+
+
Shares

साउनमा २८ प्रतिशत घट्याे घरजग्गा कारोबार 

साउन २०८१ मा नेपालभरि ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । साउन २०८२ मा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १३:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारमा गिरावट आएको छ, साउन २०८२ मा ३१ हजार ६ सय २१ कारोबार मात्र भएका छन्।
  • नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले कित्ताकाट रोकिएपछि घरजग्गा कारोबार ठप्प भएको बताए।
  • सरकारले कित्ताकाटको वर्गीकरण नगर्दा र म्याद सकिएपछि साउन १ गतेबाट कित्ताकाट रोकिएको छ, जसले कारोबार प्रभावित भएको छ।

२० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत साउनमा कारोबारमा गिरावट आएको छ । साउन २०८१ मा नेपालभरि ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । साउन २०८२ मा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आव सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो ।

गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभरि ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवर ५ लाख ९० हजार ५ सय ४३ घरजग्गा कारोबार भएको थियो ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ हजार २० घरजग्गा कारोबार भएको छ । साउनमा ललितपुर लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० कारोबार भएको छ ।

यस्तै काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चाबहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १ सय ११ घरजग्गा कारोबार भएका छन् ।

साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीले बताएका छन् । लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरे पनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।

उनका अनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ ।

‘घरजग्गा कारोबार सबैतिरबाट बन्द भएको अवस्था छ । राष्ट्र बैंकको नीति आएपछि हामी अलि उत्साही भएका थियौं । बैंक तथा वित्तीय संस्थाले पनि घरजग्गालाई कारोबार गर्न भ्यालु रेसियो बढाउने, होम लोन गर्नेलाई पनि २ करोडदेखि ३ करोडसम्म दिने भनेर राष्ट्र बैंकको नीति आइसकेपछि उत्साहजक तवरले व्यवसायी अघि बढिरहेका थियौं,’ अध्यक्ष घिमिरेले भने, ‘त्यो हुँदाहुँदै कित्ताकाट बन्द भयो र झ्याप्पै रोकियो । कित्ताकाट रोकिनु र बन्द हुनु सरकारकै कुरा हो । सरकारले वर्गीकरणको एक वर्ष म्याद थपेको थियो । त्यो असारमा सकियो । असारमा सकिएपछि साउन १ बाट कित्ताकाट रोकियो । सरकारले समयमै नखुलाउँदा घरजग्गा व्यवसाय ठप्प हुँदैछ ।’

अध्यक्ष घिमिरेले घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको बताए । सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?