+
+
प्रधानमन्त्री कप टी-२० क्रिकेट :

पवनको अर्धशतक र दीपेन्द्रको ५ विकेटमा पुलिस फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १२:४९

४ माघ, काठमाडौं । पवन सर्राफको ब्याटिङ अनि दीपेन्द्र सिंह ऐरीको विस्फोटक बलिङमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ ।

पवन सर्राफले सुझबुझपूर्ण ब्याटिङ गर्दै ५९ रन बनाएपछि पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । नियमित ओपनर कुशल भुर्तेल सेमिफाइनलमा खेलेनन् । उनको स्थानमा शंकर रानाले खेलेका थिए ।

तर शंकर राना ८ र दीपेन्द्र सिंह ऐरी खाता नखोली चौथो ओभरमा आउट भएपछि पुलिसलाई झड्का लागेको थियो । दुवै विकेट बागमतीका रिजन ढकालले लिएका थिए । तर तेस्रो विकेटका लागि पवनले अनिल शाहसँग ७८ रनको साझेदारी गर्दै पुलिसको इनिङ्स उकासे ।

१६औं ओभरमा नन्दन यादवले यो साझेदारी तोड्दै दुवैलाई आउट गर्दै बागमतीलाई खेलमा फर्काएका थिए । ५४ बल खेलेका पवनले तीन चौका र तीन छक्का प्रहार गर्दै ५९ रन जोडे भने अनिलले २४ बलमा २५ रन बनाए । आरिफ शेखले ९ बलमा १२ रन जोडे । त्यसपछि विकेटकिपर दिलीप नाथले केमियो रोल खेल्दै १६ बलमा अविजित ३१ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

रासिद खान पाँच रनमा अविजित रहे । बागमतीका लागि रिजन र नन्दनले दुई/दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

त्यसपछि बलिङमा दीपेन्द्र सिंह ऐरीले पाँच विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । दीपेन्द्रले चार ओभरमा १० रन मात्र खर्चेर पाँच विकेट लिंदै बागमतीको ब्याटिङ क्रम ध्वस्त बनाएका थिए । यस्तै सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । आरिफ शेखले एक विकेट लिए ।

बागमतीका इशान पाण्डे तेस्रो ओभरमा एक रनको व्यक्तिगत स्कोरमा आउट भए पनि कप्तान ज्ञानेन्द्र मल्ल र आदिल खानले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्केका थिए । तर नवौं ओभरको पहिलो बलमै दीपेन्द्रले ज्ञानेन्द्रलाई अनिल शाहबाट क्याचआउट गराएपछि बागमतीको विकेट झर्ने क्रम सुरु भयो ।

दीपेन्द्रले त्यसपछि विपिन आचार्य, आदिल खान, नन्दन यादव र प्रतिशत जिसीलाई आउट गरे । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रन जोडे । ज्ञानेन्द्रले १६ बलमा २३ रन जोडे ।

६९ रनमा ८ विकेट गुमाएको बागमतीका लागि लोडर अर्डरमा रिजन ढकाल र रामनरेश गिरीले अविजित ३६ रनको साझेदारी गरे । रामनरेश २२ र रिजन १५ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?