+
+

टेलिसिरियललाई पहिलोपटक युट्युबमा १ करोड भ्युज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:५६

२८ मंसिर, काठमाडौं । चलचित्र र म्युजिक भिडियोले युट्युबमा १ करोड भ्युज पाउनु नौलो कुरा होइन । युट्युबमा चलचित्र तथा भिडियो हेर्ने दर्शकको संख्या ह्वात्तै बढेपछि थुप्रै चलचित्र तथा म्युजिक भिडियोलाई युट्युबमा करोड बढी पटक हेरिएको छ ।

तर, नेपालमा थुप्रै टेलिभिजन सिरियल प्रसारणमा रहेपनि अहिलेसम्म कुनै सिरियलले पनि युट्युबमा १ करोड भ्युज पाउन सकेका थिएनन् । यसैबीच अब टेलिसिरियलले पनि युट्युबमा १ करोड भ्युज पाएको छ ।

नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक ‘भद्रगोल’ले युट्युबमा १ करोड भ्युज प्राप्त गरेको हो । दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ ।

हाल ‘सक्किगो नि’को लेखन एवं निर्देशन गर्दै आएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सो समयमा ‘भद्रगोल’ लेखन एवं निर्देशन गर्दै आएका थिए । कुमार र अर्जुनसँगै ‘भद्रगोल’मा अभिनय गर्दै आएका अधिकांश कलाकार अहिले ‘सक्किगो नि’मा देखिँदै आएका छन् ।

आफूहरुको लेखन तथा निर्देशन रहेको टेलिसिरियलले युट्युबमा १ करोड बढी भ्युज पाएसँगै कुमारले खुशी व्यक्त गरे । उनले अनलाइनखबरसँग भने, ‘आफ्नो लेखन, निर्देशन एवं अभिनय रहेको सिरियलले करोड क्लबमाथि प्रवेश गर्नु वा शुरुवात गर्नु सर्जक एवं कलाकारका लागि खुशीको कुरा हो ।’

अर्जुनले पनि सामाजिक सञ्जालमा खुशी साटेका छन् । ‘नेपाली टेलिभिजन सिरियलको इतिहासमा युट्युबमा १ करोड भन्दा धेरै पटक हेरिदिनुहुने सम्पूर्ण दर्शकहरुप्रति नमन अनि सम्मान । साथै मिडिया हब परिवार, प्रसारण संस्था नेपाल टेलिभिजन, प्राविधिक, विज्ञापनदाता तथा सम्पूर्ण कलाकारहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

कुमार र अर्जुनको लेखन तथा निर्देशन रहँदै आएको ‘सक्किगो नि’लाई पनि दर्शकले रुचाउँदै आएका छन् । यो टेलिसिरियलमा कुमार र अर्जुनसँगै सागर लम्साल, हरिश निरौला, गोविन्द कोइराला, कमलमणि नेपाल, दीपक आचार्य, मधुसुदन पाठक, प्रियाना आचार्य, सीतादेवी घिमिरे, रश्मी पाण्डे, सञ्जिता पाण्डे, कविराज भाम लगायतको अभिनय रहँदै आएको छ । यो टेलिसिरियल हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ । हालसम्म यो टेलिसिरियल ४६ भागसम्म प्रसारण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?