+
+

‘सरकारले जनतामाथि ठूलो घात गरेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १५:४०

३ माघ, काठमाडौं । कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहर भयावह रहृयो । अक्सिजन तथा अस्पतालमा बेड नपाएर धेरै नेपाली नागरिकले ज्यान गुमाउनुपर्‍यो । अहिले ओमिक्रोन भेरियन्ट आएसँगै तेस्रो लहर शुरु भएको छ, तर सरकार अझै पनि संवेदनशील नभएको बताउँछन् जनस्वास्थ्यविद्हरू ।

उनीहरूका अनुसार अहिले पनि महामारी नियन्त्रणका लागि सरकारले गर्न सक्ने कामहरू थुप्रै छन्, तर सरकार गम्भीर देखिएको छैन । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘व्यवस्थापकीय र राजनीतिक संयन्त्र असफल जस्तो देखिएको छ ।’

सरकारले प्रभावकारी भनेको खोप अभियानमा समेत उनले प्रश्न उठाएका छन् । कोरोना खोपको गुणस्तरमा त सरकारले जनतामाथि ठूलो घात नै गरेको बताउँछन् । डा. सुवेदी भन्छन्, ‘यो खोप डेल्टा विरुद्ध नै एकदमै कम प्रभावकारी देखिएको छ भने ओमिक्रोनमा कति प्रभावकारी होला थाहा छैन ।’

प्रस्तुत छ, संक्रामक रोग विशेषज्ञ डा. सुवेदीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा गएको वैशाख-जेठमा दोस्रो लहर पिकमा पुग्यो । त्यसपश्चात संक्रमण क्रमशः घटेपछि न सरकारले ध्यान दियो, न आम नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरे । यो अवधिलाई कसरी नियालिरहनुभएको छ ?

तीन/चार महीना अगाडि जाने हो भने हामीकहाँ डेल्टा भेरियन्टको संक्रमण घट्दै गएको थियो । तर फेरि जाडो मौसममा सानो लहर आउँछ भन्ने अनुमान थियो । किनभने अमेरिका र युरोपियन देशहरू, जहाँ सबैलाई खोप दिंदा पनि डेल्टाले नै पुनः आक्रमण गर्ने र अर्को लहर आउने गरेको देखिएको थियो । त्यस्तो किन हुँदोरहेछ भन्दा पहिला संक्रमणका कारण होस् वा दुवै डोज खोप लगाएका कारण होस् ! हाम्रो शरीरले भाइरस विरुद्ध रोग प्रतिरोधी क्षमता बनाएको हुन्छ, त्यो ५/६ महीनापछि घट्दै जाने रहेछ । र, पुनः संक्रमण हुने जोखिम बढी हुन्छ । विशेषगरी, रोगप्रतिरोधी क्षमता कम भएका तथा दीर्घ रोग भएका मानिसलाई डेल्टाले नै पुनः संक्रमण गर्न सक्ने रहेछ ।

नीति निर्माण तहमा बस्ने सबैले एस्ट्राजेनेका वा कोभिशिल्ड लगाएका छन् । अनि जनतालाई चाहिं भेरोसेल लगाएका छौं । यो खोप डेल्टाविरुद्ध नै एकदमै कम प्रभावकारी देखिएको छ भने ओमिक्रोनमा कति प्रभावकारी होला थाहा छैन ।

त्यसैले हामीले नेपालमा पनि जाडोमा त्यस्तै खालको सानो लहर आउँछ होला भनेर अनुमान गरेका थियौं । हामीकहाँ सबैले खोप त पाएका छैनन्, तर दोस्रो लहरका क्रममा डेल्टाले झण्डै ८० प्रतिशत मानिस संक्रमित गराइसकेको थियो । त्यसकारण डेल्टाप्रति त्यति डर थिएन । सानो लहर आउँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा पुनः संक्रमण देखिन सक्छ भन्ने आकलन थियो । तर ओमिक्रोन आएपछि सबै हिसाबकिताब फेरिए ।

किनकि डेल्टा भेरियन्टले पहिल्यै संक्रमण भएका अधिकांश मानिसलाई पुनः संक्रमण गर्ने क्षमता राख्दैनथ्यो । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई पुनः संक्रमण गर्ने क्षमता थियो । तर ओमिक्रोनमा पहिला संक्रमण भइसकेको मानिसलाई पुनः संक्रमण गर्ने क्षमता डेल्टाको भन्दा तीनदेखि पाँच गुणा बढी देखियो । खोप लगाएका मानिसलाई पुनः संक्रमण गर्ने सम्भावना बढी देखियो । एस्ट्राजेनेका वा कोभिशिल्ड खोप लगाएका मानिसहरू ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिन सक्ने सम्भावना पाँच प्रतिशत मात्र छ ।

सिकिस्त हुने सम्भावना धेरै कम छ । यसको दुई कारण छ, एउटा भाइरसको आफैं क्षमता कमजोर छ । ओमिक्रोन भेरियन्टमा संक्रमण भएपछि सिकिस्त बनाउने क्षमता डेल्टाभन्दा १० प्रतिशत कम छ । अर्को सिकिस्त हुने सम्भावना विरुद्ध एस्ट्राजेनेका वा कोभिशिल्ड खोप ५०/६० प्रतिशत प्रभावकारी छ ।

तर सम्पूर्ण समुदाय संक्रमणको जोखिममा पर्ने भएकाले अन्य लहरको जस्तै समस्या भोग्नुपर्ने हुनसक्छ । किनकि ओमिक्रोन भेरियन्टमा संक्रमित दोब्बर हुँदै जाने अवधि डेढदेखि दुई दिनको मात्रै देखिएको छ । यसले गर्दा थोरै मानिस सिकिस्त हुने भए पनि दुई-दुई दिनमा दोब्बर हुँदै जाने देखिन्छ । जबकि अस्पताल पुगेका अक्सिजन चाहिने संक्रमितहरू सात-दश दिन नभई आईसीयू वा भेन्टिलेटरबाट डिस्चार्ज हुँदैन । त्यसकारण अस्पतालमा बेड अभाव हुन सक्छ ।

शुरूमा खोपको उपलब्धता सहज थिएन । तर पछिल्लो समय अवस्था फेरिएको थियो । दोस्रो लहर पछाडि जसरी खोप अभियान सञ्चालनमा भयो, त्यो पर्याप्त थियो ?

हामी आफैं खोपको उत्पादन गर्न नसक्ने भएकाले शुरुमा दिनमा अरूले खटाएर कति दिन्छन् भनेर त्यसमा भर पर्नुपर्ने अवस्था थियो । तर यहाँ त व्यवस्थापकीय समस्या थुप्रै देखिए । करोडौं खोप भण्डारणमा हुँदा पनि सिरिञ्ज अभावका कारण कतिपय ठाउँमा खोप अभियान नै स्थगित गर्नुपर्‍यो ।

अर्को, भ्याक्सिनको गुणस्तरमा सरकारले साँच्चै जनताप्रति बेइमानी गरेको छ । विश्व स्वास्थ्य संगठनले जुन-जुन खोपलाई अनुमति दिएको छ, अधिकांश शुरूमा अमेरिका-युरोपमा फैलिएको भाइरसमा कति प्रभावकारी छन् भन्ने आधारमा विकास गरिएको थियो । केही चाहिं अल्फा सम्बन्धी डेट हेरिएको छ । सिनोफार्म, सिनोभ्याक पुरानो डेटाका आधारमा स्वीकृत भएका खोप हुन् ।

त्यसपछि डेल्टा भेरियन्ट आयो । चीनमा उत्पादित खोपहरूले डेल्टा विरुद्ध एकदमै कम प्रभावकारी देखिएका छन् । एक त चीनबाट उत्पादित भएका खोपको तथ्यांक हालसम्म प्रकाशित नै छैन भन्दा हुन्छ । किनकि प्रायः गरीब देशहरूले चीनबाट उत्पादित खोपहरू अनुदान वा खरीद गरेर प्रयोगमा ल्याएका छन् । त्यहाँ खोप कति प्रभावकारी छ भन्ने तथ्यांक निकाल्न जस्तो चुस्त संयन्त्र चाहिन्छ, त्यो छैन । अर्को, भ्याक्सिनले काम गरेको देखियो भने प्रकाशित गर्ने, प्रभावकारी नदेखिए प्रकाशित नगर्ने ट्रेण्ड पनि छ । चीन शक्तिशाली राष्ट्र भएकाले उसलाई कसैले चिढ्याउन पनि चाहँदैन ।

सरकार त जनतासँग इमानदार हुनुपर्थ्यो नि ! तर हामीकहाँ अधिकांश मानिसलाई भेरोसेल खोप दिइएको छ । नीति निर्माण तहमा बस्ने सबैले एस्ट्राजेनेका वा कोभिशिल्ड लगाएका छन् । अनि जनतालाई चाहिं भेरोसेल लगाएका छौं । यो खोप डेल्टा विरुद्ध नै एकदमै कम प्रभावकारी देखिएको छ भने ओमिक्रोनमा कति प्रभावकारी होला थाहा छैन । भेरोसेल प्रभावकारी छैन भन्ने थाहा भएपछि विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिकलाई दुई डोज मात्र पुग्दैन, तेस्रो डोज पनि अनिवार्य रूपमा दिनुपर्छ भनेको छ । तर हामी अहिले भर्खर गर्दैछौं । त्यसैले खोपमा सरकारले जनतामाथि ठूलो घात गरेको छ भन्छु ।

तेस्रो लहरमा अहिले जति जोखिम देखिरहेका छौं, खोपको प्रभावकारिता हेरेर अभियान चलाउन सकेको भए त्यो जोखिम कम हुनेथियो ?

पक्का फरक पर्थ्यो, तर यसका लागि सरकारले एक वर्ष अगाडिदेखि काम गर्नुपर्थ्यो । अल्फा, डेल्टा लगायत थुप्रै भेरियन्ट आए, धेरै मानिसको निधन भयो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन, क्वारेन्टाइन, परीक्षण जस्ता पब्लिक हेल्थ इन्टरभेन्सन हाम्रा लागि काम छैन भन्ने व्यवहार गरे । नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र नीतिगत तहमा रहेका अधिकारीहरूले हरेक स्वास्थ्य मन्त्रीलाई खोप खोप मात्र भने । मन्त्रीले पनि कुन खोप कति प्रभावकारी छ भन्ने चासो दिएनन् ।

तर जुनसुकै खोप लगाएको भए पनि ओमिक्रोन भेरियन्टले त संक्रमित गराउन सक्दोरहेछ । कुन खोप लगाउँदा सिकिस्त हुने सम्भावना कम भन्ने न रहृयो ?

डेल्टाले एक हजारलाई अस्पताल पुर्‍याउने समयमा ओमिक्रोनले दुई हजारलाई अस्पताल पुर्‍याउँछ र हाम्रो स्वास्थ्य प्रणालीले नधान्न सक्छ

ओमिक्रोनले खोप लगाएका धेरैलाई संक्रमण त गर्ला, तर गम्भीर हुने क्षमताको सम्भावना कम हुन्छ । हामीकहाँ ओमिक्रोनको पहिलो फेज बल्ल शुरू हुँदैछ । अबको दुई तीन सातामा एकदमै उच्चमा जान सक्छ । यो बीचमा धेरै संक्रमितलाई आईसीयू तथा भेन्टिलेटर मार्फत उपचार चाहिने सम्भावना हुन्छ । नेपालीले एस्ट्राजेनेका वा कोभिशिल्ड खोपको दुवै डोज लगाएका भए अस्पतालमा जाने संख्या अझ कम हुन्थ्यो कि भन्ने आकलन गर्न सकिन्छ ।

अहिलेसम्म स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइसक्नुपर्थ्यो । ओमिक्रोन फैलिने दर हेर्दा अस्पतालहरूमा एकै पटकमा सयौं संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुन्छन् । समयमै बुस्टर दिन सकेको भए स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम धेरै हदसम्म कम हुन्थ्यो । तर स्वास्थ्य मन्त्रीले गैरजिम्मेवार तरिकाले  विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि बुस्टर डोज दिन शुरु गर्छाैं भन्नुभयो । अस्पतालमा आजभोलि स्वास्थ्यकर्मी संक्रमण व्यापक रूपमा फैलिरहेको छ । हाम्रो देशमा अस्पताल बन्द भयो भने विश्व स्वास्थ्य संगठनले आएर चलाउँछ ?

तर आम बुझाइ ठीक उल्टो छ । ओमिक्रोन बढी संक्रामक भए पनि गम्भीर बनाउँदैन भनेको सुनिन्छ नि !

पहिलाको संक्रमण वा खोपका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुनु र भाइरस अलि कमजोर भएकाले गम्भीर बनाउने सम्भावना कम हुन्छ भनिएको हो । त्यो जोखिम व्यक्ति कम होला, तर, समग्रतामा हेर्ने हो भने एकदमै ठूलो चुनौती हाम्रासामु छ । ओमिक्रोनको संक्रमण फैलावट हेर्दा हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स हुन सक्छ । भएका अस्पतालहरूको बेड भरिने सम्भावना एकदमै बढी छ ।

हो, डेल्टाको लहरमा एक लाख मानिसमा संक्रमित हुँदा एक हजार जनालाई अस्पताल भर्ना गर्नुपर्थ्यो भने ओमिक्रोनमा एक लाख संक्रमित हुँदा २५० जना अस्पताल भर्ना हुनसक्छन् । तर डेल्टाले एक लाखलाई संक्रमित गर्दा ओमिक्रोन ८ लाख मानिसलाई संक्रमित गर्न सक्छ । अर्थात् डेल्टाले एक हजारलाई अस्पताल पुर्‍याउने समयमा ओमिक्रोनले दुई हजारलाई अस्पताल पुर्‍याउँछ र हाम्रो स्वास्थ्य प्रणालीले नधान्न सक्छ । सामान्य एन्टिबायोटिक दिएर ठीक हुने निमोनिया रहेछ भने पनि बेड नपाएर मानिसको मृत्यु हुनसक्छ । हृदयघातका, गर्भवती लगायतका बिरामीले बेड नपाएर मृत्यु हुने अवस्था आउँछ । त्यसैले ओमिक्रोनको व्यक्तिगत जोखिम कम भए पनि समग्रतामा ठूलो चुनौती देखिन्छ ।

उसो भए ओमिक्रोन कमजोर हो भन्ने मानसिकता घातक छ, होइन ?  

हामीकहाँ विज्ञान साक्षरताको कमी छ । सूचनाको बाढी छ, तर केलाई सही भन्ने चेतना कमी छ । विज्ञ तथा नीतिनिर्माण तहमा बस्नेहरूमा पनि वैज्ञानिक ज्ञान कमी देखिन्छ ।

हामीले नीतिनिर्माण तहमा यस्तो झुण्ड तयार गरेका छौं, जसले ठाउँ मात्र ओगटेर बसेका छन् । आफू पनि सिक्दैनन्, अरूलाई गर्न पनि दिंदैनन् । दुई वर्षसम्म राज्यका संयन्त्रहरूले केही सिकेको देखिएन ।

होल्डिङ सेन्टर, क्वारेन्टाइन बनाउने भनियो, अहिलेसम्म तयार भइसकेको छैन । अहिले सरकारले निश्चित देशबाट आएका मानिसलाई प्रतिबन्ध लगाउने नीति लिएको छ । यो हाम्रा लागि धेरै ढिला भइसक्यो । अब समुदायमा संक्रमण फैलिइसक्यो । हामी संक्रमणदरको चेन ब्रेक रोक्नतिर केन्द्रित हुनुपर्छ ।

अर्को, खोप कार्ड नभएका लागि सरकारी तथा सार्वजनिक स्थलमा जान रोक्ने भनिएको छ । यो पनि बेकार हो । यदि सरकारले घरघरमा खोप पुर्‍याएको छ, अधिकांश मानिसले खोप लगाइसके । तर केही मानिसले खोप लगाउन मानेका छैनन् भने उनीहरूलाई बाध्य बनाउन यस्तो नीति लागू गर्न सकिन्छ । तर गाउँघरमा हप्तामा एकदिन मात्रै खोप दिने गरेको छ, आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैनन् । गरीब तथा निम्नवर्गीय मानिसलाई अहिले पनि कहाँ खोप पाइन्छ भन्ने समेत थाहा छैन । भेरोसेल खोप लगाएकै पनि कति सुरक्षित होलान् ? त्यसैले सरकार पटक्कै संवेदनशील छैन ।

अघिल्लो महीनासम्म ठूल्ठूला राजनीतिक सभा सम्मेलनहरू भए । यसले पनि त संक्रमण फैलाउन मद्दत गरेकै होला । महामारीप्रति हाम्रा दलहरू कति गम्भीर पाउनुहुन्छ ?

यस्ता सभा-सम्मेलनले जनतालाई जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने कुरालाई पत्याउन गाह्रो बनाउँछ । यसमा मानसिक प्रभावले झन् बढी असर गर्छ । यी कुराहरू हाम्रा राजनैतिक दलका प्रमुखले पटक्कै बुझ्दैनन् । पछि तिनै राजनैतिक दलका प्रमुखहरूले गरेको उर्दीलाई जनताले पत्याउने देखिंदैन ।

संक्रमण त समुदायमा पुगिसक्यो । यसबाट हुने क्षति न्यूनीकरण गर्न अब के-कस्ता काम गर्नुपर्छ ?

ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ । अब कन्ट्रयाक ट्रेसिङ लगायतका काम गरेर खासै उपलब्धि हासिल हुँदैन । कन्ट्रयाक टे्रसिङ, क्वारेन्टाइन लगायत काममा हाम्रो सरकार अहिलेसम्म सफल भएको देखिएको छैन ।

महामारी नियन्त्रणको पहिलो काम नै परीक्षण हो । संक्रमित मानिसको पहिचान गर्ने वित्तिकै सम्पर्कमा आएकाहरू आइसोलेट हुन्छन्, अरूलाई सार्ने सम्भावना कम हुन्छ । व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि पनि परीक्षण आवश्यक छ । संक्रमण पुष्टि भएको थाहा पाएपछि कडा लक्षण देखिन थालेपछि अस्पताल जान्छन् । धेरै गम्भीर हुनुभन्दा अगाडि अस्पताल पुगेको अवस्थामा उपयुक्त औषधि शुरु गर्दा आईसीयू, भेन्टिलेटर नचाहिने सम्भावना पनि कम हुनसक्छ । त्यसैले सरकारले परीक्षणलाई सहज र सुलभ बनाउनुपर्छ । लक्षण भएकाहरूलाई सरकारी अस्पताल तथा प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गर्नुपर्छ । निजी प्रयोगशालाहरूलाई परीक्षण शुल्क दुई हजारबाट कम गर्न सरकारले दबाव दिनुपर्छ । एन्टिजेनको परीक्षण मूल्य धेरै महँगो छ, यसलाई सहज बनाउनुपर्छ । र्‍यापिट टेष्ट किट एकदमै गुणस्तरहीन खालका प्रयोग भएका छन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको अनुगमन गरोस् ।

साथै कोरोना संक्रमितहरूको उपचारका प्रयोग हुने औषधिहरू जोहो गर्नुपर्छ । मोनोक्लोनल एन्टिबडी, मोलनुपिरावीर जस्ता औषधिहरू कोरोना विरुद्ध प्रभावकारी छन् । यो औषधिले अस्पताल भर्ना भएका संक्रमितहरूलाई सिकिस्त हुनबाट रोक्छ । तर विश्वभर उपलब्धता कम छ । सिकिस्त भइसकेका बिरामीलाई दिने औषधि ‘टोसीलिजिम्याब’ आयात गर्न सरकारले एउटा कम्पनीलाई अनुमति दिएको छ । तर उसले थोरै मात्रामा ल्याउँछ, र अभाव हुन्छ । बिरामीका आफन्तले आफैं जोहो गर्दा ५०/६० हजारको औषधिलाई तीन-चार लाख रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

उपचार गर्ने जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन जरूरी छ । तर  सरकारले यतातर्फ पर्याप्त ध्यान दिएको पाइँदैन ।

सरकारमा बसेकाहरूमा यो गम्भीरता देखिन्छ ?

हाम्रो असफलता तीन तहमा हुन्छ- प्राविधिक, व्यवस्थापकीय र राजनीतिक । प्राविधिक असफलतामा हाम्रो सीमितता थियो । खोप तथा औषधि उत्पादनको क्षमता हामीसँग थिएन । त्यसैले यो सीमितता चाँडै पूरा गर्ने चुनौती हाम्रोसामु छ ।

तर हाम्रो देशमा व्यवस्थापकीय र राजनीतिक संयन्त्र असफल रहन पुगेको देखिन्छ । कस्ता मानिसहरू राजनीतिमा आउँछन्, उनीहरूले को-कोबाट फिडब्याक लिन्छन्, कप्ता नीति बनाउँछन् भन्ने महत्वपूर्ण हुन्छ । अहिले जे जसरी चलेका छौं, त्यसमा परिवर्तन नहुने हो भने अर्को महामारीमा पनि यस्तै चुनौती भोग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?