+
+

हाम्रो जीवनशैली नै नसा सम्बन्धी समस्याको मुख्य कारण

टाउकोमा गह्रौं भारी बोकेर जीवन धान्नेहरु र कार्यालयभित्र कुर्सीमा बसेर काम गर्नेमध्ये कसलाई बढी नशासम्बन्धी समस्याको जोखिम होला ?

प्रा. डा. राजीव झा प्रा. डा. राजीव झा
२०७८ माघ १५ गते १४:१५

टाउकोमा गह्रौं भारी बोकेर जीवन धान्नेहरु र कार्यालयभित्र कुर्सीमा बसेर काम गर्नेमध्ये कसलाई बढी नसा सम्बन्धी समस्याको जोखिम होला ? सजिलो उत्तर हो भारी बोक्नेहरुलाई नै हुन्छ । तर अस्पतालमा आउने बिरामीको तथ्यांकले भने यसको ठीक उल्टो तथ्य देखाउँछ ।

अस्पतालमा आउने बिरामीको समस्यालाई विश्लेषण गर्दा नशासम्बन्धी समस्यामा यस्तैयस्ता अचम्म लाग्ने तथ्यहरु आउने गर्छन् । अस्पतालमा आएका बिरामीको संख्यालाई आधार मान्दा भारी बोक्ने वा बाहिर शारीरिक परिश्रमको काम गर्नेहरुमा भन्दा कार्यालयमा बसेर काम गर्नेमा नशासम्बन्धी समस्या बढी रहेको देखिन्छ ।

यो वीर अस्पतालमा आउने बिरामीको तथ्यांक हो । जहाँ उच्च आर्थिक हैसियत भएकादेखि दिनहुँ परिश्रम गरेर गरेर चुलो बाल्नेसम्मले सुविधा लिने गर्छन् ।

वंशाणुगत कि जीवनशैलीगत ?

अब प्रश्न आउन सक्छ, नशासम्बन्धी समस्या निम्तिने कारण के हो ? नशालाई प्रत्यक्ष असर गर्ने अनेक कारणहरु हुन्छन् । तर यसलाई सामान्यीकरण गर्ने हो भने नशासम्बन्धी समस्या एउटा वंशाणुगत कारणले हुन्छ भने अर्काे हामीले दैनिक जिउने जीवनशैलीको कारणले पनि हुने गर्छ । वंशाणुगत समस्याहरु सानै उमेरदेखि देखिन्छ भने जीवनशैलीगत समस्या हाम्रै गल्तीका कारण उमेरको ४ दशक पूरा भएपछि विस्तारै बढ्दै जान्छ ।

नशासम्बन्धी समस्यासँगै आउने अर्काे हो दिमाग सम्बन्धी समस्या । यो मुख्यतया पाँच कारणले हुने गर्छ । त्यसमध्ये जिनको समस्याका कारण ब्रेन ट्युमर जस्ता भयानक समस्या देखिन सक्छ भने चोटपटक, मान्छेको जीवनशैली, खानपिन लगायत कारणले पनि नशा र मस्तिष्कसम्बन्धी समस्या देखिन्छन् ।

सुत्ने र खानपान शैलीको नशासँग सम्बध

पूरा निद्रा नपुग्नुलाई धेरैले सामान्य मान्ने गर्छन् । निद्रा नपुग्दा भोलिपल्टको दिन त आलस्य हुन्छ नै यसले नशासम्बन्धी समस्याको विजारोपण पनि गर्न सक्छ । मान्छे कति बजे सुत्यो र कति बजे उठ्यो भन्नेले खासै फरक पार्दैन तर दिनमा कति घण्टा सुत्यो भन्ने कुराले भने पक्कै असर गर्छ । मान्छे दैनिक ८ घण्टा अनिवार्य सुत्नै पर्छ ।

कस्तो मान्छेलाई जोखिम ?

हाम्रो हिँडाइ, बसाइ र रहनसहन शैलीलाई हामी धेरै ख्याल गर्दैनौं । यही हामीले ख्याल नगर्ने कुरा नै हाम्रो नशाको समस्याको कारण बन्न सक्छ । औपचारिक क्षेत्रमा काम गर्नेहरु धेरै लामो समय कुर्सीमा बस्छन्, उनीहरुमा ढाड दुख्ने समस्या धेरै देखिएको छ ।

ढाडमा हुने समस्याले पनि नशा च्यापिने वा अन्य समस्या निम्त्याउँछ । अर्काेतिर ल्यापटपमा काम गर्नेहरुमा हातको नशा दबिने, कार्पेटनेल सिन्ड्रम जस्ता समस्याहरु देखिने गर्छ । यो धेरैमा देखिने समस्या हो । कुर्सीमै लामो समय बस्ने र अभ्यास नगर्नेहरुलाई नशासँगै अरु पनि अनेक रोगहरु लाग्ने जोखिम बढी हुन्छ ।

खानपानका कारण निम्तिने जोखिम

हिजोआज हाम्रो खानपान शैली अस्वस्थ खालको छ । हाम्रा खानाहरु कोलेस्ट्रोल बढाउने खालका देखिन्छन् । यस्तो अस्वस्थ खानपानका कारण शरीरमा रगत बग्ने नशाहरु विस्तारै खुम्चिँदै जान्छन् ।

हिजोआज १०० जनामध्ये ८५ जनामा रगत ब्लक भएर हुने स्ट्रोकको समस्या देखिने गर्छ । उमेर बढ्दै जाँदा धेरैले अभ्यास कम गर्ने भएकाले जीवनको उत्तरार्धमा स्ट्रोकको समस्या धेरै हुने गर्छ ।

स्क्रिनले नशामा पर्ने असर

लामो समयसम्म आँखाको सुरक्षाबारे ध्यान नदिई कम्प्युटरमा काम गर्ने हुन् या मोबाइल लामो समयसम्म हेर्दा आँखामा असर परिरहेको हुन्छ । त्यसको सिधा असर हाम्रो मस्तिष्कसम्म पर्छ । कार्यालयमा बसेर काम गर्नेहरुको बस्ने शैली प्रायः सधैं एकै खालको हुन्छ । यसले कम्मरको समस्या र ढाडको समस्या बढ्छ ।

नशासम्बन्धी समस्याको लक्षण के हो ?

नशा सम्बन्धी समस्या हुँदा अनेक लक्षणहरु देखिन्छन् । जस्तो, हातखुट्टा झमझमाउने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्यालाई नशा रोगको लक्षण मान्न सकिन्छ । संसारभरि नै नशासम्बन्धी समस्या हुनेमा बढी देखिने लक्षण हो, टाउको दुखाइ ।

त्यसो त टाउको दुख्नु नै संसार भरका मान्छेको साझा समस्या हो । त्यसैले सामान्य टाउको दुखाइलाई नै नशाको समस्या भनेर बुझ्नु गलत हुन्छ । तर दैनिक टाउको दुख्ने क्रम सधैंभरि चलिरह्यो भने चाहिँ त्यसलाई औषधि खाएर निको बनाउने नभई अस्पतालमा जचाउन गइहाल्नु पर्छ ।

नशासम्बन्धी समस्याका कारण हुने टाउको दुखाइमध्ये एउटा हो ‘टेन्सन टाइप हेडएक’ । सामान्यतया धेरै टेन्सन भएपछि टाउको दुख्ने भएकोले यसलाई टेन्सन टाइप भनिएको भन्ने पनि सुनिन्छ ।

तर यो टेन्सनले नभएर दिमागमा हुने नशा तन्किएर टाउको दुख्ने समस्या हो यो । चिसोमा टाउकाको छाला पनि कडा हुन्छ, नशा दबिन्छ । जसका कारण टाउको दुख्ने गर्छ । अर्काे टाउको दुख्ने समस्या दिमागभित्र रगत जमेको, ट्युुमर पलाएको, पानी जम्ने जस्ता कारणले पनि हुने गर्छ ।

नशासम्बन्धी समस्याको अर्काे लक्षण हो, ढाडको दुखाइ । समस्या मान्छेको बसाइ शैली र उसको पेशाले पनि यसलाई असर गर्ने गर्छ । साथै, उमेरले पनि यसलाई असर गर्ने गर्छ । उमेर बढ्दै गएपछि नशा दबिँदै जाने समस्या देखिन्छ ।

त्यसो त नशासम्बन्धी समस्या यही उमेर समूहकालाई लाग्छ भन्ने छैन । यसले कुनैपनि उमेर समूहकालाई छाड्दैन । भर्खर जन्मिएको बच्चादेखि ९० वर्षको उमेरसम्मका वृद्धमा पनि यसको समस्या देखिन्छ । तर यी दुई उमेर समूहमा समस्या भने फरक हुने गर्छ ।

वच्चामा वंशाणुगत असरका कारण देखिने नशा सम्बन्धी समस्या देखिन्छ भने ५० वर्षको उमेरसम्म पुग्दा मान्छेमा ब्रेन ट्युमर जस्ता समस्या देखिने गर्छ ।

महिलामा बढी ‘टेन्सन टाइप हेडएक’

लैंङ्गिक रुपमा हेर्ने हो भने महिलाहरुमा पुरुषको तुलनामा धेरै टाउको दुख्ने समस्या देखिएको छ । यसबारे अरु पनि केही थप अध्ययन होलान् । तर हामीले परीक्षण गरेका बिरामीको आधारमा भन्दा महिलाहरुमा टाउको दुखाइको समस्या धेरै देखिएको हो ।

त्यसो त टाउको दुख्नुको पनि धेरै कारणहरु हुन्छन् । महिलाहरुमा टेन्सन टाइप हेडएकको संख्या धेरै देखिएको छ । यसबाहेक महिनावारी वा अन्य अवस्थामा हर्माेनहरु धेरै परिवर्तन भइरहने भएकाले पनि उनीहरुमा समस्या धेरै देखिने हुन्छ ।

हात खुट्टाहरु झमझमाउने लक्षण पनि नशासम्बन्धी समस्याको लक्षण हो । यो अन्य कारणले गर्दा पनि हुन सक्छ । मधुमेह वा रक्तचापको कारणले पनि हुन सक्छ । तर ९५ प्रतिशत मान्छेमा न्युरोसम्बन्धी समस्यामा हात खुट्टा झमझमाउने समस्या देखिने गर्छ । अर्काे मानसिक समस्याले गर्दा पनि यस्तो समस्या देखिने गर्छ । त्यसैले मान्छेले संवेदनशीलता अपनाउनुपर्ने हुन्छ ।

बच्ने कसरी ?

हिजोआज समयमा नै उपचार गराउन आउनेको संख्या बढेकाले हुन सक्छ बढी जोखिमपूर्ण समस्या लिएर कमै बिरामी आउने गरेका छन् । त्यसैले नशासँग सम्बन्धित लक्षण देखिएको छ भने तुरुन्त उपचार गराइहाल्नुपर्छ । यसको लागि बेलाबेलामा हरेक सिस्टमको जाँचहरु गराउनुपर्छ ।

कहिलेकाहीँ टाउको सबैलाई दुख्छ तर टाउको दुखेको सधैंभरि औषधि खाइरहनुपर्ने जस्तो समस्या भएको र वर्षदिनसम्म यस्तो समस्या दोहोरिरह्यो भने त्यो नशासम्बन्धी समस्याले भएको हुन सक्छ । तर कतिपय समस्याहरु एकपटक भयो भने त्यसलाई फेरि पनि भयो भने मात्र अस्पताल जान्छु भनेर हेलचेक्र्याइँ गर्नु हुन्न ।

जस्तो, छारे रोगको लक्षण देखियो भने फेरि भयो भने जचाउँछु भनेर बस्नु हुन्न । कोही बिरामीहरु हातखुट्टा झम्झमाउने जस्ता समस्या लामो समयसम्म चलिरहँदा पनि अस्पताल नआउने गरेको देखिन्छ । त्यसैले यस्तो गल्ती गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?