+
+

ठोरीमा सञ्चालित वृद्धाश्रमलाई टिकाउन ५ रुपैयाँ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १९:४९

१६ पुस, वीरगञ्ज । ठोरीका ७६ वर्षीय आशबहादुर गुरुङ आफैंलाई सहारा चहिने उमेरमा छन् । तर, उनी अन्य २४ जनाको सहारा बनेका छन् । ठोरी–१ भगवाननगरमा असहाय असक्तहरुको संरक्षणका लागि उनले २०६१ सालमा आश्रम खोलेपछि उनी अरूको सहारा बन्न थालेका हुन् ।

वृद्धवद्धा तथा असहाय कल्याण समाज नाम दिइएको आश्रममा वृद्धवृद्धा, बालबालिका, अशक्त र अपांगलाई पनि राखिदै आएको छ । आश्रममा उनले आफ्नो पेन्सनबाापत पाउने १८ हजार रुपैयाँ आश्रममा नै खर्च गर्छन् । उनले भारतीय सेनाबाट अवकाश पाएका हुन् ।

पेन्सनले नपुगेको रकममात्रै अन्य दाताहूसँग सहयोग लिन्छन् । वर्षमा एक लाख रुपैयाँ ठोरी गाउँपालिकाले दिने गरेको छ । आश्रमको खर्च नै मासिक खर्च ७० हजार छ ।

‘आश्रममा आश्रितको घाउ खटिरा आफैं धुन्छु । घर जीर्ण छ, बस्ने व्यवस्था राम्रो छैन ।’ उनले भने ‘खानेपानीको सुविधा राम्रो छैन, खाना बनाउने, स्याहार गर्ने मान्छे कोही छैन । दुईजना बाजेले आएर खाना बनाइदिन्छन् ।’

आफ्नै दुई कठ्ठा जमिनमा आश्रम सञ्चालन गर्दै आएका गुरुङ उमेर ढल्कदै जाँदा आश्रमलाई कसरी टिकाउने भन्ने चिन्तामा छन् । ‘जग्गा सरकारले नै लिए हुन्थ्यो भन्ने छ । सरकारले नै सञ्चालनको जिम्मा लिए हुन्थ्यो भन्ने छ ।’ उनले भने ‘उमेर ढल्कदै छ, कार्यकाल सकिदैछ, वेटिङ रुममा छु । जर्बजस्ती चलाउँछु भने पनि सक्दिन, कसैले जिम्मा लिए हुन्थ्यो भन्ने लाग्छ ।’

उनको चिन्ता र आवश्यकतालाई बुझेका स्थानीय युवाले वृद्धाआश्रमलाई टिकाउन ५ रुपैयाँ सहयोग अभियान सञ्चालनमा ल्याएका छन् । थोपा थोपा मिलेर सागर बन्छ भनेझै सानो सानो रकम जम्मा गर्ने लक्ष्य यसमा राखिएको छ ।

गरिब, असहाय÷अशक्तहरूको मानवीय सहयोगमा समर्पित आशबहादुर गुरुङद्वारा संचालित संस्थालाई अझ ब्यवस्थित र दिगो रुपमा सञ्चालन गराउन अभियान सञ्चालन गरिएको बताइएको छ ।

“सबैको सहभागितामा, सबैको सहयोगमा” भन्ने नाराका साथ मानवीय सहयोग अभियानमा मेरो दैनिक ५ रुपैयाँ अभियान सञ्चालन गरिएको छ । अभियानमा इच्छुक दातालाई दैनिक ५ रुपैयाँ सहयोग गर्न भनिएको छ । संकलति रकम अक्षय कोषमा जम्मा गरिनेछ । दाताले चाहेमा एकमुष्ट अक्षषकोषमा दान दिन पनि सक्नेछन् ।

संकलित रकममध्येबाट प्रत्येक महिना १५ हजार वृद्धाआश्रम सञ्चालनका लागि दिने र बाँकी कोषमा जम्मा गर्ने उद्देश्य अभियानले लिएको छ । बचेको रकम र दाताले सिँधै अक्षय कोषमा जम्मा गरेर २५÷३० लाख पुर्‍याएपछि अभियानलाई स्थगित गर्ने सोच राखिएको अभियानका सदस्य एवं समाजसेवी सन्तोष श्रेष्ठ बताउँछन् ।

उठेको रकमलाई बैंकमा जम्मा गरेर ब्याजबाट संस्था निरन्तर सञ्चालन गर्ने सोचले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?