+
+

आन्तरिक प्रतिस्पर्धामा प्रचण्डकै हस्तक्षेप

‘हो, यसरी नै कार्यकर्ताको बीचमा निर्वाचन लड्ने चाहना थियो र, छ’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता तिलकराज भण्डारीले आफ्नो वह सामाजिक सञ्जालमा पोखे ।

विनोद घिमिरे विनोद घिमिरे
२०७८ पुष २ गते २०:१०
फाइल तस्वीर

२ पुस, काठमाडौं । ‘हो, यसरी नै कार्यकर्ताको बिचमा निर्वाचन लड्ने चाहना थियो र, छ’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता तिलकराज भण्डारीले आफ्नो बह सामाजिक सञ्जालमा पोखे ।

भण्डारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदार थिए । निर्वाचनको माग गरेका थिए । पार्टीले आन्तरिक निर्वाचनलाई विधानतः खुला गरे पनि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्तरिक निर्वाचन हुन दिएनन्, अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम तोकिदिए ।

अखिल क्रान्तिकारीमा मात्र होइन, प्रदेश अध्यक्षहरुमा समेत प्रचण्डले आफैं नाम तोक्न थालेका छन् । उनले तोकेका नाम प्रतिस्पर्धीहरुले स्वीकार नगर्दा कतिपय प्रदेशको अधिवेशन सकिए पनि अध्यक्ष भने चयन हुन सकेको छैन ।

तल्ला कमिटीहरुमा नेतृत्वबाट धमाधम हस्तक्षेप हुन थालेपछि माओवादी केन्द्रका नेता युवराज चौलागाईंले फेसबुकमा लेखे,‘राजनीतिक दलहरुले तलबाट उठेर आएका प्रतिभाहरुलाई अवसर दिएर लिडरसिपको विकास गर्नुपर्ने हो । तर नेपाली राजनीतिमा माथिबाट तलतिर प्रभुत्व जमाउन र स्रोतहरु केन्द्रिकृत गर्न डिलरसिप उत्पादन गरिदै आएको छ । भुइँमान्छेमा आधारित कम्युनिस्ट पार्टी पनि लिडरसिप विकास गर्नबाट चिप्लिएर डिलरसिपमा लाग्नु दुखद छ ।’ चौलागाईंले सामाजिक सञ्जालमा यो तीतो पोख्दा माओवादीले थालेको प्रदेश अधिवेशनहरुमा सहमतिका नाममा भाँडभैलो सुरु भइसकेको थियो ।

प्रदेश सम्मेलनहरुको गत मंसिर २५ गते पार्टी अध्यक्ष प्रचण्डले एक साथ भर्चुअल विधिबाट उद्घाटन गरे । माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार पार्टीमा आन्तरिक निर्वाचनलाई खुला पनि गरिएको छ ।

तर स्वयं प्रचण्डले निर्वाचन हुन दिएका छैनन् । नेताहरुका अनुसार निर्वाचन हुन नदिएर आफ्नो हस्तक्षेपकारी भूमिकालाई निरन्तरता दिने प्रचण्डको चाहनाले प्रदेश सम्मेलनहरुमा आन्तरिक निर्वाचनको अभ्यास हुन नपाएको हो ।

‘प्रचण्ड नै आन्तरिक निर्वाचनका लागि तयार हुनुहुन्न । उहाँ काहीँ पनि चुनाव हुन नदिने सोचमा हुनुहुन्छ,’ माओवादीका एक नेता भन्छन्, ‘यसको एउटै कारण हो, उहाँ राष्ट्रिय सम्मेलनबाट आफू अनुकूल टिम बनाउन चाहनुहुन्छ ।’

कुन प्रदेशको अवस्था कस्तो ?

नेकपा माओवादी केन्द्र प्रदेश १ को प्रथम सम्मेलन पदाधिकारी चयन नगरी सम्पन्न भयो । सदस्यकै लागि निर्वाचन हुने अवस्था आएपछि केन्द्रीय सदस्यहरुको टोलीले छलफल गरी २६९ जना प्रदेश कमिटी सदस्यहरुको नाम टुङ्गो लगायो । अध्यक्षसहित पदाधिकारी छनोट गर्न नसकेपछि सदस्यहरुको मात्रै सपथ भयो ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सोही प्रदेश कमिटीले नै अब पदाधिकारीको टुङ्गो लगाउनेछ । प्रदेश अध्यक्षमा आङ्बो र सुरेशकुमार राई ‘हिमाल’ मुख्य दाबेदार छन् । उनीहरु दुवैले आफ्नो दाबी छाडेका छैनन् । अध्यक्षको दाबी हेमराज भण्डारीले पनि गरेका थिए, तर उनी सहमतिका लागि पछि हटेका छन् । अब प्रदेश सदस्यहरुले अध्यक्ष,एक महिलासहित तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्षको नाम टुङ्गो लगाउनुपर्नेछ ।

प्रदेश २ को सम्मेलन पुस ३ गते (शनिबार) सम्मका लागि स्थगित गरिएको छ । ३० स्थानीय तहको सम्मेलन हुनै बाँकी भएकाले उदघाटन मात्र गरेर स्थगित गरिएको हो ।

बागमती प्रदेश कमिटीमा २७५ सदस्य चयन गरिएको छ तर, अध्यक्ष टुंगो लागेको छैन । अध्यक्षमा ५ जनाले दाबी गरेका छन् । त्यहाँ आकांक्षीहरुबीच निर्वाचन गराउनुभन्दा सहमति गर्ने भनेर प्रदेश सदस्यहरुको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ । माओवादी केन्द्र बागमती प्रदेशका नेता युवराज दुलाल ‘शरद’ सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताउँछन् ।

प्रदेश अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल, सिन्धुलीका विदुर खड्का, भक्तपुरका डीपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ र दिनानाथ गौतम ‘प्रयास’ दाबेदार छन् । अध्यक्षका अर्का दाबेदार दोलखाका विशाल खड्का गत मंगलबार बागमती प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चुनिएकी छन् । तर अन्य पदाधिकारी चुनिन बाँकी छ । उपाध्यक्ष, सचिवसहितका पदाधिकारी पछि मात्र चयन गरिने माओवादी केन्द्रले जनाएको छ । गण्डकीमा माओवादीले २८ सदस्यपछि थप्ने गरी गुरुङको अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सुदर्शन बराल चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिको बैठकमा प्रचण्ड निकट नेता चक्रपाणि खनाल (बलदेव) ले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम तोकिदिए ।

बराल, केन्द्रीय प्रवक्ता कृष्णबहादुर महरा र स्थायी कमिटी सदस्य वर्षमान पुनको प्रस्तावमा अध्यक्ष बनेका हुन् । सचिवका लागि माओवादी प्रवक्ता समेत रहेका कृष्णबहादुर महराले तुलसीराम पुन (सुवास) लाई अघि सारेका छन् भने अर्थमन्त्री जनार्दन शर्माले बहिनी ज्वाइँ लुमाकान्त न्यौपाने (सागर) लाई बनाउन चाहेका छन् । अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै छन् । तर सहमतिका नाममा प्रक्रिया रोकिएको छ ।

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र अध्यक्षमा विमला केसी चयन भएकी छन् । केसीसँगै राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि अध्यक्षका दावेदार थिए । नेतृत्वले चुनाव गराउनुको साटो केन्द्रीय सदस्यहरुबीच सहमति खोज्यो । त्यहाँ पनि नभएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरे र २११ प्रदेश सदस्यहरु चयन भयो । उनीहरुले केसीलाई अध्यक्ष चयन गरे । अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको छ । सचिवमा रामदीप आचार्य र कृष्ण जिसीको दाबी छ ।

सुदूरपश्चिम प्रदेशमा पनि अध्यक्षसहित पदाधिकारीमा टुंगो लाग्न सकेको छैन । सहमतिका आधारमा चयन गर्न छलफल जारी रहेको निवर्तमान प्रदेश सचिव नेपबहादुर चौधरी बताउँछन् । अर्थात निर्वाचनमा जाने योजना छैन ।

नेताहरुका अनुसार प्रदेश अध्यक्षमा शरदसिंह भण्डारी, नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी, हरि ज्ञवाली लगायतका नेता आकांक्षी छन् ।

चुनावसँग सधैं डर

प्रदेश कमिटीहरु चयनमा भएको बिलम्बको एउटै कारण हो– विधानतः खुला गरिएको आन्तरिक निर्वाचनलाई व्यवहारमा लागू गर्न पार्टी नेतृत्व नै तयार नहुनु ।

जति वर्ष भूमिगत आन्दोलन गर्यो त्यो धेरैभन्दा धेरै वर्ष त माओवादीले खुल्ला राजनीतिमा विताइसकेको छ । खुला राजनीतिमा आएको १५ वर्षमा माओवादी केन्द्रले तीन वटा आम निर्वाचनमा भाग लिइसक्यो । तर पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा र लोकतान्त्रिक अभ्यासलाई भने सधैँ रोक्ने प्रयास गर्यो । सम्मेलन/अधिवेशन गर्ने, तर नेतृत्व चयन भने पार्टीको मूल नेतृत्वले तोक्ने हुँदै आएको छ । त्यसको पछिल्लो उदाहरण हो, प्रदेश सम्मेलन ।

योङ्ग कम्युनिष्ट लिग (वाईसीएल), अखिल क्रान्तिकारी र प्रेस सेन्टरको नेतृत्व चयन पनि त्यसरी नै भएको थियो । प्रेस सेन्टरको चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रचण्ड स्वयंले विष्णु सापकोटा ‘जुगल’लाई अध्यक्ष तोके । पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरुको भने अझै टुंगो छैन ।

वाईसीएलले गत भदौमा राष्ट्रिय भेला गर्‍यो, त्यहाँ पनि अध्यक्षका आकांक्षी धेरै भएपछि प्रचण्डले सुमन देवकोटालाई संयोजक र सुवोध सेर्पालीलाई सहसंयोजक तोकिदिए । तर पूर्ण नेतृत्व वाईसीएलले अझै पाउन सकेको छैन ।

गत असोज १५ देखि आयोजना गरिएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा पनि प्रचण्डले नै पञ्चा सिंहलाई अध्यक्ष तोकिदिएका थिए । त्यसको झण्डै साढे दुई महिनापछि मंसिर २७ मा सिंहले कमिटीका १९९ सदस्यहरुको नामावली सार्वजनिक गरिन् तर पदाधिकारीको भने अझै टुंगो छैन ।

निर्वाचनमा जाँदा संगठनमा गुट निर्माण हुने र त्यसको असर सीधा पार्टीमा पर्ने भन्दै प्रचण्डले सहमतिको कुरा गर्ने र आफ्नो अनुकूल नेतृत्व छान्ने गरेको नेताहरु बताउँछन् । एक केन्द्रीय नेता भन्छन्, ‘निर्वाचनमा जाँदा पार्टी कमजोर हुन्छ भनेर ठान्दा पार्टी झन् कमजोर बन्ने चिन्ता छ । टीका लगाएर नेतृत्व पाइने भएपछि नेता–कार्यकर्ताले पनि मूल नेतृत्वकै चाकडीमै ध्यान दिन्छन् ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?