
६ पुस, गोरखा। कोभिड-१९ का कारण दुई वर्ष सञ्चालन हुन नसकेको गोर्खाली रनिङ कप फुटबल प्रतियोगीताले यस वर्षबाट निरन्तरता पाउने भएको छ ।
फागुन ७ गतेबाट सातौ गोर्खाली रनिङ कप हुने आयोजक हरमटारी क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जिल्लामा खेल क्षेत्रको विकास गर्दै खेलकुदको माध्यमबाट व्यवसायिक खेलाडी तयार पार्ने मुख्य उदेश्य रहेको क्लबका अध्यक्ष विशाल गुरुङले बताए। जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा हुने प्रतियोगीतामा १६ टिमको सहभागीता रहने उनले जानकारी दिए।
‘राष्ट्रिय स्तरका बिभिन्न क्लबहरुको सहभागीता हुन्छ,’ उनले भने, ‘तर स्थानीय टिमलाई प्राथमिकता दिन्छौ ।’ एउटा क्लबमा चार जनाभन्दा बढी विदेशी खेलाडी सहभागी गराउन नपाइने उनले बताए ।
प्रतियोगीताको उपाधि बिजेता क्लबले २ लाख २२ हजार २२२ रुपैया नगद पुरस्कारसहित रनिङ कप पाउने छ । उपबिजेताले १ लाख ११ हजार १११ रुपैया र सेमिफाइनलमा पुग्ने दुई टिमले ५५ हजार ५५५ रुपैयाका दरले नगद पुरस्कार पाउने क्लबले जनाएको छ ।
सर्वोकृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षक लगायत बिभिन्न विधामा पनि नगद पुरस्कार राखिएको क्लबका अध्यक्ष गुरुङले बताए । ‘अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष पुरस्कार राशी पनि बढाएका छौ, क्रमश बढाउदै जानेछौं,’ उनले भने।
फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा नकआउट बिधिबाट खेलहरु सञ्चालन हुने छन् । प्रतियोगीता संचालनका लागी बिभिन्न समिति तथा उपसमिति समेत निर्माण गरिएको छ । प्रतियोगीता सम्पन्न गर्न करीव २५ लाख ६६ हजार लाग्ने अनुमान क्लबले गरेको छ । दुई लाख १६ हजार क्लबले व्यहोर्ने र बाँकी रकम सहयोग जुटाउने क्लबको योजना छ ।
प्रतियोगीताबाट बचेको केही रकम पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणका लागी सहयोग गर्ने प्रतिवद्धता क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पनि संघको तर्फबाट महासंघको भवन निर्माणका लागी केही रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
गोरखा जिल्ला फुटबल संघ, जिल्ला खेलकुद बिकास समिति लगायतका सरोकारवाला निकायसँग समन्वय गरेर प्रतियोगीता गर्न लागिएको हो। प्रतियोगीताले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4