+
+

‘मधेशमा छोरी पढाउने आमा-बुवाको शान हुनथाल्यो’

निर्भया ठाकुर, विद्यार्थी, फूड टेक्नोलोजी निर्भया ठाकुर, विद्यार्थी, फूड टेक्नोलोजी
२०७८ माघ २१ गते १९:५९

मेरो घर जनकपुरको जलेश्वर हो । म काठमाडौं बस्न थालेको तीन वर्ष हुन लाग्यो । अहिले ललितपुरको एउटा होस्टलमा बसेर फूड टेक्नोलोजी पहिलो वर्षमा पढिरहेकी छु । जहाँ म एक्लो मधेशी विद्यार्थी छु ।

अहिले मधेशमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना बढ्दै गइरहेको छ । पछिल्लो ६–७ वर्षदेखि छोरी पढाउने ट्रेन्ड बढेको छ । पहिला शिक्षित व्यक्तिहरू (पुरुष) ले पनि छोरी पढाउनुपर्छ भन्ने सोच्दैनथे । जागिरे, आर्थिक अवस्था राम्रो भएका परिवारका छोरीहरू विद्यालय जान पाउँथे । त्यो पनि कक्षा १० सम्म हो । त्यसपछि बिहे गरिदिने प्रचलन थियो । बिहेपछि श्रीमान्को घर बुझ्ने भयो भने पढ्न पाउँथे नभए बालबच्चा स्याहार्ने, बस्ने हुन्थ्यो । घरभन्दा टाढा अर्को शहर धरान, काठमाडौं पढ्न जाने छोरीहरू ज्यादै न्यून हुन्थे ।

अहिले धेरै परिवर्तन भएको छ । सामान्य आर्थिक अवस्था भएको परिवारको छोरीले पनि इच्छा गरिन् भने कम्तीमा पनि स्नातकसम्म पढाउँछन्; घर बाहिर होस् वा घरमा राखेर । काठमाडौं, पोखरा, विराटनगर, धरान जस्ता शहरमा मात्रै नभएर भारत, बंगलादेशलगायत देशमा पनि पढ्न पठाइरहेका छन् ।

मलाई पनि काठमाडौं गएर, होस्टलमा बसेर पढ्छु भन्दा परिवारमा समस्या भएन । किनभने मेरो दिदी मभन्दा अगाडि नै लोकसेवाको तयारी गर्न काठमाडौं आइसक्नुभएको थियो । जसले गर्दा मलाई काठमाडौं पढ्न आउन सहज भयो ।

कतिपय छोरीको पढ्ने इच्छा भए पनि घरभन्दा टाढा असुरक्षित हुने डरले पठाउन नचाहेर घरैमा बसेर नजिकैको कलेज पढाउने अभिभावक पनि छन् । तर पहिलाको तुलनामा यो संख्या धेरै कम छ । मेरो एक जना बहिनी त्यही कारण जनकपुरमा बसेर पढिरहेकी छिन् । उनले पढ्न चाहेको विषय त्यहाँ छैन तर अभिभावकले पठाउन नचाहेको कारण उनी त्यहाँ उपलब्ध विषय पढ्न बाध्य छिन् ।

छोरी पढाउँदा भविष्यमा दुःख नपाओस् भनेर मात्रै होइन, पढाउने आमाबुवाको शान छुट्टै हुन्छ समाजमा । मैले मेरो छोरी पढाएको छु भनेर समाजलाई देखाउनको लागि पनि छोरी पढाउँछन् अहिले । यो होइन कि छोरीले राम्रो पढी भने कमाउँछे र हामीलाई पाल्छे भनेर । मधेशी समाजमा अझै पनि छोरीको कमाइ खानुहुँदैन भन्ने सोच छ ।

अर्को मुख्य कारण भनेको केटाहरूले पढेको केटीसँग बिहे गर्न खोज्नु पनि हो । अहिलेका मधेशी केटाहरूले पढेको केटीसँग बिहे गर्न खोज्छन् । त्यसले गर्दा पनि अभिभावकलाई छोरी पढाउनुपर्ने रहेछ भन्ने भएको छ । मलाई लाग्छ केही वर्ष यतादेखि मधेशका छोरीहरू विद्यालय बाहिर एकदमै कम छन् । भित्री गाउँका अभिभावकहरूले पनि छोरीहरूलाई विद्यालय पठाउन थालेका छन् ।

यसमा सरकारले ल्याएको दिवा खाजा कार्यक्रम, प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमले गाउँमा प्रभाव पारेको छ । दिवा खाजा कार्यक्रमको कारण धेरै बालिकालाई अभिभावकले विद्यालय पठाउन थालेका छन् ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत साइकल वितरण कार्यक्रमले धेरै छोरी विद्यालय जान पाएका छन् । जसको पाँच हजार मासिक आम्दानी छ उसले तीन हजार, पैंतीस सयको साइकल पाउँछ भने त साइकलको लोभले पनि छोरी विद्यालय पठाएको छ । यो कार्यक्रमले छोरीलाई प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।

विषय रोज्ने स्वतन्त्रता अझै छैन

अहिले पनि छोरीहरूलाई उच्च शिक्षा पढ्न आफूले चाहेको विषय रोज्ने स्वतन्त्रता धेरै कम छ । अर्को शहर पढ्न जानको लागि पनि । उनीहरू यदि घरै बसेर स्थानीय कलेजमा पढ्न चाहन्छन् भने अभिभावकले पढाउँछन् । तर अर्को शहरमा पढ्न जाने इच्छा गरे र पढाइ राम्रो छ भने त अभिभावकले नै हो विषय रोज्ने ।

मधेशमा धेरैजसो अभिभावकहरूको पहिलो प्राथमिकता एमबीबीएस हुन्छ । आर्थिक अवस्था राम्रो भएकाहरूले त पैसा तिरेर पनि पढाउन सक्छन्, पढाउँछन् । पैसा तिरेर पढाउन नसक्नेलाई पनि छात्रवृत्तिको लागि प्रयास हुन्छ त्यसपछि त्यहाँ भएन भने इन्जिनियरिङतिर आउने धेरै छन् । मध्यम वर्गको परिवारले पैसा तिरेर छोरीलाई डाक्टर पढाउने पनि कम छन् ।

किनभने डाक्टर पढ्न कम्तीमा पनि ८० लाख रुपैयाँ लाग्छ । त्यति धेरै पैसा छोरीको पढाइमा खर्च गर्न अभिभावक चाहँदैनन् । पढ्ने हो भने छात्रवृत्तिमा नाम निकाल्न सक्नुपर्छ । इन्जिनियर, नर्स, फार्मेसी जस्ता विषयको लागि भने खर्च गर्न तयार हुन्छन् । किनभने १० देखि १५ लाख रुपैयाँमा पढाइ पूरा हुन्छ । छोरीको बिहेको लागि जति खर्च गर्छन् अझै पनि त्यति पढाइका लागि चाहिं खर्च गर्दैनन् ।

अधिकांश अभिभावकलाई अरू विषय पढेर भविष्य कस्तो हुन्छ भन्ने जानकारी हुँदैन । पढिसकेपछि पैसा कमाउनुपर्छ र त्यसका लागि प्राविधिक विषय भन्दा बाहेक अरू पढेर हुँदैन भन्ने भ्रम छ । किनभने वरपर, आफन्तका छोराछोरीले यही विषय पढेको सुने/देखेका छन् ।

म आफैं पनि एमबीबीएसमा छात्रवृत्तिको लागि आएकी हुँ । अहिले मैले पढिरहेको विषयबारे मलाई थाहै थिएन । एमबीबीएस तयारी कक्षा पढ्ने क्रममा साथीहरूबाट थाहा पाएकी हुँ । एमबीबीएसमा छात्रवृत्तिमा प्रयास गरें, भएन । पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन । त्यसपछि कृषि विज्ञान, पशु विज्ञानतिर प्रयास गरें । त्यहाँ पनि नभएपछि फूड टेक्नोलोजी पढ्न थालेकी हुँ ।

काठमाडौं आएर चिकित्सा, इन्जिनियर भन्दा बाहेकको विषय लिएर पढ्ने मधेशका छोरीहरू एकदमै न्यून छन् । त्यो बाहेक लोकसेवा तयारीको कक्षा पढ्नको लागि आउनेहरू हुन्छन् । तर अब यो पनि परिवर्तन हुन्छ । छोरीहरू आफैं पनि आफ्ना आमाबुवालाई बुझाउने कोशिश गर्छन् । अभिभावकहरू पनि पहिलाको जस्तो आफ्नै कुरामा अडिग हुने खालका छैनन् ।

मधेशी समाजमा समय अनुसार अगाडि बढ्नुपर्छ भन्ने अभिभावकहरूको संख्या बढ्दै गएको छ । छोरी पढाउनको लागि समाज, अभिभावक अहिले जसरी उत्प्रेरित छन् त्यसैगरी विषय छनोटमा पनि आगामी दिनमा लचकता देखाउँछन् जस्तो लाग्छ । मधेशमा अबको केही वर्षमा छोरासरह घर जग्गा बेचेर भए पनि छोरीलाई पढाउने अभिभावक हुन्छन् जस्तो लाग्छ ।

(ललितपुर भ्याली कलेजमा फूड टेक्नोलोजी पढिरहेकी निर्भयासँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?