+
+

तीन दलका केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट को-को परे

रामहरि ओझा रामहरि ओझा
२०७८ पुष २० गते १२:०८

२० पुस, डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् ।

आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् ।

२९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था भएपनि माओवादी अध्यक्ष प्रचण्डले आईतवार २३६ जनाको नाम घोषणा गर्दा सुदूरपश्चिमबाट २७ जना परेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम माओवादी केन्द्रीय सदस्यमा घोषणा भएको छ । डोटीबाट मुख्यमन्त्री भट्टसँगै डम्बर घर्ती पनि केन्द्रीय सदस्य भएका छन् । घर्ती बोगटान फुड्सिल गाउँपालिका-१ का वडाध्यक्ष हुन् ।

माओवादी केन्द्रीय कमिटीमा डडेल्धुराका खगराज भट्ट, कुन्ती जोशी, जगत पार्की र मन्जु बम अटाएका छन् । बैतडीका रेनु चन्द र नरेन्ऽ कुँवर केन्द्रीय कमिटीमा परेका छन् । कञ्चनपुरबाट विना मगर, देविलाल चौधरी र दीपा चौधरी केन्द्रीय कमिटीमा परे । कैलालीका बिमला सिंह, लालबहादुर सोडारी, रुपा चौधरी, वीरमान चौधरी र नेपबहादुर चौधरीको नाम पनि केन्द्रीय सदस्यमा घोषणा भएको छ । बझाङ्गका देवकी मल्ल, देवराज रेग्मी, शान्ति नेपालीसँगै दार्चुलाका लक्ष्मी बिक र लक्ष्मण दत्त जोशी पनि केन्द्रीय कमिटीमा अटाए ।

अछामका टिएम स्वार र शरदसिंह भण्डारी पनि केन्द्रीय कमिटीमा परे । नेकपा मसालबाट बिद्रोह गरेर माओवादी केन्द्रमा समाहित भएका कञ्चनपुरका लोकेन्द्र लम्साल, गोविन्द विक, लक्षिराम आचार्य र तिलक परियार पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

वर्तमान सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट १८ जना अटाएका छन् । मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट आफ्ना प्रतिस्पर्धी शेखरकोइरालालाई पराजित गर्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिमा पुनः निर्वाचित भएका छन् । उनी डडेल्धुरा निवासी हुन् ।

यस्तै सहमहामन्त्रीमा बाजुराका बन्द्री पाण्डे निर्वाचित भएका छन् । महाधिवेशनबाट केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेशका अन्य १६ जना विजयी भएका कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति वीरबहादुर बलायरले जानकारी दिए ।

बलायरका अनुसार कैलालीबाट ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, रामजनम चौधरी, नृप वड, सुशीला मिश्र भट्ट, जीवन राना र आर्जु देउवा केन्द्रीय समितिमा अटाएका छन् । आर्जु प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाकी पत्नी हुन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी कैलाली क्षेत्र-५ बाट प्रतिस्पर्धामा थिइन् ।

यस्तै कञ्चनपुरबाट रमेश लेखक, एनपी साउँद र यज्ञराज जोशी केन्द्रीय सदस्य भएका छन् । बाजुराबाट विद्या तिमिन्सेना, अछामबाट गोविन्द शाह, डडेल्धुराबाट नैनसिंह महर, दार्चुलाबाट दिलेन्द्र वडु, बझाङ्गबाट अर्जुन जंगबहादुर सिंह र प्रकाश स्नेही केन्द्रीय समितिमा निर्वाचित भएको बलायरले जानकारी दिए ।

मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहमा भएको एमाले महाधिवेशनबाट केन्द्रीय सचिव पदमा सुदूरपश्चिमबाट लेखराज भट्ट निर्वाचित भएका छन् । माओवादी पृष्ठभूमिका भट्ट एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत तोकिएका छन् ।

एमाले केन्द्रीय कमिटीमा सुदूरपश्चिबाट भट्टसहित ३२ जनाको “इन्ट्री भएको छ । लामो समयसम्म एमाले केन्द्रीय कमिटीमा रहेका प्रभावशाली नेता डा भीम रावल भने बाहिरिएका छन् । उनी अध्यक्ष पदमा पराजित भएका हुन् । केन्द्रीय कमिटीमा पर्नेहरूमा बाजुराका कर्ण थापा, दार्चुलाका गणेश सिंह ठगुन्ना, कञ्चनपुरका राजेन्द्र रावल, कैलालीका नारदमूनी राना र डोटीका गौरी वली रहेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्म पाठकले दिएको जानकारी अनुसार निरुदेवी पाल, लालवहादुर ओली, भैरव वहादुर सिंह, पुरनसिंह दयाल, झपट रावल, प्रकाश शाह, झपट बोहरा, गौरीशंकर चौधरी, अफिलाल ओखेडा, ईन्दु कडरिया, आशा बिक, ऐनवहादुर महर, कमला ओली र कमला बोहरा पनि केन्द्रीय कमिटीमा परेका छन् ।

एमाले केन्द्रीय कमिटीमा पर्नेहरुमा कृपाराम राना, दयालवहादुर शाही, लिलाधर भट्ट, नरवहादुर धामी, सन्तोषी शर्मा, पठान सिंह बोहरा, यज्ञ वोगटी, सहदेव वोगटी, लक्ष्मी शाह, गोविन्द कुँवर र बसुन्धरा रोकाया रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?