+
+

के अन्तरिक्ष युद्धतर्फ अघि बढ्दैछन् अमेरिका, रुस र चीन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १४:००

सन् १९८२ मा सोभियत संघले कसमस १४०८ नामको एक जासुसी उपग्रह अन्तरीक्षमा पठायो । अन्तरीक्षमा गएको दुई वर्षपछि उक्त स्याटेलाइट बिग्रियो र त्यहीँ बेलादेखि आफ्नो कक्षमा घुमिरहेको थियो ।

अन्ततः नोभेम्बर २०२१ मा रुसले एक एन्टी स्याटेलाइट मिसाइल प्रक्षेपण गरेर उक्त बिग्रिएको स्याटेलाइटलाई नष्ट गरिदियो । त्यसक्रममा करिब १५ सयवटा टुक्रा अन्तरिक्षमा फैलिए । यसअघि सन् २००८ मा अमेरिका र सन् २००७ मा चीनले यस्तै गरी आफ्ना बेकामे स्याटेलाइटहरू नष्ट गरेका थिए ।

रुसको पछिल्लो कदमको तीव्र आलोचना भयो किनकि स्याटेलाइटका टुक्राहरू कुनै अरु यानसँग ठक्कर खाएर अन्तरिक्षमा ठूलो दुर्घटना हुन सक्दथ्यो ।

यो घटनापछि के त्रास उत्पन्न भएको छ भने कुनै पनि कानून नतोडेरै अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्न सकिन्छ भन्ने कुरा रुसले देखाइदिएको छ । तर आगामी दिन यस्तो नहुन पनि सक्दछ ।

अन्तरिक्षमा फोहोर

हार्वार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका अन्तरिक्ष भौतिक वैज्ञानिक जोनाथन म्याकडाभेलका अनुसार मानिसहरूले अन्तरिक्षलाई मानिसहरूले काम नलाग्ने ठाउँ मान्दछन्, तर त्यसो होइन ।

सन् २०२१ को अप्रिलसम्मको तथ्यांक अनुसार पृथ्वीभन्दा केही सय किलोमिटरमाथि अन्तरिक्षमा ७ हजार ३०० भन्दा धेरै स्याटेलाइटहरू तीव्र गतिले पृथ्वीको परिक्रमा गरिरहेका छन् । यी सबै १७ हजार माइल प्रतिघण्टाको गतिले दौडिरहेका छन् र हरेक दिशामा घुमिरहेका छन् । यो एक ठूलो खेल मैदान जस्तै हो जहाँ खेलाडीहरू यताउता भागिरहेका हुन्छन् ।

आफ्नो कक्षमा रहनका लागि स्याटेलाइटलाई यति तीव्र गतिमा दौडिनु पर्दछ । अन्तर्राष्ट्रिय स्पेस स्टेन तथा अन्य स्याटेलाइटहरूले एक दिनमा पृथ्वीको १६ पटक परिक्रमा गर्दछन् ।

आखिर यतिधेरै स्याटेलाइटहरूले अन्तरिक्षमा के गरिरहेका छन् ?

म्याकडाभेल भन्छन् – आमरुपमा स्याटेलाइटको प्रयोग सञ्चारमा हुनछ, जस्तो टेलिभिजन प्रसारण, टेलिफोन तथा इन्टरनेट, मौसम पूर्वानुमान तथा उड्ययनका लागि । स्याटेलाइटबाट पृथ्वीको स्थिति हेर्न सहज हुन्छ, त्यसैले जलवायु परिवर्तनका बारेमा अनुसनधान गर्नपनि यो सहयोगी हुन्छ ।

अर्थात् पृथ्वीमा हाम्रो आवश्यकताको ठूलो हिस्सा यिनै स्याटेलाइटसँग जोडिएको छ । पहिले अधिकांश स्याटेलाइट सरकारहरूले प्रक्षेपण गर्दथे, जस्तो शीतयुद्धका बेला अधिकांश स्याटेलाइट या त अमेरिकी सरकारले प्रक्षेपण गर्दथ्यो, या त सोभियत सरकारले ।

तर समयसँगै व्यवसायिक प्रयोगका लागि निजी कम्पनीहरू यो क्षेत्रमा आइरहेका छन् । प्रश्न यो छ कि यदि यस्तो ठूलो संख्यामा स्याटेलाइटहरूले अन्तरीक्षमा चक्कर काटिरहेका छन् भने यिनीहरू एक आपसमा किन ठोक्किंदैनन् ? के यिनीहरूका लागि कुनै नियामक छ ?

म्याक्डाभेल भन्छन्- यिनीहरूको विषयमा नियमन निकै साधारण छ । रेडियो फ्रिक्वेन्सीको प्रयोगका लागि निकै कडा नियम के छ भने एउटाको तरंगमा अर्कोले बाधा पुर्‍याउनु हुँदैन । तर आफ्नो अक्षमा आफूले जे चाह्यो त्यो गर्न सकिन्छ । अन्तरिक्षमा यस्तो सडक छैन जस्तो सडकमा कारहरू नियम अनुसार समान गतिमा एक दिशामा गइरहन्छन् । त्यहाँ त कोही यता गैरहेको हुन्छ भने अर्को उता । अन्तरिक्ष निकै ठूलो ठाउँ हो र यहाँ एउटासँग अर्को ठोक्किने सम्भावना हुँदैन भन्ने मान्यता निकै ठूलो समस्या बनिरहेको छ ।

गम्भीर चिन्ता

अन्तरिक्ष अब भीडभाडयुक्त ठाउँ बनिरहेको छ र टकरावको स्थितिबाट जोगिने प्रयासहररु पनि बढिरहेका छन् ।

अधिकांश फोहोर अर्थात् स्याटेलाइटका टुक्राहरूको निगरानी गर्ने गरिएको छ । तर गतवर्ष रुसले आफ्नो स्याटेलाइट नष्ट गर्दा निस्किएका टुक्राहरूको पनि ट्रयाक गरिएन । त्यसका केही टुक्राहरू अन्तराष्ट्रिय स्पेस स्टेसनको कक्षको नजिक थिए ।

म्याक्डाभेलका अनुसार त्यसबेला हरेक ९३ मिनेटमा मिसन कन्ट्रोल रेडियोमा स्पेस स्टेसनलाई सन्देश दिइरहेको थियो कि स्पेस स्टेसन फोहोरका टुक्राको नजिकबाट जाँदैछ, त्यसैले सुरक्षित रहनुहोस् भनेर । खासमा अन्तरिक्ष फोहोरको स्थितिको बारेमा वास्तविकता थाहा नहुँदा पनि यसबाट बँच्न निकै कठिन हुन्छ ।

यदि एउटा देशको एउटा स्याटेलाइट नष्ट गर्दा यति ठूलो खतरा पैदा हुनसक्दछ भने जानीबुझी नोक्सान पुर्‍याउने कोसिस गरियो भने कतिठूलो विध्वंस होला ? अनुमान गर्न सकिन्छ ।

के दुई मुलुकबीचको तनाव पृथ्वीमा मात्र सीमित नरहेर अन्तरिक्षसम्म पुग्ने सम्भावना रहला ?

म्याकडाभेलका अनुसार जब मानिसले अन्तरिक्षमा पाइला राख्यो त्यही बेलादेखि नै अन्तरिक्षमा सैन्य उपस्थिति हुन थालेको हो । यद्यपि मुलुकहरूले अन्तरिक्षमा हतियार पठाएका छैनन् तथापि पृथ्वीमा आफ्नो सोनाको सहयोगका लागि जासुसी वा सञ्चार स्याटेलाइट लञ्च गरिरहेका छन् । तथापि अमेरिका र अन्य देशको सेनाले अन्तरिक्षमा युद्धको कुरा गरिरहेको छ ।

आधुनिक सेना धेरै हदसम्म सञ्चार सम्पर्कका लागि स्याटेलाइटमा निर्भर हुन्छ । त्यसैले पृथ्वीमा युद्ध सुरु हुँदा त्यो अन्तरिक्षसम्म पुग्न सक्दछ । यदि अन्तरिक्ष युद्ध भयो भने अन्तरिक्षमा यो भन्दा निकै ठूलो परिमाणमा फोहोर पैदा हुनेछ र त्यसपछि बाह्य अन्तरिक्ष प्रयोगका लागि अनुपयुक्त बन्नेछ । अन्तरिक्षमा तनावको असर लाखौं करोडौं मानिसको जीवनमा पर्नेछ ।

चिन्ताको विषय के भने यो भविष्यको कुरा होइन, यो सुरु भैसकेको छ ।

अन्तरिक्ष कक्षमा तनाव

विज्ञका अनुसार अन्तरिक्षमा चलिरहेका एक अर्काका अभियानलाई नोक्सान पुर्‍याउनुमा मुलुकहरूका विभिन्न स्वार्थ हुन सक्दछन् ।

अन्तरिक्षमा दखल पुर्‍याएर सत्रुसम्म पुग्ने जानकारी रोक्नु शक्ति राष्ट्रको लागि सफलता सावित हुनसक्दछ ।

अन्तरिक्ष अभियानमा दखल पुर्‍याउने विभिन्न उपायहरू छन् । यस्ता एन्टी स्याटेलाइट मिसाइलहरू छन्, जसले स्याटेलाइटहरूलाई ध्वस्त पार्न सक्दछन्,जीपीएस जाम गर्न सक्दछन् र स्याटेलाइटको अप्टिकल सेन्सरलाई पनि केहीबेरका लागि निकम्मा बनाइदिन सक्दछन् ।

विज्ञका अनुसार अहिले अन्तरिक्षमा एक प्रकारको ट्राफिक जामजस्तो स्थिति छ, विशेषगरी पृथ्वीको तल्लो अक्षीय क्षेत्रमा । त्यहाँ ठूलो संख्यामा स्याटेलाइटहरू छन् । त्यहाँ बिग्रिएका स्याटेलाइटहरू, रकेटका टुक्रा तथा नष्ट गरिएका स्याटेलाइटका टुक्राहरू पनि छन् । यदि त्यस्तो क्षेत्रमा कुनै स्याटेलाइटले काम गर्न छाड्यो भने त्यसको गडबडी र कारण तत्काल पत्ता लगाउन मुस्किल हुन्छ । यस्तो अवस्थामा एक मुलुकले अर्को मुलुकमाथि आरोप लगाउने र त्यसैको निहुँमा अन्तरिक्षमा विध्वंसात्मक गतिविधि हुनसक्ने जोखिम रहन्छ ।

यद्यपि यी सबैको बाबजुत अन्तरिक्षमा यस्ता धेरै अभियानहरू छन् जहाँ संसारका विभिन्न मुलुकहरू एकसाथ मिलेर अगाडि बढिरहेका छन् । तर यो पनि साँचो हो कि अन्तरिक्ष सेनाको लागि पनि रणनीतिकरुपमा महत्वपूर्ण बनिरहेको छ । यस्तोमा अन्तरिक्षलाई शान्तिपूर्ण ठाउँ बनाइराख्नका लागि के गर्नुर्दछ ?

अमेरिकाको मिसिसिपी युनिभर्सिटीकी प्राध्यापक तथा अन्तरिक्ष कानूनविद् मिसेल हेनलका अनुसार पृथ्वीभन्दा हजारौँ किलोमिटर टाढा अन्तरिक्षमा घुमिरहेका आफ्ना स्याटेलाइटहरू कानूनको दायराभन्दा बाहिर छन् भन्ने कुनै मुलुकलाई लाग्छ भने त्यो गलत हो ।

विज्ञका अनुसार पृथ्वीमा डिजिटल प्रविधिसँग सम्बनिधत हमलाले भविष्यमा साइबर स्पेस तथा अन्तरिक्षमा के के हुनसक्छ भन्ने कुराको संकेत गर्दछ ।

पछिल्ला केही समयमा हामीले मानव जीवनसँग सम्बन्धित हरेक विषयमा हमला देखेका छोँ । युद्धको जड पृथ्वी नै हुनेछ, चाहे त्यसको दायरामा साइबर स्पेस आओस् वा अन्तरिक्ष । जबसम्म लड्ने शक्तिमाथि कुनै प्रकारको असर पर्दैन र त्यसलाई रोक्नका लागि कुनैखाले प्रोत्साहन दिइँदैन तब कुनै पनि क्षेत्र युद्धको प्रभावबाट मुक्त हुन सक्दैन ।

द इकोनोमिस्ट पत्रिकाका प्रतिरक्षा सम्पादक शशांक जोशीका अनुसार युक्रेन तनावका बीच पछिल्लो समय रुसमाथि लागेको आरोपले अन्तरिक्ष युद्धको पूर्वाभ्यासको संकेत दिन्छ । रुसले युक्रेनको सीमा क्षेत्रमा रहेका आफ्ना सैन्य बलको तस्वीरहरूलाई राडारमा आउनबाट रोकिरहेको छ ।

उनका अनुसार सेन्टिनल नामको एक राडार स्याटेलाइट छ । जसको प्रयोग युक्रेनको आसपासमा रुसी सैन्य पोष्टहरूको तस्वीर लिनका लागि प्रयोग गरिएको छ । तर त्यस्ता तस्वीर लिनबाट रोक्नका लागि रुसले स्याटेलाइटमा छेडछाड गरिरहेको दाबी गरिएको छ । यो वास्तवमा अन्तरिक्ष युद्धको पूर्वाभ्यास हो, जुन दैनिक रुपमा भैरहेको छ ।

साइन्स फिक्सन फिल्ममा देखिने अन्तरिक्ष युद्धको तुलनामा वास्तविकतामा अन्तरिक्ष युद्ध निकै विनासकारी हुनसक्दछ । जुन देशसँग जतिधेरै हार्डवेयर हुन्छ, ऊ उतिनै धेरै असुरक्षित बन्ने देखिन्छ । यो मामिलामा चीन र अमेरिका लगभग एकैस्तरमा छन् । तर अन्तरिक्षमा सबैभन्दा धेरै स्याटेलाइट हुने देश अन्तरिक्षमा सबैभन्दा धेरै शक्तिशाली हुन्छ भन्ने ठान्नु गलत हुन्छ ।

विज्ञका अनुसार इरान वा उत्तर कोरियाजस्ता मध्यम शक्तिहरूसँग धेरै स्याटेलाइट छैनन् । तथापि उनीहरू जीपीएस सिग्नलको फ्रिक्वेन्सी जाम गरेर, लेजरबाट समेत अन्तरिक्षलाई प्रभावित गर्न सक्दछन् । र, यसका लागि यसमा केवल ठुला शक्तिहरू मात्र सामेल छैनन् । अन्तरिक्षलाई प्रभावित गर्ने क्षमता, अन्य देशलाई झुकाउने प्रयास वा अन्तरिक्षको उपयोग कसरी गर्ने ? यो सबै कुरा अब कुनै मुठ्ठिभरका मुलुकहरुसँग मात्र सिमित छैन ।

विज्ञ भन्छन्-अन्तरिक्षको ट्राफिक लेन्सका बारेमा विनियम तय गरिनु पर्दछ । अन्तरिक्षमा जम्मा भैरहेको फोहोरका विषयमा नियम हुनु पर्दछ, किनकि यो अब अस्थिर बनिरहेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?