+
+

एकीकृत बस्तीमा एकीकृत हुन सकेनन् स्थानीय

बिकास मरहट्टा बिकास मरहट्टा
२०७८ पुष ९ गते १६:१४

९ पुस, गोरखा । ‘गाह्रो अप्ठ्यारो आफ्नै मनमा छ । जे गर्नु पैसाले गर्छ, पैसा नभएपछि नयाँ घरको रहर मात्र गरेर के गर्नू ?’ भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित रिठ्ठेपानीका ५५ वर्षीय उमाकान्त तिवारीले दुखेसो पोखे । २०७२ सालको भूकम्पमा ढलेको उनको घर अहिलेसम्म ठडिएको छैन । उनको परिवारले यो वर्षको जाडो पनि अस्थायी टहरामै कटाइरहेका छन् ।

उमाकान्त मात्र होइनन्, सो क्षेत्रका अधिकांश भूकम्प पीडितको अवस्था उस्तै छ । भूकम्पले ढलेको घर रकम अभावकै कारण ६ वर्षमा पनि पुनर्निर्माण हुन सकेको छैन । उनीहरुसँगै सोही वडाको पाण्डेगाउँ, रिठ्ठेपानी, नयाँ गाउँ र धरमपानीका करिब १३८ भूकम्प पीडित घरधुरीलाई लक्षित गरी लामाचौरमा एकीकृत नमूना बस्ती निर्माणको काम अघि बढेको पाँच वर्ष बितिसक्यो । तर अझै पूर्णता पाउन सकेको छैन । केही घरका बाहिरी संरचना समेत तयार भएका छैनन् । तयार भएका घरको पनि फिनिसिङ गर्ने बाँकी छ । रकम अभावले बस्ती पुनर्निर्माणको काम प्रभावित भएको एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिले जनाएको छ ।

पहिरो जोखिम बस्तीका स्थानीयलाई एकीकृत गर्ने उदेश्यका साथ २०७३ सालबाट बस्ती निर्माणको प्रक्रिया शुरु भएको थियो । लामाचौरमा रहेको १९० रोपनी व्यक्तिगत जग्गा किनेर २०७४ सालबाट वस्ती निर्माणको काम अघि बढ्यो । ‘सहकारीबाट ऋण निकालेर जग्गा खरिद गर्‍यौं, अनि बस्ती निर्माण थाल्यौं,’ समितिका कोषाध्यक्ष सुजन श्रेष्ठले भने, ‘तर रकम अभावले समस्या बनाइरहेको छ ।’

उनका अनुसार एक घरधुरीको भागमा करिब साढे पाँच आना जग्गा पर्नेछ । ‘बस्ती निर्माणका लागी रकम जुटाउन समस्या भयो, त्यसैले अहिले लाभग्राहीहरुसँग जग्गाका लागि भनेर न्यूनतम शुल्क उठाउने निर्णय गरेका हौं,’ श्रेष्ठले भने ।

सरकारले दिने तीन लाख अनुदान रकम र जग्गाका लागि २६ हजार बाहेक थप डेढ लाख रकम लाभग्राहीले बुझाउनुपर्ने छ । ‘एकमुष्ट रकम दिन समस्या होला भनेर तीन किस्ता गरेर रकम दिन भनेका छौं । आफ्नो भागमा परेको घरको डीपीसी गरेपछि ५० हजार, पहिलो तलाको ढलान भएपछि थप ५० हजार र दोस्रो तला बनेपछि बाँकी ५० हजार दिने भनेर समितिबाट निर्णय गराएका छौं, उहाँहरुको पैसा आएअनुसार घर निर्माणको काम अघि बढ्छ,’ श्रेष्ठले भने ।

गोला प्रथाबाट स्थानीयले घरधुरी छनोट गरिसकेका छन् । तर रकम अभावकै कारण कतिपय लाभग्राहीको घर पुनर्निर्माणको काम अघि बढेको छैन । साउन महिनादेखि बस्ती निर्माणको काम रोकिएको वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए । उनले भने, ‘पैसा नभएर निर्माण सामग्री ल्याउन सकिएको छैन, त्यसैले काम रोकिएको हो, अब माघ महिना लागेपछि शुरु गर्ने भन्ने छ ।’

बस्ती निर्माणमा ढिलाइ भएपछि केही लाभग्राहीहरु तयार नहुँदै बस्तीको घरमा सरिसकेका छन् । निर्माण सम्पन्न नहुँदै ३२ घरमा मान्छे बस्न थालिसकेका छन् । उनीहरुमध्ये एक सरिता श्रेष्ठ भन्छिन्, ‘हामी यो घरमा सर्दा फनिसिङको कामहरु धेरै नै बाँकी थियो, यही बस्दै काम अघि बढायौं । अब सकिन लाग्यो ।’ बुवाआमा दमका बिरामी भएकाले फिनिसिङ नहुँदै नयाँ घरमा सरेको उनले बताइन् ।

एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिका अनुसार हालसम्म करिब ७५ प्रतिशत काम सकिएको छ । ‘२०७७ सालमै काम सक्ने भन्ने थियो तर रकम अभावले गर्दा सकिएन,’ समितिका कोषाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार वस्तीका १ सय ३३ घरधुरी तेस्रो किस्ता लिन योग्य भइसकेका छन् ।

बस्ती निर्माणका लागि कुल १० करोड लाग्ने अनुमान छ, जसअनुसार प्रति घरधुरी आठ लाखसम्म पर्छ । बस्तीको ३० घर अक्सफार्मले बनाइदिएको छ । विपन्न तथा असहायलाई लक्षित गरी घर बनाइदिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । बस्तीमा सडक, खानेपानी तथा ढल लगायतका पूर्वाधार निर्माणका काम बाँकी नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?