+
+

वास्तु अनुसार घरमा पलङ र फर्निचर कहाँ, कसरी राख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:५०
फाइल तस्वीर

८ पुस, काठमाडौं । वास्तुशास्त्रले घरको हरेक कोठाकोठा कुन दिशा र कस्तो हुनुपर्ने भन्नेबारे निर्देश गरेको छ । वास्तुले प्राकृतिक अवस्थितिसँग सामञ्जस्य राख्ने भएकाले वास्तुमा उल्लेखित विषयलाई वैज्ञानिक आधारमा पनि पुष्टि गर्न सकिन्छ । यही विषयमा ज्योतिष गोपाल अधिकारीको वास्तु सुझाव :

घरमा राखिएका हरेक सामग्री कुन दिशामा राखेको छ ? भन्ने कुराले गहिरो अर्थ राख्छ । जस्तै फोटो, फूलको भाँडो, पलङ जस्ता सामग्री कस्तो र कहाँ राख्ने ? विवाहितले शयन कक्षमा कता फर्किएर सुत्ने ? अविवाहितले कता फर्किएर सुत्ने ? जस्ता विषय वास्तुशास्त्रले निर्देशित गर्ने गर्छ ।

सामान्यतया वास्तुशास्त्रलाई शास्त्रीय महत्वले मात्रै हेरेर व्यावहारिक जीवनमा यसको कुनै महत्व छैन भन्नेहरु पनि भेटिन्छन् । तर यसलाई गहिरिएर हेर्ने हो भने यो परम्परागत व्यावहारिक ज्ञानले युक्त विधा हो । यसले पृथ्वीको चाल र मान्छेको शरीरमा उत्पन्न हुने ऊर्जाको आधारमा विश्लेषण गर्छ ।

ज्योतिष गोपाल अधिकारी

जस्तो कुनै पनि घरमा फर्निचर राख्दा वास्तु विज्ञानले दक्षिण-पश्चिम दिशापट्टि राख्न सुझाव दिन्छ । दक्षिण-पश्चिम दिशामा पर्ने कोठामा सकेसम्म घरमूली बस्नु उचित मानिन्छ । पूर्व र उत्तरबाट जहिले पनि ऊर्जा आउने गर्छ । बाहिरबाट आएको ऊर्जा पूर्व र उत्तरको कोठामा ठोकिने गर्छ । उक्त ऊर्जा दक्षिण-पश्चिममा जम्मा भएर पुरै घरमा प्रबाह हुन्छ । त्यसैले दक्षिण-पश्चिममा घरमूली बस्दा घरको लागि फाइदा हुन्छ भन्ने मान्यता राखिन्छ ।

त्यस्तै, पूर्वोत्तरबाट आएको ऊर्जा दक्षिण पश्चिममा पुगेर भण्डारण हुने भएकाले सो दिशामा भण्डार एवं दराज जस्ता संरचना राख्न वास्तुशास्त्रले सुझाव दिन्छ । कोठा–कोठाको वास्तु हेर्दा पूर्वाेत्तरमा दराज राख्दा त्यसले ऊर्जालाई अवरोध गर्छ भन्ने मान्यता राखिन्छ । हरेक कोठामा पलङ राख्दा दक्षिण–पश्चिमतिर राख्ने गरिन्छ । त्यसको सम्मुखमा हल्का सामग्री राखिन्छ ।

वास्तुशास्त्रले सुत्नेबेला कता फर्किने भन्ने कुरामा पनि जोड दिएको छ । सामान्यतया उत्तरपट्टि सिरानी गरेर सुत्नु हुँदैन भन्ने मान्यता छ । वास्तुले विद्यार्थीलाई पूर्वतिर र विवाहिताहरुलाई दक्षिणतर्फ सिरानी बनाएर सुत्न सुझाव दिन्छ । यसमा पनि विज्ञान छ, जस्तो बिहान ११ बजेसम्मको घाममा धेरै ऊर्जा प्राप्त हुन्छ भन्ने मान्यता छ । विद्यार्थीको लागि त्यो ऊर्जा आवश्यक पर्छ । तर विवाहिताहरुको लागि घर गृहस्थी चलाउनुपर्ने भएकाले उनीहरुलाई दक्षिणतर्फ सिरानी बनाउनु उचित हुन्छ ।

पूर्वदिशालाई ज्ञानवृद्धिको दिशा मानिन्छ । दक्षिणतर्फ भयो भने जिम्मेवारी बोध गराउने ऊर्जा मिल्छ । यदि कोठा सानो भएर दक्षिणतर्फ सिरानी राख्नै नमिल्ने अवस्था छ भने पूर्वपट्टि नै सिरानी राख्दा सबैको लागि उचित हुन्छ ।

वास्तु अनुसार भान्सा कोठा पूर्वीदक्षिणी भेगमा राख्नुपर्छ । यो यस्तो भाग हो जहाँ दिनैभरि सूर्यको किरण पर्छ । त्यहाँ अग्नि वा तापतत्व धेरै हुन्छ भनिन्छ । त्यहाँ अग्निजन्य क्रियाकलाप बढी हुने भएकोले भान्साकोठाको लागि पूर्वीदक्षिणी उपयुक्त हुन्छ । यदि पूर्वीदक्षिणी भेगमा भएन भने उत्तरपश्चिमी भेगमा पनि राख्न सकिन्छ ।

र्‍याङ र पूजाकोठा कहाँ बनाउने ?

वास्तुशास्त्रले भर्‍याङ कता राख्ने भन्ने सवालमा धेरै जोड दिएको छैन । सबै वास्तु मिलेको छ भने यसलाई जता राख्दा पनि हुन्छ । दक्षिणतर्फ घरको भार बढी हुन्छ भन्ने मान्यता छ । त्यसैले भर्‍याङलाई दक्षिणतर्फ वा नभए पश्चिमतर्फ राख्नु उपयुक्त मानिन्छ ।

यसबाहेक पनि पूर्वोत्तर कुनामा पूजाकोठा राख्न सकिन्छ । हामीहरु बिहान उठेपछि सबैभन्दा पहिले जाने ठाउँ पूजाकोठा नै हो । पूर्वोत्तर कोठाबाटै ऊर्जा उत्पन्न हुने र पूजाकोठा अरुको तुलनामा बढी सफा पनि हुने भएकोले पूजा कोठालाई पूर्वोत्तर कुनामा नै राख्ने चलन छ । तर कुनै भगवान विशेषको मन्दिर बनाउने हो भने भगवान अनुसार ठाउँ चयन गरिन्छ । जस्तो, हनुमानको मन्दिर छ भने बलको दिशा मानिने दक्षिणतिर बनाउँदा राम्रो हुन्छ । सरस्वतीको मन्दिर हो भने पश्चिमतिर बनाइन्छ । यसरी भगवान अनुसार मन्दिरको दिशा चयन गरिन्छ ।

अर्कोतर्फ वास्तु विज्ञानले सकारात्मक ऊर्जा पैदा गर्नेखालका तस्वीर र फूल पनि घरमा राख्न सकिने बताउँछ । घरमा भएको तस्वीर र सामग्रीले मान्छेको मानसिकतालाई असर गर्छ । घरमा सधैं हाँसिरहेको मानिसको तस्वीर राख्ने हो भने त्यसले सकारात्मक ऊर्जा पैदा गर्छ । त्यसैले तस्वीर राख्दा युद्ध र अपराधसँग सम्बन्धी तस्वीरहरु राख्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?