+
+

एजेण्डासँगै ओझेलमा परेका शशांक

पछिल्लो समय कांग्रेसमा कि खुमबहादुर खड्काको हाइहाइ थियो कि गगनकुमार थापाको । शशांकले खुमबहादुरको लाइन लिए, जसलाई कसैले पनि गम्भीर रुपमा लिएनन् र एजेण्डासँगै उनी पनि ओझेल परे ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर २८ गते ११:३०

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व छान्न मतदान भइरहेको क्षेत्र प्रदर्शनी मार्गमा टहलिइरहेका वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई अनलाइनखबरले सोध्यो, ‘कसको पक्षमा भोट मागिरहनुभएको छ ?’

केन्द्रीय सदस्यका उम्मेदवार कोइरालाले प्रश्नको जवाफ दिएनन्, बरु कुटिल मुस्कानसहित अघि बढे ।

आइतबार साँझ सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलले गरेको पत्रकार सम्मेलनमा अनुपस्थित भएसँगै शशांकले आफ्नै दाजुलाई साथ नदिएको चर्चा कांग्रेसवृत्तमा शुरु भइसकेको थियो । राति शशांकले सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई सर्मथन गरेको प्रचार नै हुन थाल्यो ।

सोमबार बिहान मतदानस्थलमा भेटिएका शशांकले सभापतिमा देउवालाई समर्थन गरेको त स्वीकार गरेनन्, तर दाजुको पक्षमा पनि खुल्न चाहेनन् । आफू कुनै गुटमा नरहेको, तर दुबै गुटले आफूलाई माया गरेको प्रतिक्रिया दिए ।

१४ औं महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व चुन्दै गर्दा अलमल र दोधारमा देखिएका शशांकले पार्टी महामन्त्री रहँदाको स्वर्णिम समय पनि त्यही अलमलसहित बिताएका थिए । कांग्रेसका संस्थापक नेता एवम् प्रभावशाली सभापति बीपी कोइरालाको छोरा भएर पनि २०६३/६३ को जनआन्दोलनसम्म उनी सक्रिय राजनीतिबाट पर थिए । शिक्षण अस्पतालबाट अवकाश लिएपछि राजनीतिमा डेब्यू गरेका शंशाकलाई वीपीपुत्र भनेर स्थापित हुन निकै सजिलो थियो । त्यही कारण राजनीतिमा आएपछि शशांकले पछि फर्किएर हेर्नुपरेन ।

०६४ को पहिलो संविधानसभा चुनावमा शशांकले नवलपरासी–१ बाट टिकट पाए । कोइरालाहरुको पुरानै दबदबा रहेको मोरङ या सुनसरीमध्ये एक ठाउँमा चुनाव लड्ने उनको चाहना थियो, तर आफ्नै परिवारका कारण टिकट पाउन सकेनन् । त्यसपछि उनी नवलपरासी–१ मा पुगेका हुन् । कांग्रेस राजनीतिमा कोइराला बन्धुहरुको तिक्तता मातृका र बीपीहरुबाटै शुरु भएको हो ।

शशांकलाई नवलपरासी लैजान कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको भूमिका छ भनिन्छ । त्यतिखेर नै देउवा र शशांकबीच बलियो सम्बन्ध बन्यो । २०६७ को १२ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा चुनावमा पनि नवलपरासी १ बाट चुनाव जिते । तर कांग्रेसजनहरुले संसदमा उनको जस्तो भूमिका अपेक्षा गरेका थिए, त्यो भने पूरा हुन पाएन । उनी सांसद त भए, तर संसदमा उनको उपस्थिति शून्यकै बरोबरी देखियो ।

कांग्रेसको नेतृत्वमा पुग्ने दौड

१२ औं महाधिवेशनबाट शशांक केन्द्रीय समितिमा प्रवेश गर्दा पार्टीको नेतृत्व भने फेरि कोइराला परिवार बाहिर पुगेको थियो । २०३९ मा वीपीको निधन भएपछि कोइराला परिवारबाहिर पुगेको कांग्रेसको नेतृत्व ०५३ को नवौं महाधिवेशनबाट गिरिजाप्रसादले परिवारमा फर्काएका थिए । गिरिजाप्रसादको निधनपछि १२ औं महाधिवेशनबाट कांग्रेस फेरि कोइराला परिवार बाहिर पुग्यो । त्यतिबेला सुशील कोइराला सभापति निर्वाचित भए, जो विपी कोइराला परिवारका थिएनन् । शशांक र शेखरसहित कोइराला परिवारले १३ औं महाधिवेशनबाट पार्टीलाई फेरि परिवारमा फर्काउने प्रयास थाले ।

आफैं समेत सदस्य रहेको संविधानसभा र आफ्नै सभापति सुशील कोइराला नेतृत्वको सरकार भएका बेला जारी भएको संविधानले व्यवस्था गरेको धर्म निरपेक्षतालाई स्वीकार गरेनन् । कहिले जनमत संग्रह गर्नुपर्छ भने त कहिले धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्न थाले ।

 

२०७२ को महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बन्दा महामन्त्रीमा शशांक निर्वाचित भए ।

हुन त त्यसबेला शेखरले महामन्त्रीमा उठ्न चाहेका थिए । तर अन्तिम समयमा शशांकले आफू महामन्त्री बन्ने बताएपछि ठाउँ छोडिदिए, शशांक स्वभाविक र बलियो दाबेदार बने । १३ औं महाधिवेशनमा दुई कारणले उनको ‘क्रेज’ थियो ।

पहिलो : जतिबेला उनी चिकित्सा पेशामा थिए, राम्रो डाक्टरका रुपमा परिचित थिए । सार्वजनिक छवि पनि राम्रो थियो । त्यो बेला उनी बुबाको कुरा गर्थे, आफ्नो दुःखका कुरा सुनाउँथे । समाज र राजनीतिलाई जोडेर राम्रो प्रस्तुति दिन्थे ।

दोस्रो : कांग्रेसजनका लागि कांग्रेस र विपी पर्यायबाची जस्तै थिए । शशांक उनै विपीका कान्छो छोरा हुन्, जसका विषयमा विपीले आफ्ना पुस्तकहरुमा समेत चर्चा गरेका छन् । विपीले आफ्नो पुस्तकमा शशांकको पास्नी गर्दा आफूसँग पैसा नभएको लगायतका थुप्रै भावनात्मक कुराहरु लेखेका छन् । त्यसैले जब उनी राजनीतिमा आए, विपीले छोडेको छापहरुका कारण सहजै स्थापित हुन पुगे ।

शशांक महामन्त्री बन्दा कोइरालाहरु त्यसबेला प्रष्ट थिए, १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व फेरि परिवारभित्र ल्याउने । परिवारबाहिर गएको पार्टीको नेतृत्व फर्काउने योजना शशांक र शेखरको थियो, जसमा सहायक थिइन् सुजाता कोइराला । त्यो सार्वजनिक रुपमा प्रकट भयो, २०७५ भदौ ३ गते । त्यस दिन विराटनगर पुगेका शेखर र शशांकले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व कोइराला परिवारमै फकाउने घोषणा गरेका थिए ।

स्वाभाविक दाबेदारले हात उठाए

वहालवाला महामन्त्री भएकाले शशांक, सभापतिको स्वाभाविक उम्मेदवारका रुपमा हेरिएका थिए । सँगसँगै शेखरले पनि १४ औं महाधिवेशनमा सभापति लड्ने तयारीका साथ देश दौडाहा थालेका थिए । शेखरले जतिजति तयारी तीव्र बनाउँदै लगे, शशांकले भने क्रियाशीलता मात्र होइन, क्रेज पनि घटाउँदै लगे ।

पहिलो त उनले विपीले लिएको राजनीतिक लाइनलाई स्पष्ट पार्नै सकेनन् । बरु विपीको सोच विपरीत धर्मको कुरा गर्न थाले । बरु पार्टीकै विधान र मुलुकको संविधानको बर्खिलापमै अभिव्यक्ति दिने काम बारम्बार गरिरहे । आफैं समेत सदस्य रहेको संविधानसभा र आफ्नै सभापति सुशील कोइराला नेतृत्वको सरकार भएका बेला जारी भएको संविधानले व्यवस्था गरेको धर्म निरपेक्षतालाई स्वीकार गरेनन् । कहिले जनमत संग्रह गर्नुपर्छ भने त कहिले धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्न थाले । जबकी मुलुक र कांग्रेस दुबैले धर्मको राजनीति वैधानिक रुपमै छाडिसकेको छ ।

दोस्रो, तीन–तीन पटक सांसद हुँदा पनि त्यो भूमिकामा खरो उत्रिन सकेनन् । तेस्रो, पार्टीको महामन्त्रीले जुन लगावका साथ काम गर्नुपर्थ्यो, त्यसमा नराम्रोसँग चुके । २०७४ को आम चुनावमा पार्टीले नराम्रो पराजय व्यहोर्दा सभापतिमाथि प्रश्न उठाएनन् । रामचन्द्र पौडेल समूहले सभापति देउवाको चर्को आलोचना गर्दा बचाउमा उत्रिए ।

सभापतिका रुपमा देउवाले विधान अनुसार पार्टी नचलाउँदा प्रश्न उठाएनन्, उनका हरेकजसो निर्णयमा साक्षी बसे । कतिसम्म भने रामचन्द्र पौडेल समूहलाई पेलेर विभागहरु गठन गर्नेदेखि केन्द्रीय समितिको एक वर्ष म्याद थप गर्दा समेत उनले महामन्त्रीको भूमिका देखाउन सकेनन् । साढे ५ वर्षसम्म शशांकले आफू पार्टीको महामन्त्री हुन् भन्ने हेक्का समेत राखेनन् ।

एकपछि अर्को कमजोरी थपिँदा उनी पौडेल समूहमा मात्र होइन, कोइराला परिवारमै सभापतिको साझा उम्मेदवार बन्न सकेनन् । पौडेल समूहमा रामचन्द्र पौडेल र प्रकाशमान सिंह सभापतिको उम्मेदवारका दावेदार थिए भने कोइराला परिवारबाट शेखर । दाजु शेखरले पछिल्लो तीन/चार वर्ष जिल्ला जिल्लामा गएर आफूलाई सभापतिका उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए भने मन्त्री नबनाएकै कारण सुजाता पनि शशांकसँग रुष्ट थिइन् । आफ्नै परिवारका दुई सदस्यले साथ नदिएपछि उनले यो पटक सभापतिको दाबी छाड्नु पर्‍यो ।

त्यसको कारण हो, समयअनुसार चल्न नसक्नु र उनले लिएको एजेण्डा ओझेलमा पर्नु । राजनीतिक विश्लेषक उद्धव प्याकुरेलका अनुसार पछिल्लो समय कांग्रेसमा कि खुमबहादुर खड्काको हाइहाइ थियो कि गगनकुमार थापाको ।

उनी भन्छन्, ‘शशांकले खुमबहादुरको लाइन लिनुभयो, तर उहाँको एजेण्डालाई कसैले पनि गम्भीर रुपमा लिएनन् ।’ किनकी शशांक उनै हुन्, जसका पिता विपीले मुलुकलाई हिन्दु राष्ट्र बनाउनुलाई बेइमानी भनेका थिए । विपी उनै हुन्, जो दुई तिहाई बहुमतको प्रधानमन्त्री हुँदाहुँदै अपदस्थ गरेर राजा महेन्द्रले बनाएको संविधानमा नेपाल हिन्दु राष्ट्र हो भनिएको थियो ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?