+
+

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा ५ दलीय गठबन्धन जिल्ला दौडाहामा

टोपराज शर्मा टोपराज शर्मा
२०७८ माघ ४ गते ९:१३

४ माघ, बुटवल । यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको सत्ता साझेदार पाँच दलीय गठबन्धनले जिल्ला दौडाहामा छ । यो प्रदेशमा अन्य, महिला र दलिततर्फका एक/एक जना गरी तीन सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्मा (बाँके), नेकपा (एकीकृत समाजवादी(का राजेन्द्रलक्ष्मी गैरे (पाल्पा) र राष्ट्रिय जनमोर्चाका तुलबहादुर बिक (रुपन्देही ) उम्मेदवार छन् । यस्तै एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिक उम्मेदवार छन् ।

गठबन्धनले प्रदेशका १२ वटै जिल्लामा मतदाता भेटघाटलगायतका प्रचार अभियान थालेको हो । पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले मंगलबार गुुल्मीको तम्घास र अर्घाखाँचीमा भेटघाट गर्दैछन् ।

त्यस्तै माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलबस्तुको चन्द्रौटा र रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनकी उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी)का नेतृ राजेन्द्रलक्ष्मी गैरेले जानकारी दिइन् ।

चुनावी अभियान सफल पार्न पाँच दलका प्रदेश सभापति/अध्यक्ष र नेताहरू सम्मिलित मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ । मूल समितिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका नेता सुदर्शन बराल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष मेटमणि चौधरी, जसपाका प्रदेश अध्यक्ष अशोक यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका रहेका छन् ।

गठबन्धनका उम्मेदवारहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै एजेण्डा र मतभार दुवै हिसाबले आफूहरूको जित निश्चित भएको दाबी गरेका छन् ।

नेकपा (एकीकृत समाजवादीणका लुम्बिनी अध्यक्ष मेटमणि चौधरीले प्रतिस्पर्धी एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवारहरूले कम्तीमा एक हजार मतभार अन्तरले जित्ने दाबी गर्छन् ।

यस्तो छ अंक गणित

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८१ छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

१०९ स्थानीय तहका २१८ जना मध्ये नवलपरासीको प्रतापुर गाउँपालिका अध्यक्ष रामकुमार शर्मा, गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामका आधारमा पनि गठबन्धनले जित्ने दाबीलाई बल पुगेको छ । उक्त उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे ४१४० मतभारका साथ विजयी भएका थिए । त्यो बेला एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए ।

गत जेठमा भएको उपनिर्वाचनमा कुल ३ सय मतादाता थिए, जसमध्ये २९६ मत खसेको थियो । अहिले दुईजना प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ ।

कारबाहीमा परेका जसपाका २ मतदाता सांसद घटेका छन् भने गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष यादव एमालेका थिए । यसैगरी एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम पनि कांग्रेस प्रवेश गरेकी छन् । यी दुई स्थानीय तहका प्रमुख र उपप्रमुखको मत नपाउँदा एमालेको ३६ मतभार कम हुनेछ । निधन भएका थापा अघिल्लो उपनिर्वाचनमा पनि बिरामी भएका कारण अनुपस्थित थिए ।

८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तह तर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी कुल मतभार ७ हजार ७ सय ५८ छ । यसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४ राष्ट्रिय जनमोर्चाका १ र नेकपा (एकीकृत समाजवादी) पार्टीका १ जना सांसद छन् । जसको कुल मतभार २११२ हुन्छ ।

त्यसैगरी गठबन्धनकै स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा (एकीकृत समाजवादी)का ४ प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तहतर्फको कुल मतभार २१७८ हुन्छ । लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४२९० छ ।

गठबन्धनसँग एक्लै चुनावमा भिडेको एमालेको प्रदेशसभामा ३६ जना सांसद छन । एमालेको प्रदेश सभातर्फको मतभार १७२८ छ । स्थनीय तहतर्फ कुल ८८ प्रमुख तथा उपप्रमुख एमालेका छन् । स्थानीय तहतर्फ एमालेको मतभार १५८४ छ ।

प्रदेश सभा तथा स्थानीय तह गरी एमालेको कुल मतभार ३३१२ देखिन्छ । यस आधारमा सत्तारुढ गठबन्धन ९७८ मतभारले अगाडि देखिन्छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ जना स्वतन्त्र जनप्रतिनिधि छन् । प्रदेशका स्वतन्त्र सांसद अजयबहादुर शाही सत्ता गठबन्धनमै रहेर मन्त्री छन् । उनको मत स्वतः सत्ता गठबन्धनका उम्मेदवारलाई जानेछ । स्वतन्त्र तर्फको कुल मतभार १२० छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?