+
+
कोभिड–१९ :

११ दिनमा ५३ जनाले गुमाइसके ज्यान

अहिले जसरी दिनप्रति दिन संक्रमणदर बढेको छ, त्यसले आगामी हप्तामा अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्ने देखिन्छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘तेस्रो लहरबाट संक्रमित भएर अस्पताल पुग्ने अधिकांश संख्या केही हप्तापछि मात्रै पुग्छन् ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ माघ ११ गते २०:३२
काठमाडौंको वीर अस्पतालमा उपचार गराउँदै कोरोना संक्रमित

११ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन घरघरमा पुगेको छ । सरकारी तथ्यांकमा दैनिक १०/१२ हजार नयाँ संक्रमित थपिएका छन् भने परीक्षण नै नगरी बस्नेहरुको संख्या यो भन्दा ठूलो मानिएको छ । किनकी आमबुझाइ छ, ओमिक्रोन घातक छैन, रुघाखोकी जस्तै हो ।

अस्पतालहरुको दृश्यले भने कोरोना महामारीमा लापरबाही नगर्न चेतावनी दिइरहेको छ । किनकी अस्पतालहरूका सघन उपचार कक्षमा चाप बढ्दो छ र कोरोना संक्रमणका कारण भएको मृत्यु पनि क्रमशः उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर १ माघमा ११९ जना आईसीयूमा उपचाररत थिए, जुन संख्या १० दिन ( ११ माघ) सम्ममा बढेर २४५ पुगेको छ । साथै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेको संख्या पनि बढ्दो छ ।

कोरोना संक्रमितको मृत्यु पनि केही दिनयता बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । माघ ८ मा एकैदिन १६ जनाको मृत्यु भएको थियो भने माघ महिनाको ११ दिनमा ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

गते आईसीयू भेन्टिलेटर मृत्यु
१ माघ ११९ २६
२ माघ १२२ २९
३ माघ १३९ २६
४ माघ १५१ २८
५ माघ १६९ २८
६ माघ १८६ २७
७ माघ १९४ ३५
८ माघ २१० ३७ १६
९ माघ २१५ ४०
१० माघ २३८ ४३
११ माघ २४५ ४४

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्ला दिनमा मृत्यु हुनेहरुमा खोप नलगाएका, दीर्घरोगी वा जेष्ठ नागरिकहरु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल बताउँछन् ।

‘महामारीको हिसाबले हेर्दा संक्रमण उच्च भएको दुईदेखि तीनहप्तापछि अस्पतालमा भर्ना बढ्ने र मृत्यु हुने देखिन्छ,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘अझै हामी उच्च अवस्थामा पुगिसकेका छैनौं । त्यसैले अस्पतालमा चापसँगै मृत्युदर आगामी दिनमा अझ बढ्छ ।’

मन्त्रालयको प्रक्षेपणअनुसार कोरोना महामारीको तेस्रो लहर उत्कर्षमा पुग्न लागेको छ । ‘अहिले हामी उच्च संक्रमणको अवस्थामा छौं । यो अवस्था अझै एक–दुई हप्ता रहने र त्यसपछि विस्तारै ओरालो लाग्ने अनुमान गर्न सकिन्छ,’ सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् ।

कोरोना संक्रमण हुने र अस्पताल भर्ना हुने समयमा अन्तर हुन्छ । अर्थात, आजभोलि अस्पताल भर्ना भएका बिरामी संख्या एक–दुई हप्ता अगाडिको संक्रमणको प्रभाव हो ।

अहिले जसरी दिनप्रति दिन संक्रमणदर बढेको छ, त्यसले आगामी हप्तामा अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्ने देखिन्छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘तेस्रो लहरबाट संक्रमित भएर अस्पताल पुग्ने अधिकांश संख्या केही हप्तापछि मात्रै पुग्छन् ।’

त्यसैले अबका केही हप्ता अझै कठिन हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले खोप नलगाएका तथा जेष्ठ नागरिकलाई बढी असर गरेको देखिन्छ । संक्रमण समुदाय स्तरमा फैलिँदै गरेकाले अबको केही हप्तापछि अस्पताल भर्ना हुने संख्या ह्वात्तै बढ्न सक्छ ,’ डा. पुन भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगामी वैशाखसम्म नयाँ ६ लाख संक्रमित पहिचान गर्न सकिने प्रक्षेपण गरेको छ । जसमध्ये माघमा ४ लाख, फागुन ७४ हजार, चैत्रमा ७ हजार र वैशाख बढेर २३ हजार संक्रमित प्रयोगशालाबाट पहिचान गर्न सकिने अनुमान छ ।

माघमा संक्रमित हुने अनुमान गरिएको ४ लाखमध्ये ३५–४० हजारलाई जटिल समस्या हुनसक्ने मन्त्रालयले औंल्याएको छ । त्यसैले अस्पतालहरुको चाप मात्र बढ्ने छैन, कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्ने देखिएको छ ।

शय्या बढाउँदै अस्पताल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका साथै चितवन, मकवानपुर, काभ्रे, धनुषा, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही लगायतका जिल्लाहरु रेड जोनमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हाल देशभरका अस्पतालमा १ हजार ८१७ संक्रमितको उपचार भइरहेको छ । र, अस्पतालहरुमा भर्ना हुने बिरामीको संख्या बढ्दो छ । बिरामीको चाप बढ्दै गएसँगै अस्पतालको शय्या विस्तार गर्दै लगेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका कोभिड फोर्कल पर्सन डा. निरज बम बताउँछन् । ‘नन कोभिडका बिरामीहरु घटाएर कोभिडका बिरामीलाई शय्या उपलब्ध गराउन थालिएको छ,’ डा. बमले भने ।

कोभिड युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत संक्रमणदर बढ्दै जाँदा अस्पतालमा भर्ना हुनेदर पनि बढिरहेको बताउँछन् । पछिल्लो विवरण अनुसार अस्पतालमा १६० जना भर्ना भएका छन् । ‘अक्सिजन चाहिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । १० दिन अगाडिसम्म ५–७ जना भर्ना हुने गरेका थिए । तर आजभोलि २५–३० जनासम्म पुगेका छन्,’ डा. बस्नेतले भने ।

अस्पताल भर्ना भएकामध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बताउँछन् । ‘समुदायमा संक्रमणदर बढ्दो क्रममा छ । ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा संक्रमण फैलिएको अवस्थामा हामीकहाँ भएका भौतिक पूर्वाधारले धान्न सक्दैन,’ डा. चालिसे भन्छन् ।

चिकित्सकहरुका अनुसार ओमिक्रोन भेरियन्ट नेपालमा दोस्रो लहर ल्याउने डेल्टाभन्दा कम घातक हो । तर यसले केही हुँदैन भन्ने सोत राख्नु घातक हुन्छ । डा. चालिसे भन्छन्, ‘ओमिक्रोनले केही गर्दैन वा गम्भीर अवस्थामा पुर्‍याउँदैन भन्ने मानसिकता राख्दा भोलिका दिनमा बिरामीलाई अस्पतालमा व्यवस्थापन गर्न गाह्रो पर्छ ।’

टेकु अस्पतालमा अहिले ५० प्रतिशत हाराहारी आईसीयू बेड भरिइसकेको अवस्था छ ।

सरकारी अधिकारी गएको दुई वर्षमा सघन उपचारका लागि उल्लेख्य मात्रामा पूर्वाधार विकास गरिएको बताउँछन् । अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक, तर डेल्टो जस्तो घातक नभएकाले अहिले भएका पूर्वाधारले धान्नसक्ने सरकारी अधिकारीको अनुमान छ ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर ८ हजार २०२ आइसोलेसन बेड, ३ हजार ८४६ एचडियू, २ हजार ७९७ आइसियू र १ हजार ८ भेन्टिलेटर छन् । त्यसैगरी, १५ हजार ४६५ अक्सिजन सिलिन्डिर, ६१३ अक्सिजन कन्सलन्ट्रेटर र ९८ अक्सिजन प्लान्ट छ ।

होम आइसोलेसनमा बस्दा हेलचेक्र्याईं नगरौं

सरकारको पछिल्लो तथ्यांक अनुसार होम आइसोलेसनमा ८८ हजार ९३४ संक्रमित छन् । चिकित्सकका अनुसार करिब ८० प्रतिशत संक्रमितलाई सामान्य उपचारले (घरमै बसेर) पनि निको हुने बताउँछन् । तर होम आइसोलेसनमा बसिरहँदा निरन्तर चिकित्सकको निगरानी र परामर्शमा बस्नुपर्ने उनीहरुको सुझाव छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोर्कल पर्सन तथा छाती रोग विशेषज्ञ डा. निरज बम पनि भाइरस निकै संक्रामक भएको र बिरामी ढिला गरी अस्पताल जाँदा जटिलता बढिरहेको बताउँछन् ।

‘दुई–चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने मानसिकता राखेर चिकित्सक परामर्श बिना औषधि खाँदा स्वास्थ्यमा झन् खतरा निम्त्याउन सक्छ,’ डा. बम भन्छन्, ‘स्वास्थ्यलाई जोखिममा राख्ने काम कसैले नगरौं । स्वासप्रश्वासमा समस्या आउनासाथ अस्पताल भर्ना हुनुपर्छ ।’

सुनेको भरमा आफुखुशी औषधि खाँदा पनि समस्या हुने भएकाले निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ । शरीरमा अक्सिजनको लेबल घटे, स्वासप्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भए तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन् ।

‘स्वासप्रश्वासमा समस्या, अक्सिजन लेबल घटेमा स्वास्थ्य अवस्था जटिलतिर जाँदैछ भन्ने बुझ्नुपर्छ । समयमै अस्पताल पुगे सम्भावित क्षतिलाई रोक्न सक्छौं,’ डा. बम भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?