+
+

प्रेम र समृद्धिसँग जोडिएको योमरीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:३६
फाइल तस्वीर

४ पुस, काठमाडौं । आज योमरी पुन्हिः । विशेषगरी नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ ।

नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकारका रुपमा चिनिने योमरीसँग जोडिएका थुप्रै कथा किंवदन्तीहरू पाइन्छन् । जसमध्ये कुबेरसँग जोडिएको योमरीको कथा विशेष छ ।

रत्नाबदान बुद्ध वचन नामक पुस्तकमा उल्लेख भएको कथाअनुसार पाञ्चाल देश (हालको पनौती)मा एक दानी एवं धर्मात्मा सुचन्द्र महाजन दम्पती बस्थे । एकदिन कुबेरलाई उनको स्वभावको परीक्षा लिन मन लागेछ । कुबेर आफ्नो भेष बदलेर ती दम्पतीको घरमा पुगे । घरमा पुगेपछि दम्पतीले चामलको पिठोबाट तयार पारिएको पौष्टिकता युक्त योमरीले कुवेरको स्वागत गरे । महाजनको स्वागतले सन्तुष्ट भएका कुवेरले धानको भकारीमा योमरीसहित कुवेर र गणेशको बाहनलाई पूजा गर्ने विधि बताएर अन्तर्ध्यान भए ।

कुबेरले सिकाएअनुसार नै दम्पतीले योमरी बनाएर भकारीमा राखेको धानभित्र चार दिनसम्म राखे । चार दिनपछि योमरी निकालेर प्रसादका रूपमा खाए । चार दिनसम्म पूजा गरेपछि केही योमरी र धान–चामल गरिबलाई दान पनि दिए । चौथो दिन आफ्ना छोरीचेलीलाई समेत बोलाएर योमरी खुवाउँदा धनधान्यले भरिपूर्ण भएको र जाडोमा देखिने कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि सोही समयदेखि योमरीलाई धान्यदेवीको रूपमा पूजा गर्न थालियो भन्ने मान्यता रहेको संस्कृतिविद्हरू बताउँछन् ।

योमरीको बारेमा यसबाहेक पनि अनेकौं किंवदन्ती र कथा जोडिएको पाइन्छ । योमरी पहिलो पटक नेवाःहरूले नै बनाएका थिए । परापूर्वकालमा काठमाडौंको मुख्य खाद्यबालीको रूपमा चामल थियो । काठमाडौंकै एक दम्पतीले आफूले उत्पादन गरेको अन्न प्रयोग गरेर योमरी बनाउने निर्णय गरे ।

जाडो मौसम थियो । शरीरलाई तातो बनाउनका लागि चाकु पनि त्यसमा राखियो ।  समुदायका लागि छुट्याएको एक भाग अन्न र योमरी ती दम्पतीले आफ्ना छिमेकीलाई पनि दिए । यसैबाट योमरी बनाएपछि छिमेकीलाई बाँड्ने चलन चल्यो । यसरी योमरी माग्ने र बाँडेर खाने चलनको विकास हुँदै गयो भन्ने अर्को विश्वास छ ।

देवीदेवतालाई समेत योमरी चढाउने चलन छ । योमरीबाट राम्रो अन्न उत्पादन र समृद्धिका लागि धान्यदेवीको आराधना गर्ने परम्परा रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

योमरीलाई किशोरावस्थाको प्रेमिल भनाइसँग पनि जोड्ने गरिन्छ । संस्कृतिविद् विनोदराज शर्माका अनुसार नेवारी भाषामा एउटा किंवदन्ती छ । ‘यःमरि च्वामु, उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी’ अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! यो गीत पहिले-पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो । यो किशोरावस्थाको प्रेमसम्बन्धसँग जोडिएको छ ।

संस्कृतिविद् शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भीड लाग्थ्यो । माथि उल्लेखित गीतमा भनिएजस्तै तरुनी हुने ध्यानमा योमरी दिन बाहिर निस्कँदा धेरै किशोर–किशोरीहरूको प्रेमसमेत बस्ने गरेको उनी सुनाउँछन् । धेरैको दाम्पत्य जीवन योमरीबाटै जोडिएको छ, कतिको सामाजिक सद्भाव कायम भएको छ । योमरी देख्दा सामान्य किसिमको एउटा खाद्य परिकार भएपनि यसको ऐतिहासिक एवं सांस्कृतिक महत्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?