+
+

नेपाली फिल्म निर्माता : आफ्नासँग भिड्ने, विदेशीसँग भाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १२:२७

२९ मंसिर, काठमाडौं । नेपाली चलचित्रकर्मीको सोच र काम गर्ने शैली कोरोना महामारीपछि बदलियो होला भनेर सोचिन्छ भने त्यो गलत हुन सक्छ । किनकि, लकडाउनअघि नेपाली चलचित्रका निर्माताहरु आफ्नै देशमा बनेका चलचित्रसँग भिड्ने, तर विदेशीसँग भने भाग्ने शैलीमा काम गर्थे ।

दुई वर्ष अगाडिको दशैंमा हिन्दी चलचित्र ‘वार’ले सोलो रिलिजको अवसर पाउँदा ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ बीचको तनाव बिर्सन हुँदैन ।

तर, कोरोनाका कारण चलचित्रकर्मीहरुले यो शैली परिवर्तन गरे होलन् भनेर सोच्नु फेरि पनि गलत देखिएको छ ।

हिन्दी चलचित्र ‘सूर्यवंशी’ले बम्पर ओपनिङ गरेको दिनमा नै चलचित्र ‘चपली हाइट ३’का निर्माताले पुस २ गतेलाई प्रदर्शन मिति तय गरेका थिए । चलचित्रको प्रचारप्रसार शुरु भइसकेको थियो भने चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको थियो । तर, यही मितिमा दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि भने निर्माता अर्जुन कुमारले पुस १५ गतेलाई प्रदर्शन मिति तय गरेका छन् । अर्थात्, साउथको चलचित्रसँग नेपाली निर्माता डराएका छन् ।

दुःखलाग्दो कुरा त के छ भने, पुस १६ गतेलाई चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको छ । अब अर्जुन कुमारले आफ्नो चलचित्र अर्को नेपाली चलचित्रसँग भिडाएका छन् । उनले विदेशी चलचित्रको लागि ठाउँ छाड्दै गर्दा आफ्नै देशका निर्मातामाथि आफू भारी भएको महसुस समेत गर्न सकेनन् ।

अर्जुनले चलचित्र बिहीबारबाट रिलिज गर्ने तयारी गरेका छन् । तर, उनले पुस ९ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘चुरीफुरी’का निर्माताको विषयमा एकपटक पनि सोचेनन् ।

किनकि, कुनै पनि चलचित्र एक साता विना झन्झट चल्न पाउने नियम छ । तर, अर्जुनले शुक्रबारबाट चलचित्र रिलिज गर्नुपर्ने  नियमलाई समेत चुनौती दिँदै  बिहीबारबाट चलचित्र रिलिज गर्ने तयारी गरेका छन् । यसो गर्दा, पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’ले ६ दिनमै आफूलाई खुम्च्याउनुपर्नेछ ।

कोरोनापछि दुई साताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्नुपर्ने नियम चलचित्र संघले बनायो । तर, चलचित्र विकास बोर्डका सदस्य समेत रहेका अर्जुन कुमारले यी कुनै पनि कुरामा हेक्का राखेनन् । विदेशीसँग भाग्ने तर आफ्नासँग भिड्ने नेपाली निर्माताको सोच कहिले हट्ला खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?