+
+

एक्लिँदै मिश्र, धमाधम साथ छाड्दै नयाँ पुस्ता

अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ नामको ‘मार्ग परिवर्तन प्रस्ताव’ले विवेकशील साझा पार्टीमा पहिरो जान थालेको छ । अध्यक्ष मिश्रले ‘पश्चगमन योजना’ ल्याएर पार्टीको उत्साही पुस्तालाई निराश पारेको पोखराकी मनिषा घर्तीमगर बताउँछिन् ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ पुष २८ गते २०:०३

२८ पुस, काठमाडौं । पोखराकी २१ वर्षीय मनिषा घर्तीमगर वैकल्पिक राजनीतिमार्फत् देशको अवस्था बदल्ने हुटहुटीले दुई वर्ष विवेकशील साझा पार्टीमा क्रियाशील भइन् । उनै घर्तीमगरले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अढाई महीना भयो ।

‘रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’को दस्तावेज ल्याएपछि त्यसलाई अस्वीकार गर्दै उहाँलाई सम्झाउने प्रयास गर्‍यौं,’ उनी भन्छिन्, ‘तर उहाँ संविधान र व्यवस्थाविरुद्ध नै जाने भएपछि त्यो पार्टीमा बसिरहनुको अर्थ भएन ।’

विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संगठन विभाग प्रमुख रहेकी घर्तीमगर पछिल्लो समय मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकता प्रयासमा रहेको बताउँछिन् । ‘मिश्रजी आफैंले हाम्रो पुस्तासँग गरेको वाचा विरुद्ध जानुभयो,’ उनले भनिन्, ‘त्यही भएर उहाँलाई साथ दिनुहुँदैन भनेर पार्टी छाडेकी हुँ ।’

दुई वर्ष पार्टी र भातृ संगठनमा निकै सक्रिय रहेकी उनले आफूलाई राजनीतिबाट पूर्णरूपमा अलग राखेको बताइन् ।

क्यान्सर रोगमा बेलायतबाट विद्यावारिधि (डक्टरेट) र अमेरिकाबाट पोष्ट डक्टरेट गरेका स्याङ्जाका राजेन्द्र पंगेनी पछिल्लो समय क्यान्सर अनुसन्धानका साथै ‘नेपाल फर्कौं महाअभियान’ मा पनि सक्रिय थिए । त्यहीक्रममा उनी विवेकशील साझा पार्टीमा जोडिए । मिश्रले मार्ग परिवर्तनको प्रस्ताव ल्याएपछि पोखराकी नर्स मनिषा घर्तीमगर जस्तै डा. पगेनीले पनि पार्टी छाडे ।

‘जिन्दगीमा कुनै कुरामा संलग्न हुँदा आनन्द आउँछ भने कुनै कुराबाट बाहिर निस्कँदा,’ पंगेनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले आफूले ‘रिफ्लेक्सन’ गर्दा चाहिँ विवेकशील साझा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बाहिर निस्केर सदस्यता त्यागी स्वतन्त्र नागरिक हुने निर्णय सम्झिँदा एकदम आनन्द लाग्दैछ ।’

नेपालको वैकल्पिक राजनीतिप्रति प्रवासी नेपालीमा पनि अत्यधिक उत्साह थियो, जसमा मिश्र समूहको पछिल्लो कदमले निराशा र आक्रोश जन्माएको छ । गत शनिबार पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति नै भंग गरेका संयोजक सुरेश भट्टले मिश्र समूहसँग सम्बन्ध विच्छेद मात्र गरेन्, मिश्रप्रति भर्त्सना पनि गरेका छन् ।

भट्टले वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न पाएको अवसर दुरूपयोग गर्दै मिश्रले राप्रपामा मिसिन ‘बार्गेनिङ टुल’ बनाएको भन्दै त्यसमा गम्भीर विमति जनाएका छन् ।

प्रशान्त ढकाल ‘देशमा फेरिएको व्यवस्थाअनुकूल नागरिकको अवस्था सुधार्न’ विवेकशील साझा पार्टीमा आवद्व भएको ५ वर्ष भयो । ‘म मिश्रजीसँगै राजनीतिमा आएको हुँ’, पार्टीको केन्द्रीय सदस्य र युवा संगठनको प्रदेश १ संयोजकको भूमिकामा रहेका उनी भन्छन्, ‘अहिले आएर उहाँले ल्याएको दस्तावेज र राप्रपासँग एकता गर्ने प्रस्तावले हामीलाई गाह्रो पारिरहेको छ ।’

धर्मको नाउँमा राजनीति गर्ने प्रस्ताव विरुद्व संघर्ष गर्ने सोच बनाएर बसेको बेला मिश्रले राप्रपासँग एकीकरण गर्ने योजना समेत ल्याएपछि पार्र्टीमा अडिन गाह्रो भएको ढकालले बताए ।

नेपालमा वैकल्पिक राजनीतिक धार अत्यावश्यक भएको महसुस गरेर विवेकशील साझामा जोडिएका डा. सरोज धिताल, रेशु अर्याल, मुमाराम खनाल, डा. सूर्यराज आचार्य, मानवी पौडेल, डा. नारायण कोइराला, प्रिया सिग्देल लगायतले यसअघि नै पार्टी छाडिसकेका छन् ।

प्रदेश २ का संयोजक अनिमेस कुमार मिश्र, बागमती प्रदेश संयोजक रञ्जु दर्शना र सहसंयोजक सुरेन्द्र रानाभाट पनि यो पार्टीबाट अलग भएका छन् । त्यस्तै, गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पनि पार्टी परित्याग गरेका छन् । पोखराका चर्चित सञ्चारकर्मी उनले गण्डकी प्रदेशमा विवेकशील साझाको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ नामको ‘मार्ग परिवर्तन प्रस्ताव’ले विवेकशील साझा पार्टीमा पहिरो जान थालेको छ । अध्यक्ष मिश्रले ‘पश्चगमन योजना’ ल्याएर पार्टीको उत्साही पुस्तालाई निराश पारेको पोखराकी मनिषा घर्तीमगर बताउँछिन् ।

नयाँ पुस्ताको आशामाथि कुठाराघात

२०६९ सालबाट वैकल्पिक राजनीतिक अभियानमा सक्रिय अमित पाठक विवेकशील साझा युवा संगठनका सचिव तथा विवेवशील साझा पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

‘म राजनीतिमा प्रवेश गर्दा परम्परागत राजनीतिप्रति एकप्रकारको वितृष्णा र रञ्जु दर्शना लगायत नयाँ पुस्ताका नेतृत्वप्रति आशा थियो,’ उनी भन्छन्, ‘राजनीति भनेको फोहोरी खेल हो भन्ने भाष्य बदल्न हामी राजनीतिमा आयौं, तर रवीन्द्र मिश्रबाट हाम्रो उद्देश्यमा धक्का पुगेको छ । नयाँ पुस्तामा निराशा सञ्चार भएको छ ।’

पाठकको बुझाइमा, पुरानो पुस्ताका मानिसले राजनीतिलाई फोहोरी खेलको रूपमा जानेका छन् । पुराना पुस्ताका नेताहरूमा जसरी पनि सत्तामा पुग्ने ध्याउन्न देखिँदा जनतामा यस्तो बुझाइ भयो । ‘वैकल्पिक राजनीति भनेर लागेका मिश्रमा पनि उही प्रवृत्ति देखियो,’ उनी भन्छन्, ‘एकाध व्यक्तिको व्यक्तिगत महत्वाकांक्षाले नयाँ पुस्ताको आशा र भरोसामाथि कुठाराघात भयो ।’

विवेकशील साझाका केन्द्रीय सदस्य र संस्कृति तथा सम्पदा विभाग उपप्रमुख बर्दियाका २१ वर्षीय रवीन्द्र उपाध्यायलाई पनि पार्टी अध्यक्ष मिश्रको कदमले युवा पंक्तिलाई निराश पारेको भन्ने लागेको छ । ‘नयाँ मूल्य, मान्यता र संस्कारसहित वैकल्पिक राजनीति थालेको नयाँ पुस्तालाई मिश्रको पछिल्ला गतिविधि पीडादायी बनेको अवस्था छ,’ उनी भन्छन्, ‘राजनीतिको फोहोर सफा गर्न होमिएका हामीलाई यसबाट पन्छिने सुविधा पनि छैन । वैकल्पिक राजनीतिक अभियानमा निरन्तर अगाडि बढ्छौं ।’

विकल्पको नारा, दक्षिणपन्थी दौड

विद्यमान राजनीतिका सबै आयाममा परिवर्तन गर्ने वा जगैदेखि नयाँ राजनीतिक शक्ति बनाउने यत्न वैकल्पिक राजनीति हो । मिश्र यही कुरा गरेर राजनीतिमा छिरेका हुन् । ‘विचारभन्दा माथि देश’ नामको लिखतदेखि राप्रपा प्रवेशसम्मको प्रस्तावले भने उनलाई चरम दक्षिणपन्थमा पुर्‍याएको विवेकशील साझा पार्टीका असन्तुष्ट नेताहरू बताउँछन् ।

मिश्रले वैकल्पिक राजनीतिको नाममा नयाँ पुस्तामाथि भावनात्मक दोहन गरेको उनीहरूको आरोप छ । पार्टीका सचिवालय सदस्य तथा सूचना, सञ्चार र प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियार अध्यक्ष मिश्रले राजावादी शक्तिसँग एकताको कुरा गरेर नेपाली युवाको वैकल्पिक राजनीतिमा कुठाराघात गरेको बताउँछन् ।

‘उनले युवा पुस्ताको सपनाको हत्या गर्न खोजेका छन्’, विवेकशील साझाका संस्थापक केन्द्रीय सदस्य रहेका परियार भन्छन्, ‘परम्परागत दलहरूको रजगजमाथि खबरदारी गर्ने वैकल्पिक राजनीतिलाई सिध्याउन चाहेका छन् । यसले गर्दा पार्टीमा बस्ने वातावरण बिग्रिएको छ ।’

उज्ज्वलको सम्झना

मुलुकको राजनीति बदल्ने उद्देश्य बोकेर वैकल्पिक राजनीतिक अभियानमा होमिएका अधिकांश युवा रवीन्द्र मिश्रको पछिल्लो प्रस्तावबाट निराश छन् । उनीहरू वैकल्पिक राजनीतिक अभियानका संस्थापक उज्ज्वल थापालाई ‘मिस’ गरिरहेका छन् ।

थापा दिवंगत भएको एक वर्ष पनि भएको छैन । आगामी जेठमा मात्रै एक वर्ष पूरा हुँदैछ । न कुनै विरासत न कुनै ‘मूलधारे’ राजनीतिक शक्ति, न पैसा, न कुनै शक्ति केन्द्रको आशिर्वाद, न कुनै भिन्नै ‘ग्ल्यामर’, एक साधारण नेपालीको रूपमा उनी वैकल्पिक राजनीतिको मैदानमा उत्रिएका थिए ।

उज्ज्वल यही साधारण अवस्थाभित्र असाधारण सम्भावना खोज्दै राजनीतिमा होमिएका थिए । नयाँ विचार, दृष्टिकोण, अभियान र आन्दोलनको जगमा राजनीतिक शक्ति आर्जन गर्ने शर्तमा उनी लामो समय समाजको स्थापित मानकमा एक गुमनाम मानिस बन्न तयार भए । ठूल्ठूला कुरा मात्र हुने राजनीतिमा उनले सा–साना कामहरू गरेर राजनीतिमा नयाँ थिति बसाल्ने प्रयास गरे ।

‘उज्जल थापाले सुरु गर्नुभएको वैकल्पिक राजनीतिको अभियान हामी अगाडि बढाउँछौं,’ पाठक भन्छन्, ‘हामी परीक्षाको घडीमा छौं । समयले वैकल्पिक राजनीतिप्रति हाम्रो निष्ठा र धैर्यको परीक्षा लिइरहेको छ । हामी यो परीक्षामा उत्तीर्ण हुनैपर्छ र अभियानलाई निरन्तरता दिनुपर्छ ।’

आशाको त्यान्द्रो समातेर अगाडि बढ्नुको विकल्प नभएको उनको निष्कर्ष छ । उनी अप्ठ्यारा थपिए पनि नयाँ पुस्ताले हार मान्न नहुने तर्क गर्छन् । ‘राजनीतिमा युवाको नेतृत्वलाई स्थापित गराउँछौं र निष्ठा र नैतिकतामा रहन नसक्ने स्वार्थी व्यक्तिको धोकाबाट हामी विचलित हुँदैनौं,’ उनी भन्छन् ।

‘उज्ज्वलजी बनिबनाऊ बाटोमा हिंड्नुभएन, निस्वार्थ रहेर असल कर्म गर्न तयार हुनुभयो । त्यो नै उहाँको सबैभन्दा ठूलो साहस र पुँजी थियो,’ एक नेता भन्छन्, ‘तर हाम्रोमा अति महत्वाकांक्षी मानिसहरू यो अभियानमा हावी भए र जाग्दै गरेको वैकल्पिक राजनीतिप्रतिको विश्वासलाई कमजोर बनाए ।’

आफ्नो मार्गको उज्यालो आफैं थिए उज्ज्वल । उनले थोरै नै भए पनि अरुलाई प्रकाश दिन थालेका थिए । उनले समाजमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहसलाई व्यवहारमा उतार्ने साहस गरे ।

उनले आजीवन अध्यक्ष पद ओगट्ने संस्कारको विरुद्ध उभिँदै पार्टी अध्यक्षमा मिलन पाण्डे र काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई अगाडि सारे । आजसम्म यो ‘क्रेडिट’ थापा बाहेक अरु कसैको खातामा ‘डिपोजिट’ भएको छैन । दुर्भाग्यवश, उनको ४४ वर्षको अल्पायुमै निधन भयो ।

‘उज्ज्वलले गरेको यो काम हेर्दा सानो लागे पनि प्रवृत्तिका हिसाबले नेपाली समाजका लागि धेरै ठूलो योगदान हो’, ती नेता भन्छन्, ‘उनले राजनीतिमा बसाल्न खोजेको थितिमा वैकल्पिक राजनीतिका नेता भन्नेहरू अडिन सकेनन् ।’

‘केन्द्रीय समितिबाट निर्णय लिन्छौंं’

बागमती प्रदेश सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ राप्रपासँग एकता गर्ने कुरा आफूले सञ्चार माध्यमबाट थाहा पाएको बताउँछन् ।

‘पुरातन पार्टीहरूले देशलाई न्याय गरेनन् भनेर हामी आएको हो,’ अध्यक्ष मिश्रले पार्टीभित्र कुनै सल्लाह नगरी प्रस्ताव ल्याएको बताउँदै उनले भने, ‘उहाँले त्यो बिषय केन्द्रीय समितिमा ल्याएपछि आफ्नो धारणा राख्छौं । साथीहरू यही तयारीमा हुनुहुन्छ ।’

यो विषयले धेरैलाई चिन्तित बनाएको भए पनि प्रक्रियाबाटै निर्णय लिन धेरै नेताहरूले कुरिरहेको सांसद महर्जन बताउँछन् ।

इतिहासमा पनि यस्तो भएको छ !

सुरुमा साझा पार्टीमा जोडिएका साझा युवा संगठनका संस्थापक महासचिव तथा पार्टीका केन्द्रीय सदस्य सरोज गौतम पछिल्लो समय मिलन पाण्डे नेतृत्वको ‘मूल बाटो’ समूहमा छन् ।

वैचारिक युवा नेताको छवि बनाएका गौतम सुरुमा मिश्र नेतृत्वको साझा पार्टीमा थिए । उनले विवेकशीलसँगको एकीकरणमा महत्वपूर्ण भूमिका खेले । मिश्रले गणतन्त्रलाई ‘आयातित’ भन्दै राप्रपामा मिसाउने प्रयत्न गरेपछि उनलाई छोडेर भएपनि वैकल्पिक राजनीति अगाडि बढाउने गौतम बताउँछन् ।

‘मार्ग परिवर्तनको दस्तावेजविरुद्ध हामीले वैकल्पिक राजनीतिको मूल बाटो नामक दस्तावेज ल्याएका छौं,’ उनी भन्छन्, ‘निराश हुनेभन्दा पनि भ्रमवश पश्चगामी बाटो लाग्ने सम्भावना भएका नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिको मूल बाटोमै रोक्न सक्रिय हुन्छौं ।’

नेपालको राजनीतिक इतिहासका विभिन्न कालखण्डमा यस्ता संकट हरेक पार्टीभित्र देखापर्ने गरेको उनको बुझाइ छ । ‘तुलसी गिरि लगायत धेरै कांग्रेस नेताहरू पञ्चायत प्रवेश गरेपनि कांग्रेस सकिएन, कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी स्वयम् पञ्चायतमा प्रवेश गर्दा समेत कम्युनिस्ट आन्दोलन सकिएन,’ गौतम भन्छन्, ‘उनीहरू त एक्लै दरबार छिरे, तर मिश्रले सिंगो पार्टीलाई जालसाझी गरेर दरबार छिराउने प्रयास गरे ।’

उनी अगाडि थप्छन्, ‘मिश्रजी राप्रपा प्रवेश गर्दैमा वैकल्पिक राजनीति सकिंदैन । यो अभियानले गहन शिक्षा मात्र लिन्छ ।’

पुराना पुस्ताका केही महत्वाकांक्षी नेताहरूले छिटो सत्तामा पुग्न वैकल्पिक राजनीतिको भ्रुण हत्या गर्न खोजेको उनको आरोप छ । यद्यपि यसबाट उनीहरू नै अलगावमा पर्ने गौतमको विश्वास छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?