+
+

पहिलो महिनावारी उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १४:४८

६ फागुन, काठमाडौं । स्वयम्भू सानोभर्‍याङ निवासी अनुपा रेग्मी दम्पतीले बुधबार ११ वर्षीय समृद्धि बस्ताकोटीको पहिलो महिनावारी उत्सव मनाएका छन् । पेशाले नर्स अनुपा मर्यादित महिनावारीको बारेमा वकालत गर्दै आएकी छन् ।

स्त्री तथा प्रजनन सम्बन्धी रोगहरू महिनावारीसँग जोडिएर आउने भएकाले मर्यादित महिनावारीबारे जनचेतना जगाउन, बढाउनको लागि महिनावारी उत्सव मनाउनुपर्ने बताउँछिन् । कक्षा ५ मा अध्ययरत समृद्धि बुधबार बिहान महिनावारी भएको आमा अनुपालाई सुनाइन् ।

सरसफाइ, प्याड प्रयोग गर्ने, व्यवस्थापनबारे सिकाइन् । त्यसपछि स्कुल जानुपर्ने कुरा सम्झेर आत्तिएपछि किन भनेर सोध्दा विद्यालयको शौचालयमा प्याड फाल्ने डस्टबिन नभएको र बाहिर गएर फाल्दा केटाहरूले देख्ने असहजता सुनाइन् । त्यसपछि प्याड फाल्न, किन्न सामान्य हो जो–कोहीले देख्दा असहज मान्नुहुँदैन भनेर सम्झाई–बुझाई गरेर स्कुल पठाइन् ।

महिनावारीबारे सबैले जान्नुपर्ने भएकोले बुवा अथवा घरका, विद्यालयका कोही पनि पुरुषसँग लाज मान्नुपर्ने स्थिति होइन भन्नको लागि उत्सव मनाइदिएको बताउँछिन् । महिनावारी हुनु भनेको परिपक्व हुँदै जानु पनि हो । गुन्युँचोली भन्दा महिनावारी उत्सव विभिन्न दृष्टिकोणले महत्वपूर्ण भएको उनको जिकिर छ । उनी भन्छिन्, ‘गुन्युँचोली भन्दा महत्वपूर्ण हो महिनावारी उत्सव । महिनावारीबारे सचेत, ज्ञान नहुँदा महिलाले अनेक स्वास्थ्य समस्या झेल्नुपर्छ ।’

समृद्धिको महिनावारी उत्सवले तीन पुस्ताबीचको अन्तर समेत पुरेको दाबी गर्छिन् । भन्छिन्, ‘मेरो सासूआमा ६८ वर्षको हुनुहुन्छ । उहाँले महिनावारी भनेको पाप हो । चुलामा छिर्नुहुँदैन । पूजा गर्नुहुँदैन भन्ने मान्यताबाट आउनुभएको छ । म आफैं पनि त्यस्ता रुढिवादी मान्यताको सिकार भएँ । तर त्यो होइन भन्ने बुझेपछि मैले मेरी सासूआमा र छोरीलाई बुझाउनुपर्छ भनेर उत्सव मनाउने निर्णय गरेकी हुँ ।’

अनुपाले अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा हिजोकै पनि एउटा अनुभव सुनाएकी थिइन् । उनका ११ र ६ वर्षका दुई छोरीहरू छन् । उनीहरूबीचको बुझाइबारे भन्छिन्, ‘समृद्धि महिनावारी भएपछि सानी छोरीले दिदी मलाई नछोऊ है भनिन् । अचम्म लागेर किन त्यस्तो भनेकी भनेर सोध्दा मिन्स भएकोले छोयो भने मिन्स हुन्छ रे म त मिन्स नहुने भनिन् । बुझाउने त कोसिस गरें तर बालमस्तिष्कले कति बुझ्यो । तर यो उत्सवले मिन्स हुनु उत्सव रहेछ भन्ने परेको छ ।’

अगाडि थप्छिन्, ‘साँझ महिनावारी उत्सव मनाइरहेको बेला सानी छोरीले फेरि उसकी दिदीलाई दिदी म पनि मिन्स हुने अलिकति रगत दिनु न मामुलाई भन्छु । अनि मेरो पनि यस्तै सेलिब्रेसन हुन्छ केक काट्ने भनिछिन् । अरू ठूला कुरा नबुझे पनि यो लुकाउनुपर्ने, लजाउनुपर्ने कुरा होइन रहेछ उत्सव मनाउनुपर्ने रहेछ भन्ने उनको बालमस्तिष्कमा पर्‍यो । अहिलेलाई त्यही महत्वपूर्ण हो अरु विस्तारै बुझ्दै जान्छे ।’

अनुपाले महिनावारी उत्सव मनाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि विभिन्न प्रतिक्रिया आएको छ । कतिपयले फोन गरेर समेत बधाई दिएको बताउँछिन् । भन्छिन्, ‘अहिले सामाजिक सञ्जालको युग छ । यस्ता सकारात्मक सन्देश फैलाउने कुराहरू सकेसम्म सेयर गर्नुपर्छ भनेर राखेकी हुँ । एकदम सकारात्मक प्रतिक्रिया आएको छ । खुसी लागेको छ ।’

महिनावारी नबारेको कारण कतिपय साथीभाइ, आफन्तजनले पूजालगायतमा नबोलाउने गरेको उनको अनुभव छ । अनुपा भन्छिन्, ‘कति जनाले तिमीहरू त महिनावारी बार्दैनौ पूजामा बोलाउन पनि डर लाग्छ भन्नेहरू पनि हुनुहुन्छ । यस्तो उत्सवले उहाँहरूमा पनि केही सचेतना जाग्छ कि भन्ने आश पनि हो ।’

सबैलाई महिनावारी उत्सव मनाउन आग्रह गर्दै भन्छिन्, ‘मलाई महिनावारी उत्सव र ट्रेन्डको रूपमा चलोस् भन्ने लाग्छ । महिनावारी नियमित प्रक्रिया हो । यसलाई लुकाउने होइन उत्सवको रूपमा मनाउने गरौं । छोरीहरूको उडानमा साथ दिउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?