+
+
किन संसदमा टेबल भएन एमसीसी ? :

प्रधानमन्त्रीसँग प्रचण्डले भने : घेराबन्दीमा परें, सरकार छाड्छु

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ फागुन ४ गते २१:४४

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् । यससँगै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग ल्याउने प्रस्तावमा सहमति गरे ।

प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाव दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो ।

तर संसद बैठक अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको योजना बिथोल्यो । माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो ।

संसदीय दलको बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय सुनाउँदै उनले भनेका छन्, ‘म सांसदहरुको घेराबन्दीमा परें, मैले सक्दै सकिनँ । कोशिश गर्दा पनि नसकेकाे हुँदा सरकारमा बस्नु उपयुक्त हुन्न, सरकार छाड्छौं ।’

प्रचण्ड त्यतिमा मात्र रोकिएनन्, एमसीसी टेबल गरिए विपक्षमा मत दिने समेत बताएका छन् ।

प्रधानमन्त्रीले नेताहरुलाई बताएअनुसार सरकार छाड्ने प्रचण्डको प्रस्ताव अस्वाभाविक थियो । यद्यपि एमसीसी पास फेल जे भए पनि संसदमा टेबल गर्न दिनुपर्नेमा जोड दिएको बालुवाटार निकट स्रोत बताउँछ ।

प्रचण्डले संसदमा अवरोध कायमै रहेको र सत्तारुढ गठबन्धनमा छलफल नभएको बताए । यदि आफूहरुको सहमति विना टेबल गर्न खोजे तत्काल सरकार छाड्ने उनको चेतावनी थियो । त्यसपछि देउवा गठबन्धनको बैठक बोलाउन तयार भए ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ ।

कांग्रेस नेताहरुका अनुसार त्यो बैठकमा प्राधनमन्त्री एवं पार्टी सभापतिको जोड एमसीसी टेबल गर्नेमा हुनेछ । एक पदाधिकारी भन्छन्, ‘सरकारको प्रस्ताव संसदमा छिर्नै नपाउने भन्ने पनि कहीं हुन्छ ? टेबल गरेपछि विपक्षमा मत दिने कि अनुपस्थित हुने उहाँहरुको कुरा भयो । तर सरकारले एमसीसी टेबल गर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको अडान हो, भोलि पनि त्यही भन्छौं ।’

टेबल गर्न दिए पास हुन्छ !

यदि प्रचण्डले एमसीसी संसदमा टेबल गर्न दिने भने माओवादी र एकीकृत समाजवादीले विपक्षमै मत दिंदा पनि अनुमोदनको सम्भावना हुने कांग्रेस नेताहरु बताउँछन् ।

प्रमुख विपक्षी एमालेले एमसीसीबारे संस्थागत निर्णय गरेको छैन । विपक्षमा उभिनुपर्ने चर्को दबाव भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले केही बोलेका छैनन् । बरु सांसदमा सांसदहरुको उपस्थितिलाई अनिवार्य गरेको छ । एमाले यही अवस्थामा रहने हो भने एमसीसी अनुमोदनको प्रक्रियामा लैजाँदा उनीहरुले भोटिङमा भाग नै लिने छैनन् । त्यो बेला एमसीसीको पक्षमा ८६ मत पुग्ने कांग्रेसको हिसाब छ । १३ सांसद भएको लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका बहुमत सांसदले पक्षमा मत दिने उनीहरुको दाबी छ ।

त्यो अवस्थामा ४९ सांसद भएको माओवादी केन्द्र र २४ सांसद भएको एकीकृत समाजवादीले विपक्षमा मत दिंदा पनि एमसीसी अनुमोदन गर्न सकिने कांग्रेसको विश्वास छ ।

तर संसदीय दलमा संसदको अवरोध कायम रहँदासम्म एमसीसी टेबल गर्न नहुने निर्णय गराइसकेका प्रचण्डले मान्छन् भन्नेमा कांग्रेस नेताहरु कम आशावादी छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो बचनमा अडिने उनीहरुको आशा छ । प्रचण्डले नमान्दासम्म सभामुखले अड्काउने उनीहरुको बुझाइ छ । कांग्रेस एक नेता भन्छन्, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा अलमल छ । अहिले पनि हाम्रो प्रयास गठबन्धनमा सहमति खोज्ने र अगाडि बढाउने हो । तर भोलि सहमति जुटेन भने अरु विकल्पमा जान्छौं ।’

माओवादी अध्यक्ष प्रचण्डले भने अमेरिकासँग सम्वाद गरेर एमसीसीको म्याद थप्ने विकल्प पनि सुझाएका छन् । तर अमेरिका र एमसीसीले भने सम्झाैता अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् फाुगन १६ सम्मको समय दिएका छन् ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?