+
+

विद्यार्थी आन्दोलनबाट उदाएका चिलीका युवा राष्ट्रपति

सन् १९८६ मा चिलीको पुन्टा एरेनासमा जन्मिएका बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । १४ वर्षको उमेरदेखि नै उनी विद्यार्थी संगठनमा आवद्ध थिए ।

सुनिल बराल सुनिल बराल
२०७८ पुष ५ गते १४:२६

५ पुस, काठमाडौं । चिलीमा ३५ वर्षीय युवा गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुले ल्याटिन अमेरिकामा बामपन्थी राजनीतिको लहर आएको संकेत गरेको छ ।

बामपन्थी राजनीतिज्ञ बोरिकले दक्षिणपन्थी प्रतिद्वन्द्वी एन्टोनियो कास्टले भन्दा १२ प्रतिशत विन्दुले बढी मत पाए । उनले आगामी मार्चमा पद तथा गोपनीयताको सपथ लिँदै छन् ।

विद्यार्थी आन्दोलनबाट उदाएका युवा   

सन् १९८६ मा चिलीको पुन्टा एरेनासमा जन्मिएका बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । १४ वर्षको उमेरदेखि नै उनी विद्यार्थी संगठनमा आवद्ध थिए ।विश्वविद्यालयमा अध्ययनका क्रममा ‘अटोनोमस लेफ्ट’ नामक विद्यार्थी आन्दोलनमा जोडिएर शिक्षामा व्याप्त बेथितिविरुद्ध आवाज उठाएका थिए ।

सन् २००८ मा चिली विश्वविद्यालयको कानुन संकायको विद्यार्थी युनियनको सल्लाहकार बनेका बोरिक अर्को वर्ष युनियनको अध्यक्ष बनेका थिए । अध्यक्ष हुँदा उनले शैक्षिक सुधारका माग राख्दै ४४ दिनसम्म विश्वविद्यालयका डिन रोबर्टो नाहुमविरुद्ध भएको विरोध प्रदर्शनको अगुवाइ गरेका थिए ।

त्यसको दुई वर्षपछि चिली विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएलगत्तै उनले पुन: विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

सन् २०१२ मा एल मर्कुरिओ पत्रिकाले सार्वजनिक गरेको चिलीका १०० जना युवा नेताको सूचीमा बोरिकको नामसमेत थियो । शैक्षिक आन्दोलनबाट लोकप्रिय बनेका उनी अर्को वर्ष सम्पन्न संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

म्यागालानेस एवं चिलियन अन्टार्कटिक क्षेत्रअन्तर्गतको ‘डिस्ट्रिक्ट ६०’ (हालको डिस्ट्रिक्ट २८) को प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका उनले सो क्षेत्रमा सबैभन्दा धेरै अर्थात् १५ हजार ४१८ मतसहित विजयी भएका थिए ।

त्यतिबेला सञ्चार माध्यममा गठबन्धनभन्दा बाहिरबाट विजयी भएको भनेर बोरिकको निकै चर्चा समेत भएको थियो । पहिलो पटक सांसद हुँदा उनी मानव अधिकार तथा आदिवासी समुदाय समितिसहित विभिन्न समितिमा बसेका थिए । सन् २०१७ को संसदीय निर्वाचनमा समेत बोरिकले अत्यधिक मतसहित सोही क्षेत्रबाट जित हात पारेका थिए ।

चिलीकै कान्छो राष्ट्रपति

विद्यार्थीको ‘र्‍याडिकल’ पुस्तालाई प्रतिनिधित्व गर्ने बोरिकले ४ महिनाअघि राष्ट्रपतीय  उम्मेदवार छनौटका लागि भएको प्राइमरी चुनावमा जित हात पारेर सबैलाई चकित पारेका थिए । अप्रुएबो डिग्निडाड नामक गठबन्धनबाट उनले रेकोलेटाका मेयर डेनियल जाडुईलाई प्राइमरीमा हराएका थिए ।

निर्वाचनपूर्व गरिएका मत सर्वेक्षणले जाडुईले जित्ने देखाएको थियो । तर चुनावमा बोरिक विजयी भए । योसँगै उनी चिलीको आधुनिक इतिहासमै कान्छा राष्ट्रपति बन्ने भएका छन् । बोरिकको जितले वैचारिक विभाजन देखिन थालेको ल्याटिन अमेरिकाभर तरंग ल्याउने विश्लेषण गरिएको छ ।

नवउदारवादका कट्टर विरोधी

युवा उमेरमै राष्ट्रपति बन्न लागेका बोरिकको उदयसँगै चिलीमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ । किनभने उनी सैनिक तानाशाह अगस्टो पिनोसेको तीतो विरासतलाई सधैंका लागि अन्त्य गर्ने प्रण गरेको नयाँ पुस्ताका प्रतिनिधि समेत हुन् ।

पिनोसेले अमेरिकाको सहयोगमा सत्ता कब्जा गरेलगत्तै खुला बजारमा आधारित आर्थिक नीति लागू गरेका थिए । उनले आर्थिक उदारीकरण, सरकारी कम्पनीको निजीकरण र स्थिर मुद्रा स्फितिलाई प्रमुख उद्देश्य बनाएका थिए ।

चिलीलाई ‘सर्वहाराको साटो प्रोप्राइटरको मुलुक बनाउने’ घोषणा गर्दै ल्याइएको नवउदारवादी नीतिका कारण १९७६ देखि १९८१ सम्म राम्रै आर्थिक वृद्धि पनि भयो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका वित्तीय संस्थाले चिलीलाई ठूलो मात्रामा कर्जा उपलब्ध गराए । खासगरी वैदेशिक ऋणबाट ठूला वित्तीय इकाइले अधिकतम लाभ लिएका थिए ।

तर १९८० पछि ल्याटिन अमेरिकी मुलुकमा देखिएको कर्जा संकटबाट चिली सबैभन्दा प्रभावित बन्न पुग्यो । अति धनीको हातमा सम्पत्ति केन्द्रीकृत हुँदा आर्थिक असमानतासमेत चुलिएको थियो ।

पिनोसेका पालामा लागू गरिएको नवउदारवादी नीतिका कारण चिलीमा असमानता र गरिबी बढाएको आलोचकहरू बताउँछन् । चिलीका अर्थशास्त्री अलेजान्द्रो फक्सलेका अनुसार सैनिक शासनकालको अन्त्यतिर आउँदा चिलीमा झण्डै ४४ प्रतिशत परिवार गरिबीको रेखामुनि थिए ।

यिनै आर्थिक असमानता, भ्रष्टाचार र विकृति देख्दै हुर्केका बोरिकले नवउदारवादी आर्थिक नीतिलाई जरैदेखि उखेलेर फाल्ने प्रण गरिसकेका छन् । ‘चिली नवउदारवादको जननी हो र अबदेखि नवउदारवादको चिहान बन्ने छ’, प्राइमरीमा जितेपछि उनले भनेका थिए ।

त्यस्तै, बोरिकले राष्ट्रपतिमा निर्वाचित भएपछि समर्थकसामु आफूहरूले इतिहास नदोहोर्‍याउने बताए । ‘मलाई थाहा छ- त्यो इतिहास हामीबाट सुरु हुनेछैन’ उनले भनेका छन् । बोरिकले चिलीमा प्रस्तावित खानी उत्खनन् परियोजना रोकेर जलवायु परिवर्तनसँग जुध्ने पनि प्रतिवद्धता जनाएका छन् ।

समाजलाई प्रगतिशील बाटोमा हिँडाउने प्रण गरेका बोरिकले पिनोसेको पालामा लागू गरिएको निजी पेन्सन प्रणाली अन्त्य गर्ने समेत बताएका छन् ।

‘हामी त्यो पुस्ता हौं जसले आफ्नो अधिकारलाई उपभोग्य वस्तु वा व्यवसायको रुपमा हेर्नु हुँदैन, अधिकारकै रुपमा सम्मान गर्नुपर्छ भनेर माग गर्दै उदाएको छ’, बोरिकले भने । अति धनी मानिसका लागि कर बढाएर सामाजिक सेवा विस्तार गर्ने, असमानता हटाउने र वातावरण संरक्षण गर्ने पनि उनको प्रतिवद्धता रहेको छ ।

(एजेन्सीहरूको सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?