यसको असर सरकारलाई प्राप्त हुने राजश्वमा समेत देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो तीन महिनामा नै करिब ३ अर्ब रुपैयाँले घरजग्गा कारोबार वापत आउने राजश्व घटेको छ ।

गत साउन महिनामा सेवा कर, रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर समेत गरी कुल राजश्व ८ अर्ब १३ करोड ४१ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको थियो । तर कात्तिकसम्म आइपुग्दा यो घटेर ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार रुपैयाँमा झरेको छ ।

साउन महिना र कात्तिक महिनाको तुलना गर्ने हो भने कारोबार संख्यामा पनि निकै कमी आएको छ । विभागका अनुसार साउन महिनामा लिखत पारित ७५ हजार ४ सय १५ वटा भएको थियो भने नामसारी ४ हजार ५ सय ३३ वटा भएका थिए । कात्तिकमा घटेर लिखत पारित ५ हजार ८३ मा खुम्चिएको छ भने नामसारी पनि ३ हजार ३ सय २८ वटामात्रै भएका छन् ।

रोक्का फुकुवाको संख्यासँगै अपार्टमेन्टको कारोबार समेत घटेको छ । साउनमा ५० हजार ४ सय ११ वटा रोक्का र ३१ हजार १२३ वटा फुकुवा भएकोमा कात्तिक महिनामा ३६ हजार ६ सय २३ वटा रोक्का र २३ हजार ५ सय ७२ वटा फुकुवा भएको विभागले जनाएको छ । साउन महिनामा ५२ वटा अपार्टमेन्ट किनबेच भएका थिए भने कात्तिक महिनामा ३५ वटामात्रै किनबेच भएका छन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?