+
+

घुँडाको उपचारपछि सावित्रा स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ६:५५

२६ माघ, काठमाडौं । कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् ।

कतारमा करिब ७ महिनाको उपचार गराएर सावित्रा मंगलबार नेपाल फर्कीएकी हुन् । कतार एयरलाइन्सको विमानमा काठमाडौं आइपुगेकी उनलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । असार ३० गते कतारको दोहास्थित एस्पेटर स्पोर्ट्स मेडिसिन एन्ड अर्थोपेडिक हस्पिटलमा सावित्राको घुँडाको शल्यक्रिया गरिएको थियो ।

गत वर्ष भएको महिला राष्ट्रिय लिगअन्तर्गत एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबविरुद्धको खेलमा सावित्राको घुँडामा चोट लागेको थियो । दोस्रो हाफमा बल प्रहार गर्ने क्रममा ल्याण्डिङमा सन्तुलन नहुँदा उनको घुँडामा चोट लागेको थियो ।

त्यसपछि एमआरआई रिपोर्टमा घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको र मिडियल मिनिस्कस (घुँडाको बाहिरी भागको लिगामेन्ट) पनि हल्का च्यातिएको देखिएको थियो । यस्तै मिडियल कोल्याटेरल लिगामेन्ट (एमसीएल) पनि तन्किएको थियो ।

त्यस लिगमा सावित्राले १० खेल खेल्दै ७ ह्याट्रिकसहित सर्वाधिक ४३ गोल गरेकी थिइन् । एपीएफले शतप्रतिशत जितसहित लिग उपाधि रक्षा गर्‍यो ।

राष्ट्रिय टिमका लागि कीर्तिमान ३८ गोल गरेकी सावित्रालाई एन्फाले उपचारका लागि सहयोग गरेको थियो । उनी कतार १२ गते कतार गएकी थिइन् ।

नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट महिला खेलाडीको रुपमा रहेकी साम्बा लिग दौरान नै विदेशमा खेल्न एजेन्टको खोजीमा थिइन् । तर चोटका कारण उनको यो चाहना अघि बढ्न सकेन ।

यस्तै सावित्राले सेप्टेम्बरमा भएको एसियन वुमन्स कप छनोट पनि गुमाएकी थिइन् । जसको असर नेपाली टिममा प्रष्ट देखिएको थियो ।

फोटो : रुपेश अधिकारीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?